प्रदेशको राजधानी २ तिहाइबाट मात्र होइन सर्वसहमतिबाट हुनुपर्ने : बलदेव

इमरान खान, कपिलवस्तु, २७ पुस । नेकपा माओवादी केन्द्रका कपिलवस्तु क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद चक्रपाणी खनाल “बलदेव” ले कपिलवस्तुलाई ५ नम्बर प्रदेशको राजधानी २ तिहाइबाट मात्र होइन सर्वसहमतिबाट हुनुपर्ने बताएका छन् ।

कपिलवस्तुको तौलिहवामा एक अन्तरक्रिया कार्यक्रममा कपिलवस्तुले नेपाललाई संसारमै चिनाएको बताउँदै कपिलवस्तु ऐतिहासिक, पुरातात्विक हिसाबले पनि भरिपूर्ण जिल्ला भएकोले ५ नम्बर प्रदेशको राजधानी कपिलवस्तुको विकल्प नभएको बताए ।

कपिलवस्तुलाई नेपालका शासकहरुले इतिहासदेखि नै उपेक्षा गर्दै आएकोले त्यसको क्षतिपूर्ति तिर्न पनि कपिलवस्तुलाई राजधानी बनाउनु पर्ने बताए । उनले भगवान गौतम बुद्धका बाबु शुद्धोधनको राज्यको राजधानी तिलौराकोट रहेको र बुद्धसँग सम्बन्धित सयभन्दा बढी पुरातात्विक स्थलहरु जिल्लामा रहेकोले कपिलवस्तु राजधानी बन्नुपर्छ ।

‘कपिलवस्तुलाई राजधानी बनाउने कुरामा दुई मत छैन, शान्तिका अग्रदूत गौतमबुद्धसँगै क्रकुछन्द र कनकमुनि बुद्धकोसमेत जन्म कपिलवस्तुमा भएको हो, कपिलवस्तु पवित्र स्थल हो ।’

कपिलवस्तुलाई प्रदेशको राजधानी बनाउन आफू जस्तोसुकै लडाई पनि लडने खनाल बताउँछन् । प्रदेश ५ को मध्यभागमा रहेको, पर्याप्तभूमि समतल भू भागको उपलब्धता, अन्य जिल्लाका लागि यातायातको सुबिधा, ऐतिहासिक, धार्मिक महत्वका पर्यटकीय क्षेत्र, नजिकै अन्तर्राष्ट्रिय गौतम बुद्ध विमान स्थल, गौतम बुद्धको कर्मभूमि, प्राचीन शिवमन्दिर, ऐतिहासिक पुस्तकालय तथा राजा शुद्धोदनको राजप्रसाद तिलौराकोटमा रहेकोले कपिलवस्तु जिल्ला पुरातात्विक स्थलले भरिपरेका जिल्ला भएका कारणले प्रदेश नं ५ को प्रदेशको राजधानी कपिलवस्तु नै हुनुपर्ने माग गरेका छन् ।

गौतम बुद्धका पिता राजा शुद्धोदनको राजधानी समेत रहेको प्राचीन कपिलवस्तु क्षेत्रलाई राजधानीको रुपमा स्थापित गर्न सके प्रदेश नं. ५ कै महत्व अन्तर्राष्ट्रिय स्तरमा पनि बढ्ने सांसद बृजेश कुमार गुप्ताले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com