मधेशबिना राजनीति अगाडि बढ्न सक्दैन : विजयप्रसाद मिश्र

मधेश मामिलाका जानकार

पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक तथा मधेश मामिलाका जानकार विजयप्रसाद मिश्र मधेश आन्दोलनलाई धेरै नजिकबाट नियाल्नेमध्येका एक हुन् । उनले पहिलो मधेश आन्दोलनदेखि तेस्रो मधेश आन्दोलनसम्मका सम्पूर्ण आयामहरूलाई सूक्ष्म ढंगले विश्लेषण गर्दै आएका छन् । समाजशास्त्र तथा सञ्चार प्रविधिमा स्नात्तकोत्तर गरेका मिश्र पत्रकारिता पनि गरेका हुन् । २०५४ सालमा मधेशी जनअधिकार फोरम नेपाल गठनदेखि राजतन्त्रको अन्त्य भएसम्मको अवधिलाई समेटेर उनले विद्यावारिधि गरिरहेका छन् । मधेश आन्दोलनले एक दशक पूरा गरेको सन्दर्भमा मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंशः

० पछिल्लो एक दशकको मधेश आन्दोलनलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 

— अन्तरिम संविधानमा संघीयता शब्द नराखिएको र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण नगरिएको भन्ने मुख्य एजेण्डा लिएर २०६३ साल माघदेखि मधेश आन्दोलन सुरू भएको हो । त्यो आन्दोलनले एक दशक पार गरेको छ । १० वर्र्षमा हेर्दा यो आन्दोलन मुख्य गरेर राजनीतिक एजेण्डामा सफल भएको म ठान्दछु । नेपालको संविधानमा संघीयता राख्न लगाउने काम मधेश आन्दोलनले नै गरेको हो भन्नेमा कुनै शंका छैन । मधेश आन्दोलन नै यस्तो आन्दोलन हो जसले नेपालको संविधानमा संघीयता राख्न बाध्य बनायो । यो मधेश आन्दोलनको राजनीतिक रूपमा ठूलो उपलब्धी हो । नेपालमा मधेशीहरू पनि बस्छन् भन्ने कुरा अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न पनि यो आन्दोलन सफल भयो । मधेशी शब्दले राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचान प्राप्त ग¥यो । मधेशी समुदायका मानिसहरूलाई पहाडी वा अन्य समुदायका मानिसहरूले जुन किसिमको नकारात्मक व्यवहार पहिले गर्दथे, त्यस्ता व्यवहारमा क्रमशः परिवर्तन हुँदैसम्मानित व्यवहार गर्न थाले र मधेशी समुदाय आफैं पनि मधेशी हुनुमा गौरव गर्न थाले । यसले गर्दा सामाजिक रूपमा पनि मधेशी शब्दले स्थापित हुने अवसर पायो र राजनीतिक रूपमा पनि मधेश आन्दोलनले स्थापित हुने अवसर पायो ।
तर, मधेश आन्दोलनले आर्थिक विकास र समृद्धिमा कुनै काम गर्न सकेको छैन । एउटा आन्दोलनले चाहना गरेको धेरै कुराहरू मध्ये राजनीतिक मुद्दा स्थापित गर्न सफल भए पनि आर्थिक, सामाजिक मुद्दामा असफल भएको छ ।
सरकारमा मधेश केन्द्रित दलका नेताहरू पटक पटक मन्त्री भए, राष्ट्रपति, उपराष्ट्रपति पनि मधेशी समुदायकै भए । सरकारमा पुगे पनि सत्तामा अहिलेसम्म मधेश केन्द्रित दलका नेताहरू पुग्न सकेका छैनन । मधेश आन्दोलनले पूर्णता पाउन अझ केही कामहरू गर्न बाँकी नै छ जस्तो लाग्छ ।


० कस्तो काम बाँकी रहेको देख्नुभएको छ ?
— हामी जनसंख्याको आधारमा सबै क्षेत्रमा मधेशी समुदायलाई समानुपातिक ढंगले प्रतिनिधित्व हुन दिनुपर्छ भन्छौं तर सहभागीतामूलक ढंगले शासन सञ्चालन गर्ने कुरामा मधेशीहरूको संख्या सरकारमा भए पनि निर्णायक ठाउँमा छैन । निर्णय गर्ने स्थितिमा उनीहरूलाई पाखा लगाउने अहिलेको नीति छ । संख्यात्मक रूपमा मात्र मधेशीलाई नदेखाई मधेशी समुदायका विचारहरूलाई उनीहरूले राखेका तर्कहरूलाई बहसमा ल्याउने र त्यसलाई सम्मानित ढंगले अगाडि बढाउनुपर्छ भनेर जस्तो किसिमको भावनाहरू पैदा हुनुपर्ने हो तर अन्य राजनीतिक पार्टीहरूमा यस्तो भईरहेको अवस्था छैन । जब अप्ठ्यारो पर्छ तब मात्र मधेश केन्द्रित पार्टीहरूसँग ठूला दलहरूले साँठगाँठ गरेर अगाडि बढ्छन् । जब ठूला पार्टीहरू शक्तिमा आउँछन् त्यसपछि फेरि मधेशी पाटीहरूप्रति दृष्टिकोण नराम्रो राख्छन्, यसले गर्दा मधेशी पार्टीहरूबाट उठ्ने आवाजहरू बहसमा आउन सकेको छैन । नेपाल कृषि प्रदान देश हो । कृषिको लागि फाँटहरू मधेशमा नै रहेको छ । मधेशी समुदायका मानिसहरू नै कृषिमा पोख्त पनि छन् तर आर्थिक उपार्जनको राम्रो स्रोत भएको मधेश आफैं आर्थिक रूपमा जर्जर अवस्थामा पुगेको छ । यो विषयमा विश्लेषण गरेर अब मधेशको आथिक समृद्धिको लागि एउटा प्याकेज बनाएर राज्यले मधेश केन्द्रित दलहरूसँग मिलेर केही काम गर्नुपर्छ । मधेशी दलितहरूको अवस्था कति दयनीय छ, मधेशमा पछाडि परेका समुदायलाई मूलप्रवाहमा ल्याउनका लागि र आर्थिक समृद्धिका लागि राज्यले कानुनतः होईन, व्यवहारतः संविधानमा दिएका अधिकारलाई लागू गरेर अगाडि बढ्नुपर्छ । मधेशी र पहाडी समुदायबीच बढेको दुरी घटाउन हामीले मधेशी जनतालाई पहाडको र पहाडी जनतालाई मधेशको जीवनशैलीको बारेमा जानकारी गराउनुपर्छ । केही काठमाडौंमा बस्ने सत्तामा हालीमुहाली भएका खस–आर्य, जनजाति र केही मधेशी समुदायहरूले भ्रम सिर्जना गरेका छन् । जसले गर्दा समाजमा अहिले पनि मधेश र पहाडको बीचमा अन्तरद्वन्द्व रहेको छ ।


० मधेश आन्दोलन पछि मधेशमा आधारभूत परिवर्तन भएको महसुस गर्ने ठाउँ देख्नुहुन्छ ?
— धेरै परिवर्तनहरू भएको देखेको छु । पहिले सरकारी जागिरमा जाँदाखेरी कोटा प्रणाली त थिएन अहिले जाति अनुसार कोटा प्रणाली रहेको छ । यसले गर्दा सबै मानिसहरूले त्यसमा केही मात्रमा भए पनि अवसर त प्राप्त गरेका छन् नि ! समावेशी ढंगले हरेक क्षेत्रमा प्रतिनिधित्व हुँदै गएको देख्न सकिन्छ । यसलार्ई हामीले मधेश आन्दोलनको देन हो भन्न सक्छौं । यदि मधेश आन्दोलन नभई दिएको भए, मधेश आन्दोलनका कारण नै सत्तामा बस्ने मानिसहरूले महत्वपूर्ण निणर्यहरू गर्छन् त्यतिबेला सोच्ने गर्दछन् । यो निणर्यले मधेश अशान्त त हुँदैन, मधेशलाई साम्य पार्नको लागि भए पनि मधेशलाई केही अधिकार दिनुपर्छ भनेर भागबण्डा गर्ने सोचको जुन विकास सत्ताधारीहरूमा भएको छ यो पनि मधेश आन्दोलन कै अर्को कारण हो । पहिलो संविधानसभाको चुनावमा मधेश केन्द्रित दलहरूले जसरी विषय प्राप्त गर्न सफल भए त्यतिखेर समानुपातिक सीटहरूमा तल्लो तहमा रहेका र त्यति चर्चामा नआएका मधेशका महिलाहरूलाई ल्याएर संसदमा उपस्थित गराएका थिए । त्यसले गर्दा मधेशी महिलाहरूमा राजनीतिप्रति सकारात्मक धारणाको विकास भयो । समग्रमा हेर्दा सामाजिक र राजनीतिक रूपमा मधेश आन्दोलनले फाइदा पु¥याएको छ भन्ने मेरो बुझाई हो ।


० अबको दिनमा मधेशले के खोजेको छ ?
— मधेशले खोजेको आत्मसम्मान हो । मधेशी जनताको मेहनत, लगनशीलता, जाँगर एकदम उदाहरणीय रहेको छ । त्यति जाँगरिलो र मेहनती हुँदाहुँदै पनि आत्मसम्मानमा ठेस पु¥याउँदाखेरी कहिलेकाँहि पछाडि हट्नुपर्ने अवस्था आउँछ । जब मधेश आन्दोलन भएको थिएन, त्यतिबेला राम्रो ओहदामा पुगेको, धनीमानी अथवा जे पनि काम गर्न सक्छु भन्ने मधेशी साथीहरू नै पहाडी समुदायका व्यक्तिहरूले केही पो गर्छन् कि भनेर डराउने गर्दथ्ये । आवश्यकता र त्रासको कारणले त्यतिबेला सामाजिक सद्भाव रहिरहेको थियो । प्रहरी प्रशासन, कर्मचारी सबै पहाडी समुदायको हुने भएकाले पनि केही कामका आवश्यकता पूरा गर्नका लागि भएपनि आफूलाई भेदभाव गरेको थाहा पाउँदा पाउँदै पनि मधेशी समुदायले उनीहरूलाई सम्मान दिइरहे । त्यो संस्कार अहिले पनि पहाडे मानसिकतामा छँदैछ तर त्यो मान्नेबाला मधेशी समूदाय छैन । नेपालको प्रशासनिक निकायले अहिलेसम्म पनि मधेश र पहाडको बीचमा समान व्यवहार गर्न सकेको छैन । काठमाडौंमा हुने आन्दोलनलाई एकदम मानवअधिकारमुखी बनेर प्रस्तुत हुन्छ सुरक्षा निकायहरू, तर तराईमा हुने आन्दोलनहरूमा उसलाई मानअधिकारसँग मतलब हुँदैन । उसले टाउको ताकेर गोली हानेको देखिन्छ ।


० पहिलेको मधेश आन्दोलन एउटा सम्झौतामा गएर टँुगिएको थियो तर तेस्रो आन्दोलनको अवतरण सुःखद रहेन । यसलाई कसरी विश्लेषण गर्र्नुहुन्छ ?
— पहिलो मधेश आन्दोलनमा सम्झौता भयो त्यसपछि फेरि अन्य केही पार्टीहरूको जन्म भयो र फेरि दोस्रो मधेश आन्दोलन मधेशी मोर्चा गठन भएर भयो । त्यो पनि सम्झौतामा नै गएर टुंगियो । ती सम्झौताहरू पनि लागू भईरहेको अवस्था छैन । सम्झौता जहिले पनि उधारोमा भएकोले गर्दा त्यसलाई कार्यान्यवयन गर्न निकायहरूले बेवास्ता गरिदिएकोले तेस्रो पटकको मधेश आन्दोलनमा सम्झौता नगरेका हुन् । पुराना सम्झौताहरू त कार्यान्यवन नभएको अवस्थामा नयाँ सम्झौता के गर्नु ? पहिलो र दोस्रो मधेश आन्दोलन हुँदा जसले सरकारको नेतृत्व गरिरहेका थिए, तिनीहरू अलिकति मधेशमैत्री भइदिएका भए, तेस्रो आन्दोलन हुने थिएन । तर तेस्रो मधेश आन्दोलन हुँदा जो सत्तामा पुगे तिनीहरू मधेश मैत्री थिएनन् जसले गर्दा सम्झौता हुन नसकेको हो । तेस्रो मधेश आन्दोलन लामो समय चलिरह्यो । यसमा आर्थिक नाकाबन्दी भारतले नेपाललाई लगायो भनेर जुन किसिमको हल्ला भयो, यसले गर्दा सरकारलाई यो आन्दोलनमा विदेशी हस्तक्षेप छ भन्ने प्रचारबाजी गर्न सहयोग भयो । जसले गर्दा पहिलो र दोस्रो आन्दोलनमा सघाएको एउटा ठूलो तप्काले तेस्रो मधेश आन्दोलनलाई नैतिक रूपमा सहयोग गरेन । यसले गर्दा पनि तेस्रो मधेश आन्दोलन सफल हुन सकेन ।


० मधेशी दल र गैरमधेशी दलहरूको मधेशप्रतिको बुझाई कस्तो पाउनुहुन्छ ?
— संविधानमा दोस्रो पटक संशोधन गर्ने कुरामा भोटिङ गरेर पारित नभएको अवस्था हामीलाई थाहै छ । एमालेले विपक्षमा भोट हालेको हुनाले नै संविधान संशोधन प्रस्ताव असफल भएको हो । प्रष्ट देखिन्छ, मधेशमैत्री पार्टी एमाले होईन । एमाले भित्र रहेका सबै व्यक्तिहरू मधेश विरोधी त होइनन् तर यस पार्टीभित्र रहेका मधेशको मुद्दालाई समर्थन गर्ने व्यक्तिहरूको आवाजले बहुमत प्राप्त गर्न सकेको छैन ।


० आगामी दिनमा मधेश केन्द्रित दलहरूले कस्तो धारणा बनाउन आवश्यक ठान्नुहुन्छ ?
— मधेश केन्द्रित दलहरूले जसरी कार्यगत एकता गरेर निर्वाचनमा गएका थिए त्यसरी होइन, उनीहरू मिलेर एउटै पार्टी बन्न आवश्यक रहेको छ । जबसम्म मधेश केन्द्रित दलहरू एक ढिक्का हुन सक्दैन तबसम्म भाई फुटे गवार लुटे भन्ने भनाई उनीहरूमा पनि लागु भइरहन्छ । एकैचोटी संविधानमा संशोधन गर्न सकिदैन भन्ने कुरा अहिलेको गतिविधिले देखाइसकेको छ । त्यसैले किस्ताबन्दी गरेर अगाडि बढ्नुपर्छ । के कुरामा एमाले संशोधनको लागि तयार छ, एमालेसँग नजिकिएर वार्र्ताको वातावरण बनाउनुपर्छ र एमालेसँग मिलेर जान सक्यो भने राम्रो हुन्छ । मधेश केन्द्रित दलले संविधान संशोधनको लागि राखेको केही बुँदाहरूमा एमालेले पनि सहमति जनाउन सक्ने बुझिएको छ । यसमा केही थपघट गरेर मधेश केन्द्रित दलले एमालेको विश्वास जित्न सक्नुपर्छ । अहिले एमाले र माओवादीले आफ्ना सिद्धान्तमा परिवर्तन गर्न खोजिरहेका छन् । सिद्धान्तमा त परिवर्तन गर्न सकिन्छ भने संविधानमा परिवर्तन गर्न नसक्ने भन्ने हुँदैन । सरकार, सिद्धान्त त परिवर्तनशील हुन्छन् भने राजनीतिक पार्टीहरू पनि परिवर्तनशील हुन सक्नुपर्छ । जनताको आवाजहरूले गर्दा पनि उनीहरूले आफ्नो पुरानो सिद्धान्तलाई परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । एमालेको समर्थन बिना संविधान संशोधन पहिले पनि हुन सकेन अब पनि हुन सक्दैन । पाँच वर्षभित्रमा नै संविधानमा केही कुराहरू संशोधन गराउनु पर्नेछ र मधेश केन्द्रित दलहरूको माग पूरा गराउनु छ भने जो मधेशको मागहरूमा सबभन्दा विरोधी छ उसैसँग हो । त्यसैले मधेश केन्द्रित दलले एमालेसँग मिलेर अगाडि बढ्नुको विकल्प छैन । नत्र मधेश केन्द्रित दलका समर्थक जनताहरू जो छन् अथवा मधेश केन्द्रित दलले उठाएका आवाजहरूलाई समर्थन गर्ने बौद्धिक समाज जुन छ, उनीहरू पनि प्राविधिक र अंकगणितीय कारणले संसदमा दुईतिहाई नपुगेपछि आन्दोलन कै रूपमा रहेका हुन्छन् ।


० अबको दिनमा मधेशको राजनीतिक कोर्स कस्तो रहला ?
— मधेशको कुरा नआई नेपालको राजनीतिले अबको दिनमा पूर्णता पाउँदैन । जब नेपालमा सरकार र सत्ता परिवर्तनको खेल हुन्छ, अन्तर्राष्ट्रिय समुदायहरूसँग छलफलको कुनै विषय आउँछ त्यहाँ मधेश केन्द्रित दलको चाहना र भावनालाई बुझेर त्यसलाई पनि समेटेर लैजान सक्नुपर्छ अनि मात्र नेपाल सफल हुन्छ ।


० आन्दोलनका रूपमा मधेशी दलहरू कति सफल भएको मान्न सकिन्छ ?
— मधेशी जनताहरूले बाध्य भएर अर्को विकल्प नभएर मधेश केन्द्रित दलहरूलाई नै भोट दिएको हो । उनीहरूले मधेश केन्द्रित दलहरूको रवैया यस्तै रहेको छ त्यसलाई बुझिसकेका छैनन् । नातावाद र कृपावाद हटाएर आम जनताको भावनालाई सुन्नुपर्ने हो, जनताको नेता बन्नुपर्ने हो त्यसमा मधेश केन्द्रित नेताहरू चुकेका छन् ।


० मधेश केन्द्रित दलहरूले अबका दिनमा कस्तो रणनीति अपनाउनु पर्ला ?
— संविधान संशोधन उसको पहिलो मुद्दा भयो र यसलाई सँगसँगै लिएर जानुपर्छ । आर्थिक समृद्धि अहिलेको सबैभन्दा ठूलो आवश्यकता छ, राजनीति अधिकारका मुद्दाहरू धेरै उठे त्यसैले अब आर्थिक समृद्धिको लागि बेरोजगार रहेका युवाहरूलाई स्थानीय स्तरमा नै रोजगारीको अवसर दिलाउनका लागि र महिलाहरूलाई सशक्त बनाएर उनीहरूलाई आर्यआर्जका लागि समक्ष बनाउन जरूरी छ । यस तर्फ मधेश केन्द्रित दलहरू लाग्नुपर्छ ।


० केन्द्रीय राजनीतिमा मधेश केन्द्रित दलहरूको प्रभाव कस्तो रहने पाउनुहुन्छ ?
— पाँच वर्षको अवधिलाई जनताले जुन जनमत दिएका छन् यसमा वाम गठबन्धनको धेरै हाउगुजी भए पनि एमाले र अर्को कुनै मधेश केन्द्रित दल मिलेर सरकार चलाउन सक्ने स्थिति बनेको छ । यस्तो अवस्थामा वाम गठबन्धन सफल भयो भने मधेश केन्द्रित दलको भूमिका न्यून भएर जान्छ । तर वाम गठबन्धन असफल भयो भने मधेश केन्द्रित दलहरूको राजनीति धेरै महत्वपूर्ण हुनेछ ।

प्रकाशित मिति :  २०७४ साल माघ ५ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com