लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार चन्दनलाई

राजविराज, २६ पुस । नेपाल पत्रकार महासंघ सप्तरीले हरेक वर्ष प्रदान गर्दै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार चन्दनकुमार यादवले पाएका छन् ।

सप्तरीलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका यादवलाई नगद २ हजार ५ सय १ सहित यो पुरस्कार प्रदान गरिएको हो । २४औं लोकेन्द्रकुमार स्मृति दिवसको अवसरमा बुधवार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेशकुमार झाले यादवलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरे । यो पुरस्कार नेपाल पत्रकार महासंघ सप्तरी शाखाको महत्वपूर्ण पुरस्कार हो ।

सप्तरी सदरमुकाम राजविराज घर भएका महासंघ सप्तरी शाखाका सह–सचिव यादव स्थानीय पत्रपत्रिकामा कार्यरत छन् ।

सल्यान जिल्लाको कोटमौला गाविस घर भई सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका लोकेन्द्र बुढाथोकीको ०५० सालमा हत्या भएपछि उनकै स्मृतीमा २०५१ सालमा यो पुरस्कारको स्थापना गरिएको हो । बुढाथोकी दृष्टि साप्ताहिकका सप्तरी प्रतिनिधि तथा स्थानीय सगरमाथा आवाज सप्ताहिकका सहसम्पादक थिए ।

राजविराजस्थित समाज कल्याण केन्द्रमा बसी एसएलसीको पढाइ पूरा गरेका बुढाथोकीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा बिएल दोस्रो वर्षमा अध्ययनरत रहेकै अवस्थामा राजविराज ६ स्थित डेरामा रहस्यमय हत्या भएको थियो ।

सोही समारोहमा वातावरणीय पत्रकारिता पुरस्कारबाट पत्रकार प्रमिला चौधरीलाई प्रदान गरिएको छ । नवौं उमा सिंह स्मृति दिवसको अवसर पारी चौधरीलाई सो पुरस्कार दिइएको हो। सप्तरीको शम्भुनाथ नगरपालिका स्थित शखि एफएममा कार्यरत चौधरीलाई प्रदान गरिएको उक्त पुरस्कारको राशि १ हजार १ सय १ छ ।

प्रत्येक वर्ष सप्तरीका एक जना युवा पत्रकारलाई प्रदान गरिँदै आएको सो पुरस्कार राजविराजबाट प्रकाशित आजको वातावरण दैनिक पत्रिकाका प्रकाशक÷सम्पादक तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाको अग्रसरतामा दिइँदै आएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com