महिलाका लागि अन्तर्देशीय कार्यक्रम चलाउँदैछौं – राधा कायस्थ

केन्द्रीय उपाध्यक्ष, नेपाल–भारत महिला मैत्री समाज तथा नेतृ राजपा नेपाल


० महिला मैत्री समाजको मूल उद्देश्य के रहेको छ ?
— हाम्रो मुल उद्देश्य भनेको परापूर्व कालदेखि चलिआएको नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउनु हो । यसको साथ–साथै दुई देशको महिलाको जुन अवस्था छ, त्यसलाई सुधार गर्नु पनि हो । कुनै पनि प्रजातान्त्रिक देशमा जबसम्म महिलाको विकास हुदैन तबसम्म त्यो प्रजातन्त्र सफल हुन सक्दैन । हामी दुई देशको सांस्कृतिक रहनसहन, खानपान पनि मिल्दो–जुल्दो नै छ । त्यसकारण पनि यी दुई देशको सम्बन्ध प्रगाढ हुनु पर्दछ । दुई देशको महिलालाई कसरी विकास गर्ने भन्ने तर्फ पनि हामी लागिरहेका छौँ ।


० महिला सशक्तीकरणको तालिम विशेषगरी भारतमा कति वटा गर्नुभयो ?
— हामीले भारतमा सीपमूलक सम्बन्धी ३ वटा जति कार्यक्रम ग¥यौँ । हामीले हाम्रो संस्कृतिलाई विशेष ध्यान दिइरहेका छौँ । भारतको दिल्लीमा गएर हामीले भव्य कार्यक्रम ग¥यौँ । कुनै पनि देशको अहिलेको प्रभावकारी क्षेत्र भनेको नै राजनीति नै हो । त्यसकारण हामीले जति गरे पनि राजनीतिक प्रभाव परेर बाधा परेको छ । त्यसैले दुवै देशका शीर्ष व्यक्तित्व राखेर पनि हामीले कार्यक्रम गरेका छौँ । यस्ता कार्यक्रम हामीले भारतमा मात्रै ६ वटा गरिसकेका छौँ ।


० महिला सशक्तीकरण कार्यक्रममा नेपाल तथा भारत सरकारबाट के कस्ता सहयोग पाउनुभएको छ ?
— अहिलेसम्म त हामीले नेपाल र भारत दुबै सरकारबाट सहयोग प्राप्त भएको छ । हामीले आफ्नो कोषबाट पनि पनि खर्च गरिरहेका छौँ ।


० तपाईंहरूले सञ्चालन गर्ने कार्यक्रमबाट महिलाहरू कति लाभान्वित भएका छन् ?
— मेरो विचारमा त महिलाहरू धेरै लाभान्वित भएका छन् । किनभने हामीले सीपमूलक कार्यक्रम सञ्चालनमा ल्याएर उनीहरूको क्षमता अभिवृद्धि गर्दै आएका छौँ । महिलाको विकासका लागि सबैभन्दा जरूरी आर्थिक स्तर उकास्नु नै हो । आर्थिक स्तर उकास्न सक्यो भने महिलामा पनि आत्मनिर्भरताको विकास हुन्छ । त्यसकारण हामीले सीपमूलक कार्यक्रमलाई निरन्तर रूपमा सञ्चालनमा ल्याएका हौँ । यसका अतिरिक्त १५ जना दलित एवम् जनजाती, निम्नवर्गीय बालिकाहरूलाई निःशुल्क शिक्षाको व्यवस्था पनि गरिरहेका छौँ । उनीहरूले जतिसम्म पढ्ने इच्छा गर्छन् त्यतिसम्म पढाइदिने पनि हाम्रो लक्ष्य रहेको छ ।


० तपाईंहरूले सञ्चालन गरेको कार्यक्रम अहिलेसम्म कति प्रभावकारी भएको पाउनुभएको छ ?
— हामीले २०१३ मार्च ८ तारिखका दिन स्थापना गरेको संस्था हो । त्यस बेलादेखि अहिलेसम्म धेरै कार्यक्रम गरिसकेका छौँ । यो पनि ठूलो उपलब्धी हो हाम्रो ।


० आगामी योजनाहरू के के छन् ?
— हाम्रो आगामी योजना भनेको विभिन्न क्षेत्रमा रहेर काम गर्नु हो । धार्मिक, सांस्कृतिक, राजनीतिक जति पनि क्षेत्र छन्, सबैसँग आबद्ध रहेर काम गर्ने सोच बनाएका छौँ । समाजमा रहेका कुरीति, कुसंस्कार, अन्धविश्वासलाई हटाउनको लागि पनि कार्यक्रम गर्ने हाम्रो योजना छ किनभने यस्ता यिनीहरूलाई जति सक्दो छिटो समाजबाट हटाउनुपर्ने हुन्छ ।


० नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउन तपाईंको संस्थाले के कस्ता सहयोगात्मक भूमिका निर्वाह गरेको छ ?
— मलाई लाग्छ यो नेपाल–भारत महिला मैत्री समाजले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउन प्रभावशाली भूमिका निर्वाह गर्दै आएका छ । स्थापना कालदेखि नै विभिन्न किसिमका काम यस संस्थाले गर्दै आइरहेको छ । नेपालमा मात्र होइन, भारतको जनतासँग पनि मिलेर हामीले त्यहाँ कार्यक्रम गरिरहेका छौँ । राजनीतिक दलका नेताहरूलाई राखेर कार्यक्रम गर्नु त्यो पनि एक प्रकारको प्रभावकारी काम नै हो ।


० नेपाल–भारतबीचको सम्बन्धलाई लिएर विभिन्न समयमा नकारात्मक टिप्पणी हुने गरेको छ, यसलाई कुन रूपमा लिनुहुन्छ ?
— यसलाई म स्वभाविक नै मान्छु । किनभने कुनै पनि सम्बन्धमा कुनै समयमा उतार चढाव त आउछन् नै । सधैँ समान रूपमा पनि रहन सक्दैन । हाम्रो सम्बन्ध यस्तो किसिमको छ कि नकारात्मक कुरा धेरै समय टिक्न नै सक्दैन ।


० भारतले विभिन्न समयमा शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ, यसलाई नेपाल सरकारले कस्तो रूपमा लिएको छ ?
— सकारात्मक रूपमा नै लिएको छ ।


० भारतले सीमा मिच्यो, राजनीतिक हस्तक्षेप ग¥यो भन्ने कुराहरू पनि बारम्बार आइरहन्छ, यसमा तपार्ईंलाई के लाग्छ ?
— एउटा कुरा म के भन्न चाहन्छु भने हाम्रो संस्था राजनीतिक संस्था होइन यो शुद्ध सामाजिक संस्था हो । त्यसैले हाम्रो संस्थालाई राजनीति विषयमा टिप्पणी गर्न चाहदैन ।


० राजनीतिमा महिलाको अवस्था कस्तो देख्नुहुन्छ ?
— राजनीतिमा महिलाको अवस्थाको बारेमा सोध्नुहुन्छ भने त १० वर्ष पहिले महिलाको स्थिति र अहिलेको स्थितिमा धेरै परिवर्तन आइसकेको छ । पहिलाभन्दा त अहिले महिलाहरू धेरै अगाडी आइ सकेको छन् । महिलाको जति सहभागिता हुनुपर्ने हो त्यति सहभागिता अहिले छ ।


० राजनीतिक क्षेत्रमा महिलाको आरक्षण सिट भनेर राख्ने गरिन्छ, महिलाको सहभागिता पूरा गर्नकै लागि मात्र महिलालाई यस्तो गरिएको हो ?
— हो । पूर्ण रूपमा भने होइन, आशिंक रूपमा भने त्यसो गरिएकै हो ।


० निर्वाचनमा समेत महिलालाई प्रत्यक्षतर्फ टिकट नदिई सहभागिता गराउनुपर्छ भनेर मात्र समानुपातिक तर्फ बढि सिट दिइयो, यस्तो किन भएको होला ?
— मलाई के लाग्छ भने राजनीतिक भनेको पुरूषहरूको धारमा छ । अझ खासगरी मधेशीहरूको सवालमा । यदि संविधानमा बाध्यात्मक रूपमा महिलाको सिट राखिदैनथ्यो भने यो पनि हुने थिएन ।


० तपाईंको पार्टीमा महिलाको अवस्था कस्तो छ ?
— पहिलाको अवस्थाको भन्दा त राम्रो नै छ । धेरै महिला घरबाट बाहिर निस्केर राजनीतिकमा रहेका छन् । देशको, समाजको लागि केही गर्नुपर्छ भन्ने चेतना महिलामा आइसकेको छ । अहिलेको महिलाको अवस्था देख्दा महिलाप्रति म पूर्ण आशावादी छु ।


० तपाईंको पार्टीले महिलालाई कति स्थान दिएको छ ?
— मेरो पार्टीले त प्रत्यक्ष तर्फको निर्वाचनमा एक जना पनि उठाएन । प्रदेशसभामा भने बाध्यात्मक परिस्थिति भएकोले मात्र महिलालाई उठाएको हो ।


० तपाईंको पार्टीले परिवारवादलाई प्राथमिकतामा राख्यो भनेर आरोप पनि आउने गरेको छ, यसमा के भन्नुहुन्छ ?
— यो पूर्ण रूपमा सत्य होइन तर आशिंक सत्यता भने अवश्य छ ।


० केन्द्रीय सरकार बनिसकेको अवस्थामा राजपा अब सरकारमा सहभागि हुने कि नहुने ?
— राजपाको जुन मागे छ, संविधान संशोधन । त्यो माग पहिले पूरा हुनुपर्छ ।


० विगतका दिनमा संविधान संशोधनको विरोधमा रहेको नेकपा एमाले अहिले संशोधन गर्छु भनिरहेको छ, के एमालेले संविधान संशोधन गर्छ त ?
— राजनीतिमा कुनै पनि कुरा स्थायी हुदैन । हिजो नभएको कुरा आज हुन पनि सक्छ । त्यसकारण आशा राखौँ, उसले संविधान संशोधन गर्न सक्छ ।


० संविधान संशोधनप्रति एमाले लचिलो हुनुको कारण के लाग्छ ?
— एक त हाम्रो माग जायज पनि हो । संविधान संशोधन भन्ने कुरा सबैको लागि हो । त्यसकारण हाम्रो माग जायज लागेर पनि एमाले लचिलो भएको हुनुपर्छ ।



प्रकाशित मिति : २०७४ साल फागुन ११ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com