सुशासन र विकासमा हाम्रो जोड रहन्छ : मो. लालबाबु राउत गद्दी

उपाध्यक्ष तथा संसदीय दलका नेता (प्रदेश २), संघीय समाजवादी फोरम नेपाल

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष मो.लालबाबु राउत गद्दी पार्टीको प्रदेश २ को संसदीय दलको नेतामा चुनिएका छन् । सामान्य परिवारमा ५१ वर्षअघि २०२३ असार १५ गते जन्मिएका प्रदेश २को मुख्यमन्त्रीको कुर्सीसम्म छलाङ मार्न लागिरहेका राउत राजनीतिमा प्रवेश गरेको भने धेरै भएको छैन ।

२०६३/०६४मा भएको पहिलो मधेश आन्दोलनपछि मात्रै उनी राजनीतिमा होमिएका हुन् । पर्साको मुस्लिमबहुल जगरनाथपुरमा हिन्दु जस्तै नाम भएको मुस्लिम परिवारमा जन्मिएका राउत गाउँमै प्रारम्भिक पढाइ सकेका माध्यमिक तहका लागि पोखरियाको विद्यालयमा भर्ना भए ।

२०४० सालमा राम्रो अंक ल्याएर एसएलसी सकेका लालबाबु प्रवीणता प्रमाणपत्र तह पढ्न वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना भए । स्नातकसम्म वीरगञ्जमै अध्ययन गरिसकेपछि स्नातकोत्तर पढ्न उनी २०४९ सालमा काठमाडौं आए र त्रिभुवन विश्वविद्यालयमा अंग्रेजीमा स्नातकोत्तरको अध्ययन पूरा गरिसकेपछि वीरगञ्ज फर्केर २०५० सालदेखि आफै पढेको ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यापन गर्न थाले ।

साथै उनले कानुनमा एलएलबीसमेत गरेका छन् । अध्यापन सँगसँगै वीरगञ्ज नगरपालिकाको जागिरे पनि भए । नगरपालिकामा अधिकृतको जागिर र आंशिक प्राध्यापकको काम सँगसँगै बढाएका उनी पहिलो मधेश आन्दोलन पछि सक्रिय राजनीतिमा प्रवेश गरे । सुरूमा मधेशी जनअधिकार फोरमको केन्द्रीय सचिव भएर काम गरेका उनी पछि केन्द्रीय सदस्य तथा राष्ट्रिय उपाध्यक्ष समेत भए ।

दोस्रो संविधान सभाको व्यवस्थापिका संसदको राज्य व्यवस्था समिति तथा संविधानको मस्यौदा बनाउने समितिको अनुभव बटुलेका लालबाबु पार्टीका एक बौद्धिक नेताको रूपमा चिनिन्छन् । लालबाबुसँग मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंशः

 

० तपाईं प्रदेश २ को मुख्यमन्त्री बन्ने निश्चित भएको हो ?
— संघीय समाजवादी फोरम नेपालबाट प्रदेश नं. २ को संसदीय दलको नेतामा म नियुक्त भइसके पछि र यस प्रदेशमा हाम्रो पार्टी सबभन्दा ठूलो रहेकोले यस किसिमका आंकलन हुनु स्वभाविक हो ।


० सरकार बनाउने विषयमा राष्ट्रिय जनता पार्टी नेपालसँग के कस्तो छलफल भइरहेको छ ?
— चुनावका बेला हामीले राजपासँग तालमेल गरेर ग¥यौं । निश्चित रूपमा जनताको म्यान्डेट पनि राजपा र फोरमले संयुक्त सरकार बनाउनु पर्छ भन्ने नै छ । प्रदेश २ मा सरकार निर्माणबारे हामीबीच छलफल भइरहेको छ ।


० फोरम र राजपाबीच मुख्य रूपमा कुन–कुन विषयमा छलफल चलिरहेको छ ?
— जनताको म्यान्डेटअनुसार प्रदेश २ मा सरकार कसरी बनाउने, यस प्रदेशमा रहेका चुनौतीहरूलाई कसरी सामना गर्ने, कसरी विकास गर्ने लगायतका समग्र विषयमा नै छलफल भइरहेको छ ।


० यदि प्रदेशको मुख्यमन्त्री तपाईं बन्नुभयो भने पहिलो प्राथमिकता के हुनेछ ?
— हाम्रो पहिलो प्राथमिकता सुशासन र त्यसपछि विकास हो । शान्ति र स्थिरता लगायतका कुराहरू नै हाम्रो प्राथमिकतामा हुनेछ ।


० प्रदेश २ लाई कसरी चिनाउनु हुनेछ ?
— राज्यबाट उपेक्षित, उत्पीडनमा पारिएको, यहाँका बासिन्दासँग विभेद गरिएको यो प्रदेश हो । यो प्रदेशलाई नमुना प्रदेशको रूपमा विकास गरेर जानुपर्छ । हामी सबैको सहयोग लिएर अगाडि बढ्नुपर्छ । यो प्रदेशलाई नमुना प्रदेश बनाउनका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्छ । यस प्रदेशलाई विकास गर्नु नै हाम्रो सामु प्रमुख चुनौती हो । मधेश आन्दोलनले यो मुलुकलाई दिएको संघीयता र संघीयता प्राप्तिका लागि संघर्ष गरेका दलहरू यहाँ शासन गर्ने अवसर पाएका छन् । त्यसैले हामी यस प्रदेशलाई एउटा नमुनाको रूपमा स्थापित गराउन अगाडि बढ्नुपर्छ ।


० प्रदेश २ का चुनौती के–के छन् ?
— चुनौती त थुप्रै छन् । मुलुक संघीयतामा गइसकेपछि यो प्रदेशलाई स्रोत साधनविहीन बनाइएको छ । यहाँका जनता सदियौंदेखि उत्पीडनमा परेका छन् । यहाँका भौतिक पूर्वाधारहरू मात्र होइन, स्वास्थ्य, शिक्षा, बेरोजगारी, गरिबी लगायतका समस्याहरू छन् । त्यसैले, यो एकदमै पछाडि पारिएको प्रदेश हो ।


० यहाँका सम्भावनाका स्रोतहरू के–के छन् ?
— यहाँका उद्योग–धन्दाहरू तथा कलकारखानाहरू सञ्चालनमा ल्याउनुपर्छ । यहाँका विभिन्न किसिमका जुन गतिविधिहरू छन्, त्यसलाई प्रभावकारी बनाउन सबैको ध्यान जान आवश्यक छ । यी कार्यहरू गरियो भने निश्चित रूपमा यहाँका युवाहरूले रोजगारीको अवसर पाउनेछन् ।


० प्रदेश २ को राजधानीको विषयलाई लिएर तपाईंकै गृह जिल्लामा आन्दोलन भइरहेको छ, यसलाई कसरी निराकरण गर्नुहुन्छ ?
— नेपाल सरकारले अहिले अस्थायी राजधानी तोकेको हो । स्थायी राजधानीको संविधानमै व्यवस्था छ । प्रदेशसभाको दुई तिहाईको बहुमतले स्थायी राजधानी तोक्ने संवैधानिक व्यवस्था छ । स्थायी राजधानीका लागि सबैसँग छलफल गरेर कुन ठाउँमा राख्दा सबैलाई सजिलो हुन्छ त्यसैअनुसार अगाडि बढ्नुपर्छ ।


० मानौं, प्रदेश सभाले जनकपुरबाट वीरगन्जलाई नै राजधानी बनायो भने त्यसबाट उत्पन्न हुने प्रभावलाई कसरी आंकलन गर्नुहुन्छ ?
— यो विषयमा कुनै एक वा दुई जिल्लाका सांसदको कुरा मान्य हुँदैन । सदनका सबै सदस्यहरूले निर्णय गर्ने कुरा हो । त्यसैले, जुन संवैधानिक प्रावधान छ, त्यसअनुसार नै अगाडि बढ्नुपर्छ ।


० तपाईंको विचारमा राजधानी कहाँ उपयुक्त हुन्छ ?
— मेरो मात्र विचार भएर हुन्छ र ? मैले विचार गर्दैमा यो प्रदेश २ लाई स्वर्ग बनाउँछु भनेर सकिँदैन नि । मेरो चाहना हुँदाहुँदै मैले मात्र गरेर हुँदैन । त्यसैले, मेरो चाहनाभन्दा पनि समग्र प्रदेशसभाका सदस्यहरूको चाहना हुनुपर्छ ।


० यस प्रदेशमा भाषा विवादसमेत देखिएको छ, यसलाई कसरी मिलाउनुहुन्छ ?
— यतिका दिनसम्म सत्तामा जसले राज गरेका छन् तिनीहरूको छट्पटाहटको रूपमा मात्र यो भाषा विवाद देखिएको छ । संघीयतामा गइसकेपछि भाषा के हो र ? सबैको भाषा, संस्कृति, धर्मलाई सम्मान गरिनु पर्छ । लोकतन्त्रको सिद्धान्त भनेको यही हो । सबैको सम्मान गर्नु हो । संघीयतामा गइसकेपछि मेरै भाषा मान्ने जुन सामन्ती सोच छ, त्यसबाट माथि उठ्नुपर्छ ।


० प्रदेशसभाको पहिलो बैठकमा तपाईंहरूले गरेको सम्बोधनको भाषालाई लिएर विरोध भइरहेको छ नि ?
— कसले कहाँ के गर्छ त्यो थाहा छैन । यस प्रदेशभित्र मैथिली पनि बोलिन्छ, भोजपुरी पनि बोलिन्छ । मेरो बुझाइमा भाषा भनेको मेरो कुरा सबै सामु पु¥याउने माध्यम हो । यसमा कुनै भाषाभाषी समुदायले अपमान भयो भनेर बुझ्नु हुँदैन । सबैको भाषा, संस्कृतिलाई सम्मान गरेर अगाडि बढ्नका लागि नै मुलुक संघीयतामा गएको हो । सबैको पहिचान र सम्मान होस् । विविधता भएको ठाउँमा सबैले आ–आफ्नो धर्म, परम्परा, संस्कृति, भाषा, भेषलाई सम्मान गर्न पाओस् । सबै भाषा र संस्कृतिलाई हामी सम्मान गर्न जान्नुपर्छ ।


० प्रदेश २ को कामकाजी भाषा वा सम्पर्क भाषा कुन बनाउँदा उपयुक्त होला ?
— यो त संविधानले व्यवस्था गरेअनुसार नै हुन्छ ।


० प्रदेश २ का मुख्य समस्याहरू कसरी समाधान गर्नुहुन्छ ?
— समस्या आइसकेपछि हामी सबै मिलेर समाधान खोज्नुपर्छ । एक जना कसैले समाधान गर्न सक्दैन । यहाँ रहेका चुनौतीहरूलाई समाधान गर्न हामी सबै साहस गर्नुपर्छ । हाम्रो आफ्नो गाउँ–ठाउँलाई कसरी विकास गरेर अगाडि बढ्नुपर्छ भन्नेमा केन्द्रित हुनुपर्छ । यसलाई हामी समाधान गर्न सक्षम छौं । किनभने सदियौंदेखि हामी उत्पीडनमा परेका छौं ।


० प्रदेश २ को अबको गन्तव्य के हुने ?
— जुन हामी गर्न खोजेका छौं त्यहीं नै गन्तव्य हो । यो हाम्रो ठाउँ हो, हामी सबैले मिलेर यसलाई बनाउनुपर्छ भन्ने वातावरण बन्नुपर्छ । यहाँ सुशासन होस् । हामी यो मुलुककै एउटा अभिन्न अंग हौं, हामीसँग विभेद छैन भन्ने यहाँका जनताहरू महसुस गरोस् ।


० शिक्षा, विकास, यातायात, सडक, स्वास्थ्य सबैमा यो प्रदेश कमजोर छ, यसलाई मोडेल प्रदेश कसरी बनाउने ?
— सबभन्दा पहिले आवश्यक हो सुशासन । यहाँ राज्यले पनि विभेद गरेको छ । राज्यद्वारा यहाँ खटाइएका ब्युरोक्रेट्सहरू छन् । उनीहरूले अहिलेसम्म यसलाई कंगाल बनाउने र आफ्नो महल ठड्याउने जुन किसिमको सोच देखिएको छ, त्यसलाई हटाउनुपर्छ । यहाँ सुशासन कायम गर्नुपर्छ । त्यो सुशासनको माध्यमले यहाँका समस्याहरू समाधान हुँदै जान्छ ।


० संघीयता मधेश आन्दोलनको उपज हो र प्रदेशको संरचना गठन भएपछि के संघीयता पूर्ण कार्यान्वयनमा आएको हो ?
— कहाँ पूर्ण कार्यान्वयनमा गएको छ ? अहिले प्रदेशलाई जसरी पंगु बनाउने संवैधानिक व्यवस्था नै छ, प्राप्त उपलब्धिलाई संस्थागत गरेर अगाडि बढ्नुपर्छ । यो हाम्रो बाध्यता पनि हो । यो प्रदेशलाई जसरी उपेक्षा गरिएको छ, त्यसरी नै विस्तारै विस्तारै स्वायत्त अधिकार प्राप्तिका लागि संघर्ष गर्दै अगाडि बढ्नुपर्छ । संघीयता कार्यान्वयनको यो प्रारम्भिक चरण हो । विस्तारै यो कार्यान्वयन हुँदै जान्छ ।


० संघीयता पूर्ण कार्यान्वयनका चुनौतीहरू के–के छन् ?
— यहाँ मानवीय विकास सूचकांक हेर्ने हो भने पछि परेको प्रदेश हो । यहाँ गरिबी, अशिक्षा, बेरोजगारी र स्वास्थ्यको अवस्था पनि त्यस्तै छ । हाम्रो मधेशका जुन उब्जाऊ जिल्ला र थोरै पैसामा धेरै विकास गर्ने ठाउँहरू पनि पहाडका दुर्गम जिल्लाभन्दा धेरै पछाडि परेका छन् । यस्ता थुप्रै चुनौतीहरू छन् ।


० मधेश फेरि राजनीतिक पहिचानका लागि लड्नु पर्छ कि विकासका लागि संघर्ष गर्नुपर्छ ?
— अहिले पनि संविधानमा रहेका त्रुटिहरू सच्याउनका लागि राजनीतिक दलहरूले प्रयास गर्नै पर्छ । अहिले हामी यहाँ कसरी सुशासन कायम गर्न सक्छौं, कसरी शान्ति व्यवस्था कायम गर्न सक्छौं लगायतका कुराहरूका लागि निरन्तर संघर्ष गर्दै जानुपर्छ ।


० अब संविधान संशोधनका लागि मधेशी दलहरूको भूमिका कस्तो हुनुपर्छ ?
— जसको नेतृत्वमा सरकार बन्छ र उसले यदि हाम्रो सहभागिता खोज्छ भने संविधान संशोधनमा उसले के सहयोग गर्छ त्यतातिर हामी लाग्नुपर्छ । संविधान संशोधन भएसम्म हामी कुनै पनि केन्द्रीय सरकारमा जान सक्ने अवस्था छैन । यो कुरा अब बन्ने सरकारका नेतृत्वलाई हामी जानकारी गराइसकेका छौं ।

 प्रकाशित मिति : २०७४ साल माघ २६ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com