प्रदेश २ का मुख्यमन्त्री लालबाबुको संक्षिप्त परिचय

काठमाडौं, २ फागुन । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष मो.लालबाबु राउत गद्दी प्रदेश २ का मुख्यमन्त्रीका रुपमा नियुक्त भएका छन् । उनी फोरमको प्रदेश २ को संसदीय दलको नेतामा पनि चुनिएका छन् । सामान्य परिवारमा ५१ वर्षअघि २०२३ असार १५ गते जन्मिएका प्रदेश २ को मुख्यमन्त्रीको कुर्सीसम्म छलाङ मार्न सफल भएका राउत राजनीतिमा प्रवेश गरेको भने धेरै भएको छैन ।

२०६३/०६४मा भएको पहिलो मधेश आन्दोलनपछि मात्रै उनी राजनीतिमा होमिएका हुन् । पर्साको मुस्लिमबहुल जगरनाथपुरमा हिन्दु जस्तै नाम भएको मुस्लिम परिवारमा जन्मिएका राउत गाउँमै प्रारम्भिक पढाइ सकेका माध्यमिक तहका लागि पोखरियाको विद्यालयमा भर्ना भए ।

२०४० सालमा राम्रो अंक ल्याएर एसएलसी सकेका लालबाबु प्रवीणता प्रमाणपत्र तह पढ्न वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना भए । स्नातकसम्म वीरगञ्जमै अध्ययन गरिसकेपछि स्नातकोत्तर पढ्न उनी २०४९ सालमा काठमाडौं आए र त्रिभुवन विश्वविद्यालयमा अंग्रेजीमा स्नातकोत्तरको अध्ययन पूरा गरिसकेपछि वीरगञ्ज फर्केर २०५० सालदेखि आफै पढेको ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यापन गर्न थाले ।

साथै उनले कानुनमा एलएलबीसमेत गरेका छन् । अध्यापन सँगसँगै वीरगञ्ज नगरपालिकाको जागिरे पनि भए । नगरपालिकामा अधिकृतको जागिर र आंशिक प्राध्यापकको काम सँगसँगै बढाएका उनी पहिलो मधेश आन्दोलन पछि सक्रिय राजनीतिमा प्रवेश गरे । सुरूमा मधेशी जनअधिकार फोरमको केन्द्रीय सचिव भएर काम गरेका उनी पछि केन्द्रीय सदस्य तथा राष्ट्रिय उपाध्यक्ष समेत भए ।

दोस्रो संविधान सभाको व्यवस्थापिका संसदको राज्य व्यवस्था समिति तथा संविधानको मस्यौदा बनाउने समितिको अनुभव बटुलेका लालबाबु पार्टीका एक बौद्धिक नेताको रूपमा चिनिन्छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com