सर्वसत्तावादको खतरा रोक्न प्रदेश २ मा कांग्रेस विपक्षमा बस्यो : शोभाकर पराजुली

पूर्वमुख्यसचिव, नेपाली कांग्रेस

० हालै सम्पन्न भएको तीनै तहको निर्वाचनहरूमा कांँग्रेसले पाएको मतलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
— विगतका सबै निर्वाचनहरू सम्पन्न भइसक्दा कांँग्रेसले जुन प्रकारको मत पाएको छ, त्यो सम्मान योग्य नै छ । तथापी कांँग्रेसको आन्तरिक व्यवस्थान र नेतृत्वको सुझबुझ नपुगेका कारण उम्मेदवार चयन गर्दा देखिएका अव्यवहारिक कारणले अपेक्षित संख्यामा विजय हासिल गर्न सकेन । यो काँंग्रेसको कमजोरी नै हो । त्यसपछि कम्युनिष्ट गठबन्धनले पनि असर त गरेको छ । अझ त्यो भन्दा बढी काँंगे्रसकै गुट–उपगुटका कारण आफ्ना मान्छेलाई नै टिकट दिनुपर्छ भन्ने मान्यता नेतृत्व तहमा देखियो । जसका कारण देशका विभिन्न भागमा टिकट पाउन रहेका योग्य, वरिष्ठ, लोकप्रिय र क्षमतावान साथीहरूले टिकट नपाएका कारणले पनि मत संख्यामा कमी आएको जस्तो मलाई लाग्छ ।


० अहिलेको मतको परिणाम काँंग्रेसको गुट–उपगुटको कारण नै हो ?
— गुट–उपगुटका कारण पार्टी भित्र अस्वस्थ प्रतिस्पर्धा छ । मेरो मान्छेलाई नै टिकट दिनुपर्छ भन्ने मान्यता छ । टिकट वितरण गर्ने नेतामा जुन भावना व्याप्त भयो र स्थानीय तहमा जुन व्यक्ति लोकप्रिय छ, कार्यकर्ताकाबीच पनि लोकप्रिय छ, जो सक्षम छ उनीहरूको तुलनामा राम्रा मान्छे भन्दा पनि हाम्रा मान्छे छनोट गरेको कारणले पनि यस्तो परिणाम भएको हो ।


० विशेषगरी तराई–मधेशमा कांँग्रेसको खस्किदो अवस्था छ । कांँग्रेसप्रति जनताको मोह सकिदै गएको हो कि अन्य कुनै कारण छ ?
— तराईमा कांँग्रेसप्रति जनताको मोह भंग भएको छैन । खासगरी सम्मानित मत नै प्राप्त गरेको छ । मैले पहिले नै भने काँंग्रेसको आन्तरिक व्यवस्थापन, कांग्रेसको चुस्त दुरूस्ततामा कमी, केन्द्रीय तहमा बस्ने नेताहरूको अदुरदर्शिताका कारणले यो हुन पुगेको हो । त्यसकारण मधेशको भावना, समस्याहरूले अहिले पनि काँंग्रेससँग आशा गरिरहेको छ भन्ने कुरा अहिलेको व्यक्त मत परिणामले पनि देखाएको छ ।


० अबको पाँच वर्षसम्म कांँग्रेस प्रतिपक्षमा रहनेछ । प्रदेश तथा केन्द्र सरकारसँग कांग्रेसले कस्तो किसिमको भूमिका निर्वाह गर्ला ?
— लोकतन्त्रमा सत्ता प्रतिपक्षको पनि हुन्छ । जनादेश प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने, प्रदेश सरकार र केन्द्र सरकार सबैमा राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्दै जनतालाई सचेत गर्ने काम काँग्रेसले गर्छ । यो काम गर्न हुँदैन भनेर सचेतना दिदै काँंग्रेस एकजुट भएर क्रियाशील रहन जरूरी छ भनेर आन्तरिक व्यवस्थापन सुदृढ गर्दै जाने छ । त्यसका लागि कांँग्रेसभित्रको आन्तारिक व्यवस्थापन र सुद्धीकरण पनि आवश्यक छ ।


० विगत केही समय यता कांँग्रेस र मधेशको सम्बन्ध चिसिन थालेको छ, तपाई यसमा के भन्न चाहनुहुन्छ ?
— कांँग्रेसको तर्फबाट सम्बन्ध चिसिन लागेको छैन । विगतमा पनि मधेश केन्द्रित राजनीतिक दलहरूसँग संविधान संशोधनको विषयदेखि लिएर अन्य मुद्दामा सहकार्य भएको छ । निर्वाचनको समयमा पनि कतिपय ठाउँमा सहकार्य भएको हो । कम्युनिष्ट गठबन्धन बनि केपछि पनि लोकतान्त्रिक गठबन्धन बनोस भनेर प्रयास काँंग्रेसको तर्फबाट भएकै हो । विविध कारणले लोकतान्त्रिक गठबन्धन हुन नसकेका कारण पनि मधेशवादी दल र कांँग्रेसलाई स्थानीय तह र केन्द्रस्तरको निर्वाचनमा तराईमा अझ बढी सिट संख्या आउनु पथ्र्यो । मधेशकेन्द्रित राजनीतिक दलका नेताहरूलाई मेरो आग्रह के छ भने संख्याको हिसाबमा जुन प्रतिनिधित्वको सवालमा संशोधनको विषय उठेको थियो त्यसमा काँंग्रेसकोे पहलमा संविधान संशोधनको विधेयक दर्ता गराएको हो । त्यसकारण अहिलेसम्म कसको र के कारणले भएन भन्ने कुरा पनि जगजाहेर नै छ । त्यस मुद्दालाई लिएर मधेश केन्द्रित राजनीतिक दलहरू अहिले सत्तामा जाँदै छन् । सायद त्यो सहमति भएर नै होला । यो एउटा सुन्दर पक्ष हो । सत्ताका लागि मात्र भन्दा पनि जनताका लागि समावेशी र समानताको लागि जे आवश्यक छ र जनसंख्याको आधारमा प्रतिनिधित्व गर्ने हिसाबले भइदिएको भए अहिले प्रतिनिधिसभामा मधेशबाट अझ बढी संख्यामा सीट हुन्थ्यो । राष्ट्रियसभामा पनि अझ बढी संख्यामा सहभागी हुन सक्थ्यो । त्यस कुरालाई अवलम्बित यसै संविधानबाट जनसंख्याकै अनुपातमा पनि अहिले नै संशोधन गर्न सक्ने अवस्था हुन्थ्यो । मधेश केन्द्रित दलहरूले अझै पनि संविधान संशोधनको लागि पहल गर्नुपर्छ भन्ने मलाई लाग्छ र काँंग्रेसका तर्फबाट म जुन ठाउँमा छु र जनसंख्याकै अनुपातमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ भन्ने कुरा प्रारम्भदेखि नै मैले उठाइ आएको विषय हो । यो कुरा सत्तामा जाने निहुँमा ओझेलमा पर्नु हुँदैन भन्ने मेरो स्पष्ट मान्यता छ ।


० प्रदेश २ मा काँंग्रेसबाहेक अन्यले मधेशी गठबन्धनको सरकारलाई समर्थन ग¥यो । कांग्रेसमात्रै विपक्षमा बस्यो, किन ?
— लोकतन्त्रमा प्रतिपक्षको आवश्यकता छ । त्यसकारण सबै राजनीतिक दलहरू सत्तापक्ष भइदियो भने सर्वदलीयको खतरा रहन्छ । त्यसैले सर्वसत्तावादको भयंकर दुष्परिणामलाई मध्यनजर गर्दै काँग्रेस प्रतिपक्षमा बसेको हो । लोकतन्त्रमा प्रतिपक्षमा रहेर पनि सहयोग गर्न सकिन्छ । त्यसकारणले कांँग्रेसले प्रतिपक्षको भूमिकामा रहे पनि जनताका कुरा राख्ने र सरकारले गरेका नराम्रा कामलाई जनतासामु पु¥याएर जनतालाई सचेत गराउने काम गर्नेछ । कम्युनिष्टहरूकै बिगबिगी भएका कारणले प्रतिपक्ष भन्ने बित्तिकै दुश्मन हो कि भन्ने बुझाई छ तर काँंग्रेसको हकमा प्रतिपक्ष भनेको सच्चा सल्लाहकार हो ।


० ६ वटा प्रदेशमा कम्युनिष्ट सरकार र प्रदेश २ मा मधेशी गठबन्धनको सरकार भएको बेला प्रदेश २ मा काँंग्रेसले कस्तो भूमिका निर्वाह गर्छ ?
— खासमा प्रदेश नं. २ मा लोकतान्त्रिक शक्तिहरूकै बाहुल्यता रहेको छ । सत्तापक्ष र विपक्षमा पनि । त्यसकारण नेपाली कांँग्रेसले लोकतन्त्रलाई संस्थागत कसरी गर्न सकिन्छ त्यसमा अहिले प्राप्त भएका सुविधाहरू भन्दा पनि अझ बढी सुविधाहरू कसरी गर्न सकिन्छ र त्यहाँको विकास जनताले प्रत्यक्ष अनुभव हुने गरी गर्न सकिन्छ भन्ने तर्फ नै नेपाली काँंग्रेसको ध्यान रहन्छ ।


० प्रदेश २ को सरकारले प्राथमिकतामा के के रहनु पर्ने हो ?
— प्रदेश २ को सरकारले प्राथमिकतामा राख्नुपर्ने विषय धेरै छ । हालसम्म पनि बन्न नसकेको हुलाकी राजमार्गलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्छ । त्यसपछि रेल्वे मार्ग, गण्डक नहरको दायाँ बायाँका सडकलाई सुधार गर्नुपर्छ । यातायात, सिँचाई कृषियोग्य जमिनमा पु¥याउन पहल गर्नुपर्छ । सार्वजनिक विद्यालयहरूका लागि पनि स्तरोन्नतिका लागि राम्रोसँग पठनपाठनका लागि शिक्षकलाई राजनीतिक रूपमा दबाब आएको कारणले शिक्षकलाई सुविधाको लागि पनि विशेष कार्यक्रमहरू ल्याउनुपर्छ । प्रदेश २ लाई कृषिप्रधान बनाउन पनि पहल गर्नुपर्छ । यातायात, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा विकास गर्नुपर्छ । वन विनाशका कारण मरूभूमि जान्छ कि भनेर त्यसका लागि वन जोगाउनका लागि पनि विशेष ध्यान दिनुपर्दछ । प्रदेश लगायत केन्द्रले पनि त्यो कुरामा ध्यान दिनुपर्दछ ।


० काँंग्रेसमा विभिन्न किसिमका विवादहरू देखिएको छ । उसले आफूलाई सुधार्नका लागि के गर्नुपर्ला ?
— कांँग्रेसले आफूलाई आमुल रूपमा सुधार गर्नुपर्छ । गुट–उपगुटको कुरालाई समाप्त गर्नुपर्छ । विभिन्न गुट–उपगुटका नाममा र प्रवाहका माध्यमबाट आफ्ना नातागोता र आर्थिक प्रलोभनमा परि सिट बाँडफाँड र टिकट वितरणका कुराहरू छन् ती सबैलाई सुधार गर्दै अब काँंग्रेसमा यस्तो हुनुहुँदैन भन्ने कुरालाई आत्मसात गरी आमुल परिवर्तनसहित कांँग्रेस अगाडी बढ्नुपर्छ ।


० नेपाली काँंग्रेस प्रदेश र केन्द्रमा संख्याको आधारमा कमजोर देखिएको छ, अब कांँग्रेसले आफूलाई कसरी प्रस्तुत गर्नुपर्ने हो ?
— नेपाली कांँग्रेस संख्याको आधारमा कमजोर देखिएको कुरा सत्य हो । तर जनताले कांँग्रेसप्रति जुन विश्वास गरेर समानुपातिकमा मत जाहेर गरेको छ, त्यसलाई सम्मान गर्दै जनताले के भनेको छ भने कांँग्रेसप्रति उसको वितृष्णा छैन । काँंग्रेसका नेताहरूले गरेको निर्णयप्रति अर्थात उम्मेदवार छनोट प्रक्रियाप्रति जनताको असन्तुष्ट रहेको छ । त्यसकारण अब आउने दिनमा कांँग्रेसलाई अझ बढी बलियो बनाउनका लागि नेताहरूले राम्रा मान्छेको पक्षमा लागेर आफ्ना मान्छेका लागि होइन भन्ने बुझेर त्यही अनुसार संगठनलाई चुस्त र दुरूस्त बनाउनुपर्छ ।


० कांँग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर पार्टी भित्रबाटै आवाज उठि रहेको छ, तपाई यसलाई के भन्नुहुन्छ ?
— नेतृत्व परिवर्तन गर्नुपर्ने भन्ने कुरा स्वभाविक हो । महाधिवेशन गरी प्रक्रियाद्वारा नेतृत्व परिवर्तन हुन्छ । यसका पनि आफ्नै विधि, प्रक्रियाहरू छन् । नेतृत्व परिवर्तन प्रक्रियागत रूपमा अगाडी बढ्छ । लोकतान्त्रिक दलमा सधै एउटै मान्छेले नेतृत्व गर्ने भन्ने हुँदैन ।


० देउवा सरकारले गरेका नियुक्तिहरू ओली सरकारले बदर गर्ने भन्ने कुरा पनि आइरहेको छ, यसमा तपाईंको धारणा के छ ?
— यो सरकारले गरेको निर्णय हो । एउटा सरकारले गरेको निर्णय अर्को सरकारले उल्टाउदै जाने हो भने अराजकता हुन्छ । ंराष्ट्रपति भनेको एमाले सरकारको मात्र होइन । राष्ट्रपतिले संविधानको रक्षा गर्नुपर्छ । पछिल्लो पटक राष्ट्रपतिले नेपाली कांग्रेसको सरकारले होइन नेपाल सरकारको निर्णयको विपक्षमा र ओली सरकारले गरेको निर्णयको पक्षमा निर्णय आएको छ, त्यो एकदम असंवैधानिक रहेको छ । त्यसलाई सच्याइएन भने नेपालमा ठूलो दुर्घटना निम्तिन सक्छ र त्यसको जिम्मेवार स्वयं राष्ट्रपति र राष्ट्रपतिलाई उक्साउने व्यक्तिहरू नै हुनेछन् । त्यसकारण एउटा सरकारले गरेको निर्णय उल्टाउँदै जानु भनेको अराजकता मात्र हो । त्यसले यो अराजकतालाई सुधार्ने सबैको सुझबुझ हुनुपर्छ । सत्तामा रहेका र सत्ता बाहिर रहेका सबै राजनीतिक दलहरूले यसलाई विशेष ध्यान दिनुपर्दछ ।


० राष्ट्रपतिको भूमिका एउटा राजनीतिक दलको कार्यकर्ताको जस्तो भयो भन्नुहुन्छ ?
— हो, स्पष्ट रूपमा भन्नुपर्दा राष्ट्रपतिको कदम राष्ट्रपतिको जस्तो नभई एउटा राजनीतिक दलको कार्यकर्ताको जस्तो मात्र देखियो । यो एकदम निन्दायोग्य छ, यो गर्नै नहुने काम भएको छ । एमाले, माओवादी र मधेशवादी दलका नेताहरू राष्ट्रपतिको यो कदमप्रति एकजुट भएर निर्णय उल्टाउनु पर्दछ । अन्यथा यहाँ अराजकता सिर्जना हुन्छ । यसले नै आन्दोलनको बिजारोपण गर्छ भन्ने मलाई लाग्छ । नेपाली काँंग्रेसका भातृ संगठनहरूले राष्ट्रपतिको कदम नसच्याएसम्म आन्दोलनको घोषणा पनि गरिसकेको छ ।


० अहिलेको संविधान विश्वकै उत्कृष्ट भनिएको संविधान हो । संविधान घोषणा भएदेखि बनेका सरकारका क्रियाकलापले संविधानलाई कति पालना गरेको देख्नु हुन्छ ?
— संसारका कुनै पनि संविधानलाई उत्कृष्ट संविधान भन्न मिल्दैन । प्रत्येक लोकतान्त्रिक देशका संविधान संशोधन गर्दै जान आवश्यक छ । अमेरिका, भारतका संविधान संशोधन भइरहेका नै छन् । त्यसकारण लोकतान्त्रिक देशका संविधानलाई उत्कृष्ट भन्न मिल्दैन तर उत्कृष्ट बनाउन तर्फ भने लागिरहनु पर्छ । समय सापेक्ष अनुसार अझ जनतालाई अधिकार दिने समान अवसर र स्वतन्त्रता फराकिलो पार्दै संविधानलाई संशोधन गर्दै जानुपर्छ ।


० दुई कम्युनिष्ट पार्टी अहिले एक भइरहेका छन्, यसलाई तपाई कुन हेर्नु भएको छ ?
— दुईवटा कम्युनिष्ट पार्टी एक हुने भनेको एउटा कम्युनिष्ट पार्टी समाप्त हुने हो । खुलापन भनेको कम्युनिष्टहरूको लागि दुश्मन हो । उनीहरूको नाम मात्र कम्युनिष्ट हो, सिद्धान्त कम्युनिष्ट होइन । सत्ता लिप्साका कारण उनीहरू यति चुरचुर भइरहेका छन् कि माक्र्सवाद, लेलिनवादको सिद्धान्त बोका कम्युनिष्ट हुँदै होइनन् । यिनीहरू सन्तुष्ट भएर लाग्छन् जस्तो मलाई लाग्दैन । बरू यिनीहरू एक होउन् । एक भएर देशको विकास गरून् मेरो शुभकामना छ ।


० छायाँ सरकार गठन गर्ने पार्टीले निर्णय गरेको छ, खासमा यो छायाँ सरकार भनेको के हो ?
— सत्ता पक्षमा जुन राजनीतिक दल छ र सत्तापक्षबाट जे जति क्रियाकलाप हुन्छ त्यसको सुक्ष्म अवलोकन गरेर सांसदहरूलाई जिम्मेवारी दिएर त्यो मन्त्रालयहरूसँग सम्बन्धित भए गरेका काम जनतालाई सुसूचित पनि गर्ने र संसदमा पनि त्यहि किसिमको क्रियाशिलता देखाउने काम नै छाया सरकारको हो । प्रतिपक्षमा रहेर सरकारले गरेका नराम्रा कामको विरोध गरेर त्यसलाई जनतासामु लगेर त्रुटी सच्याउने र शान्तिपूर्ण आन्दोलन संसदबाट र सडकबाट पनि गर्न जरूरी छ र त्यहि अनुसार अगाडी बढ्न लागेको हो । 

 

प्रकाशित मिति : २०७४ साल फागुन १६ गते बुधबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com