श्रीमतीलाई मन्त्री बनाउन अडान लिएपछि राजपामा विवाद

काठमाडौं, १ फागुन । प्रदेश २ मा सरकार निर्माणको गृहकार्यमा रहेको राष्ट्रिय जनता पार्टी नेपालभित्र अध्यक्षहरुबीचको विवादले भाँडभैलो मच्चिएको छ । राजपा र फोरमबीच भएको सहमतिअनुसार राजपाले सभामुखसहित भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएको छ ।

यसैक्रममा पार्टीबाट मन्त्रीहरु चयनका लागि बसेको अध्यक्षमण्डलको बैठकमा संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, महेन्द्र यादव र शरत्सिंह भण्डारीले प्रत्यक्ष निर्वाचित सांसदहरुलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका थिए भने अन्य दुई जना सदस्य अनिलकुमार झा र राजकिशोर यादवले समानुपातिकलाई पनि समावेश गर्नुपर्ने अडान राखेका छन् ।

स्रोतका अनुसार अनिल झाले समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी आफ्नी श्रीमती डा. डिम्पल झालाई पनि मन्त्री बनाउनुपर्ने अडान लिएपछि विवाद चरमोत्कर्षमा पुगेको हो । पार्टीका अन्य नेताहरु भन्छन्, ‘समानुपातिकमा समावेश भएकाहरुका लागि त्यो नै ठूलो अवसर हो तर, प्रत्यक्ष जितेकालाई मात्र मन्त्रीमा पठाउनुपर्ने हुन्छ ।’

श्रीमतीलाई जसरी पनि मन्त्री बनाउनुपर्ने अडान लिएपछि राजपाको तर्फबाट मन्त्रीको टुंगो लाग्न सकेको छैन । अध्यक्षमण्डलका संयोजक ठाकुर, सदस्यहरु महतो, यादव र भण्डारीले प्रत्यक्ष निर्वाचितलाई नै प्राथमिकता दिनुपर्ने तर्क गरेको स्रोतको दाबी छ ।

यसअघि पनि अनिल झाको तत्कालीन पार्टी नेपाल सद्भावना पार्टीबाट संविधानसभाको दोस्रो निर्वाचनमा पाएको एउटा समानुपातिक सिट श्रीमती डिम्पललाई राखेका थिए । त्यसबेला पनि अध्यक्ष झाले चर्को आलोचना खेप्नुपरेको थियो । आफ्नै नेता कार्यकता तथा मतदाताले विरोध गरेका थिए । यता, यसबारे अनिल झासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com