हेपिएको मनोविज्ञानमा प्राविधिक सेवा (विचार)

बेचन कुमार महतो

म एक निजामती कर्मचारी । प्राविधिक कर्मचारी । सर्टिफीकेटहरुमा राम्रो प्रतिशत लेखिएको भएता पनि एसएलसीदेखि स्नात्तकोतरसम्मको शैक्षिक यात्रा तय गर्न २५ वर्ष खर्चेको अपहेलित कर्मचारी । प्रविधिको विकास, परिक्षण र प्रयोगको सैधान्तिक धरातलमा रहीे कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरेको व्यावसायिक शिक्षा र सरकारी कानुनले परिभाषित गरिदिएको मेरो सेवाको विशिष्ठताले गर्दा नै शायद म प्राविधिक सेवाको कर्मचारी कहलिएको हुँ ।

स्वाभाविक रुपमा म पनि अरु सेवाका कर्मचारीझैं एउटा मानव हो, चाहे जतिसुकै तह र श्रेणी किन नहोस्, न्यूनतम् मानवीय मूल्य र मान्यता अवलम्बन गरी अबका दिनमा आफूलाई कार्यप्रति थप उत्साहित र लगनशील बनाउन चाहन्छु तर खोइ किन हो किन म भित्रको अन्तरनिहित उर्जाले पथ निर्देश गर्न चाहिरहेको छैन । मनमनै वाद विवाद गर्दछु, सह–गोत्री साथी भाईसँग तर्क गर्दछु, सबैमा निराशा र हेपिएको मनोविज्ञान नै देख्दछु । प्राविधक हुन विज्ञानको ज्ञान हुन आवश्यक छ । विज्ञानले कृया प्रतिकृयाको समिकरणलाई पुष्ट्याउँदछ ।

वर्तमान समय विज्ञान र प्रविधिको युग हो । मुलुकको दिगो विकासका लागि भौतिक तथा प्राकृतिक साधन श्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका व्यवस्थापकीय क्षमता भएका व्यावसायिक प्राविधिक जनशक्ति वा मानवशक्तिको रहन्छ ।

देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पुँजीका लागि प्राविधिक सेवाको पहिचान हुनु अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र उपलब्ध श्रोत र साधनहरुको दिगो व्यस्थापन गरी उपभोग तुल्य बनाई मानवकल्याणका लागि योगदान दिन सक्दछन् ।

इजरायली प्रधानमन्त्री बेंजामिन नेतन्याहुले हालै आफ्नो नेपाल भ्रमणको क्रममा प्रविधि विकासकै कारण इजरायलले छोटो समयमा प्रगति गरेको बताउनुले पनि प्राविधिक जनशक्तिको भूमिकालाई पुष्टी गर्न सकिन्छ । हाम्रो देश नेपाल प्रकृतिको विशाल भण्डार हो । मृतसञ्जिवनी वुटी लगायतका अनेकौ प्राकृतिक सम्पदा एवं जलसम्पदा रहेका छन् ।

आफ्नै देशमा उपलब्ध हुने वस्तुहरु चिन्न नसकेर विदेशवाट आयात गर्नु परेको छ । यसले एकातिर आफैसँग भएका महत्वपूर्ण वस्तुहरु मूल्यहीन भएका छन् भने अर्कोतिर तीभन्दा कमसल वस्तुहरु विदेशबाट झिकाउनु परेको छ र स्वदेशी धन विदेशिएको छ । यसको उपयोग गर्न व्यक्तिमा प्राविधिक ज्ञान आवश्यक पर्दछ । आज विश्वका विकसित देशहरुमा त्यहाँको प्राविधिक जनशक्ति नै विकासको कारक बनेको देखिन्छ ।

त्यसैगरी जुन–जुन देशमा प्राविधिक जनशक्तिको कमी छ ती–ती देशहरु पछि परेका छन् किनभने एक चोटी विकास भइसकेको प्रविधिको अनुसरण तब मात्रै सम्भव छ जब ती प्रविधि सबै प्रयोगकर्ताबाट अनुमोदित हुन्छ । प्रविधिको विकास र परीक्षणका लागि आत्म अनुशासन, प्रायोरिटीका आधारमा कार्यान्वयन गर्न सक्ने क्षमता, कार्य प्रतिको समर्पण र समस्या समाधानका लागि प्रतिवद्घता, विस्तार उन्मुख कार्यशैली, आपसी सम्वाद गर्न सक्ने क्षमता र तत्परता, ज्ञानको साझेदारी, ज्ञान सीमितताका लागि नम्र मनोभाव, अनुभव तथा निर्देशनबाट सिक्न सक्ने क्षमता, तार्किक र रचनात्मक सोंच क्षमता, नयाँ परिस्थितिमा ज्ञान लागु गर्न सक्ने क्षमता तथा स्वतन्त्र रुपमा प्रविधिको प्रदर्शन गर्न सक्ने क्षमताले गर्दा नै प्राविधिक सेवालाई अन्य सेवाभन्दा भिन्न बनाएको छ र यही नै प्राविधिक जनशक्तिको विशेषता हो ।

त्यसैले व्यक्तिमा श्रमप्रति सम्मान गर्नुपर्ने भावना जागृत गर्न आवश्यक छ । हरेक व्यक्ति÷कर्मचारीमा उसको सीप र दक्षताअनुसार सेवा प्रदान गर्न सक्र्ने वातावरण तयार गरिदिनु सरकारको प्रयास हुनु जरुरी छ ।

देश रुपान्तरणको घडीमा छ । रुपान्तरण भनेको तीव्र गतिको परिवर्तन हो । रुपान्तरणले सुनौलो भविष्यका लागि नयाँ, सिर्जनात्मक र उत्साहजनक अवस्था निर्माण गर्न निरन्तर प्रेरित गर्दछ । ग्रामी पुरस्कार विजेता प्रसिद्घ अमेरिकी संगितकार माइकल स्मिथका अनुसार जब मानिसले आनन्द महसुस गर्दछन् र एक अर्काको वृति विकासमा लगानी गर्दछन् तब संसार रुपान्तरित हुन्छ ।

रुपान्तरणका लागि सहकार्य र सिर्जनशिलता अनिवार्य सर्तहरु हुन् । यसका लागि मानिसमा नयाँ सोच, नयाँ ज्ञान र नयाँ दक्षता आवश्यक पर्दछ । नयाँ ज्ञानले समाज निर्माण हुन्छ । वैज्ञानिक ज्ञान नै रुपान्तरणको मुहान हो । नेपालको सन्दर्भमा कुरा गर्दा यहाँ वैज्ञानिक ज्ञानभन्दा पनि परम्परागत रुढीवादी ज्ञानको दबदबा छ ।

सिँगो समाज र कतिपय नीतिनिर्माण तहको प्रभावकारी तहमा रहेका उच्च पदस्थहरु पनि वैज्ञानिक ज्ञानलाई भन्दा परम्परागत ज्ञान र शैलीमा आधारित रहेर महत्वपूर्ण निर्णय गर्दछन् । वैज्ञानिक ज्ञानलाई स्वविवेकी विश्लेषण गर्दछन् ।

यसको ज्वलन्त उदाहरणको रुपमा प्राविधिक कार्यको विशिष्ठता हेरी पञ्चायती व्यवस्थामा समेत रहेको प्राविधिक र अप्राविधिकको फरक तलवमान र प्रजातान्त्रिक शासन व्यवस्थामा २०५६ सालमा तलवमान समायोजन गर्दा कायम रहेको प्राविधिक दुई ग्रेड २०६४ र २०७३ मा आएर गरेको खारेजी प्रकरणलाई लिन सकिन्छ ।

सायद निर्णयकर्ताको यस्तै एकाँकी र स्वविवेकी प्रवृतिले गर्दा म जस्तो प्राविधिक कर्मचारीमा हिनताबोधको भावना जागृत हुन थालेको हो ।

सँगै नियुक्ति लिई पदस्थापना भएको अप्राविधिक सेवाका साथीले कयौ तह पार गरी सक्दा पनि आफू उही पुरानै मियोमा घुमी राख्नु पर्ने पीडा प्राविधिक कर्मचारीभन्दा बढी कसलाई थाहा छ र । कर्मचारीतन्त्र भित्रको डरलाग्दो नातावाद, अवसरवाद, अर्थवाद, चाकरी, चापलुसीले गर्दा समग्र निजामती सेवाको उत्पादनशिलता दिनप्रति दिन घट्दै गइरहेको कटु सत्यलाई नकार्न कसले नै सक्छ र ।

पद्धतिमा नचलेको सार्वजनिक प्रशासनमा आफू अनुकूल व्यवस्थापकीय परिभाषा परिवर्तन गरिरहने अनि अरुले चाहना राखे गलत अर्थ लगाउने संस्कार कसले नवुझेको हो र । तर पनि केन्द्रीय शासन व्यवस्थालाई गतिशील बनाउन भने कर्मचारीको भूमिकालाई मनन गर्नै पर्ने हुन्छ ।

राज्यको उपस्थितिलाई जनता समक्ष पेश गर्नु, राजनैतिक व्यवस्थाले अवलम्वन गरेका सिद्घान्तलाई आफ्नो दायित्व ठानी कार्यान्वयनमा सहयोग गर्नु र जीवनस्तरलाई सहज तुल्याउने सेवा धर्ममा समग्र कर्मचारीतन्त्रले पु¥याउँदै आएको योगदानलाई जनताले प्रशंशा गरेकै छन् ।

मुलुकको विकास र समृद्घिमा अवरोध भएको ठम्याईका साथ केन्द्रीकृत शासन प्रणालीको पुरानो मान्यतालाई परिमार्जन गरी देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयको चरणमा अगाडी बढिरहेको छ । यथास्थितिमा रहेका राज्यका सम्पूर्ण संरचनाहरु पुनर्संरचनाको पर्खाईमा रहेका छन् ।

यसै सन्दर्भमा सार्वजनिक प्रशासनको क्षेत्रमा पुनसंरचनाको बहसले पनि व्यापकता पाउन थालेको समचारले सम्पूर्ण कर्मचारीतन्त्रको ध्यानाकर्षण हुँदैछ । कतिपय कर्मचारीहरुको स्वाभिमानमा नै आँच पुग्ने प्रकारका भ्रमहरुको डंका पिटिन थालिएको छ ।

काठमाडौंको सिंहदरवार स्थानीय पालिकामा सार्ने रणनीतिक कारण देखाई एकातिर एकीकृत सेवा र संरचनामार्फत सेवा प्रवाहको परिकल्पना गरिएको छ भने अर्कोतिर कुनै सेवा समूहलाई मालिक र कुनैलाई दासको रुपमा परिभाषित गर्ने कानुनी प्रयास थालिएको छ । यसै सन्दर्भमा कर्मचारी समायोजनका लागि कर्मचारी समायोजन ऐन २०७४ जारी भइसकेको छ भने कर्मचारी समायोजन नियमावली स्वीकृतिको प्रतिक्षामा रहेको छ ।

उपरोक्त अनुसारका कर्मकाण्डी कानुनहरुले करीब ४० हजारको संख्यामा रहेका प्राविधिक कर्मचारीहरुमा अन्यौलता र निराशा छाएको छ । मनोवल गिर्न थालेको छ । संघीयता कुनै सेवा समूह विशेष र केन्द्रीय मन्त्रालयका लागि मात्र नभएर निजामती सेवाका सबै समूहलाई कानुनी रुपमा समान ठानेर सम्मानजनक व्यवस्थापन गर्नु पर्नेमा कुनै सेवा समुहलाई मात्र नेतृत्वको रुपमा स्थापित गरी प्राविधिक कर्मचारीको भूमिकालाई कमजोर पार्न खोजिएको छ । प्रशासन सेवाका कर्मचारीहरुलाई महत्व दिई समायोजन ऐन तयार भएको अवस्था छ ।

एकातिर जेष्ठता विवादकै कारण विगतमा सरकारका मन्त्रीले कार्य गर्न नसक्ने भनी राजीनामा दिएको इतिहास नेपालमा धेरै पुरानो भएको छैन भने अर्कोतिर पद सोपान, जेष्ठता र योग्यतामा आधारित निजामती सेवाको संरचनालाई स्थानीय तहमा समायोजन गर्न मात्र प्रशासन सेवाको नेतृत्वभित्र रहने गरी हुकुमी कानुनको ड्राफ्ट कोरिएको हल्लाले हेपिएको मनोविज्ञान लिएर प्राविधिक सेवाका कर्मचारीले कति गुणस्तरीय सेवा प्रवाह कुन पदीय हैसियतमा गर्नेछ भन्ने गम्भीर प्रश्न रहेको छ ।

आम प्राविधिक तथा प्रशासन सेवा बाहेकका अन्य सेवाका कर्मचारीका भावना विपरीत करीब निश्चि भइसकेको समायोजन प्रकृयाले अन्य सेवाका कर्मचारीको पूर्ण परिभाषित योग्यता, योगदान र क्षमतालाई अपमानित गर्न खोजिएको आभास हुन थालेको छ ।

स्मरण रहोस्, पहिलो पञ्चवर्षीय योजना लागू हुँदा खाद्यान्न निर्भर रहेको नेपाल १४औं योजना लागू हुँदा आयात गर्ने अवस्थामा पुगेको छ । जगजाहेर छ, पञ्चवर्षीय योजना योजना आयोगले बनाउँदछ । यदाकदा मात्र प्राविधिक योजनाकारको उपस्थिति हुने योजना आयोगका अधिकाँश योजनाकार सदस्यहरु गैरप्राविधिक चरित्रका हुने गर्दछन् ।

अझ योजना आयोगकै विभिन्न शाखाहरुमा अधिकृतदेखि सहसचिवसम्ममा पूर्णरुपले प्रशासन सेवाका जनशक्ति मात्रै हुनुले प्राविधिक क्षेत्रसँग सम्बन्धित विषयहरुको योजनाहरुमा प्रशासनिक जनशक्तिहरुको मात्र राय र सुझाव लिएर कार्यान्वयन गर्नुपर्ने बाध्यता रहिआएको छ । सँगै कुनै प्राविधिक टोलीले धेरै पहिले मापन गरेको सगरमाथाको उचार्इँको अँकको धाक लगाएर हामीले नेपाललाई विश्वमा चिनाउने गर्दछौं ।

कुनै इन्जिनियरको प्राविधिक अध्ययनको रिर्पोटलाई टेकेर नेपाल जलश्रोतको धनी देश भनेर नाक फुलाउँदछौं । प्राविधिक टोलीकै डिजाइन र लेआउटअनुसार निर्माण गरिएको सडकमा आफ्ना चिल्ला कार चलाएर आफूलाई सभ्य नागरिकको रुपमा स्थापित गराउन कसिएका छौ ।

वैज्ञानिक वन व्यवस्थापनको परिकल्पना गर्ने वन प्राविधिक, जलाधार व्यवस्थापनको दक्षता राख्ने प्राविधिकको कार्यकुलशतालाई चित्रण गर्दै आफू प्राकृतिक श्रोत साधनमा धनी रहेको तथ्याँक प्रस्तुत गर्दछौं । कृषि प्रधान देशमा कृषि तथा पशु सेवा एवं सिंचाई सम्बन्धी प्राविधिकहरुको भूमिका र यन्त्र उपकरणका प्राविधिकहरुको सीप प्रयोग गरी आफ्नो दैनिक दिनाचर्यालाई सहजता प्रदान गरेका छौं ।

अन्त्यमा, आफ्नो स्ट्रेन्थ र आफूमाथिी गर्न लागिएको भेदभाव यी दुवै कुरोलाई एक साथ खेलाउँदा म लगायत अधिकाँश प्राविधिक सेवाका कर्मचारीहरुको मन विरक्तिन्छ । हेपिएको मनोविज्ञानले दस्तक दिई रहेको आभाष हुन्छ ।

सदैव दिमागमा आउँछ कि जुनियर व्यक्तिका मातहातमा सिनियर व्यक्ति कसरी कामकाज गर्न सक्लान ? अतः उपरोक्त अनुसारको धरातलीय यथार्थमा सम्बन्धित पक्षले समयमा नै ध्यान नदिने हो भने स्थानीय निकायमा द्वन्द्व सिर्जना भई भद्रगोलको अवस्था हुने निश्चित छ ।

मन्त्रालय पिछे प्रशासनिक पुनःसंरचना तथा कर्मचारी व्यवस्थापन सम्बन्धी कृयाशील समितिहरुमा सम्बन्धित सेवा समूहका विज्ञहरुको उपस्थिति नगराई एकतर्फी प्रशासनिक निर्णयानुसार बन्ने कानुन अनुसार गरिने समायोजन प्रकृयाबाट अन्तोगत्वा सार्वजनिक सेवाको उत्पादनशीलता घट्ने निश्चित छ । त्यसैले मुलुकको सार्वजनिक सेवा कसैको बिरता होइन, नेतृत्व गर्ने अवसर सबैलाई दिइनु पर्दछ ।
(लेखक, नेपाल मधेशी निजमती कर्मचारी मञ्चका महासचिव तथा वन सेवाका अधिकृत हुन् ।)


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com