स्वराजको भ्रमण र मोदीको सन्देश (विचार )

संगीता रेग्मी

नेपालमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाहरूको निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठनको तयारी भइरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा विदेशमन्त्री सुष्मा स्वराज नेपाल आइ पुगेकी छिन् । देशमा अहिले कामचलाउ सरकार रहेको र नयाँ सरकार बनिनसकेको अवस्थामा स्वराजको यो भ्रमणले राजनीतिक वृत्तमा विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ भने यसले राजनीतिक तरङ पनि ल्याएको छ ।


प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादीको वाम गठबन्धनले बहुमत हासिल गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा हेरिएको छ । यद्यपी त्यसको औपचारिक घोषणा भएको छैन भने एमाले–माओवादीबीच हुने भनिएको पार्टी एकता पनि भइसकेको छैन । तर पार्टी एकता भए पनि, नभए पनि वाम गठबन्धनबाट ओली प्रधानमन्त्री बन्ने पक्का जस्तै छ ।

त्यही भएर होला भारतीय प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीसँग दुईपटक टेलिफोनमा कुराकानी गरिसकेका छन् । ओलीसँग भारतले सम्बन्ध सुधार गर्न चाहेको मोदीको दुईपटकको फोनले पनि संकेत गर्छ । अहिलेको सुष्माको भ्रमण पनि सम्बन्ध सुधारमै केन्द्रित रहेको छ ।


कुटनीतिक मामलाका जानकारहरू स्वराजको भ्रमणलाई सकारात्मक रूपमै हेर्नुपर्ने सुझाव दिन्छन । किनभने भारतले पनि जनताको म्याण्डेट र यहाँको वस्तुस्थिति बुझ्नु जरूरी छ । देश नयाँ आयामबाट नयाँ परिस्थितिमा अगाडि बढिसकेको र भारतले पनि यो वस्तुस्थिति ‘रियलाइज’ गर्नु आवश्यक छ ।समा भारतमा प्रधानमन्त्रीको रूपमा मोदीको उदयसँगै उनले छिमेकी मित्रराष्ट्रहरूलाई उच्च महत्व दिने सार्वजनिक रूपमै घोषणा गरेका थिए । आफ्नो सार्वजनिक अभिव्यक्तिसँगै उनले कार्यान्वयनतर्फ आफूलाई खरो रूपमा उतारे । सोही अनुसार उनी नेपाल भ्रमणमा पनि आए । उनको भ्रमणमा नेपालीले वाहवाह दिए । उच्च सम्मान दिए । १७ वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेर द्धिपक्षीय सम्बन्धलाई नयाँ उचाइ प्रदान गरे । त्यसपछि नेपाल र भारतवीच उच्चस्तरीय भ्रमणहरू लगातार भइरहे ।


जानकारहरूले स्वराजको दुई दिने नेपाल भ्रमणले नेपालमा थुप्रै अवसरहरू खोल्ने विश्वास गर्छन् । स्वराज आफै पनि नेपालप्रति अत्यन्तै चासो राख्ने कुटनीतिज्ञको रूपमा चिनिन्छन् । मोदीको चाहना नेपालमा आर्थिक समृद्धि हो । उनले त्यसको लागि निकै पहलकदमी पनि लिएका छन् । कतिपयले ओलीसँग सम्बन्ध सुधारबारे मोदीको पछिल्लो प्रयासलाई नेपालसँगको विशेष सम्बन्धको रूपमा समेत चित्रण गरेका छन् । ओलीले नै एक पत्रकार सम्मेलनमा मोदीको फोन स्वागतयोग्य भएको टिप्पणी गरेका थिए । आफू पनि मोदीसँग सहकार्य गर्न ईच्छुक रहेको ओलीले बताइ सकेका छन् ।

मोदीको ‘सरप्राइज भिजिट’
सम्वभतः नेपालमा अब करिब एक महिना भित्रै नयाँ सरकार बन्ने देखिन्छ । भारतीय प्रधानमन्त्री मोदी पनि नेपाल भ्रमणमा फागुणमै आउन सक्ने संकेतहरू देखिएको छ । उनी भारतीय लगानीमा निर्माण अरूण तेस्रो जलविद्युत आयोजनाको उदघाटन गर्न आउने कार्यक्रम यसअघि पनि सार्वजनिक भएको छ । तर अहिले नेपालमा वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्नै लागेको बेला मोदीले ‘सरप्राइज’ दिने हुन कि भन्ने पनि अडकलबाजी सुरू भएको छ । मोदीले ओलीको शपथ ग्रहण कार्यक्रममा नेपाल आउने सम्भवना रहेको पनि छ ।


मोदीको सन्देश
खासगरी नेपालमा निर्वाचन सम्पन्न भएपछि भारतले नेपाललाई स्थायी सरकार बन्ने भएकोले विशेष महत्व दिएको छ । नयाँ सरकार बन्न लागेका बेला विदेशमन्त्री स्वराजको यो भ्रमणलाई भारतीय विदेश मन्त्रालयले द्विपक्षीय भेटघाटको परम्पराको रूपमा व्याख्या गरेको छ । यस्तो भ्रमणले द्विपक्षीय सहकार्यलाई बृद्धि गर्नुका साथै सम्बन्धका विविध क्षेत्रलाई अरू बलियो बनाउने छ ।


भारतले नेपाललाई आर्थिक रूपमा समृद्धि भएको देख्ने चाहना राखेको छ । नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा भारतले नेपाललाई विशेष महत्व दिनुको प्रमुख कारण नै मोदीको नेपालप्रति गहिरो सद्भाव नै हो । उनले नेपाललाई आर्थिक रूपमा समृद्ध भएको हेर्न चाहेका छन् । सोही अनुरूप मोदीले नेपालमा वाम गठबन्धनको पाँच वर्षको लागि सरकार बन्ने निश्चित भएकोले विकास साझेदारमा काम गर्न चाहेका छन् । यही सन्दर्भमा मोदीले विदेशमन्त्री स्वराजलाई नेपाल भ्रमणमा पठाएका हुन ।


नेपाली जनताको म्याण्डेट पाएको वामपन्थी सरकारसँग निकट सहकार्य गर्न मोदी तयार रहेको यो भ्रमणको स्पष्ट सन्देश हो । ओलीको नेतृत्वमा वामपन्थीले पाएको बहुमतलाई भारतलाई कुनै अप्ठ्यरो नहुने भन्ने सन्देश पनि हो । यस्ता भ्रमणले एक अर्कालाई बुझ्ने र सहकार्य गर्न र एकखालको विश्वासको वातावरण थप मजबुत बनाउने अपेक्षा गर्न सकिन्छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com