चिसोले आक्रान्त मधेशले “न्यानो माया” पाएन

राज्य मौन, जनप्रतिनिधि पनि निष्क्रिय !

मधेशवाणी डेस्क, काठमाडौं, २८ पुस । हिमाल पारीको जिल्ला मनाङको तापक्रम माइनस १६ डिग्रीमा झर्दा त्यति चर्चा पाएन जति मधेशका जिल्लाहरूमा शीतलहरले सताएको छ ।

समाचारहरूमा जनाइएअनुसार मनाङको गिर्दो तापक्रमले त्यहाँ जमिनमा झरेको शीत पनि बरफ बनेको छ भने पिउने पानीका मुहान पनि जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ ।

बाह्रै महिना चिसो हुने मनाङ जिल्लामा जाडोको समयमा प्रायः बासिन्दा जाडो छल्न अन्यत्र ठाउँमा जाने गर्दछन् । यो समयमा गाउँ घरमा घर कुर्ने चौँरी हेर्ने र हिउँ फाल्ने बासिन्दा मात्र बस्ने गर्दछन् ।

तर मधेशमा ? त्यहाँ शीतलहरको प्रकोप चल्दा पनि अन्यत्र जाने न उपाय छ न त त्यसको विकल्प नै ।
मधेशमा शीतलहरको प्रकोप जारी रहँदा मान्छे मरेको मरै छन् । चिसोले कठ्यांग्रिएर मजदुर र विपन्न वर्गको विजोग दयनीय र पीडादायी छ ।

ताजा तथ्याङ्कअनुसार वितेको दुई हप्तामा मात्र शीतलहर र चिसोका कारण मधेशका जिल्लाहरूमा गरी अहिलेसम्म झन्डै ६८ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश गरीव परिवारका बालबालिका र वृद्धवृद्धा छन् । यति मात्र होइन, चिसो बढेसँगै मधेशका अस्पताल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप पनि बढेको छ । चिसोसँगै भाइरल ज्वरोको प्रकोप पनि देखिएको छ ।

सम्पन्न व्यक्तिहरूभन्दा विपन्न वर्गमा शीतलहर र भाइरल ज्वरोको प्रकोप बढी देखिएको छ । शीतलहरकै कारण मधेशका जिल्लाका विद्यालयहरू जाडोको कारण बन्द भएका छन् ।

प्रकोप नयाँ होइन

मधेशका जिल्लामा वर्षेनी यसरी प्रकोप आउनु नयाँ भने अवश्य होइन । हरेक वर्ष पुस लाग्ने वित्तिकै शीतलहरको प्रकोप सुरू भएसँग एक प्रकारको मनोवैज्ञानिक त्रास पनि उत्पन्न हुन्छ, यो जाडो कसरी छल्ने भनेर । महिनौसम्म सूर्यको दर्शन हुन नसक्ने स्थिति पैदा हुनु भनेको स्वास्थ्य र वातावरणको लागि पनि पक्कै राम्रो होइन र जसको प्रत्यक्ष मारमा सम्पूर्ण मधेश परेको छ ।

न्यानो कपडाको अभावमा गरिब र विपन्न समुदायका ज्येष्ठ नागरिकहरूको बर्र्सेनी चिसोले कठ्याँग्रिएर मृत्यु हुनु अब त्यहाँ आम भएको छ । चिसोको मौसमी प्रताडना भोग्नु परे पनि सरकारले राहतको व्यवस्था गर्न सकेको छैन । तत्काल राहत उपलब्ध गराउन पीडित पक्षको अपेक्षा भएपनि त्यो कहिल्यै पूरा हुँदैन ।

चिसोको कहरले हरेक वर्ष गरिब तथा विपन्न मानिसको अकालमै मृत्यु हुने गरे पनि सरकारले न्यानो कपडा वितरण गर्न सकेको छैन । मधेशमा फुसको छानामा बस्नेहरूको आङमा न्यानो कपडा नपरेरै मृत्यु हुनु पर्ने नियति छ ।

महोत्तरी, सिरहा, सप्तरीलगायतका जिल्लामा बसोबास गर्ने मुसहर, डोम माझी, दलितलगायतका समुदाय चिसोको चपेटामा परेका छन् । उनीहरूलाई चिसोको कहरबाट जोगाउन ज्यान छोप्ने न्यानो लुगा र ओढ्ने–ओछ्याउनेको प्रबन्ध गर्नुका साथै चिसोका कारण बिरामी पर्नेहरूलाई उचित उपचारको व्यवस्था मिलाउन जरूरी देखिन्छ ।

मधेशका जाडो पीडितलाई सरकारले चिसोबाट बच्न स्थायी उपाय सिकाएको छैन । यी सबै प्रतिकूल परिस्थितिको मार खेप्न विवश भएका छन्, गरिब र विपन्न जनता । तत्काल चिसोबाट जोगिन अस्थायी उपाय अपनाउनुको विकल्प छैन । पूर्वी मधेशलगायत पश्चिम मधेशका क्षेत्रमा जनप्रतिनिधि चुनिए पनि अब चिसोको चपेटामा परेकाहरूले राहत र सहयोग नपाउनु विडम्बना हो ।

स्थानीय तहदेखि प्रदेश तथा केन्द्रसम्मका नवनिर्वाचित जनप्रतिनिधिहरूले चुपचाप बस्नु भन्दा उनीहरूका लागि तत्काल राहत दिने व्यवस्थाको थालनी गर्नुपर्छ । सर्वप्रथम चिसोमा ओत लाग्न नसक्ने घरलाई शीत नचुहिने बनाएर पीडितका लागि लत्ता–कपडा र खाद्यान्नसमेतको व्यवस्था गर्नु जरूरी हुन्छ । चिसोमा झोलयुक्त तातो परिकारले स्वास्थ्य स्थिति सहज हुन्छ ।

त्यसैले सरकारले जनप्रतिनिधिमार्फत दाल, गेडागुडीलगायत खाद्यान्न वितरण गर्नुपर्छ । चिसोको कहर सहन विवश जनताका लागि स्थायी उपाय खोज्नेतर्फ सरकारले गम्भीरतापूर्वक पहल गर्नु आवश्यक देखिएको छ ।

तर दुर्भाग्य त्यही गरीब जनताका मतबाट स्थानीयदेखि केन्द्रसम्म निर्वाचित प्रतिनिधिहरूको मौनता र निष्क्रियताले आक्रोशलाई जन्म दिने मात्र होइन, यसले निर्वाचित जनप्रतिनिधिहरूप्रति आम मानिसको सोचमा पनि परिवर्तन आउन सक्छ । जनप्रतिनिधि भनेको जनताको लागि काम गर्ने पात्र हुन, जनताको दैनिकीसँग सरोकार राख्ने स्थानीय प्रतिनिधि हुन भन्ने भावना जागृत नभएसम्म जनता र जनप्रतिनिधिबीचको खाडल पुरिदैन ।

मधेशमा अहिले जसरी शीतलहरको प्रकोपले व्यापकता पाएको छ त्यसको विषयमा बोलेर मात्र होइन, काम गरेर देखाउने समय आएको छ । हालै भएको निर्वाचनहरूमा सबै दलका उम्मेदवारहरूले गरेको वाचा र आश्वासन निर्वाचित हुने बित्तिकै बिर्सनु अर्को विडम्बना र दुर्भाग्यको विषय हो ।

छैन तयारी

हरेक वर्ष जनधनको क्षतिको कारक बनेको शीतलहरसँग जुध्न सरकारले कुनै तयारी गरेको छैन ।
सरकारले भने जिल्ला दैवी प्रकोप उद्धार समितिलाई निर्देशन दिने बाहेक केही गरेको छैन । जलवायु विश्लेषकहरूका अनुसार हरेक वर्ष आइलाग्ने निश्चित भएको शीतलहरको सामना गर्ने तयारी गर्नुको विकल्प छैन ।

तर, सरकारी तयारी कस्तो छ भने गृह मन्त्रालयले जिल्लामा निर्देशन बाहेक अरू केही पनि गरेको छैन । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा शीतलहरबाट मधेशमा मानिसहरू बिरामी पर्ने र केहीको ज्यान समेत जानसक्ने उल्लेख छ । मन्त्रालयले बिरामीको उद्धार र जोखिम न्यूनीकरणको व्यवस्था भने गरेको देखिंदैन ।

विपद् व्यवस्थापनमा पूर्व तयारी र जोखिम न्यूनीकरणमा जोड दिने हो भने प्राकृतिक प्रकोपजन्य विपद््बाट हुने झन्डै ९० प्रतिशत मानवीय क्षतिलाई कम गर्न सकिन्छ । विपद््पछिको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा लाग्ने खर्च विपद््को पूर्वतयारी तथा जोखिम न्यूनीकरणमा गरिने खर्चभन्दा निकै बढी हुन्छ । साथै प्राकृतिक प्रकोपजन्य विपद््ले तत्काल मानवीय तथा भौतिक क्षति पु¥याउनुका साथै त्यस्तो विपद््ले मुलुकको आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रमा समेत निकै दूरगामी असर पारेको हुन्छ ।

त्यसैले प्राकृतिक प्रकोपजन्य विपद््पछिको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणमा भन्दा त्यस्तो विपद््को जोखिम न्यूनीकरण र पूर्वतयारी तथा पूर्वसतर्कतामा जोड दिनुपर्ने आवश्यकता विज्ञहरूले औंल्याउँदै आएका छन् ।

यतिखेर मधेशी जनताको लागि देश हराएको छ, सरकार अस्तित्वविहीन भएको छ भने मधेशी दल र उनका प्रतिनिधिको निष्क्रियता रहस्मय छ । यो चुप लागेर बस्ने वा हठ देखाउने समय होइन । भोको पेटको राष्ट्रवाद र स्वस्थ्यबिनाको स्वाभिमान लामो समय टिक्दैन ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com