शीतलहरको कहर (सम्पादकीय)

हरेक वर्षजस्तै यस वर्ष पनि शीतलहरको प्रकोपबाट सम्पूर्ण मधेश फेरि एक पटक आक्रान्त बनेको छ । चिसो बढेसँगै पूर्वी, मध्य तराई र सुदूरपश्चिमका जिल्लाहरूमा शीतलहरले जनजीवन प्रभावित भएको छ । चिसो हावाको सिरेटोसँगै परेको शीतबाट सिरहा, सप्तरी, सुनसरी, धनुषा, उदयपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीलगायत जिल्लाको जनजीवन अत्यन्त कष्टकर बनेको छ । शीतलहरका कारण विपन्न समुदायका वृद्धवृद्धा र बालबालिका बढी प्रभावित बनेका छन् । न्यानो ओत र लत्ताकपडाको अभावमा विभिन्न उनीहरू कठ्यांग्रिएर जिउन बाध्य छन् भने कतिपयको मृत्यु पनि भएको छ । गतिलो गाँस, बास र कपासविना मजदुरी गरेरै जीवन निर्वाह गर्नुपर्ने वर्गलाई शीतलहरले नराम्ररी प्रभावित बनाएको छ ।


शीतलहरबाट जहाँ गरीब एवं असहाय अत्यधिक पीडित हुन्छन् भने सम्पन्न परिवारका बालबालिका अनि वृद्धवृद्धा पनि त्यत्तिकै प्रभावित हुन्छन् । चिसो र गर्मीबाट धेरैको मृत्यु हुने गरेको छ तर हाम्रोजस्तो गरीब देशमा मृत्युको कारण पहिचान हुन नसकेपछि गर्मीमा मरेपछि ‘लु’ र जाडोमा मरेपछि शीतलहरको दोष लगाएर पन्छिने परम्परा छ । वास्तवमा शीतलहरले भन्दा न्यानो लुगाको अभावमा मानिसको मृत्यु हुने गरेको वास्तविकतालाई हामी बिर्सिन्छौं । चिसो लाग्नासाथ एकसरो पातलो खालको लुगामा दिन काट्नेहरूको पीडालाई नबुझेर, शीतलहरले मृत्यु भयो भन्नु मानवीय संवेदनहीनताको पराकाष्ठा हो ।
शीतलहरका कारण यस वर्ष सबैभन्दा बढी सप्तरीमा मात्रै अहिलेसम्म ५० भन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै, अन्य जिल्लाहरूमा पनि शीतलहरको प्रकोपबाट ज्यान गुमाउनेको संख्या अधिक छ । बाक्लो हुस्सुसँगै शीतलहर चलेपछि न्यानो लुगा नहुनेहरू मृत्युको सिकार भइरहेका छन् ।


शीतलहरकै कारण कमजोर आर्थिक अवस्था भएका बस्तीमा वृद्धवृद्धा, बालबालिका तथा महिलाको बिचल्ली हुँदै आए पनि सरोकारवालाले चासो नदेखाउँदा चिसोले कठ्यांग्रिएर अकालमै मर्नुपर्ने बाध्यता छ ।
देशमा शीतलहर पीडितका लागि विशेष कार्यक्रम सञ्चालन भएको इतिहास छैन । जसका कारण गरिब तथा विपन्न समुदायका वृद्धवृद्धाहरू पीडित भइरहेका छन् ।


खासगरी मधेशका मुसहर, डोम, बाँतर, दुसाध, माझी समुदाय शीतलहरका कारण बिचल्लीमा परेका छन् । विपन्न समुदायका बस्तीमा परालको भरमा रात काट्नुपर्ने बाध्यता विद्यमान छ । विगतका वर्षहरूमा सरकारी निकायबाट सार्वजनिक स्थलमा जाडो छल्नका लागि आगो ताप्ने व्यवस्था गरिए पनि प्रभावित क्षेत्रमा सचेतना अभियान सञ्चालन गरेर शीतलहरको क्षतिबाट जोगाउने उपायको खोजी नगरिँदा बर्सेनी अकालमा ज्यान गुमाउनेको संख्या थपिँदै गएको छ ।


सरकारले शीतलहरबाट प्रभावितका लागि गाउँगाउँमा स्वास्थ्य केन्द्रमार्फत शिविर सञ्चालन गरी विरामीको उपचारको व्यवस्था मिलाउनुपर्छ । यस्तै, विपन्न बस्तीहरूमा न्यानो लुगाका साथै शीतलहरबाट सुरक्षित हुन आवश्यक पर्ने सामग्री वितरण गरिनुपर्छ । सार्वजनिक स्थलहरूमा दाउरा बाल्ने प्रबन्धसहित सतर्कता अपनाउन सके चिसोका कारण मृत्यु हुने नियतिलाई न्यूनीकरण गर्न सकिन्छ । अत्यधिक चिसो भएर शीतलहर बढेपछि स्थानीय तहमा नगरपालिका र जिल्ला विकास समितिले चोकमा आगो बालेर राहत प्रदान गर्ने काम गर्छन् तर अहिले यसको व्यवस्था गरिएको छैन ।


शीतलहरलाई दैवी प्रकोपको रूपमा लिने गरिएको छ । तराईमा शीतलहर बढेपछि सरकारीस्तरमा यो प्रकोपविरूद्धको अभियान सञ्चालन हुने गर्छ तर लक्षित वर्गसम्म राहतको प्याकेज पुग्छ पुग्दैन त्यसको निगरानी, अनुगमन हुँदैन ।
सरकारले दैवी प्रकोपको बेला विशेष राहत प्याकेज उपलब्ध गराउनुपर्छ भनी मधेशी नेताहरूले स्थानीय प्रशासनमार्पmत् अनि सांसदले संसदमा आवाज उठाएको पाइन्न । जसले गर्दा सरकारले जे पठायो त्यसैमा सन्तोष गर्नुको विकल्प छैन । नागरिक अधिकारबाट वञ्चित नगरिएको तथ्याङ्कमा हामी अङ्कित भए पनि पाउनुपर्ने अधिकारबाट भने अहिलेसम्म वञ्चित हुँदै आएका छौं ।


प्रकाशित मिति : २०७४ साल पुस २८ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com