राजपाले यथास्थितिमा वाम गठबन्धनलाई समर्थन गर्दैन : अनिलकुमार झा

नेता, राष्ट्रिय जनता पार्टी नेपाल

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य अनिल कुमार झा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका हुन् । यसअघि नेपाल सद्भावना पार्टीका अध्यक्ष रहेका झा डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उद्योगमन्त्री भइसकेका छन् । बुबा प्रेम नारायण झा तथा आमा कौशल्यदेवी झाको कोखबाट भगवती गाउँपालिका—१ मत्सरी रौतहटमा जन्मेका झा २०४५ सालमा सद्भावना पार्टीमा आवद्ध भएका थिए । विज्ञान विषयमा स्नातक पास गरेका झा नेपाल सद्भावना पार्टीको जिल्ला अध्यक्ष, संघीय सदभावना पार्टीका केन्द्रीय अध्यक्ष, २०६४ मा समानुपातिक सांसद र त्यसपछि नेपाल सद्भावना पार्टीका अध्यक्ष बनेका थिए । उनीसँग समसामयिक राजनीतिक विषयमा केन्द्रित रही मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश :

 

० चुनावी परिणामलाई राजपाले कुन रूपमा स्वीकार गरेको छ ?

— निर्वाचनमा हामीले सोचेजस्तो परिणाम नपाए पनि लोकतन्त्रमा त्यसको परिणामलाई स्वीकार्नै पर्ने हुन्छ । त्यसैले राजपाले यो निर्वाचनको परिणामलाई स्वीकार गरेको हो ।


० तपाईंहरूको कस्तो अपेक्षा थियो ?
— जसरी हामीले छ वटा पार्टी मिलाएर मधेशी जनताको चाहनावमोजिम राष्ट्रिय जनता पार्टी नेपाल बनायौं, चुनावबाट हाम्रो पक्षमा अझ बढी समर्थनको अपेक्षा राखेका थियौं । तर, जेजति समर्थन र सहयोग प्राप्त भयो त्यसका निम्ति जनताप्रति आभारी छौं । भविष्यमा अझ बढी साथ, सहयोग र समर्थन प्राप्त हुने प्रकारको काम राजपाले गर्नेछ । आगामी दिनमा जनताको पक्षमा राम्रो काम गरेर अझ बढी जनसमर्थन जुटाउने प्रयास गर्नेछौं । राजपा एउटा पार्टी मात्र नभई अधिकार प्राप्तिको अभियान पनि हो । त्यसैले, हामीले जनताबाट थप सहयोगको अपेक्षा पनि राखेका छौं ।


० तपार्इंहरूले अपेक्षा गरेअनुसारको मत नपाउनुका कारणबारे समीक्षा गर्नुभयो ?
— हामीले जनताले चाहेअनुसारको सूचना दिन नसकेको होला । हामीबाट कमी कमजोरी पनि भएको होला । विपक्षीहरूले हाम्रा कुरालाई बंग्याउने प्रयास गरेको होला । विभिन्न प्रकारका साधनस्रोतको अभाव हाम्रै तर्फबाट पनि भएको होला । हामीबाट समीकरण मिलाउने काम ठिकसँग नभएको होला । हामीले समीकरण मिलाए पनि जनतालाई बुझाउन नसकेको हुनसक्छ । यी सब कुराहरूका कारणले गर्दा हामीले अपेक्षाअनुसारको परिणाम ल्याउन सकेनौं ।


० तपाईंहरूले संघीय समाजवादी फोरम नेपालसँग प्रदेश नं. २ मा मात्र चुनावी सहकार्य गर्नुभयो, अन्य प्रदेशमा किन सहकार्य भएन ?
— चुनावी सहकार्यसम्बन्धी बैठकहरूमा म त्यति सक्रिय र उपस्थित नभएकोले बढी कुरा थाहा भएन । तर, विविध कारणले गर्दा अन्य प्रदेशमा सहकार्य हुन सकेन । तर, जे जतिसम्म भयो त्यो गरियो । समय अभावका कारण पनि हामीले अपेक्षाअनुसारको परिणाम ल्याउन सकेनौं । जहाँ हामीले समीकरण बनाउन सक्यौं त्यहाँ पनि अपेक्षित परिणाम त आएन तर, जे होस् त्यसबाट सन्तुष्टि लिने बाहेक अन्य विकल्प पनि छैन ।


० जनताले तपाईंहरूलाई के म्यान्डेट दिए त ?
— जनताले जनप्रतिनिधिको रूपमा काम गर्ने म्यान्डेट दिएका छन् । आफ्ना मागहरू पूरा गराउनका लागि केन्द्रीय सरकारमाथि दबाब बनाइरहन म्यान्डेट छ । सम्भव भए प्रदेश सरकार बनाउने जनादेश हो । हामी एउटा दबाब समूहको रूपमा केन्द्रमा र प्रदेशमा सरकार बनाउन सक्ने पक्षमा हामी काम गर्छौं ।


० चुनावी सहकार्यपछि राजपा र फोरमबीच एकीकरण हुनुपर्ने भन्ने दबाब पनि आइरहेको छ, यसको कस्तो गृहकार्य भइरहेको छ ?
— अहिलेसम्म राजपा र फोरमबीच एकीकरणबारे कुनै गृहकार्य भएको छैन । अहिले समानुपातिक निर्वाचन प्रणालीको विभिन्न छनोटका प्रक्रिया चलिरहेको छ । पार्टी अहिले त्यही गृहकार्यमा लागेको छ । अन्य कार्यभारहरू पनि छन्, त्यसमा हामी व्यस्त छौं । राजपा र फोरमबीच एकीकरणबारे अहिलेसम्म पार्टीमा कुनै गृहकार्य वा बहस भइरहेको छैन ।


० तपाईंहरूले पाएको म्यान्डेट एकीकरणका लागि पनि होइन ?
— फोरमसँग एकीकरण नै गर्छौं भनेर हामीले भनेका थिएनौं । अहिले पनि हामीले एकीकरण गर्छौं भनेर मत मागेका छैनौं । निर्वाचनका बेला चुनावी समीकरण मात्र थियो । ‘गिभ एण्ड टेक’ को आधारमा मात्र त्यो चुनावी समीकरण बनेको थियो । हामीले सीट बाँडफाँड गरेका थियौं, पार्टी एकीकरण त गरेका थिएनौं ।


० अब तपाईंहरूको आगामी रणनीति के हुनेछ ?
— हाम्रो रणनीति त जनताले दिएको जनादेश मुताबिकै हुन्छ । हामी स्वाभाविक रूपमा केन्द्रमा दबाब समूहको रूपमा काम गर्छौं र प्रदेशमा सक्यौं भने सरकार बनाउँछौं । यदि प्रदेशमा पनि सरकार बनाउन सकेनौं भने यहाँ दबाब समूहको रूपमा काम गर्छौं ।


० चुनावी सहकार्य जस्तै प्रदेश नं. २ मा सरकार बनाउन राजपा र फोरमबीच सहकार्य हुन्छ ?
— राजपा र फोरमबीच चुनावसम्मका लागि मात्रै गठबन्धन बनाइएको थियो । त्यो समीकरण अहिले समाप्त भइसकेको छ । हामीले चुनावी सहकार्य मात्र बनाएका थियौं । त्यसकारण, प्रदेश नं. २ मा सरकार बनाउनका लागि गठबन्धन बनाउने वा सहकार्य गर्ने भन्ने बारे अहिलेसम्म छलफल भएको छैन । फोरम र राजपाको नेतृत्वले आवश्यकता महसुस ग¥यो भने सहकार्य हुन सक्छ । यसमा कति हदसम्म हाम्रो सहकार्य हुन सक्ला, त्यो अहिले भन्न सकिदैन । राजपाले आफ्नो तर्फबाट सहकार्य तोड्ने त्यस्तो कुनै काम गर्ने छैन । अर्को पक्षको जिम्मा त हामी लिन सक्दैनौं ।


० तर, तपाईंहरूले चुनावका बेला प्रदेश नं. २ मा राजपा र फोरमले मधेश सरकार गठन गर्ने जस्ता कुरा पनि गर्नु भएको थियो नि ?
— हामीले त्यो तहको मत पाएका छैनौं । दुबै पार्टी मिलाएर त सरकार बनाउने मत पायौं । यस्तो परिवेशमा हाम्रो सरकार बनाउने प्रयास रहन्छ । राजपाले आफ्नो तर्फबाट इमान्दार प्रयास गर्ने नै छ । अर्को पक्षबाट पनि त्यतिकै इमान्दार प्रयास भयो भने प्रदेश नं. २ मा राजपा र फोरमको सरकार बन्छ ।


० फोरम र राजपाबीच प्रदेश नं. २ मा सरकार बनाउने सहकार्य भयो भने मुख्यमन्त्री कसको हुने ?
— अब मुख्यमन्त्री कसको तर्फबाट हुन्छ भन्ने कुराको छिनोफानो भइसकेको छैन । त्यसैले, अहिले नै मुख्यमन्त्री हाम्रो वा फोरमको हुने भनेर भन्न मिल्दैन । जब सहमतिमा सरकार बन्ने स्थिति हुन्छ भने सहमतिमै मुख्यमन्त्री पनि तय हुनुपर्दछ ।


० प्रदेश नं. २ मा सरकार बनाउने तपाईंहरूबीच छलफल भएको छ कि छैन ?
— अहिलेसम्म त्यसबारे कुनै चर्चा वा छलफल भएको छैन । अहिले त्यसबारे छलफल गर्नु आवश्यक पनि छैन । किनभने जबसम्म प्रदेश व्यवस्थापिका बन्दैन तबसम्म त्यसबारे छलफल गरेर पनि फाइदा छैन । त्यसैले समयमै कुरा गर्नु उचित हुन्छ ।


० यदि प्रदेश नं. २ मा तपाईंहरूले सरकार बनाउनुभयो भने पहिलो प्राथमिकता के–के हुनेछ ?
— पहिलो प्राथमिकता त स्वाभाविक रूपमा नै मधेशको समग्र विकास हुनेछ । तर, त्योभन्दा पहिले केही सांकेतिक कार्य गर्नुपर्ने हुन्छ । प्रदेश नं. २ मा राजपाको अनुकुल सरकार बन्यो भने गर्नु पर्ने पहिलो काम भनेको मधेश आन्दोलनका शहीद परिवारहरूलाई ५० लाख प्रतिपरिवार दिने, प्रदेशको नाम ‘मधेश प्रदेश’ राख्ने र त्यस पछि अन्य कामहरू हुनेछ ।


० केन्द्रमा एमालेको नेतृत्वमा वाम गठबन्धनको सरकार बन्ने देखिएको छ, वाम गठबन्धनलाई तपाईंहरूको समर्थन रहन्छ कि रहँदैन ?
— हामीलाई जनताले वाम गठबन्धनको विरूद्धमा मत दिएका छन् । त्यसैले, यथास्थितिमा वाम गठबन्धनलाई समर्थन गर्ने राजपालाई कुनै अधिकार छैन । यो जनताको मत हो । एमाले अध्यक्ष केपी ओलीले जुन अतिस्योक्तिपूर्ण अभिव्यक्तिहरू दिए, त्यसका विरूद्धमा जनताले मतदान गरेका छन् । त्यसकारण, राजपाले वाम गठबन्धनलाई समर्थन गर्न सक्दैन । यदि केपी ओली र प्रचण्डजीको वाम गठबन्धनले संविधान संशोधन गर्न तयार हुन्छ भने त्यो संविधान संशोधन विधेयकमा हामी पनि मतदान गर्छौं । संविधान संशोधनपछि हामी समर्थन गर्न सक्छौं । जबसम्म संविधान संशोधन भएर जनताका अधिकार सुनिश्चित हुँदैन तबसम्म राजपाले यथास्थितिमा वाम गठबन्धनलाई समर्थन गर्न सक्दैन ।


० त्यसो भए, वाम गठबन्धनलाई राजपा समर्थन रहँदैन ?
— सरकार बनाउने बेलासम्म वाम गठबन्धन रहनुप¥यो । कुनै लालपुर्जा गरेर त वाम गठबन्धन बनाइएको होइन, वाम गठबन्धन नरहन पनि सक्छ । सरकार बनाउने बेलासम्म वाम गठबन्धन यथावत् रहोस्, त्यो वाम गठबन्धनले मधेशी जनताका मागहरू सम्बोधन गर्न सकोस् । त्यसपछाडि वाम गठबन्धनलाई पनि मधेशी जनताको समर्थन प्राप्त हुनेछ ।


० भनेपछि, बिना कुनै शर्त राजपाले वाम गठबन्धनलाई समर्थन गर्दैन ?
— यथास्थिति गर्न सक्दैन ।


० प्रदेशसभा सदस्यहरूलाई सरकारले काठमाडौंमै शपथ ग्रहण गराउने तयारी गरिरहेको छ, यसलाई कसरी लिनुभएको छ ?
— नेपालमा संघीयताको कडा विरोध गर्ने र संघीयता हुनै नदिन चाहने कांगेस र एमाले नै हुन् । अहिले पनि मुलुक संघीय पद्धतिमा गइसकेपछि उनीहरूले केन्द्रिकृत शासनको अभ्यास गर्न खोजिरहेका छन् । उनीहरूले जुन प्रकारले प्रदेशसभा सदस्यहरूलाई काठमाडौंमा नै शपथ ग्रहण गराउने, प्रदेश प्रमुखको कार्यालय पनि काठमाडौंमै राख्ने धृष्टता गरिरहेका छन् त्यसको हामी कडा विरोध गर्छौं ।


० राजपाका प्रदेशसभा सदस्यहरूले काठमाडौंमा शपथ ग्रहण गर्ने कि नगर्ने ?
— राजपाका प्रदेशसभा सदस्यहरूले काठमाडौंमै शपथ ग्रहण गर्ने वा नगर्ने विषयमा हामीले निर्णय गरिसकेका छैनौं । तर, कांगे्रस र एमालेको जुन कुत्सित मानसिकता छ, त्यसलाई नै निरन्तरता दिन खोजिरहेका छन् । हामी यसको विरोध गर्छौं ।


० प्रदेश राजधानीको विषयमा पनि ठाउँ–ठाउँमा आन्दोलन भइरहेको छ, यसमा के भन्नुहुन्छ ?
— आन्दोलन त हुन्छ नै । त्यो मागलाई सम्बोधन र व्यवस्थापन गर्ने काम सरकारको हो । सरकारमा बस्ने, शासनसत्ता भोग्ने सरकारले अनि विरोध खप्ने कसले ?


० खासगरी प्रदेश नं. २ को राजधानी कहाँ राख्दा उपयुक्त हुन्छ ?
— राजधानी मैले तोक्ने होइन । राजधानी तोक्ने काम सरकारको हो । सरकारले तत्काललाई अस्थायी राजधानी तोक्ने र पछि प्रदेश सभाको दुई तिहाई बहुमतबाट स्थायी राजधानी बनाउने हो । त्यो जिम्मेवारी या त अहिलेको नेपाल सरकारको छ वा भोली बन्ने प्रदेशसभाले निर्णय गर्नेछ । त्यसैले मैले यसको बारेमा जवाफ दिन सक्दिन ।


० अत्यधिक चिसो र शीतलहरका कारण तराई–मधेशमा अहिलेसम्म ४० भन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ, यसका लागि तपाईंहरू के गर्दै हुनुहुन्छ ?
— हामीले यो विषयमा नेपाल सरकारसँग कडा रूपमा माग गरेका छौं । सरकारले जनताबाट जसरी कर उठाउँछ त्यसरी नै जनताको ज्यान जोगाइ पनि दिनुपर्छ र यो दायित्व सरकारको हो । प्राकृतिक विपद्बाट जोगाउने जिम्मेवारी राज्यको हुने भएकाले शीतलहरबाट प्रभावित जनताको जीवनरक्षाका निम्ति पर्याप्त राहत उपलब्ध गराउनु पर्दछ । हामीले यसअघि नै प्रधानमन्त्रीलाई सर्वदलीय बैठकमा ध्यानाकर्षण गराइसकेका छौं ।


० शीतलहर पीडितका लागि राहत उपलब्ध गराउन राजपाले पार्टीबाट केही पहल गरेको छैन ?
— राजपासँग पैसा छाप्ने मेसिन नभएकोले राजपा आफैले राहत कहाँबाट वितरण गर्छ ? त्यत्रो तीन–तीन वटा चुनाव भयो । पार्टीका नेता कार्यकर्ताहरू व्यक्तिगत रूपमा राहत दिने अवस्थामा छैनन् । वास्तवमा भन्ने हो भने हामी नै राहत लिने अवस्थामा छौं । राजपाले शीतलहर पीडितका लागि राज्यलाई दबाब दिइरहेको छ । नेपालबाहिर बस्ने मधेशी समुदाय, विभिन्न गैरसरकारी संघ÷संस्था, विदेशी दातृ निकाय, दूतावास लगायतलाई राजपाले सहयोगका लागि अपील गरेको छ । हामी पैसा छाप्ने वा संकलन गर्ने निकाय नभएकोले पैसा बाँड्ने हैसियत हामीसँग छैन ।


० प्राकृतिक प्रकोपहरू बाढी, शीतलहरबाट वर्षेनी मधेशमा जनधनको क्षति हुने गरेको छ । तर, यसबाट कमभन्दा कम क्षति हुने दीर्घकालीन समाधानतर्फ किन ध्यान नगएको होला ?
— शीतलहरमा कम्बल बाँडेर यसको समाधान छैन । शासक वर्गको एउटै उद्देश्य छ कि मधेशलाई कसरी मरूभूमीकरण बनाउने । मधेशमा मान्छे बस्ने परिस्थिति नै नरहोस् भन्ने हिसावले चुरिया पर्वत श्रृंखलालाई यहाँका शासकहरूले मासे ।
अहिले पनि बाँकी रहेकालाई मास्दैछन । जुन दिन चुरिया पर्वत समाप्त हुन्छ, त्यो दिन मधेशमा न पानी हुन्छ, न मधेशमा बाली हुन्छ, न मधेशमा एक घन्टा पनि बस्न सक्ने अनुकुल मौसम हुन्छ । आजभन्दा ५० वर्ष पछि मधेशमा न मानिस हुनेछ न कुनै जीवन हुनेछ । मधेश भयंकर मरूभूमिमा परिणत हुँदैछ । यो नेपाली राज्यको कारणले भइरहेको छ । मधेशीलाई मधेशबाट आफै भागेर जाने परिस्थिति बनाइँदैछ । यसमा गम्भीर षड्यन्त्र छ । मधेशीमुक्त नेपाल बनाउने अभियानमा प्राकृतिक प्रकोपलाई निम्तियाइँदैछ ।


० यसबाट बच्न तपाईंहरूसँग के उपाय छ ?
— यसैबाट बच्नका लागि हामी निरन्तर संघर्ष गर्दै आएका छौं । मधेशी जनताले यो कुरा बुझ्न सकेका छैनन् । अहिले पनि मधेशीले हामीले बहुमत दिएर पठाएको छैन । फोरम र राजपा मिलाएर पनि मधेशी जनताको आधा मत पाएका छैनौं । अहिले पनि दुई तिहाई मधेशी जनताले मधेशीका दुश्मन गैरमधेशी दललाई मत दिएका छन् । म जहाँबाट चुनाव जितेको हुँ त्यसको पश्चिममा कांग्रेस, उत्तरमा कांग्रेस र पूर्वमा पनि कांग्रेस जितेका छन् । अब चारैतिरबाट छेरिएको अनिल झा एक्लै के गर्न सक्छन् । त्यसैले सिंगो मधेश मधेशी दलको हातमा नआएसम्म शासक वर्गसँग हिसाव किताब गर्न अप्ठ्यारै छ ।

प्रकाशित मिति : २०७४ साल पुस २८ गते शुक्रबार ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com