पहिलो बैठकको सन्देश (सम्पादकीय)

माघ २१ गते मधेशको सन्दर्भमा एउटा ऐतिहासिक दिन रह्यो । प्रदेश २ को प्रदेश सभाको पहिलो बैठक बस्दाको क्षण क्रान्तिकारी र ऐतिहासिक अवसर बन्यो जसका लागि मधेशले तीन पटकसम्म आन्दोलन गर्नु प¥यो । मधेशले संघीयता, पहिचान र समावेशिताका लागि गरेको तीन पटकसम्मको आन्दोलनकै उपलब्धी स्वरूप देशमा प्रादेशिक संरचना सम्भव भयो र संघीयता लागू हुने क्रममा छ । मधेश संघीयताको जननी भएकाले संघीयता कार्यान्वयन हुँदै गरेको क्षण वास्तवमा स्वर्णिम रह्यो । मधेश आन्दोलनको एक दशकपछि देशमा संघीय शासन व्यवस्था कार्यान्वयनमा आएको छ ।


प्रदेश २ सहित सबै प्रदेशको प्रदेशसभा बैठक सम्पन्न भएको छ । अब सबै प्रदेशसभा प्रादेशिक सरकार बनाउने प्रक्रियामा जुटेको छ । यस सन्दर्भमा प्रदेश २ मा पनि नयाँ सरकार गठनको प्रक्रिया सुरू भएको छ । भावी सरकार कस्तो हुने र उसको कार्यसूचि के हुने अहिले भन्न सकिने अवस्था छैन । तर सफलतापूर्वक सम्पन्न पहिलो बैठकले केही सन्देश भने अवश्य दिएको छ र त्यहि सन्देशलाई आधार मानेर नयाँ सरकारले आफ्नो कार्यसूचि बनाउनुपर्छ ।


प्रदेश २ मानव विकास सूचकांकसँगै भौतिक पूर्वाधारको विकास अभावले पिछडिएको छ । पछिल्लो समय राजनीतिक परिवर्तनसँगै विकासको थुप्रै आधार र सम्भावना खडा भएका छन् । त्यसैले विकासका मुद्दामा हातेमालो गर्ने हो भने यो प्रदेश नमुना, सुन्दर र समृद्ध प्रदेश बन्न सक्छ ।


प्रदेश २ को विकासका लागि राजनीतिक प्रतिबद्धता, केन्द्र र प्रदेश सरकारबीचको समन्वय, विकासका लागि खर्चिने बजेटको समयमा निकासा र अख्तियारी आवश्यक छ ।
पहिलो बैठकमा बोल्ने अधिकांश प्रदेश सांसदहरूले प्रदेश २ लाई अखण्ड र एकीकृत बनाउने उद्घोषका साथ मुलुककै सुन्दर सहर बनाउने वाचा गरे । प्रदेशभित्रका बासिन्दाको मुहार फेर्ने योजना सुनाउँदै सदस्यहरूले त्यसका लागि दलहरूबीच सहकार्यको प्रतिबद्धता पनि जनाए । प्राकृतिक स्रोत, साधन, ऊर्जा, पर्यटन, संस्कृति र प्रकृतिका हिसाबले प्रदेश उत्कृष्ट रहेको उनीहरूको भनाइ थियो । सबैभन्दा सुन्दर, सचेत र शान्त प्रदेश बनाउन चाहेका उनीहरूको भनाइ छ ।


प्रादेशिक संसादहरूको उपरोक्त भनाइलाई मात्र कार्यान्वयन गर्ने हो भने प्रदेश २ समृद्ध, उन्नत, विकसित र नमुना बन्न सक्छ भन्नेमा दुई मत छैन । तर त्यसका लागि राजनीतिक प्रतिवद्धता, इमान्दारिता र इच्छाशक्तिको आवश्यक्ता रहेको छ । त्यसैले प्रदेशको सत्ता र प्रतिपक्ष जो भए पनि प्रदेश समृद्ध बनाउनु सबैको दायित्व हो । त्यसका लागि सबै मिलेर अघि बढ्नु पर्छ । संसदीय अभ्यास आफ्नो ठाउँमा हुन्छ तर प्रदेश समृद्धिका लागि सबैको हातेमालो जरूरी छ ।


विकासका हिसाबले पूर्वाधार बनाउन प्रदेशका सबै मिलेर अघि बढ्नुपर्छ । यसमा कुनै पनि दलको टोपी लगाउन जरूरी छैन ।


अब प्रदेशका नेताहरू प्रदेशको समुन्नति र विकासलाई मुख्य एजेन्डा बनाउने संकल्प गरिरहँदा यहाँका बासी भने विकास निर्माणको तीव्र लहर चल्ने अपेक्षा गरिरहेका छन् ।


प्रदेश २ मा कृषि, पर्यटन, शिक्षा तथा उद्योगको पर्याप्त सम्भावना छ । अब मुलुकमा संघीयता आएकाले प्रदेशको विकासको योजना प्रदेशसभाले बनाउनु पर्छ । यदि माटो सुहाउँदो योजना बन्यो भने यो प्रदेश समुन्नत हुन्छ ।


प्रकाशित मिति : २०७४ साल माघ २६ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com