दुर्गानन्द झाको योगदानलाई बिर्सियो भने देशलाई पाप लाग्छ – राजेश्वर नेपाली

वरिष्ठ पत्रकार

० शहीद दुर्गानन्द झालाई कसरी सम्झिनुहुन्छ ?
— नेपालका प्रथम गणतान्त्रिक शहीदको रूपमा दुर्गानन्द झालाई हामी सम्झिने गरेका छौं । नेपालमा परिवर्तनका लागि विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भए । वि.सं. १९९७ सालमा चार जनालाई फाँसी दिइएको थियो । उहाँहरूलाई फाँसी दिएकोले माघ १० गतेदेखि १६ गतेसम्मलाई शहीद सप्ताहको रूपमा मनाइन्छ । तर, वि.सं. २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले संसदीय व्यवस्था खारेज गरेर प्रधानमन्त्री विपि कोइरालासमेत सम्पूर्ण मन्त्रीहरू हालेको विरोधमा जब प्रजातन्त्र पुनस्र्थापनाका लागि संघर्षको सुरूवात भयो, त्यसै क्रममा दुर्गानन्द झाले २०१८ साल माघ ९ गते जानकी मन्दिरको अगाडि राजा महेन्द्र चढेको गाडीमा बम प्रहार गर्नुभयो । त्यसपछि उहाँलाई समात्न त सकिएन तर, तीन महिनापछि उहाँले गिरफ्तारी दिनुभयो । त्यसपछि उहाँलाई वि.सं. २०२० सालमा माघ १५ गते फाँसी दिइयो । नेपालमा गणतन्त्रको विचार राखेर दुर्गानन्दजी पहिलो शहीद हुनुहुन्छ ।


० गणतन्त्रका लागि राजामाथि नै बम प्रहार गर्ने स्थिति किन आएको थियो ?
— देशमा जनताका धेरै संघर्षपछि २००७ सालमा प्रजातन्त्र आएको थियो । त्यस अगाडि राजा बन्धक थिए । अर्थात् राणा प्रधानमन्त्री हुन्थे, उनीहरू नै देशको हर्ताकर्ता हुन्थे । राजाको हस्ताक्षर गराएपछि उनको काम सकिन्थ्यो । अरू कुनै अधिकार थिएन । २००७ सालमा राजाले जुन जनक्रान्ति गरे, त्यसपछि देशमा राणा शाहीको शासन समाप्त भयो र २००७ साल फागुन ७ गते प्रजातन्त्र आएको थियो । त्यसमा राजा त्रिभुवनले घोषणा नै गर्नुभएको थियो कि अब उपरान्त जनताले निर्वाचित गरेको संविधानसभाले निर्माण गरेको संविधानअनुसार देशको शासन गणतन्त्रात्मक तरिकाले हुनेछ । तर, त्यसअनुसार देश चलेन । २०१० साल माघ माघ ७ गते राजा त्रिभुवनले नै देशको सार्वभौमसत्ता ममा निहित छ भनेर घोषणा गर्दै २००७ सालको परिवर्तनलाई समाप्त गर्नुभयो । उहाँको निधनपछि राजा महेन्द्र सत्तामा आएपछि झन् तानाशाह हुनुभयो । देशलाई संविधानसभा दिनुको सट्टा २०१५ सालमा निर्वाचन गराउनुभयो । निर्वाचित संसदमा दुई तिहाई बहुमत नेपाली कांग्रेसको थियो । त्यसपछि विपि कोइराला प्रधानमन्त्री हुनुभयो । तर, त्यो पाँच वर्षको सरकार डेढ वर्षमै राजा महेन्द्रबाट बर्खास्त भयो । त्यसैले यो गलत हो र देशमा प्रजातन्त्र पुनस्र्थापित हुनुपर्छ नेपाली कांग्रेसले भनेको थियो ।


० नेपाली कांग्रेसको योजना तहत राजा महेन्द्रमाथि बम प्रहार भएको थियो त्यो बेला ?
— त्यो बेला नेपाली काँंग्रेसकै नेता थिए जनकपुरका सरोज कोइराला, जो सांसद पनि थिए त्यती बेला । अरूलाई त समातियो, उहाँलाई पनि समात्ने कुरा थियो तर उहाँ काठमाडौंबाट भागेर भारतमा निर्वासित हुनुभयो । त्यसपछि उहाँले प्रजातन्त्र पुनस्र्थापनाका लागि क्रान्तिको सञ्चालन गर्नुभयो । त्यसै क्रममा दुर्गानन्द झाले राजामाथि बम प्रहार गर्नुभएको थियो । त्यसकारणले कांग्रेसकै नीति थियो त्यो पनि भन्न सकिँदैन । तर, कांग्रेसमा दुईटा धार थियो, सुवर्ण शमशेरको जो कार्यवाहक अध्यक्ष थिए ।


० तर, राजामाथि बम प्रहार गर्ने योजना कसरी बनाउन सफल भयो त ?
— राजामाथि बम प्रहार गर्ने योजना दुर्गानन्द झाले बनाउनु भएको थिएन । तर, उहाँ हिन्दुस्तानमा पढिरहनु भएको थियो । हिन्दुस्तानमा जुन प्रजातान्त्रिक वातावरण थियो, कसरी भारतमा अंग्रेजको शासन थियो, त्यसलाई समाप्त गर्नका लागि भगत सिंहले बम प्रहार गर्नुभएको थियो । बिल्कुल, भगत सिंहको डुप्लिकेटको रूपमा हामी दुर्गानन्द झालाई लिन सक्छौं । किनकि उहाँले २० वर्षको उमेरमा त्यो घटना गर्नुभएको थियो र दुर्गानन्द झाले पनि जुन बेला राजामाथि बम प्रहार गर्नुभयो त्यो बेला उहाँ १८ वर्ष ९ महिनाको हुनुहुन्थ्यो र उहाँलाई फाँसी दिँदा २० वर्षको हुनुहुन्थ्यो ।


० दुर्गानन्द झालाई कसैले फाँसी दिइएको भन्छन् भने कसैले गोली हानी हत्या गरिएको भन्छन् । वास्तविक कुरा के हो ?
— दुर्गानन्द झाले चोरी वा डकैती गर्नुभएको थिएन । उहाँले देशका लागि र प्रजातन्त्रका लागि क्रान्ति गर्नुभएको थियो । हजारभन्दा बढी सेना उपस्थित हुँदा पनि कसैले दुर्गानन्द झालाई समात्न सकेनन् । अर्को कुरा, बम प्रहार गर्दा राजालाई लागेको थिएन, गाडीमा सामान्य क्षति भएको थियो । उहाँ सिमाना पारी जानुभयो । तर, बम काण्डको नाममा ५९ जना समातिएका थिए । तिनीहरूलाई नाङ्गो पारेर खुब कुटपिट गरिन्थ्यो । त्यो कुरा उहाँले सुनेपछि उहाँ वीर मान्छे के बस्न सक्थ्यो ? तर, नेपाली कांग्रेसले उहाँको पुरै सुरक्षा र सारा बन्दोबस्त गरिसक्दा पनि उहाँ भारतमा बस्नुभएन । उहाँ जयनगरबाट रेलमै चढेर आउनुभयो । यहाँ आएपछि उहाँलाई समातेर जलेश्वरको जेलमा पु¥याइयो, त्यसको भोलिपल्ट हेलिकप्टरमा काठमाडौं लगिएको थियो । उहाँमाथि जुन मुद्दा चलाइयो, उहाँलाई कुनै ठाउँमा उपस्थित गराइएन र विशेष अदालतले २०१९ साल भदौ १९ गते मृत्युदण्डको घोषणा गरेको थियो । त्यसबेला नेपालको प्रचलित कानुनअनुसार ब्राह्मणलाई फाँसी दिइदैन्थ्यो । त्यस्तै, मुलुकी ऐन थियो जुन जंगबहादुरले १९१० सालमा सुरू गरेका थिए त्यसलाई २०२० साल भदौ १ गते संशोधन गरेर सबै नागरिक समान हुन् भनेर लेखियो । विशेष अदालतको निर्णय सर्वोच्च अदालतमा गयो र फेरि राजा समक्ष पुग्यो । राजदरबारबाट २०२० साल पुस १० गते प्रचलित कानुनअनुसार मारिकाटी दिने भन्ने पत्र आयो । त्यसलाई कार्यान्वयन गर्नका लागि माघ १५ गते मध्यरातिमा दुर्गानन्द झालाई फाँसी र गोली प्रहार गरियो । यो सत्य कुरा हो । किनभने दुर्गानन्द झा एउटा अवतारी पुरूष जस्तो हुनुहुन्थ्यो । दुर्गानन्द झा यो सजायबाट मर्छ कि मर्दैन भन्ने शासकहरूलाई विश्वास थिएन । उहाँलाई फाँसी पनि दिइयो र गोली पनि हानियो ।


० उहाँ कस्तो स्वभावका हुनुहुन्थ्यो ?
— दुर्गानन्दजी त एकदम वीर मानिस हुनुहुन्थ्यो । नराम्रो कुरा हेर्नै नसक्ने, खेलकुदमा पनि एकदमै बहादुर हुनुहुन्थ्यो । भारतका भगत सिंहको बारेमा जुन कुरा उहाँले पढ्नुभएको थियो त्यसबाट अभिप्रेरित हुनु भएका थियो ।


० भर्खर–भर्खर युवावस्थामा प्रवेश गरेका दुर्गानन्द झा गणतन्त्रका लागि शहादत दिन तयार हुने जुन आँट देखियो, यसलाई कसरी लिनुहुन्छ ?
— वीर मानिस कहिल्यै पछाडि पर्दैन । दुर्गानन्द एउटा त्यस्ता बुद्धि र विवेक भएका व्यक्ति थिए कि अन्यायलाई सहनै नसक्ने । उहाँलाई लागेको थियो कि जसले प्रजातन्त्रलाई समाप्त पारेको छ उसलाई समाप्त पार्छु भनेर मनमा प्रतिज्ञा बनाए । त्यसमा उहाँ दृढताका साथ अगाडि बढ्नुभयो ।


० उहाँलाई शहीद घोषणा गर्न राज्यलाई ५२ वर्ष किन लागेको होला ?
— वि.सं. २०४६ सालको परिवर्तनपछि हामी चाहन्थ्यौं कि दुर्गानन्दज्यूको प्रतिमा पनि बनोस्, शहीद पनि घोषणा गरियोेस् । देशमा राजतन्त्र भयो, नेपाली कांँग्रेसकै सरकार बन्यो । मैले २०४७ साल माघ १५ गते नेपाली काँंग्रेस नेतृत्वको सरकारलाई आग्रह गरें कि उहाँलाई शहीद घोषणा गरियोस् । तर, हुन सकेन । किनभने देशमा संवैधानिक राजतन्त्र थियो । जब २०६५ साल जेष्ठ १५ गते देशमा गणतन्त्र घोषणा भइसक्यो, त्यसपछि २०६५ सालमै असार ९ गते एउटा बैठक गरेर आफ्नै अध्यक्षतामा दुर्गानन्द झा स्मारक समिति गठन गरें । हामीले प्रतिमा पनि बनायौं । उहाँको प्रतिमा स्थापनाका लागि जानकी मन्दिर अगाडिको फुलबारीमा शिलान्यास पनि गरायौं । पछि जानकी मन्दिरका महन्थले धार्मिक क्षेत्रमा प्रतिमा नराख्नू भनेर अदालतमा जानुभयो, त्यसपछि त्यही विवादमा त्यो काम रोकियो ।


० शहीद दुर्गानन्द झाको योगदानलाई ओझेलमा पार्न किन खोजियो ?
— सत्तामा गए पछि नेताहरू शहीदलाई बिर्सन्छन् । मैले २०४७ सालमै भनेको थिएँ कि जसरी काठमाडौंमा चार जना शहीदको गेट बनाइएको छ, त्यसमा दुर्गानन्द झाको पनि प्रतिमा लगाउनुस् । आज मुलुकमा जुन गणतन्त्र आएको छ त्यसको मूल श्रेयकार नै दुर्गानन्द झा हुनुहुन्छ । उहाँको योगदानलाई बिर्सियो भने यो देशलाई पापै लाग्छ । आजसम्म जुन राजनीतिक अस्थिरताबाट मुलुक गुज्रिरहेको छ, त्यसको मूल कारण नै हो शहीदहरूको योगदान बिर्सिनु हो । शहीदहरूलाई मुलुकले जुन मान सम्मान दिनुपर्ने हो त्यो दिन सकेको छैन ।


० तपाइँ दुर्गानन्द झाको योगदानका बारे निरन्तर प्रचार–प्रसारमा लाग्नुभएको छ, कतिको सफल हुनुभएको जस्तो लाग्छ ?
— वि.सं. २०३६ सालमा जब जनमत संग्रहको घोषणा भयो, त्यही बेलामा हामीले माघ १५ गते दुर्गानन्दजीको शहादत दिवस मनाएका थियौं । त्यसबेलादेखि हरेक वर्ष माघ १५ गते उहाँको शहादत दिवस मनाउँदै आएका छौं । २०४६ को परिवर्तनपछि केही होला जस्तो मलाई लागेको थियो । दुर्गानन्द झाको नाममा एउटा विद्यालयको पनि स्थापना गर्न खोजेका थियौं । तर, राजाको प्रत्यक्ष शासन नभए पनि राजाका भरौटेहरू यति थिए कि हामीले काम गर्न सकेनौं । त्यसपछि २०७२ फागुन १९ गते राज्यले अन्ततः शहीदको रूपमा स्वीकार ग¥यो । त्यसपछि उहाँको तस्वीर अंकित हुलाक टिकट प्रकाशनतर्फ लागें । अहिले केही दिन पूर्व मात्र उहाँको तस्वीर अंकित हुलाक टिकट प्रकाशन भइसकेको छ । आठ वर्ष अगाडि दुर्गानन्द झा जन्मेको गाउँमा अस्पताल बनाउने कुरा थियो त्यो सरकारी नीति कार्यक्रममा परे पनि आजसम्म निर्माण हुन सकेको छैन ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)


प्रकाशित मिति : २०७४ साल माघ १९ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com