फेरि शक्ति संघर्ष ! (सम्पादकीय)

माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभा निर्वाचनको पूर्व सन्ध्यामा दुई मधेशी दल राजपा नेपाल र संघीय फोरम प्रदेश नं.२ मा सरकार बनाउने कसरतमा जुटेको छ । प्रादेशिक संरचनाको खाका करिब करिब बनिसकेको र प्रदेशसभाको बैठक पनि आह्वान भइसकेको अवस्थामा अहिलेको मुख्य काम भनेकै प्रादेशिक सरकार बनाउने नै हो ।
तर कस्तो सरकार बनाउने, सरकारको स्वरूप कस्तो हुने, भावी सरकारको एजेन्डा के हुने, उक्त सरकारले मधेशका लागि गर्ने काम के हुने जस्ता विषयमा छलफल केन्द्रित नभइ कुन पार्टीको नेतृत्वमा सरकार बनाउने भन्ने शक्ति संघर्षको चर्चा मात्र चलेको छ ।


हालै भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समाजवादी फोरम र राजपाले उल्लेखनीय सफलता हासिल नगरे पनि प्रदेश २ मा उनीहरूले मिलेर सरकार बनाउने पक्का छ । प्रादेशिक सरकार बनाउने प्रक्रियाबाट नेपाली काँगे्रस बाहिर छ भने एमाले र माओवादी केन्द्रले पनि रूचि राखेको देखिन्छ ।
यद्यपी प्रदेश २ मा जस्तो सरकार बने पनि, उक्त सरकारमा अन्य दल सहभागी भए पनि नेतृत्व भने फोरम र राजपाकै हातमा रहने निश्चित छ ।


त्यसैले दुई मधेशी दलप्रति जिम्मेवारी बढेको छ भने उनीहरूले सरकार गठनका साथसाथै एजेन्डासहित आउनु पर्छ ।
यति मात्र होइन, पहिलो पटक बन्दै गरेको प्रादेशिक सरकारको नेतृत्व कस्तो व्यक्तिले गर्ने विषय पनि अहम छ । यद्यपी राजनीतिक सतहमा मुख्यमन्त्रीका दाबेदारहरूको खासै चर्चा नभए पनि फोरम र राजपा भित्र यस विषयमा चासो बढेको छ । दुवै पार्टीका थुप्रै नेताहरू मुख्यमन्त्री, मन्त्री सहितका मुख्य–मुख्य पदका आकांक्षी देखिएका छन् ।
अब अर्को टड्कारो प्रश्न यो पनि छ कि कस्तो व्यक्तिलाई प्रदेश २ को जिम्मा लगाउने ?


हुन त दुबै पार्टीले अहिलेसम्म औपचारिक रूपमा मुख्यमन्त्री र अन्य मुख्य पदका उम्मेदवारहरूको दावेदारी पेश नगरे पनि ती पार्टीका नेतृत्वमाथि आकांक्षीहरूको दबाब बढिरहेको पाइन्छ ।


प्रादेशिक सरकार बनाउने पूर्व सन्ध्यामा दुबै पार्टीका नेतृत्व वर्गले कसैको दबाब र प्रभावमा नपरी योग्य, कर्मठ र राम्रो छवी भएका व्यक्तिलाई मुख्यमन्त्रीसहित अन्य पदका लागि चयन गर्नुपर्छ ।


यसपटकको निर्वाचनमा मधेशी जनताले कुनै एक दललाई स्पष्ट बहुमत नदिनुको अर्थ नै मिलेर जाउ भन्ने सन्देश दिएको हो । त्यसैले दुबै मधेशी दलले जनताको यो मर्मलाई ध्यानमा राखेर नै अगाडि बढ्नु पर्ने जरूरी देखिन्छ ।
जनताको म्यान्डेटलाई बिर्सेर दलहरू शक्ति संघर्षका लागि लडाईं गर्ने हो भने त्यो मधेशका लागि प्रत्युत्पादक त हुनेछ नै साथसाथै दुबै दलका नेतृत्व शंकाको घेराभित्र तानिनेछन् ।


अर्को अहम सवाल भनेको मधेशको भावी एजेन्डा कस्तो हुने पनि हो । राजपा र फोरम दुबैले मिलिजुली सरकार बनाउने पक्का भएका कारण दुबै दलले संयुक्त सरकारको भावी कार्ययोजना पनि बनाउनु पर्छ र त्यसका लागि आजैबाट गृहकार्य सुरू गर्नुपर्छ ।
मधेशलाई अब विकास र समृद्धि चाहिएको छ । अब आन्दोलनको माध्यमबाट होइन, विकास र समृद्धिबाटै मधेशी जनताको मन जितिन्छ भन्ने चेत दल र नेताहरूमा आउनु पर्छ । आगामी पाँच वर्षभित्र पनि मधेशले विकास र समृद्धिको यात्रातर्फ लम्कन सकेन र उपयुक्त यात्रामा हिंड्न सकेन भने त्योभन्दा दुर्भाग्य अरू केही पनि हुँदैन ।


त्यसकारण, राजपा र फोरम नेपालले एकीृकत रूपमा भावी सरकारको कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने जरूरी छ । अनि मात्र मधेशी जनताले दिएको जनादेशको सही अर्थमा सम्बोधन हुन्छ भने मधेशमा विकास र समृद्धिले गति लिन्छ । त्यसैले दुबै मधेशी दल शक्ति संघर्षको खेलमा अब नलागि विकासतर्फ आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । भोलीको मधेश भनेको आन्दोलनको मैदान होइन, विकसित हुनुपर्छ भन्ने सबैको चाहना हो र यसका लागि राजपा र फोरमले साथ–साथ हिंड्नु पर्छ ।


प्रकाशित मिति : २०७४ साल माघ १९ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com