राष्ट्रिय सभाको औचित्य छैन : महेन्द्र कुमार मिश्र

राजनीतिक विश्लेषक

० राष्ट्रिय सभालाई कसरी परिभाषित गर्न सकिन्छ ?
— ०४६ सालपछि अन्तरिम सरकारले जुन संविधान बनायो, त्यो संविधानमा पनि दुई सदनात्मक व्यवस्था थियो । अहिले गणतन्त्र आइसकेपछि पनि दुई सदनात्मक व्यवस्था गरिएको छ । राष्ट्रिय सभाको पनि अवधारणा आएको छ । यो प्रतिनिधिसभामा खासगरी जिल्ला–जिल्लाबाट निर्वाचित भएर आएको हो । जसलाई हामी तल्लो सदन भन्छौँ । माथिल्लो सदन भनेको राष्ट्रिय सभा हो जसलाई हामी परिपक्क भन्छौँ । यसको अवधारणाले राष्ट्रिय सदन भएको हो । राष्ट्रिय सभामा वास्तवमा राष्ट्रका लागि योगदान गरेका त्यस्ता प्रतिभाहरू, जसले अरू क्षेत्रमा ख्याती प्राप्त गरेको छ, उमेरले पनि भ्याएको छ, त्यस्ता विज्ञहरूलाई ल्याउने यो थलो हो ।

२०४८ सालमा पनि जुन व्यक्ति राष्ट्रिय सभामा आए, वास्तवमा उनीहरू पनि परिपक्क नै थिए । लामो संघर्ष गरेका मानिस अनेक क्षेत्रबाट आए । पछि विस्तारै विस्तारै नेताका आसेपासे नजिकका मान्छेहरूलाई ल्याउने काम भयो । गणतन्त्र आइसकेपछिको यो पहिलो निर्वाचनमा पनि दुई सदनात्मक व्यवस्था गरिएको छ ।
यसमा जुन किसिमले निर्वाचित गरिएको हो, २४ जना निर्विरोध निर्वाचित भईसकेको अवस्था छ र जस्तो–जस्तो अनुहार देखिएको छ, मलाई लाग्दैन कि नेताहरूले वुद्धि पु¥याएका छन् । यो राष्ट्रिय सभाको जुन संरचना छ, त्यस अनुकुलका मान्छेहरू यसमा आएका छैनन् । यसरी हेर्दा राष्ट्रिय सभाको अवधारणा नै बेकार छ । अनावश्यक ढंगबाट ५९ जना राष्ट्रिय सभाको सदस्य हुन्छ ? सरकारलाई किन भार थप्नु प¥यो ?


० तपाईले भन्नुभयो कि राष्ट्रियसभामा उच्चस्तरका ख्याति प्राप्त व्यक्तिहरू आउनु पर्छ तर अहिले त्यस्तो हुन सकिरहेको छैन, किन यस्तो भएको छ, के लाग्छ तपाईलाई ?
— अहिलेका नेताहरूको अदुरदर्शिता, विवेकहिनता, असमझ, विचार शुन्यता र सैद्धान्तिक विचलनका कारण यस्तो भएको हो । प्रायः यहाँ सबै पार्टीहरूको अवस्था एकै छ । जुन किसिमले राष्ट्रियसभाको अवधारणा आयो, राष्ट्रियसभामा उम्मेदवारी ल्याउने, निर्विरोध निर्वाचित हुने यस्तो अवस्था देख्दा मलाई के लाग्छ भने राष्ट्रियसभाको औचित्य नै छैन ।


० यसरी हेर्दा त पहिले मेयर, अध्यक्ष वा विधायिकाहरूमा आउन चाहेर नसेकेकाहरूलाई आश्रय दिने थलो जस्तो भयो ?
— हो, ठीक भन्नुभयो । यो मात्र के भयो भने जिल्ला अथवा नगरमा चुनाव लडेका मानिसहरू यसमा पनि पार्टीले मूल्यांकन गर्न सकेका छैन । नगरको चुनावमा हा¥यो या टिकट पाएन, त्यस्ता मानिसहरूका लागि त समानुपातिक थियो नि त ।


० त्यसमा पनि भरिसकेपछि के गर्ने त ?
— मैले सधैँ सबै पार्टीमा तीनवटा कुरा भन्ने गरेको छु । सबै पार्टीको तीन वटा आधार बोकेको हुन्छ । सबैभन्दा पहिले खाता, म कसको खातामा बसेको छु, कुन नेताको खातामा म परेँ । यहाँ एउटा गुटबन्दीमा छ, हरेक गुटबन्दीको पछाडी एउटा खाता हुन्छ । खातामा परेँ पनि नातामा पर्छु कि पर्दिन । नातामा परेँ पनि म दातामा पर्छु कि पर्दिन । खल्तीमा पैसा छैन भने मैले कहाँबाट टिकट पाउँछु । केन्द्रमा अध्यक्षमा भोट हाल्नु पर्ने छ भने म खातामा छु । भोट हाल्नु पर्ने कारणले गर्दा म कसैको खातामा छु तर निर्वाचनको लागि म उपयुक्त छैन । सदनमा जान उपयुक्त मान्छे म भईन । त्यसकारणले म नातामा पनि परिँन र दातामा पनि परिँन । त्यसैले यस्ता मानिसहरूले हरेक जिल्लामा, नेपालको हरेक भू–भागमा यस्तै अनुहारहरू राष्ट्रियसभाको लागि मैले देख्दैछु ।


० यस्तै खालका व्यक्तहरू राष्ट्रिय सभामा आउँदैछन् भन्नुहुन्छ ?
— छुटेको नभनौँ अब । नेताहरूको नजिकमा को पर्छ, उनीहरूको चाकरी चाप्लसी गर्ने को–को छन् ? त्यस्ता–त्यस्ता मान्छेहरू आएका छन् । कुनै मूल्यांकनको आधार छैन यहाँ ।


० यो दलीय मूल्यांकन मात्र हो, राष्ट्रिय मूल्यांकनमा नपरेका व्यक्तिहरू आए ?
— दलीय मूल्यांकन नभनु, यो नेताको मूल्यांकन हो, दलको मूल्यांकन होइन । दलमा त एक से एक संघर्ष गरेका व्यक्तिहरू छन् । पार्टी नेतृत्वको मूल्यांकन हो । अहिले वाम गठबन्धनको चर्चा चलेको समयमा पनि ६० र ४० को अनुपात आएको छ । राजपामा पनि ६ वटा पार्टी मिलेर बनेको पार्टी छ, त्यसमापनि ६ जना अध्यक्षको आफ्नो–आफ्नो मान्छे पर्नु प¥यो ।


० दलीय भागबन्डा देखियो यसमा ?
— दलीय भागबन्डा भन्दिँन म गुटबन्दी भागबन्डा ।


० यदी यस्तै व्यक्तिहरू आए भने प्रदेशसभा र प्रतिनिधिसभाको काम कर्तव्यमा कस्तो प्रकारको दिर्घकालीन असर देखा पर्ला त ?
— यो भन्दा पहिले पनि राष्ट्रियसभा थियो । जब विस्तारै–विस्तारै राष्ट्रियसभाको स्वरूप आयो त्यसपछि विश्लेषकहरूमा यस्तो किन भन्ने किसिमको वितृष्णा देखियो ।


० पहिला पनि यस्तो काम भइसकेको हो ?
— ०४८ सालमा पनि राजाबाट १० जना मानिस मनोनित भएर आउँथे, परिपक्क व्यक्तिहरू नै आउँथे । नेपाली कांग्रेस र एमालेबाट पनि आउँथे । पहिले पनि राष्ट्रियसभाको दुरूपयोग हुँदै गयो र आज राष्ट्रियसभा गठन प्रक्रियामा नै यस्तो देखियो । राष्ट्रियसभा गठन प्रक्रियामा नै यस्तो भएपछि भोलीका दिनहरूमा आम जनतामा राष्ट्रियसभाप्रति नकारात्मक धारणा बन्दै जान्छ ।


० राष्ट्रियसभा भन्ने जुन शब्द छ, त्यसमा मिल्न सकेनन् उम्मेदवारहरू ?
— हो, उम्मेदवारहरू मिल्न सकेनन् । उमेरको कुरा मात्र होइन कम से कम अनुभव भएको भए पनि हुन्थ्यो । म पनि केही समय राष्ट्रियसभामा बसेर आएको मान्छे हुँ । हामी राष्ट्रियसभामा हुँदा त राष्ट्रियसभाका विधायकहरू आउँथ्यो, त्यसमा छलफल गरेर तल्लो सदनमा पठाउथ्यौँ । तल्लो सदनले पनि हामीले गरेका संशोधनहरू चित्त बुझेन भने फेरी हामीकहाँ आउँथ्यो र हामीले त्यसमा फेरी अध्ययन गर्दथ्यौँ । त्यसबाट संशोधन भएका मुद्दाहरू तल्लो सदनमा पठाउँथ्यौँ ।


० एक किसिमले प्रतिनिधिसभाको अभिभाकत्वको जिम्मेवारी राष्ट्रियसभामा थियो ? अहिले त्यस्तो किसिमको संरचना देखिएन ?
— अहिले त्यस्तो स्वरूप देखिएन । यसको संरचना बनाउनुपर्ने जो अवधारण छ त्यसको संरचना अनुकुल मैले देखिन ।


० यस्तै यस्तै कारणले गर्दा राष्ट्रियसभा किन चाहियो भन्ने प्रश्न पनि उब्जिरहेको छ, आखिर किन चाहियो त राष्ट्रियसभा ?
— प्रतिनिधिसभामा २५ वर्ष नाघेका मानिसहरू जान्छन् । यी भर्खर भर्खरका युवाहरू र राष्ट्रिय सभामा ३५ वर्ष नाघेको मानिसहरू जाने । प्रतिनिधिसभामा कहिँ कतै त्रुटि छ भने विधायकमा त्यसलाई चेक गर्ने, कुन कुरा छुटेको छ वा त्रुटी भएको छ त्यसलाई सच्याउन पहल गर्ने । यसरी एउटा सभाले अर्को सभालाई पूरकको काम गरेको हुन्थ्यो ।


० समानान्तर सभा भन्न मिल्छ यसलाई ?
— हो, यो समानान्तर सभा हो । प्रतिनिधिसभामा हटाउन सकेन उनीहरूलाई कहाँ राख्ने त्यसलाई राष्ट्रियसभाको नामाकरण गरेर राष्ट्रियसभामा राखिदियो ।


० यसले गर्दा हुने दिर्घकालीन असरलाई तपाईँले कसरी हेर्नुहुन्छ ?
— सबैभन्दा पहिले त राष्ट्र माथि आर्थिक भार  । त्यो ५९ जनालाई त सबै सुविधा दिनुपर्छ । आवास देखि पारिश्रमिक सबै दिनुप¥यो । प्रतिनिधि सभाका सदस्यले पाउने सेवा सुविधा समान रूपमा राष्ट्रियसभाका सदस्यलाई पनि दिनु पर्दछ । त्यो अनावश्यक भार थपिए जस्तो मलाई लाग्छ । भोली सदनका लागि यसले यस्ता सभाले सहयोग गर्न सकेन भने आम जनतामा भ्रम सिर्जना हुन्छ । यसले आम जनतामा नकारात्मक अवस्था सिर्जना हुन्छ । यो राष्ट्रको लागि राम्रो कुरा होइन ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)


प्रकाशित मिति : २०७४ साल माघ १९ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com