राउतको जिम्मामा प्रदेश २ (सम्पादकीय)

देश संघीयतामा गएपछि प्रदेश–प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहेको छ । यो नेपालका लागि बिलकुलै नयाँ अभ्यास हो । अब मुलुकका ७ वटै प्रदेशमा अलग–अलग सरकार हुनेछन्, अलग–अलग मुख्यमन्त्री र मन्त्रीहरू पनि । मुख्यमन्त्रीको भूमिका सम्बन्धित प्रदेशमा त्यस्तै हुन्छ, जस्तो देशमा प्रधानमन्त्रीको भूमिका हुन्छ । मुख्यमन्त्री प्रदेश कार्यपालिकाका प्रमुख हुन्, उनको नेतृत्वमा एउटा मन्त्रिपरिषद् रहनेछ । प्रदेशको कार्यकारिणी अधिकार प्रदेश मन्त्रिपरिषद्मा हुने संवैधानिक व्यवस्था छ । प्रदेश २ को मुख्यमन्त्रीमा मोहम्मद लालबाबु राउत गद्दी, जो मुस्मिल समुदायका हुन्, निर्वाचित भएका छन् । उनलाई प्रदेश २ को दोस्रो ठूलो दल राजपा नेपालको पनि समर्थन प्राप्त छ । प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपा नेपालले संयुक्त सरकार बनाउँदै छ ।


दुबै दलको सहमतिमा राउतलाई प्रदेश २ को जिम्मेवारी प्राप्त भएकाले अब उनको दायित्व पनि बढेको छ । अब उनी एउटा पार्टीको मात्र नभएर प्रदेश २ कै नेता पनि भएका छन् । उनको काँधमा पार्टीका कार्यकर्ताहरूको मात्र गुनासो सुन्ने नभएर प्रदेश २ का हरेक जनताको पीडा, मर्का र समस्या सुन्ने जिम्मेवारी आएको छ । त्यसैले मुख्यमन्त्रीको रूपमा राउतले आफूलाई पाउँदा जति गर्व महसुस र खुशी भएको होला, त्यस्तै चुनाती र समस्याको पहाड पनि उभिएको छ । त्यसैले उनको हरेक कदम महत्वपूर्ण छ । उनको हरेक पाइला–पाइलामा गर्वका साथै चुनौती पनि छ । यद्यपी देशले अहिले पहिलो पटक प्रादेशिक संरचनामा प्रवेश गरेको सन्दर्भमा धेरै नै अपेक्षा गर्नु पनि बुद्धिमता होइन तर आधारभूत विषयलाई भने नजरअन्दाज गरिनु हुँदैन । मुख्यमन्त्रीका रूपमा पदभार ग्रहण गर्दै राउतले प्रदेशलाई हरेक काममा पहिलो प्रदेशका रूपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले प्रदेशका सबै कार्यालयका प्रमुखलाई पहिलो सम्बोधन गर्दै ७ वटा प्रदेशमध्ये आफू गतिलो मुख्यमन्त्री बन्ने र प्रदेशलाई पहिलो प्रदेश बनाउने विश्वास दिलाए । उनको यो भनाइलाई शब्दमा सीमित मात्र नराखी व्यवहारमा प्रदर्शन गर्नु पर्ने बेला आएको छ । यसका लागि उनको कतव्र्य निष्ठा र इमान्दारी हेर्न बाँकी छ ।


हाम्रो स्थानीय समस्या एउटा छ । विकासका कुरा छन् । बेरोजगारी, गरिबी र कुशासन छ । यी सबै समस्यासँग जुधेर अघि बढ्नु पर्छ र यी सबैका लागि मुख्यमन्त्रीको रूपमा राउत कति खरो उत्रिन्छन आउने दिनमा नै थाहा हुनेछ ।
प्रदेश मुख्यमन्त्रीले समृद्धिको सपना हत्तपत्त देखाउनु भन्दा स्रोतलाई जुटाउनुपर्ने प्रमुख चुनौती छ । समथर भू–भाग भएको यो प्रदेशमा राम्रो सडक सञ्जाल नहुँदा कष्टकर यात्रा गर्नुपर्छ । गुणस्तरीय स्वास्थ्य र शिक्षा हरेक क्षेत्रमा अझै पुगेको छैन । बाल मृत्युदर उच्च छ ।

यस्तो अवस्थामा कुराभन्दा कामलाई बढी प्राथमिकता दिनु पर्ने टड्कारो आवश्यक्ता छ । यसका साथै प्रदेशको अस्थायी राजधानी तोक्दा देखिएको विवाद अबका दिनमा नदेखिएला भन्न सकिदैन । अस्थायी राजधानी तोक्दा जुन विरोध वीरगञ्जमा भयो भोलिका दिनमा प्रदेशको नामाकरणका विषयमा पनि थप विरोध र आन्दोलन नहोलान् भन्न सकिदैन । प्रदेश सरकारको बहुमतको निर्णयले नै प्रदेशको नामाकरण र केन्द्र तोक्ने संविधानमा व्यवस्था भएका कारण अब भन्ने प्रदेश सरकारले प्रदेशको नामाकरण गर्दा कसरी गर्ला भन्ने नै हो । नेपाली राजनीतिमा अहिले खासै विरोधमा नआए पनि प्रदेशको नामाकरण भोलिका दिनमा पेचिलो र विवादमुक्त नहोला भन्न सकिदैन । यो अवस्थामा फेरि विरोध र आन्दोलन नहोला भन्न मिल्दैन । प्रदेश सरकारले प्रदेशको राजधानी र नामाकरण गर्दा त्यहाँको वस्तुस्थिति, भूगोल, सांस्कृतिक, भाषिक, जातिगत पहिचान तथा ऐतिहासिकताजस्ता अनेक पक्षबाट विश्लेषण गरेर मात्र गर्नु उपयुक्त हुनेछ । संघीयताको रूपरेखा पहिलो पटक देशमा लागू हुँदै गरेको यो अवस्थामा प्रदेश सरकारलाई अबका दिनमा अवसर र चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ ।


समग्र प्रदेशको स्वाधिनता, भौगोलिक अवस्था सबैको अध्ययन र सर्वमान्य हुने गरी काम गर्न सक्नुपर्छ । चुनौतीको सामाना गर्दै प्रदेशको विकास र समृद्धिको लागि प्रदेश सरकार अब लाग्नु पर्नेछ ।

 

प्रकाशित मिति : २०७४ साल फागुन ४ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com