रौतहटमा झडप, २१ राउण्ड अश्रु ग्यास प्रहार

राकेश यादव, रौतहट, २ फागुन । रौतहट जिल्लाको बृन्दाबन नगरपालिकाको विश्रामपुरमा स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

नगरप्रमुख रामस्नेही यादवले नगर कार्यालय सार्ने निर्णय गरेको विरोधमा स्थानीयहरुले तोडफोड गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

विगत ४ दिनदेखि कार्यालयमा तालाबन्दी गरेका स्थानीयहरु नगर कार्यपालिकाको बैठक सञ्चालन भैरहेको ठाउँ स्थानीय स्वास्थ्य केन्द्रको सभाहल नजिक पुगेर तोडफोड गर्न लाग्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड आश्रु ग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी निरीक्षक गोविन्द थापाले बताएका छन् ।

थापाका अनुसार सशस्त्र प्रहरीका १४ र नेपाल प्रहरीका २ गरी १६ जना सुरक्षाकर्मी घाइते भएका छन् । विश्रामपुरमा रहेको केन्द्र गौर चन्द्रनिगाहपुर सडकखण्डसँग जोडिएका हर्साहामा सार्ने निर्णयप्रति स्थानीयहरु आक्रोशित भएका छन् ।

आन्दोलनकारीहरुले स्वास्थ्य कार्यालयको शीशा लगायतका सामग्री तोडफोड गरेका छन् । झडपमा एक नाबालकसहित एक दर्जनभन्दा बढी घाइते भएको बुझिएको छ ।

स्थिति नियन्त्रणमा लिनका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com