आगामी पाँच वर्ष नेपालका लागि असाधारण हुनेछ : प्रधानमन्त्री ओली

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आउने पाँच वर्ष नेपालको विकासका लागि असाधारण समय हुने बताएका छन् । ‘आउने आधा दशक नेपालका लागि असाधारण हुनेछ’ प्रधानमन्त्री ओलीले भने ‘यो समय सफलता, परिवर्तन र उपलब्धीको समय हुनेछ ।'

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रको संरक्षणमा प्रतिवद्ध भएको विश्वास दिलाए । प्रधानमन्त्री ओलीले सरकार सावर्जनिक, निजी र सहकारी मार्फत समृद्धिको यात्रामा अघि बढ्ने बताए । प्रधानमन्त्री ओलीले भने ‘सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ ।’

वर्तमान सरकार देश र जनताप्रति उतरदायी भएको बताउदै प्रधानमन्त्री ओलीले ‘सरकार भ्रष्टाचारका विरुद्ध र देशको दुरदृष्टिका पक्षमा रहेको’ बताए । प्रधानमन्त्री ओलीले भने, ‘सरकारका सम्पूर्ण प्रयास उत्पादन वृद्धि,आकर्षक रोजगारी र आकर्षक अवसरका लागि केन्द्रित हुनेछन् ।’ जनताको काम छिटो छरितो ढंगले गर्नका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपालको आयात र निर्यात व्यापारको खाडल डरलाग्दो भएकोले त्यसलाई पुर्न निर्यातजन्य उत्पादन बढाउन प्रधानमन्त्री ओलीले सुझाव दिए । ‘हामी १०० रुपैंयाको सामान किन्दा ७ रुपैंयाको सामान बेच्दा रहेछौं’ प्रधानमन्त्री ओलीले भने, ‘हरेक पटक हामी ९३ रुपैयाँ घाटाको व्यापार गरिरहेका छौं । यसलाई उकास्ने एकमात्र माध्यम निर्यात व्यापार बढाउनु हो ।’

पर्यटन व्यवसाय नेपालको अर्थतन्त्र उकास्ने एउटा महत्वपूर्ण स्रोत हुन सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । तर यसका लागि पर्यटन मैत्री सडक र होटल हुनुपर्ने प्रधानमन्त्रीको धारणा छ । ‘एकपटक नेपाल आएको पर्यटकले फेरि फेरि पनि आउने चाहना राखोस’ प्रधानमन्त्री ओलीले भने, ‘एकपटक चन्द्रागीरी डाँडाँमा पुगेको पर्यटक कलंकीको जाम सम्झेर फेरी नफर्कने स्थिती छ । यो अवस्थामा सुधार ल्याउनु आवश्यक छ ।’

संयुक्त राष्ट्र संघले सन् २०३० सम्मका लागि तयार गरेको सहस्राव्दी लक्ष्य प्राप्त गर्न नेपालले द्रूत गतिमा विकास गर्नुपर्ने, गरिबी हटाउन स्थानीय स्तरमा रोजगारीका अवसर सृजना गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यो लक्ष्य प्राप्त गर्न नेपाल प्रतिवद्ध छ । यसमा निजी क्षेत्रको सहयोगको पनि उतिकै जरुरी छ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले भृकुटी मण्डपमा लागेको व्यापार मेलाको निरीक्षण पनि गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com