देश विकासका लागि प्रदेश २ को स्थान अहम छ : रत्नेश्वर लाल कायस्थ

प्रमुख, प्रदेश नं.२

० पहिलो पटक प्रदेश प्रमुख भइसकेपछि तपाईलें के कस्ता अवसर र चूनौतिहरू देख्नुहुन्छ ?
— म पूर्वकर्मचारी हुँदा विकासका कामहरू गरेको हँुदा धेरै अनुभव पनि छ । यद्यपी पूर्व कर्मचारी हुनु नहुनुमा प्रदेश प्रमुखको कुनै सम्बन्ध रहदैन । धेरै सहगोत्मक भूमिकामा प्रदेशका मन्त्रिपरिषद्लाई विभिन्न योजनाहरूमा सहयोग पनि गर्न सक्छु । सल्लाह सुझावको लागि मसँग अनुभवको आधारमा मन्त्रिपरिषद्लाई सल्लाह दिन्छु । जहाँसम्म प्रदेश प्रमुखको सवाल छ, यो एउटा संवैधानिक पद हो । र संविधान बमोजिम तोकिएका कामहरू गर्नुपर्ने हो । यो एउटा अभिभावकको नाताले गर्नुपर्ने काम हुन्छन् । संविधानलाई संरक्षण गर्दै कसरी प्रदेशको समुन्नती गर्ने, प्रदेशका कुराहरूलाई कसरी अगाडी लैजाने भन्ने काममैले गर्नेछु ।


० देश संघीयतामा गइसकेको अवस्थामा प्रदेश नं. २ सबैभन्दा बढी पिछडिएको, धेरै आन्दोलन हुने प्रदेश मानिन्छ, यस्तो अवस्थामा तपाईं प्रदश प्रमुखको हिसाबले यो प्रदेशको विकास गर्न के कस्ता चूनौतीहरू देख्नुहुन्छ ?
— प्रदेश नं. २ मा मधेशी समुदायको बसोबास सबैभन्दा धेरै रहेको छ । विगतमा जुन शासन र शासक थिए, उनीहरूको विभेदकारी नीतिले गर्दा यस्तो अवस्था सिर्जना भएको हो । अहिले केन्द्रीय सरकार होस् या प्रादेशिक सरकार, त्यो विभेदलाई कसरी हटाउने हो भन्ने तफै ध्यान दिनुपर्छ । हाम्रो संविधान पनि बनिसकेको छ, समानुपातिक, संघीयताको कुरा गरिरहेका छौँ तर यसमा अझै गर्नुपर्ने धेरै काम बाँकी छ । त्यसकारण मलाई के लाग्छ भने अहिले प्रदेश सरकारले आफ्नो त्यो भूमिका निर्वाह गर्नेछ । ती सबै कुराहरू हट्दै जाने र समृद्धितर्फ प्रदेश २ उन्मुख हुन्छ भन्ने विश्जास छ । सबै कुराहरूको समष्टि आर्थिक उन्मुक्ति नै हुन्छ । त्यसैले आर्थिक उन्मुक्ति गर्न जुन–जुन कुराहरूलाई अगाडी बढाएर लगिन्छ, त्यसबाट विकासका कार्यहरूलाई आगाडी बढाउन सकिन्छ । मलाई के लाग्छ भने अब बन्ने प्रादेशिक मन्त्रिपरिषद्ले यी कुराहरूलाई ध्यानमा राख्नेछ । अन्तर प्रादेशिक सम्बन्धलाई पनि सुदृढ बनाएर लैजानु पर्ने हो र देशको समग्र विकासमा एउटा पिछडिएको यो प्रदेश नं. २ भए पनि जनसंख्याको आधारमा धेरै ठूलो प्रदेश हो । प्रदेश नं. ३ पछिको यो प्रदेश नं. २ जनघनत्व धेरै भएको प्रदेश हो । त्यसैले यसले देशको विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यसैअनुसार अन्तरसम्बन्ध बनाएर मुलुक अगाडी बढ्नुपर्छ ।


० तपाईं पहिले कर्मचारी हुनुहुन्थ्यो, पछिल्लो समयमा राजनीतिमा लाग्नुभयो, तपाईंको जीवन संघर्षबारे केही कुरा बताइदिनोस् न ?
— म २०२१ सालमा नेपाल सरकारको कर्मचारीका रूपमा प्रवेश गरेर २०५८ सालमा समयअवधि समाप्त भएर सेवा निवृत भएको हो । तुलनात्मक रूपले शैक्षिक जीवन धेरै राम्रो भयो । पढ्न पनि राम्रो अवसर मिल्यो र सेवा कालमा पनि राम्रै अनुभव सँगाल्ने अवसर पाँए । ती अनुभवहरू पनि आफ्नो ठाउँमा महत्वपूर्ण छ र अर्को कुरा के छ भने म राजनीतिमा लाग्नुको कारण कतै अवसरहरू खोज्नको लागि नभई देशको सेवा गर्ने उद्देश्यले लागेको हुँ । जीवनभरी बटुलेको अनुभव कसरी सदुपयोग गर्ने भनेर पनि राजनीतिमा लागेको हुँ । मलाई लाग्दछ कि राजनीतिमा लाग्दा एउटा विभेदलाई हटाउने प्रमुख अजेण्डा बोकेको पार्टी नै मधेशी जनाधिकार फोरम थियो । त्यसैले ठूलो पार्टीमा अवसर खोज्नुको सट्टा यो पार्टीमा नै लागेर हालसम्म पनि संघीय समाजवादी फोरममा छु । अहिले नेपाल सरकारले मूल्यांकन गरेर प्रदेश नं. २ को प्रदेश प्रमुखको हैसियतमा राष्ट्रपतिबाट नियुक्ति भयो र सेवाकै हिसाबले म यो प्रदेश प्रमुखको दायित्व निर्वाह गर्नेछु ।


० तपाईंसँग कर्मचारीको हिसाबले पनि धेरै अनुभव रहेको छ, यस हिसाबले पनि प्रदेश नं. २ मा सर्वप्रथम के काम गर्नुपर्छ जस्तो लाग्छ ?
— हालैमात्र सपथ ग्रहणको काम सकिएको छ । जेष्ठ नागरिक लगायत प्रदेश सांसदहरूलाई सपथ ग्रहणको काम सकियो । यसका साथै प्रदेश अधिवेशनको समय पनि तोकेका छौँ । माघको २१ गते आइतबार ११ बजे प्रदेश २को पहिलो अधिवेशन बस्दैछ । त्यसमा प्रदेशका सांसदहरू बस्नेछन् । एवम् प्रकारले मन्त्रिपरिषद् चयनको काम पनि अगाडी बढ्छ । त्यसपछि प्रदेश सरकारको गठन हुन्छ । यसरी नै कामहरू हुँदै जान्छ । मैले प्रदेश प्रमुखको नाताले के सेवा उपलब्ध गर्नुपर्ने हुन्छ या के कर्तव्य मैले निर्वाह गर्नुपर्ने हुन्छ, त्यो म गर्नेछु ।


० आम जनताले बुझ्ने भाषामा भन्नुपर्दा प्रदेश प्रमुख के हो र यसे गर्ने काम के हुन् ?
— सरल भाषामा भन्नुपर्दा सम्पूर्ण देशको लागि राष्ट्रपतिको सम्मानजनक जुन सर्वोच्च पद छ, संविधानलाई कसरी संरक्षण गर्ने, सञ्चालन गर्दा कुनै पनि ऐनहरू प्रमाणीकिरण गर्ने, देशको लागि राष्ट्रपतिले गर्नुहुन्छ । त्यस्तै प्रदेशको लागि प्रदेश प्रमुखले गर्छ । संविधानलाई सबै दिशामा लैजानको लागि अभिभावको भूमिका निर्वाह गर्ने व्यक्ति नै प्रदेश प्रमुख हो ।


० प्रदेश सरकार कहिलेसम्म गठन भइसक्नेछ ?
— संविधानको वैधानिक अधिकार अनुसार प्रदेश सरकार गठन नभएसम्म मन्त्रिपरिषद्को अधिकार पनि प्रदेश प्रमुखसँग नै हुन्छ । त्यसैले मन्त्रिपरिषद् गठन नभएसम्म यसले गर्ने कामहरू पनि प्रदेश प्रमुखले नै गर्नुपर्ने हुन्छ । अब हुने प्रादेशिक अधिवेशनमा प्रदेश सांसदहरूले छलफल गरेर प्रक्रिया अगाडी बढाउने छन् ।


० सरकारले प्रदेशको अस्थायी राजधानी जनकपुर तोकिसक्दा जनकपुरमा गर्नुपर्ने पहिलो प्राथमिकताको काम के हो जस्तो लाग्छ ?
— जनकपुरधाम भनेको प्रदेशको अस्थायी राजधानी हो । यस हिसाबले पनि विकासका कुराहरू धेरै हुन्छन् होला । जनकपुर आफैमा दार्शनिक, पौराणिक एवम् धार्मिक स्थल हो । यहाँको सडक अवस्थाको बारेमा काम गर्नुपर्ने हुन्छ । यहाँको सडक जर्जर अवस्थामा रहेको छ । प्रदेश सरकार बनिसके पछि यसको बारेमा छलफल गर्नेछौँ । यहाँको वातावरण सफा राख्नुपर्ने हुन्छ ।


० जनकपुरधामको जानकी मन्दिर विश्व सम्पदा सूचीमा अहिलेसम्म पर्न सकेको छैन, यसको लागि प्रादेशिक सरकारले के गर्नुपर्छ ?
— यस्तो पौराणिक, धार्मिक स्थललाई कसरी चिनाउनु पर्ने हो । यसलाई कसरी विकास गर्ने, विश्व सम्पदा सूचीमा राख्नलाई कसरी पहल गर्ने त्यो कुरा प्रदेश सरकारले गर्छ होला जस्तो मलाई लाग्छ ।


० जनकपुरको जानकी मन्दिरको गुठीको जग्गा पनि हिनामिना भएको खबर सुनिन्छ, यस तर्फ तपार्ईको कस्तो पहल रहने छ?
— अब बन्ने प्रादेशिक सरकार नयाँ उमंगका साथ आउनेछ । अब बन्ने सरकारले यस्ता विकृति विसंगतिलाई हटाउनेछ । यहाँ भएका कुरीति, विकृतिहरू र विकासमा बाधा गर्ने स्रोतलाई त हटाउनै पर्ने हुन्छ । व्यापार–व्यवसाय तथा उद्योगहरू निर्माण यस्ता धेरै कामहरू छन् प्रादेशिक सरकारले गर्नुपर्ने ।


० प्रदेश नं. २ मा विकासका सम्भावना कति देख्नुहुन्छ ? विदेशिएका युवाहरूलाई स्वदेशमै रोजगार दिन के कस्ता योजना बनाउनु पर्छ ?
— प्रदेश नं. २ जुन समथर भौगोलिक स्थितिमा रहेको छ, त्यसले गर्दा पनि यहाँ सडक विस्तार गर्न सजिलो हुन्छ । यहाँ युवाहरू विदेश पलायन भइरहेका छन् । त्यसलाई रोक्नका लागि सबैभन्दा पहिले यहाँका उद्योगहरूलाई कसरी विकसित गर्ने हो त्यसलाई प्राथमिकता दिनुपर्दछ । दोस्रो कृषिलाई व्यवसायीकरण गर्नुपर्छ । कृषिलाई व्यवसायिक गर्नका लागि कसरी व्यवस्थापन गर्ने, त्यसको बजारीकरण कसरी गर्ने, कृषकलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने तर्फ अग्रसर हुनुपर्छ । यदि स्वदेशमा नै रोजगारीको स्रोत हुने हो भने त कोही पनि विदेश जाँदै जाँदैन। त्यसकारण उद्योग तथा कृषिलाई बलियो पार्ने काम पनि अबको प्रादेशिक सरकारले गर्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।


० प्रदेश राजधानीको विषयलाई लिएर वीरगञ्जमा आन्दोलन भइरहेको छ, आन्दोलनकारीलाई तपाईं के भन्न चाहनुहुन्छ ?
— राजधानी दुई ठाउँमा हुँदैन, एक ठाउँमा नै हुन्छ । जुन प्रकार प्रदेशको बनोट, यहाँको स्थिति छ र जुन प्रकारको सहरको आ–आफ्नो महत्व छ । वीरगञ्जबासीहरू पनि छलफल गरेर निष्कर्षमा पुग्नु पर्छ, आन्दोलन समस्याको समाधान होइन । जनप्रतिनिधिहरूले गरेको निर्णय जनताले पनि मान्नुपर्ने हुन्छ ।


० सिंहदरबार गाउँ–गाउँमा पुग्ने अवस्थामा समेत आन्दोलन भइरहेको छ भने तपार्ईहरूले अब त्यहाँको जनतालाई कसरी बुझाउनुहुन्छ ?
— सबै जनताले त आफ्नै गाउँमा राजधानी भए हुन्थ्यो भन्ने चाहन्छन् तर त्यो त सम्भब छैन । राजधानी भएपछि विकासका ढोकाहरू खुल्छन्, विकास हुन्छ, रोजगारीको अवसर हुन्छ, सडकलगायत समग्र ठाउँको विकास हुन्छ भन्ने हो तर जहाँसम्म वीरगञ्ज र जनकपुरको सवाल छ, वीरगञ्ज व्यापारिक हिसाबले महत्वपूर्ण छ भने जनकपुर धार्मिक हिसाबले महत्वपूर्ण छ । त्यसकारणले वीरगञ्जको जनताले पनि यो कुरा बुझ्ने छन् मलाई लाग्छ ।


० प्रादेशिक सांसदको शपथ ग्रहण ४ भाषामा ? यो कस्तो विवाद हो ?
— खासमा भन्नुपर्दा शपथ ग्रहण ३ भाषामा भएको हो । भोजपुरी, मैथिली र नेपाली भाषामा मात्र शपथ ग्रहण गर्न पाउने भनेर निर्णय गरेका थियौँ । वाचन गर्ने बेलामा नेपालीमा गरे पनि सबैले आफ्नो मातृभाषा अनुसार नै शपथ ग्रहण गरे ।

 

प्रकाशित मिति : २०७४ साल माघ १२ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com