नेपाल–भारत सम्बन्धका नयाँ आयाम (सम्पादकीय)

नेपालको तीन तिरबाट सीमा जोडिएको र खुल्ला सीमा रहेको सबै भन्दा नजिकको छिमेकी देश भारत हो । भारतसँगको नेपाल सम्बन्ध सदैव चर्चामा रहन्छ । नेपाल र नेपालीका लागि राष्ट्रियता र देशभक्ति समेत मापन गर्ने यो सम्बन्ध समय समयमा उतार–चढावमा रहिरहन्छ । करिव २०० वर्ष अगाडीको बेलायती उपनिवेशको भारत र राणा शासित नेपालको सम्बन्ध र करिव ७० वर्षदेखि कायम स्वतन्त्र भारत र राणामुक्त प्रजातन्त्र, पञ्चायत, बहुदल, लोकतन्त्र र गणतन्त्रात्मक नेपालबीचको सम्बन्धमा समय समयमा केही अन्तर देखिए पनि दुई देशको जस्तो सुमधुर सम्बन्ध अन्य कुनै देशसँग छैन ।


आज भारत र नेपाल दुबैले विगतको तिक्तता मेट्दै सम्बन्ध नयाँ शिराबाट शुरू गर्ने समय आइसकेको छ । नेपाल र भारतका जनताले मान्ने धर्म, संस्कृति र चाडपर्वमा समानता पाइन्छ । भारतका हिन्दू धर्म मान्ने जनता र नेपालका हिन्दू धर्म मान्ने जनताको रहनसहन, संस्कृति र चाडपर्वमध्ये दसैँ, तिहारजस्ता चाड एकैप्रकारले मनाइने चलन छ भने भारतीय मुस्लिम धर्म मान्ने र नेपाली मुस्लिम धर्म मान्नेबीच समानता देखिन्छ भने बौद्ध धर्म मान्नेहरूले पनि एकैखाले प्रक्रिया अपनाउँछन् । भारतीयले बोल्ने हिन्दी भाषा नेपालीले बुझ्छन् र नेपाली भाषा भारतीयले बुझ्छन् । अक्षरलिपि उस्तै छ ।


नेपाल र भारत देश अलग भए पनि भारतीय स्वतन्त्रता आन्दोलनमा नेपालीले भारतको पक्षमा लडे । अंग्रेजलाई भारतबाट लखेट्न गरिएको आन्दोलनमा भारतीय नेतासँगै नेपाली नेता भारतीय जेलमा बसे । नेपाली राजनीतिकर्मीको यो सहयोग भारतीय नेताले बिर्सिने सम्भव छैन ।


भारतले नेपाललाई स्कुल, अस्पताल र बाटोघाटो बनाउन मद्दत गरेको छ । नेपाली विद्यार्थीलाई पढाइतर्फ छात्रवृत्ति दिएको छ । एम्बुलेन्स र केही गाडी दिएको छ । नेपाली सेनालाई यदाकदा हतियारसम्बन्धी सहयोगसमेत गरेको छ ।
जनसंख्या र क्षेत्रफलका हिसाबले भारत नेपालभन्दा धेरै ठूला छन् । आर्थिक विकासका दृष्टिले पनि ज्यादै शक्तिशाली छन् । छिमेकी भएपछि सदैव नरम र सकारात्मक प्रभाव भारतले दखाउँदै आएको छ ।
भौगोलिक क्षेत्रफल र जनसंख्यामा सानो भए पनि हामीबाट भारतलाई सहयोग प्राप्त भइरहेको छ । त्यसकारण भारतलाई नेपालले ठूलो वा शक्तिशाली नसोचेर असल छिमेकी हुन् भनी सोहीअनुसारको सहयोग लिने र दिने वातावरण तयार गर्नुपर्छ । त्यसका लागि सरकारमा रहेकाहरूले कुनै छिमेकी नजिक र कुनै टाढा छन् जस्तो बोली र व्यवहारले देखाउनुहुँदैन ।


सन्दर्भ छिमेकी भारतको आज गणतन्त्र दिवसको छ । विश्वकै एक शक्तिशाली राष्ट्रको रूपमा अघि बढ्दै गरेको भारत निश्चय पनि सजिलै आजको अवस्थामा आइपुगेको होइन । भारतीय गणतन्त्रको सबैभन्दा ठूलो ताकत त्यहाँको संविधानलाई मानिन्छ । उक्त संविधान एउटा सामूहिक लोकतान्त्रिक चेतनाको उपज तथा त्यहाँको तत्कालीन सर्वश्रेष्ठ दिमागको देन थियो, जसले भारतीयलाई आर्थिक, सामाजिक, सांस्कृतिक र हरप्रकारले विकसित गर्न अथक प्रयत्न गरिरहेको छ ।


आज भारतीयहरू जसरी आर्थिक–सामाजिक उन्नतिलाई खास महत्व दिइरहेका छन्, यसो हुनुमा साहसी भारतीय नेतृत्वकर्ताले त्यसबेलाका निरक्षर, गरिब र विभिन्न भाषा बोल्ने नागरिकलाई संविधानमार्फत लोकतान्त्रिक व्यवस्था सुम्पिनु नै थियो भन्ने विज्ञजनको मत छ । परिणामतः आज विश्वसामु छँदै छ कि यतिबेला भारत विश्वको एक शक्तिशाली राष्ट्रका रूपमा अगाडि बढ्दै छ । अनेकौँ प्रकारको आन्तरिक द्वन्द्वहरूको सामना गर्दै भारतीय गणतन्त्र सफल हुनुको पछाडि भारतीय स्वतन्त्रता संग्रामलाई नेतृत्व गर्ने सबल नेताहरूको राष्ट्रिय चरित्रले खास भूमिका निर्वाह गरेको छ ।


जहाँसम्म हाल नेपाल र भारतबीचको सवाल छ, कसैले पनि नहार्ने गरी सम्मानजनक रूपमा समस्या समाधानको उपाय खोज्नु आवश्यक छ । तराई–मधेशको समस्यासँग चाहेर या नचाहेरै पनि भारत जोडिनुपर्ने बाध्यकारी परिस्थितिसँग विवेकशील जो–कोही परिचित नै छन् । यही यथार्थको जगमा उभिएर भारतले यदाकदा प्रकट गर्ने धारणालाई जबर्जस्ती विवादमा ल्याउने प्रयत्न जो हुने गरेको छ, यसले कसैको हित नगर्ने प्रस्टै छ ।


भारतको ६९औँ गणतन्त्र दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूतद्वारा जारी सन्देशमा भारत नेपालीको शान्ति, स्थायित्व र विकासको चाहनामा काँधमा काँध जोडर उभिन तत्पर रहेको उल्लेख छ । भारतको यो सद्भाव बुझेर सोअनुरूप सम्बन्धको नयाँ आयाम छिचोल्ने दिशामा नेतृत्वले कदम अघि बढाउन सके नेपाल र नेपाली पनि समृद्धिको उज्यालोतिर फड्को मार्नेमा आशावादी हुन सकिन्छ ।


प्रकाशित मिति : २०७४ साल माघ १२ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com