होलीबाट आत्मीयता बढाऔं (सम्पादकीय)

फागुपर्व घर घरमा प्रवेश गरिसकेको छ । फागु वा होली खेल्ने परम्परा प्राचीनकालदेखि नै नेपाली संस्कृतिको अभिन्न अङ्गको रूपमा रहेको पाइन्छ । शिशिर ऋतुको जाडो र तुषारोले कठ्याङ्ग्रिएर नैराश्य भएकालाई वसन्त ऋतुको आगमनले ल्याउने खुसीको प्रफुल्लित क्षण र मुद्दा होलीको उल्लासमय वातावरणमा प्रस्फुटित हुन्छ । मनोरम प्राकृतिक छटा वातावरणमा फागु वा होली नेपाली संस्कृतिमा रङ्गको पर्व भएर सबै नरनारीबीच उमङ्ग र उच्छवास बाँड्दै आउँछ । आपसी सद्भावबीच गरिने मनोरञ्जन मानव जीवनलाई स्वस्थ राख्न अति आवश्यक हुन्छ ।

यसले जीवनप्रति उत्साह र सकारात्मक भावना जगाउँछ । फागुपर्वको अनेकौँ पौराणिक प्रसङ्ग छन् । प्रथमतः शक्तिमत्त सम्राट हिरण्यकशिपु उनको छोरा विष्णुभक्त प्रल्हाद शिवजीबाट आगोको रापले डढाउन नसक्ने वरदान प्राप्त प्रल्हादकी फुपू होलीकाको प्रसङ्ग आउँछ । इश्वरीय शक्तिको महिमा तथा सत्यको जित र खराब प्रवृत्तिको पराजयको प्रतीकका रूपमा आगोले होलिका घटना भव्य भई प्रल्हाद सकुसल रहेको पछि गएर उत्सवको रूपमा होली खेल्ने परम्परामा परिणत हुन गएको मानिन्छ ।
एउटा पौराणिक प्रसङ्ग सत्य युगका पृथराजाको शासनकालसँग सम्बन्धित छ भने अर्को प्रसङ्गमा द्वापर युगमा पुतना राक्षसनीले धेरै बालबालिकालाई आफ्नो विषयुक्त दूध चुसाइ मार्ने गरेकी र कृष्णलाई समेत त्यसरी नै मार्न लाग्दा भगवान् कृष्णले पुतनाको प्राणवायु चुसेर मारिदिँदा गोकुलवासीले साक्षसीलाई डढाइ खरानी बनाएको र त्यसको खुसीयाली मनाउन होली खेल्ने परम्परा चलेको मान्यता पनि छ । कतिपय विद्वानले चाहिँ प्रेमका साक्षात् स्वरूप कृष्ण र गोपिनीहरूको प्रेम प्रदर्शन गर्न होली उत्सव मनाइएको उल्लेख गरेका छन् ।


मधेशमा यसलाई विशेष पर्वको रूपमा लिन्छन् र शालीन तरिकाले भव्यरूपमा मनाउने गर्छन् । पुरूष वर्ग चौबाटो तथा चौतारामा र महिलाको समूह सफा रङ्ग पानी प्रशन्त मात्रामा जम्मा गरिएको कुनै ठूलो घरमा जात वर्गको भेदभाव नगरी खुलारूपमा होली खेलिँदा पिचकारीले रङ्गपानी छेपेर सन्तोष नलिई बाल्टिन तथा गाग्रीले शिरदेखि पाउँसम्म भिज्ने गरी खेल्छन् । उनीहरू खुला हृदयले बाह्य स्पर्श, भाष, लवज, रतिगान तथा सम्मान आदरमा कुनै नियन्त्रण नराखी बिहानदेखि अपरान्हसम्म मस्तसँग खेलेर समिति समय सकिएपछि सफा पानीले नुहाइ सफा कपडालाई मनोरञ्जनात्मक क्षणमा स्पर्श गरिएका बोलिएका शब्दको कुनै ख्या इष्र्या नगरी आ–आफ्नो मान्यजनका ढोगभेटर इच्छित खाना, मिष्ठान आदि खाई खुवाई अर्को साल कुनै घरमा पुनः जम्मा हुने बाचा गरी आ–आफ्ना घर फर्कन्छ ।


‘जोगिरा सररर‘’ जस्ता सुमधुर होलीका गीतहरू अहिले मधेशका विभिन्न स्थानहरूमा गुन्जिरहेको छ । श्रीपञ्चमीबाट नै होलीको रौनक र जोगिरा खेल्ने क्रम सुरू हुने गरेकोमा यस वर्ष साता अगाडिदेखि मात्र रौनक सुरू भएको हो । असत्य माथि सत्यको जितको उत्सवका रूपमा मनाइने होली पर्वमा जोगिरा सररको गीति भाकासँगै मधेश सौहार्दपूर्ण रूपमा फागु खेलिरहेका छन् । वर्षभरिको मनमुटाव होली पर्वमा रङ र अबिर लगाएसँगै समाप्त भई आपसी सद्भाव अझ प्रगाढ हुने विश्वाससहित यस पर्वलाई निकै महत्वका साथ मनाउने गरिन्छ । आफू भन्दा ठूलाबडालाई खुट्टामा अबिर हालेर ढोग्ने चलन पनि रहेको छ भने सानोलाई निधारमा अबिर वा रंग लागाएर सद्भाव देखाउने चलन रहेको छ ।


यस क्षेत्रमा मनाइने होली पर्वमा होरिया गीतले अझ उमंग थप्ने काम गर्छ । होली जसरी मनाए पनि ‘विजय त्यसको हुन्छ, जो धर्ममा रहन्छ, धर्म त्यो हो जो सत्यमा आश्रित छ’ भन्ने फागुपर्वको मुख्य आशय सबैले बुझ्न आवश्यक छ । असत्यमाथि सत्यको विजयका रूपमा होलीको सन्देशलाई लिने हो भने आफूले पनि यसलाई व्यवहारका उतारेर देखाउन सक्नु पर्ने आवश्यकता छ । प्रेम अनि सद्भावसित जोडिएको होलीमा आध्यात्मिकताको अनौठो रूप भेटिन्छ, जसलाई सुरक्षित राख्न सक्नु वर्तमान पुस्ताको जिम्मेबारी पनि हुन जान्छ ।


यसैलाई असत्यमाथि सत्यको विजय अर्थात साधुजनको रक्षा र दुर्जनको संहारका द्योतकका रूपमा लिन सकिन्छ । जातपात, धनी गरीब जस्ता भावनालाई मेटाई आपसी सद्भाव अनि भ्रातृत्वको सन्देश प्रवाह गर्ने यस पर्वको महत्ता जोगाई राख्न सके भावि पुस्ताका लागि पनि यो अनुकरणीय बन्न सक्ने छ ।



प्रकाशित मिति : २०७४ साल फागुन १६ गते बुधबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com