मुलुकलाई कुशल नेतृत्वको आवश्यकता छ : सिताराम कट्टेल ‘धुर्मुस’

कलाकार तथा समाजसेवी

० तपाईं समाजसेवातिर लाग्नुको कारण के होला ?
— म पेशाले कलाकार हुँ । यसलाई निरन्तरता दिँदै अगाडि बढ्छु । देशमा भूकम्पसहितका समस्या पर्दा हामी सामाजिक अभियन्ताका रूपमा पनि काम गर्न थालेका हौं । समयले हामीलाई समाजसेवी बनाएको छ । दुःख र पीडामा रहेका नेपालीहरूको सेवा गर्दा जुन आनन्द मिलेको छ, त्यो आनन्दका कारण पनि हामी अगाडि बढिरहेका छौं । मुख्य रूपमा भूईचालोले धेरै पाठ सिकाएको छ । भूईचालोका कारण हामी सबै सडकमा पुगेका थियौं । के रिस गर्ने, के डाहा गर्ने, के लोभ गर्ने यी सबै कुरालाई त्याग्दै समग्र राष्ट्रको निर्माणमा अगाडि बढ्नुपर्छ । गरिब, दुखी, असहाय, अशक्तको सेवामा लाग्नुपर्छ । अझ् विपद्मा परेका बेला एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुपर्छ । मानवीय धर्म नै यही हो भन्ने अनुभूति भएपछि हामी निरन्तरता सामाजिक कार्यमा अगाडि बढेका हौं । समाज एकीकरण गर्नुपर्छ । राष्ट्र निर्माण गर्नुपर्ने भिारा हामी सबै नेपालीको हो । सबै मिलेर देश बनाउनुपर्छ भन्ने सोचाइ जागृत भयो । शायद यो भावना प्रत्येक नेपालीका हुन् । समग्र समाजलाई सुन्दर बनाउने प्रत्येक नेपालीको परिकल्पना हो । जो पीडामा छन् वा जो पुस्तौंदेखि पीडा छन्, उनीहरूलाई सहयोग गर्नुपर्छ । सक्षमले असक्षमलाई सहयोग गर्नुपर्छ भन्ने भावना हामीमा पलायो । त्यहीअनुरूप हामी अगाडि बढेका हौं ।


० समाजसेवीका रूपमा तपाईं मधेशमा बढी चर्चित हुनुहुन्छ । फरक समुदायका भएर पनि मधेशमा सेवा गर्नुपर्छ भन्ने सोच कसरी आयो ?
— सद्भावका लागि पनि मैले काम गरेको हुँ । हिमाल, पहाड र तराईमा हामीले बस्ती बनायौं । देशलाई एकताको खाँचो छ । हामी जहाँ जन्मे, हुर्केपनि हामी नेपाली हौं । म हिमाली जिल्ला सोलुखुम्बुमा जन्मेको मानिस हुँ । तराईको झापामा हुर्के । यो हिमालको, पहाडको र मधेशको मान्छेभन्दा पनि समग्र नेपालको सोच राख्नुपर्छ । नेपाली भन्ने पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनुपर्छ । हिमालमा पनि पीडा छ, पहाडमा पनि पीडा छ, तुलनात्मक रूपमा मधेशमा अझ् बढी पीडा छ । चेतना र शिक्षाको अभावमा पनि पीडा बढेको देखिन्छ । मानिसलाई चाहिने विकास हो । विकासका कुराहरू परिपूर्ति गर्ने हिसाबमा हामी मात्र आवाज बोकेर अगाडि बढेका हौं । सन्देश प्रवाह गर्नका लागि अगाडि बढेका हौं । सद्भावका लागि काम गरिरहँदाखेरी महोत्तरीको बर्दिवासमा एकीकृत नमूना मुसहर वस्ती बनाएपछि नेपालको चिनारीलाई अन्तर्राष्ट्रियस्तरमा अझ् बढी पहिचान दिलाउन सफल भएका छौं । त्यसैबेला अबिरल वर्षा भयो, तराई ढुब्यो, मानवीय क्षति भयो, मानिसहरू छट्पटाइरहेको अवस्था थियो । राहतको आवश्यकता महसुस गरी धुर्मुस सुन्तली फाउन्डेसनको नेतृत्वमा उद्धारमा खटेका थियौं । तराई वर्षेनी डुब्ने गरेको छ । खोला नदी किनारका मानिस विस्थापित हुनुपरेको छ । त्यसकारण सुरक्षित स्थानको पहिचान गरेर वस्ती विकास गर्न सकियो भने यसको किसिमको जोखिमबाट बच्न सकिन्छ ।


० समुदायबीच फाटो हाल्ने गरी केही नेताहरूबाट अभिव्यक्ति आइरहेका बेला तपार्इं समाजसेवा गर्न मधेश प्रवेश गर्नुभएको थियो । किन नि ?
— हो । मधेशी र पहाडीभन्दा पनि हामी नेपाली हौं । सद्भावका लागि पनि काम गर्न आवश्यक थियो । पीडितको पीडामा मलमपट्टी लगाउन लागि परेका हौं नि । तराईमा वर्षोदेखि पीडामा रहेका समुदाय छन् । अहिले तराईमा शीतलहर चलेको अवस्था छ । चिसो झ्नझन् बढेको अवस्था छ । मानिसहरू कठ्याङ्ग्री रहेका छन् । मानिसहरू पाल र छाप्रामुनि छन् । जनजीवन हिजोका दिनभन्दा पनि कष्टकर छ । यस्तो बेलामा हामीले मानवीय धर्म निर्वाह गर्ने कि नगर्ने त ? यस्तो बेलामा हामी चाहीं यो जाति, यो ठाउँको, त्यो ठाउँको भनेर टिकाटिप्पणी गर्ने कि सहयोग गर्ने ? हामीले यो धर्तीमा जन्मेको सार्थकता तुल्याउनका लागि कोशेढुंगाका रूपमा काम गर्नुपर्छ । नेपालीको भावना जोडिनुपर्छ ।


० सद्भाव कायम गर्ने कार्यमा कत्तिको सफल भएको महसुस गरिरहनुभएको छ ?
हामी सरसफाइ अभियान लिएर सचेतना जगाउन गइरहँदा मधेशमा आन्दोलन चलिरहेको थियो । यस्तो बेलामा पनि आन्दोलनमा रहेका तराईबासीले सरसफाइमा साथ दिएका थिए । हामी सबै मिलेर सरसफाइ अभियान सफल बनाएका थियौं । यो कार्यबाट पनि के आभाष हुन्छ भने मानिसलाई विकास आवश्यक छ । त्यसपछि हामी बर्दिबासमा मुसहर बस्ती निर्माणमा जुट्यौं । कुनै पनि दिन कसैले पनि हामीलाई बाधा अड्चन गरेनन् । हामी सफल पनि भयौं । त्यहाँ धुर्मुस सुन्तली कलाकार भनेर त्यति धेरैले हामीलाई चिनेका पनि छैनन् । तर, आज तराईबासीले धुर्मुस सुन्तली गरिबका घर बनाउने मानिस हुन् भनेर भन्छन् । यो कामले निकै राम्रो सन्देश पनि प्रवाह गरेको छ । नेपालीलाई परेको पीडामा एकले अर्कालाई सहयोग गर्नुपर्छ भन्ने वातावरण सृजना भएको छ । महोत्तरी र रौतहटको बस्ती निर्माणका क्रममा धेरैभन्दा धेरै सहयोग पहाडबाटै जुटेको छ । बस्ती निर्माण सफल हुनुपर्छ भनेर सबै तराईबासीले सहयोग गरेका थिए । यही त हो सद्भाव ।


० तपाईं पहाड र मधेशका बासिन्दामा कस्तो समस्या पाउनुभयो ?
— समस्या दुबै ठाउँमा छ । पहाडका दुर्गम ठाउँमा विजोग अवस्था छ । मान्छेले खानै नपाएको अवस्था छ । तराईमा पनि पिछडिएका समुदायको बस्तीमा जाँदा रून मन लाग्ने अवस्था छ । त्यसैले दुबै स्थानमा पीडा छ । यी पीडा हल गर्न सबै लागिपर्ने हो भने सजिलै हल गर्न सकिन्छ । पहाडमा विकास गर्न गाह्रो छ । तराईमा सहजै गर्न सकिन्छ । तर, पीडाको कुरा गर्ने हो भने दुबै तिर उस्तै छ ।


० पहाडमा विकास गर्न भूगोलले बाधा गर्ने गर्छ । तर, तराईमा विकास गर्न कसले रोकेका होलान् ?
— यसमा कुनै एक पक्षको दोष छैन । राज्यको समग्र संयन्त्रका कारण रोकिएको जस्तो लाग्छ । अस्थिर सरकारका कारण नै यस्तो भइरहेको छ । तराईका विकासका काम समयमा कार्यान्वयन हुन नसक्नु, पहाडका कामहरू पनि त्यसरी नै रोकिएका छन् । एउटा सरकार गठन हुँदा एउटा योजना हुन्छ । विकासको काम कार्यान्वय गर्ने बेलामा अर्को सरकार विघटन हुन्छ । फेरि अर्को सरकार बन्छ । अनि पहिलेका योजना भताभुंग हुन्छ । फेरि अर्को योजना बन्छ । यी सबै कारणले गर्दा विकास हुन नसकेको हो । त्यसैले स्थायी सरकारको आवश्यकता छ । स्थायी सरकार बनेपछि हिमाल, पहाड र तराईका सबै समस्या समाधान हुन्छ । समस्याको समाधान भएन भने कहिल्यै पनि देश बन्दैन ।


० यो देशमा नेताहरूले अरूको पिठ्युँ चढेर खोला तर्छन्, तर तपाईं अरूलाई पिठ्युँमा राखेर खोला तार्नुहुन्छ । यस्ता तस्वीरहरू पनि देखिन्छन् । भनेपछि यो देशमा नेताको आवश्यकता छ कि समाजसेवीको ?
— यो देशलाई कुशल नेतृत्वको आवश्यकता छ । सबै जनताको भावना बुझ्ने कुशल नेतृत्वको आवश्यकता छ । समाजसेवाले मात्र मुलुक परिवर्तन हुँदैन । मुलुक राजनीति क्षेत्रबाटै परिवर्तन हुने हो । राजनीतिबाटै देश बन्ने हो । राजनीति स्थिर नभएकै कारणले हामी जस्ता अभियन्ताहरूले निरन्तर काम गरिरहका छन् ।


० राजनीतिकर्मीमा समाजसेवीबाला गुण नदेखिएको हो ?
— सबै गुणले भरिपूर्ण मानिस नै राजनेता हो ।


० तर, त्यस्तो पाइएको छै नि ?
— त्यस्तो नपाउनुको एउटै कारण छ, अस्थिर राजनीति । स्थायी सरकार नभएकै कारणले यस्तो भएको हो । त्यसैले स्थायी सरकार होस, प्रकृतिले कहिल्यै विपत्ति नदिओस भन्ने कामना गर्नुपर्छ । आफ्नो स्वार्थभन्दा समग्र राष्ट्रको हितका लागि काम गरोस् । सबै नेपालीलाई एउटै मालामा गास्न सकोस् । कुनै विपद् पर्दा त्यहाँ सरकार पहिला पुगोस् । तर, यहाँ के भइरहेको छ भने पहिला अभियन्ता पुग्छन्, त्यसपछि सरकार । राज्यको संयन्त्रका कारण यस्तो भइरहेको छ । सरकारले आज कुनै निर्णय ग¥यो भने भोलि नै कार्यान्वयन तहमा पुग्ने अवस्था छैन । किन भने सबै संयन्त्र पार गर्नुपर्ने हुन्छ । त्यसकारण सरकारी संयन्त्रको प्रणालीमा नै परिवर्तन आवश्यक छ ।


० शीतलहरमा सरकारी संयन्त्रले गरेको काम कस्तो लाग्यो ?
— सरकारले कहाँ कसरी काम गरिरहेको छ भन्ने कुरा सबै ठाउँको हेर्न सम्भव छैन । सरकारले आफ्नो हिसाबले गरिरहेको होला । जहाँसम्म शीतलहरको कुरा छ । शीतलहर हरेक वर्ष भइरहेको छ । मानवीय क्षति हुँदै आएको छ । बाढीबाट क्षतिको अवस्था पनि उस्तै छ । त्यसैले यस्ता विपद् न्यूनीकरणका लागि दीर्घकालीन योजना भएन । विस्थापितका लागि सुरक्षित स्थानको पहिचान गरेर बस्ती विकास गर्नुपर्छ । शीतलहरका बेला कत्ति मानिस गरिबीको रेखामुनि छन्, कत्तिसँग कपडा छन्, लगायत कुराको पहिल्यै जानकारी लिएर पूर्वतयारी हुुनुपर्छ । अब शीतलहर आयो, मानिस कठ्यांग्रिएर मृत्युको मुखमा पुग्न थालेपछि हड्बडाएर काम गर्ने गरिएको छ । त्यसैले पूर्वतयारी अवाश्यक छ ।

प्रकाशित मिति : २०७४ साल पुस २८ गते शुक्रबार ।

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com