राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरुले अधिकतम् ३ लाख ५० हजार खर्च गर्न पाउने

काठमाडौं, ३० पुस । राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरुले अधिकतम् ३ लाख ५० हजारसम्म मात्र खर्च गर्न पाउने सीमा तोकिएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारहरूले निर्वाचनको प्रचार प्रसारको क्रममा खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने निर्णय गरेको छ ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ६४ बमोजिम निर्वाचन खर्चको अधिकतम हद रु.३,५०,०००।– तोक्ने निर्णय गरेको हो ।

‘अल्पसंख्यक समुदाय’ तोक्न आग्रह
यसैगरी, आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘अल्पसंख्यक समुदाय’ तोकी अविलम्ब नेपाल राजपत्रमा सूचना प्रकाशनसमेत गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।


पदाधिकारीको आधिकारिक दस्तखत नमुना पठाउन अनुरोध
यस्तै, आयोगको आजै बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको आधिकारिक दस्तखत नमुना २०७४ माघ ३ गतेसम्ममा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंमा पठाइसक्नु हुन राजनीतिक दलहरुलाई सूचित गर्ने निर्णय गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com