आचारसंहिता पालना गरी समाचार सम्प्रेषण गर्न अपील

काठमाडौं, २७ पुस । प्रेस काउन्सिल नेपालले आचारसंहिता पालना गरी समाचार सम्प्रेषण गर्न अपील गरेको छ । काउन्सिलले जारी गरेको अपीलमा ‘नेपालका विभिन्न भू–भागमा हालैका दिनमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भइरहेको छ । खासगरी तराईका विभिन्न जिल्लामा सर्वसाधारण केही नागरिक, बालबालिकाको ज्यान समेत गइसकेको छ । यो मानवीय विषयमा कलम चलाउँदा र तस्वीर सार्वजनिक गर्दा पत्रकारले निकै ध्यान पु¥याउनुपर्दछ ।’ उल्लेख गरेको छ ।

आयोगको अपीलमा भनिएको छ, ‘यस्तै डा.गोविन्द केसीले दिनुभएको अभिव्यक्तिपछि उत्पन्न परिस्थितिलाई लिएर समाजमा नै दुईखालका विचार आइरहेका छन् । समाज मात्र हैन मिडियाजगत समेत यो वा त्यो पक्षमा लागेको देखिएको छ । यसै विषयमा सर्वाेच्च अदालतमा बहस भइरहेको छ । न्यायालय सबैको आस्थाको धरोहर हो । मुलुक राजनीतिक संक्रमणमै रहेको अवस्थामा न्यायालयप्रति अनास्था बढ्दै गएमा त्यसले समाजमा नै नैराश्यता र अराजकता निम्त्याउन सक्दछ ।’

स्वयम् डा.गोविन्द केसीलगायत जुनसुकै मर्यादित संस्था वा व्यक्तिका बारेमा अतिरञ्जना वा भ्रम सिर्जना गर्ने ध्येयले समाचार–सामग्री सम्प्रेषण गर्दा पत्रकारिताको गरिमा एवं विश्वसनीयतामा प्रश्न उठ्नुका साथै आम नागरिकमा नकारात्मक धारणा विकास हुन सक्दछ ।

समाजलाई तरङ्गित बनाउन सक्ने यस्ता विषयमा आम नागरिकसहित सम्पूर्ण पत्रकार र मिडिया निकै गम्भीर हुन जरुरी छ ।

अतः शीतलहरलगायत यस्ता विषयमा अत्यन्तै संयमित भई पत्रकार आचारसंहिताको समेत पालना गरी सत्यता–तथ्यपरकता, सन्तुलन, वस्तुनिष्ठता, शिष्टतामा ध्यान दिएर समाचार सम्प्रेषण गर्न प्रेस काउन्सिल नेपालले अपील गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com