वीरगन्ज राजधानी नहुँदा प्रदेश २ धान्न गाह्रो हुन्छ : ओमप्रकाश सरार्फ

प्रवक्ता, वीरगन्ज राजधानी संघर्ष समिति

० तपाईहरूले अहिले आन्दोलन गर्नुपर्ने आवश्यकता किन प¥यो ?
— वीरगन्ज प्रदेश २को राजधानी हुनुपर्ने हाम्रो मुख्य माग हो । वीरगञ्जले सबै मापदण्ड पूरा गरे पनि हरेक पूर्वाधार भए पनि यसलाई राजनीतिक दलहरूले उपाहास गरेको छ, नजरअन्दाज गरेको छ । स्वतः प्रादेशिक राजधानी हुनुपर्ने ठाउँलाई राजनीतिक बेइमानीका कारण वीरगञ्जलाई राजधानी हुनबाट वञ्चित गरिएको छ । यस्तो बाध्यात्मक अवस्था भएकाले हामीले आन्दोलन गरिरहेका छौँ ।


० जनकपुर त अस्थायी राजधानी मात्र तोकिएको हो । स्थायी राजधानी त तोक्न बाँकी नै छ अनि किन आन्दोलन ?
— अस्थायी राजधानी जनकपुर बनाउनु भन्दा पनि पहिलेबाट नै हाम्रो दबाब सुरू भइसकेको थियो र अझै पनि निरन्तर नै छ । हुन त अस्थायी पनि वीरगन्ज नै हुनुपर्ने थियो तर जनकपुरलाई अस्थायी तोक्यो तर राजनीतिक दलहरूको वीरगन्जप्रतिको अनुदार स्थितिले गर्दा वीरगन्ज अस्थायी राजधानी हुन सकेन । स्थायी राजधानी वीरगन्ज हुनै पर्छ । यसको विरोधस्वरूप हामी निरन्तर आन्दोलन गरिरहने छौँ ।


० त्यसो भए तपाईंहरूलाई जनकपुरसँग वितृष्णा बढेको हो ?
— छैन । हाम्रो भनाई के हो भने यो प्रदेशको सबै जिल्लाको आफ्नै महत्व छ । यो प्रदेशमा बस्ने सम्पूर्ण जनताको हामी सम्मान गर्छौ, आदर गर्छौँ । तर यो प्रदेशलाई धान्नका लागि, समृद्ध बनाउनका लागि, अरू प्रदेशसँग प्रतिष्पर्धामा राख्नका लागि, यो प्रदेशलाई मुख्य रूपमा बचाउनका लागि वीरगन्ज राजधानी हुनुपर्छ । त्यसकारण हामी भन्छौँ कि देशभरीकै धार्मिक, सांस्कृतिक राजधानीको रूपमा जनकपुरलाई घोषणा गरियोस् तर प्रदेशको प्रशासनिक राजधानी वीरगन्ज हुनुपर्छ ।


० वीरगन्ज राजधानी नहुँदा के फरक पर्छ ?
— वीरगन्ज राजधानी नहुँदा यो प्रदेश धान्न गाह्रो हुन्छ । वीरगन्जको जस्तो सामथ्र्य जनकपुरको नभएको हुनाले यो प्रदेशलाई बचाउनको लागि, यहाँको जनतालाई खुशी राख्नका लागि र यहाँको विकासके लागि वीरगन्ज राजधानी हुनु अनिवार्य छ ।


० प्रदेश राजधानीका लागि तपाईहरू आफू–आफूमा यसरी लडाई गरिरहनु भएको छ, यस्तो गर्दा सहिदहरूको अपमान गरेको जस्तो लाग्दैन ?
— यहाँ मधेशवादको कुरा छ । मधेश आन्दोलनमा ज–जसले सहादत प्राप्त गरे । त्यसबेलाको प्रमुख एजेण्डा नै समग्र मधेश एक प्रदेश भन्ने थियो । यदी जनकपुर स्थायी राजधानी भयो भने आगामी दिनमा यो सीमांकनलाई पनि सच्याउन सकिदैन । मधेशवादी दलहरूले स्वीकार गरेर मधेश भनेको ८ वटा जिल्ला मात्र भएको प्रदेश भनेर नीतिगत रूपमा पनि स्वीकार गरेको हुन सक्छ । समग्र मधेश एक प्रदेश बनाउने हाम्रो मुल एजेण्डा थियो  । त्यो एजेण्डालाई बचाउनको लागि पनि वीरगन्ज राजधानी हुनुपर्छ । वीरगन्ज राजधानी भयो भने समग्र मधेश एक प्रदेशको लागि फेरी हामी लड्न सक्छौँ । त्यसकारण सहिदको सपना साकार गर्नका लागि पनि वीरगन्ज राजधानी हुनै पर्छ । मधेश आन्दोलनको केन्द्रभूमि पनि वीरगन्ज नै हो । वीरगन्जका बजारहरू ६÷७ महिना बन्द गरेर पनि मधेश आन्दोलन र सहिदहरूको अस्तित्व जोगाइ राखेका थियौँ । त्यसबेला शीर्ष नेताहरूले पनि वीरगन्ज राजधानी हुन्छ भनेर यहाँका जनतालाई आन्दोलनमा होमिन लगाएको कारणले पनि र सहिदहरूको सपना साकार गर्नका लागि र शीर्ष नेताहरूको अभिव्यक्तिलाई कायम राख्नका लागि पनि वीरगन्ज राजधानी हुनुपर्छ ।


० वीरगन्जलाई आर्थिक रूपमा पनि विकसित गर्न सकिन्छ नि हैन र ?
— आर्थिक रूपमा त वीरगन्ज आफैमा पनि विकसित छ । अहिलेसम्म आर्थिक राजधानी भन्दै आइएको हो । यहाँबाट राष्ट्रिय पार्टीहरू, क्षेत्रीय पार्टीहरू आर्थिक दोहन गर्दै गए । पूरै नेपाल नै यहाँको आर्थिक स्रोतबाट चलिरहेको छ । अर्थात आर्थिक शोषण र आर्थिक दोहन गर्नका लागि यसलाई आर्थिक राजधानीको रूपमा अहिलेसम्म परिचय दिँदै आएको हो । तर संवैधानिक रूपमा समग्रमा यो आर्थिक राजधानी हुनैपर्छ । कुनै पनि विशेष सुविधा न पहिलाको सरकारले हामीलाई उपलब्ध गराएको थियो न कुनै संवैधानिक वा कानूनी रूपमा नै यसलाई आर्थिक राजधानी बनाएको थियो । उद्योगको लागि पनि सरकारले यहाँ कुनै लगानी गरेको छैन । यहाँका जनता आफैले वीरगन्जमा उद्योग स्थापना गरेर र आर्थिक स्तर उकास्न धेरै मेहेनत गरेर नै वीरगन्जलाई आर्थिक रूपमा सबल बनाएको हो । अहिले शीर्ष दलका केही नेताहरूले आफ्नो अवधारणा बदलेर वीरगन्जलाई आर्थिक राजधानी बनाउनुपर्छ भनेका छन् तर संविधानको कुनै धारामा पनि आर्थिक राजधानी बनाउनुपर्ने भन्ने प्रावधान छैन । यहाँका आम जनतालाई धोका दिएर आफ्ना अभिव्यक्ति बदल्ने काम शीर्ष नेताहरूले गर्दैछन् । बारा, पर्साका जनताको जुन किसिमको विश्वास रहेको थियो, त्यो विश्वास हट्दै गएको छ ।


० तपाईंहरूको आन्दोलनमा जनसहभागिता कस्तो रहेको छ ?
— जनसहभागिताको कुरा गर्नुहुन्छ भने प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, मधेश आन्दोलन सबैमा यहाँको जनताको व्यापक सहभागिता रहेको छ । साथै यहाँको जनतामा आक्रोश पनि धेरै छ । आन्दोलनको क्रममा वीरगन्जले जुन किसिमको मानवीय र आर्थिक क्षति बेहो¥यो त्यस हिसाबले पनि वीरगन्जलाई राजधानी बनाउनुपर्छ । वीरगन्जलाई राजधानी बनाउनुपर्छ भनेर बच्चादेखि वृद्धासम्मको हामीलाई समर्थन छ ।


० त्यहाँबाट निर्वाचित प्रतिनिधिले त वीरगन्ज राजधानी हुनुपर्छ भनेका छैनन् नि ?
— जम्मा पाँच ओटा मुख्य शक्तिहरू छन् । पाँच वटै शक्तिहरूबाट वीरगन्ज राजधानीको माग गर्दै आधाकारिक विज्ञप्ती समेत आइसकेको छ । रह्यो कुरा जनप्रतिनिधिको, जितेको प्रतिनिधिको प्रवक्ता त म होइन तर जो यहाँबाट जितेर गएका छन् उनीहरूको मनमा पनि वीरगन्जप्रति माया छ र उनीहरू पनि वीरगन्ज राजधानी हुनुपर्छ भन्ने इच्छा राखेका छन् ।


० जनप्रतिनिधिले वीरगन्ज राजधानी चाहेको भए त प्रदेशसभाको पहिलो बैठकमा जनकपुर नजानु पर्ने होइन र ?
— मुख्य कुरा के हो भने चुनाव जितेर जाने जनप्रतिनिधिहरूले वीरगन्जको बोली बोलिरहेको अवस्था छैन । पार्टी नेतृत्व अनुसारको उनीहरूको गतिविधि देखिरहेको छ । जुन तरिकाले उनीहरूले यसको नेतृत्व लिनुपर्ने थियो यसमा कमी कमजोरी देखिएको छ । उनीहरूको पनि मनमा त छ तर पार्टीको दबाबका कारणले जुन भूमिका निर्वाह गर्नु पर्ने त्यो हुन सकिरहेको छैन । यो जनताको माग, जनमुद्दालाई कदर गर्दै ढिलो चाँडो उनीहरू पनि यो अभियानमा होमिने छन् । केन्द्रीय सरकार र प्रादेशिक सरकार गठन भइसकेपछि जसले अवसर पाउँदैन उनीहरू पनि हाम्रो आन्दोलनमा सरीक हुनेछ भन्ने मलाई आशा र विश्वास छ ।


० राजधानी जनकपुर भए पनि प्रदेशको मुख्यमन्त्री वीरगन्जकै हुने निश्चित भइसकेको छ, यसलाई कसरी हेर्नुहुन्छ ?
— मुख्यमन्त्री को बन्छ, सभामुख को बन्छ भन्ने कुरा हाम्रो एजेण्डा र विषयवस्तु होइन । मुख्यमन्त्री, मन्त्री फेरिरहे पनि राजधानीको कुरा स्थायी हुन्छ, विकाससँग जोडिएको हुन्छ । त्यसैले त्यो हाम्रो सरोकारको विषयवस्तु नै छैन । जुन ठाउँको मुख्यमन्त्री, सभामुख भए पनि हामीलाई वीरगन्ज राजधानीसँगको सरोकार छ । वीरगन्ज नै राजधानी हुनुपर्छ । त्यसको लागि आन्दोलन हिजो पनि जारी थियो र आज पनि छ र आगामी दिनमा पनि विभिन्न स्वरूपबाट हाम्रो आन्दोलन जारी रहनेछ । वीरगन्जको मुख्यमन्त्री भए पनि त्यसले हामीलाई कुनै किसिमको प्रभाव पार्ने छैन । आन्दोलन आफ्नो गतिमा अगाडी बढ्छ ।


० निर्वाचनपछि सिंहदरबार गाउँ–गाउँमा भनिएको थियो, यस हिसाबले त राजधानी जहाँ भए पनि केही फरक नपर्ला ?
— वीरगन्ज यो प्रदेशको मेरूदण्ड नै हो । प्रदेशको विभिन्न नीति छ । त्यो नीतिकै कारणले पनि राजधानी कुन सहरले धान्न सक्छ, त्यो धेरै महत्वपूर्ण कुरा छ । जस्तो जनकपुरको कुरा गर्नुपर्दा त्यहाँ विकासको पूर्वाधार बनाउन नै धेरै भार पर्ने हुन्छ तर वीरगन्जमा पहिलेदेखि नै पूर्वाधारहरू पर्याप्त रहेको छ । अहिलेको पहिलो प्रदेश सभा बैठक गर्नका लागि नै जनकपुरमा धेरै खर्च गर्नु प¥यो । यदि वीरगन्जमा त्यो बैठक भएको भए त्यति धेरै आर्थिक भार पर्ने थिएन र त्यो भारलाई धान्न सक्ने क्षमता वीरगन्जमा छ ।


० नेपालका मन्त्रीहरूले विकासको मामिलामा राजधानी जहाँ भए पनि केही फरक पर्दैन भन्दै आएका छन्, यसमा के भन्नुहुन्छ ?
— राजधानीले धेरै प्रभाव पार्छ । विकासको कुरा गर्नु हुन्छ भने पर्यटन आवातजावत, रेखदेखको कुरामा राजधानीले प्राथमिकता पाउँछ । यसकारण राजधानी भएको ठाउँले बढी अवसर पाउने र राजधानी नभएकोले कम अवसर पाउने हुन्छ । संघीयता ल्याउन वीरगन्जले कस्तो देन दियो भन्ने कुरा बताइरहनुपर्ने अवस्था छैन । वीरगन्जबासी आफू मरेर भए पनि मधेश आन्दोलनलाई बचाई राख्यो । यसको उपहार स्वरूप पनि वीरगन्जलाई राजधानी दिनु पर्छ । तर जनताको चाहनालाई मारेर, नजर अन्दाज नगरी बस्दा यो आन्दोलनले कुन रूप लिन्छ भन्न सकिदैन । किनभने जनताको चाहनालाई धेरै समय दबाएर राख्न सकिदैन ।


० यदी वीरगन्जलाई राजधानी बनाइएन भने त्यसपछिको तपाईहरूको रणनीति के हुनेछ ?
— हामीलाई वीरगन्ज राजधानी हुनेमा पूर्ण आशा र विश्वास छ । अहिले जुन आन्दोलन जारी छ, त्यो आन्दोलनको आवाजलाई समयमा नै सम्बोधन गरियोस् । वीरगन्ज पूर्ण रूपमा आन्दोलित भयो भने थेग्न गाह्रो हुन्छ । त्यसकारण चेतावनीसहित हामीले यो आन्दोलन जारी राखेका छौँ । मधेश आन्दोलनसँग हाम्रो लगाव, प्रेम भएकोले हामीले यसलाई जोड्न चाहिरहेका छौँ ।

 

प्रकाशित मिति : २०७४ साल माघ २६ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com