प्रधानमन्त्रीले बोलेर होइन, गरेर देखाउनुपर्छ

–राजेन्द्र महतो

यो अति नै महत्वपूर्ण क्षण हो । किनकि यस क्षणका लागि वर्षौंदेखि नेपाली जनता संघर्ष गरेका छन् । यो क्षणसम्म पु¥याउन आफ्नो ज्यानको आहूति दिने ज्ञात अज्ञात सम्पूर्ण वीर शहीदहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । आजको दिनलाई ती वीर शहीदहरूप्रति समर्पित गर्न चाहन्छु । आजको समयका लागि शहीद दुर्गागन्द झादेखि शहीद रघुनाथ ठाकुरसम्म, आदरणीय रामराजा प्रसाद सिंहदेखि श्रद्धेय गजेन्द्र नारायण सिंहसम्मलाई स्मरण गर्नुपर्ने दिन हो । यहाँसम्म पुग्नका लागि लाखौं नेपाली जनताको धेरै ठूलो योगदान रहेको छ । त्यसैले आजको दिन ती सबै योद्धाहरूको म स्मरण गर्न चाहन्छु ।

इतिहास रचौं

आज खुशीको कुरा छ कि गणतन्त्र नेपालमा संघीयता लागू भइसक्यो । यो यहि देश हो, जब हामी गणतन्त्रको कुरा गर्दा हामीमाथि राष्ट्रघातको आरोप लाग्दै आएको थियो । हामी संघीयताको कुरा गर्दा हामीलाई विखण्डनकारी भनिन्थ्यो । हामी समावेशीको कुरा गर्दा हामीमाथि साम्प्रदायिकताको आरोप लाग्थ्यो । तर आज खुशीको क्षण छ कि यसै जगमा त्यही गणतन्त्र, संघीयतामा हामी यहाँ उपस्थित भएका छौं र सुनौलो नेपालको परिकल्पना गरिरहेका छौं । गणतन्त्र र संघीयतामा समावेशी शासनअन्तर्गत सम्पूर्ण नेपालीहरूको कायाकल्प हुन्छ । त्यसैले, आजको दिन हाम्रो लागि धेरै भावुकपूर्ण दिन हो, अब नयाँ इतिहास रच्नुपर्छ ।

नयाँ इतिहास कसरी रच्ने भन्ने कुरामा धेरै सावधानीपूर्वक अगाडि बढ्नुपर्छ । नयाँ इतिहास त्यसै रचना हुँदैन । नयाँ इतिहास बनाउनका लागि पुरानो सोच र मानसिकता त्याग गर्नुपर्छ । हामीले सबैको भावना, मान सम्मान ल्याउनु आवश्यक छ । हिमाल, पहाड, तराई वा मधेश होस्, सबैलाई आफ्नो सम्झ्नुपर्छ । अनि नयाँ सोचका साथ सम्पूर्ण देशवासीसँग अपनत्व कायम गनै सक्छौं । त्यसपछि हामी नयाँ रचना गर्न सक्छौं । यसको आवश्यकक्ता छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनमत प्राप्त गर्नुभएको छ । जनताले दिएको जनमतलाई कदर गर्दै जिम्मेवारीपूर्वक अगाडि बढाउनुहुन्छ भन्ने आशा गर्छौं । जनताले एमाले र माओवादीलाई ठूलो पार्टी बनाइदिए र अब आफ्नो मुटु पनि ठूलो बनाउनुपर्छ । यो जब हुन्छ अनि मात्र देशमा सामाजिक सद्भावमा वृद्धि हुन्छ ।

नेपाल र नेपाली जनताका लागि प्रगति आवश्यक छ । लडाईं झगडाको समय समाप्त भइसक्यो भनेर प्रधानमन्त्रीले भन्नुभयो तर, त्यो समाप्त गरेपछि मात्र हुन्छ । संविधान निर्माण भइसक्यो, निर्वाचन भइसक्यो भनेर विश्राम गर्नु हुँदैन । किनकि फेरी द्वन्द्व सुरू हुन सक्छ । कार्पेटमुनि फोहोर लुकाइदिँदा कोठा सफा हुँदैन । त्यसैले हामी नयाँ युगमा प्रवेश गर्नुछ ।

सबैको भावनाको कदर गरौं

कर्णालीका जनतादेखि कञ्चनपुरसम्मका जनता जब भोकमरीले मर्दैन तब मात्र प्रगति मान्न सकिन्छ । पहाडको दुर्गम क्षेत्रमा एउटा सिटामोलको अभावका कारण कसैको ज्यान गएन भने त्यसलाई विकास मान्न सकिदैन । विकासको परिकल्पना हाम्रो आवश्यकक्ता हो । प्रकृतिले हामीलाई हरेक पूर्वाधार दिएको छ तर त्यसको सदुपयोग भइरहेको छैन । यसका साथै देशमा कुनै प्रकारको द्वन्द्व नहोस् भन्नेतिर लाग्नुपर्ने आजको आवश्यकक्ता हो । हामीले यस्तो काम गर्नु हुँदैन कि हामी केही बोल्दा अरूलाई चोट पुगोस् । हामी यस्तो अभिव्यक्ति नदिऔं कि जसले नेपालका नागरिकको भावनामा चोट पुगोस् । त्यसैले सबै नेपालीको भावनाको कदर गर्नुपर्छ ।

यो विविधताले भरिपूर्ण मुलुक हो । संघीय संसद्मा शपथ ग्रहण भइरहँदा विविध संस्कृति, भाषा र भेषको झझल्को पाइयो, यसैलाई त हामीले स्वीकार गर्नुपर्ने हुन्छ । यो मुलुक कुनै एक भाषाभाषी, धर्म–समुदाय वा जात–जातिको मात्रै होइन । यसैलाई स्वीकार ग¥यौं भने सबै समस्याको समाधान हुन्छ । सबैको आ–आफ्नै पहिचान छ । सबैको आ–आफ्नै भावना, पीडा छ । त्यसैलाई महसुस गर्नुपर्ने आवश्यकक्ता छ । कसैको पहिचानमाथि चोट पुगोस् भन्ने खालका कुनै किसिमको काम गर्नुहुँदैन ।

हामी नेपाली हौं, नेपालीका साथसाथै हामी मधेशी पनि हौं । हामीलाई गर्व छ मधेशी हौं भनेर । तर, हामीलाई मधेशी भनेर सम्बोधन गर्दा पीडा हुन्छ, यसलाई पनि ख्याल गर्नुपर्छ । धोती हाम्रो संस्कृति हो, तर हाम्रो संस्कृतिलाई लिएर हामीलाई होच्याउने काम हुन्छ, त्यसैले पीडा यहाँ हुन्छ । त्यसैले यी संवेदनशील कुराहरूलाई बुझ्नु आवश्यक छ । हामीलाई त्यतिकै आफ्नो मुलुकसँग प्रेम छ जति हुम्ला–जुम्लामा बस्ने नेपालीहरूको छ । हाम्रो आफ्नो मातृभूमिसँग त्यतिकै प्रेम छ जति कि रूकुम रोल्पामा बस्ने नेपालीहरूको छ । हामी सबै नेपाली हौं, हामी सबै राष्ट्रवादी हौं । कसैले आफ्नै ढंगले राष्ट्रवादको परिभाषा गरेको पनि पाइन्छ । तर हामी ‘पक्कीया’ राष्ट्रवादी हामी हौं, अरू नक्कली राष्ट्रवादी हौं भन्ने भावना त्याग्नुपर्छ ।

जब गोरखा र सिन्धुपाल्चोकमा भूकम्प गयो, त्यो पीडा त हाम्रो मुटुमा पनि थियो । तर, हामी पनि चाहन्छौं कि जब सर्लाही र सप्तरीमा आगलागी हुँदा त्यहाँका जनता घरवारविहीन हुन्छन् त्यो सबैले महसुस गर्नुपर्छ । हामी सबैले एक–अर्काको सुख–दुःखमा मिलेर सामना गर्नुपर्छ । एक–अर्काको पीडालाई बुझ्ने हामी प्रयास गरौं, समस्याको समाधान यही नै हो । काठमाडौंमा कुकुर पुजा हुन्छ, त्यसको सम्मान गर्छौं तर, ईद बकरीद, दीपावली, छठलगायत पर्व हाम्रो मधेशमा मनाइरहँदा, त्यसलाई पनि त्यतिकै सम्मान दिनुपर्छ ।

हामी मधेशका बासिन्दाले हाम्रो पीडा काठमाडौंले महसुस गरोस्, सिंहदरबारले बुझोस् भन्ने चाहेका छौं । यो नै समस्याको समाधान हो । अहिले अब विवाद बढाउने समय होइन, नयाँ युगमा नेपाल प्रवेश गरिरहेको छ । त्यसका लागि एक–अर्काको भावनालाई बुझ्ने प्रयास गर्नुपर्छ । एकअर्काको भेषभूषा, पहिचान, अधिकार, संस्कृतिलाई सबैले आत्मसात गर्नुपर्छ । आज हामी एउटा संकल्प गरौं कि त्यस्तो अभिव्यक्ति नदिऔं जसबाट अरूको भावनामा चोट पुगोस्, यस्तो निर्णय नगरौं जसबाट अरूको अधिकार कटौती होस् ।

हाम्रो अधिकार कटौती भयो, हाम्रो विरोधमा संविधान बन्यो, हामीले पाएको अधिकार पनि खोसियो, हामीसँग धोकाधडी भइरहेको छ भन्ने खालको अनुभूति कसैलाई नहोस् । यस्तो संकल्प लिऔं ।
अब सडक आन्दोलन, विद्रोह लगायतको आवश्यक्ता नहुनुपर्ने हो । समस्याको समाधान हुँदा किन कसैले आन्दोलन वा संघर्ष गर्नु पर्ने आवश्यक्ता हुन्छ ? समस्या रहे पछि संघर्ष वा आन्दोलनको अवस्था सिर्जना हुन्छ । बाध्यात्मक अवस्थामा आन्दोलन गर्नु पर्ने हुन्छ । जब अत्याचार, अन्यायको पराकाष्ठा पार हुन्छ त्यसपछि त आन्दोलन, संघर्ष वा विद्रोहको विकल्प नै रहँदैन । नाकामा गएर बस्नुपर्ने अवस्थाको सिर्जना हुन्छ । दुर्भाग्यपूर्ण अवस्था नआओस्, त्यसका लागि हामी सजग रहनुपर्छ ।

काठमाडौं वा सिंहदरबारले यति मात्र बुझ्नुपर्छ कि अन्य भूभागका जनता के चाहन्छ, समस्या के हो त्यसपछि त समस्या नै आउँदैन । सिंहदरवार वा काठमाडौं नै सबै थोक हो भन्ने मानसिकता रहिरह्यो भने समस्या त उत्पन्न हुन्छ नै ।

समृद्ध नेपाल सबै नेपालीको सपना हो । लाखौंलाख नेपाली रोजगारीका लागि विदेश गइरहेका छन् । त्यसलाई कसरी रोक्ने ? हामीले समृद्ध नेपाल, विकसित नेपाल बनाउनका लागि नश्लीय चिन्तन हटाउनुपर्छ । नश्लीय सोच र चिन्तनबाट नेपालमा समृद्ध बन्दैन । त्यसका लागि संविधानमा जुन त्रुटिहरू छन्, त्यसलाई सच्याउनुपर्छ । प्रचण्डजीले भन्नुभयो कि हामीले प्रयास ग¥यौं । हो, उहाँले प्रयास गर्नुभयो, धन्यवाद छ उहाँलाई । त्यो समय दुई तिहाइको चक्कर थियो, त्यसैले भएन । तर, अहिले दुई तिहाईको कुनै कुरा छैन । वाम गठबन्धन नै झण्डै दुई तिहाइको नजिक छ, हामी पनि साथ छौं । प्रधानमन्त्री ओली मुटु खोलेर जनताको समस्या समाधान गर्न तिर लाग्नुपर्छ । संविधानलाई गीता, बाइबल र कुरान बनायो भने मुलुकमा कहिल्यै शान्ति आउँदैन ।

प्रधानमन्त्रीले मुटु ठूलो पार्नुपर्छ

यसभन्दा पहिला पनि नेपालमा ६ वटा संविधान बनिसक्यो, यो सातौं संविधान हो । पहिलाका ६ वटै संविधानको जस्तो हविगत नहोस् भनेर जनताको मागअनुसार संशोधन गर्नुपर्ने आवश्यक्ता छ । २०४७ सालको संविधान बन्दा यो विश्वकै उत्कृष्ट संविधान हो भनेर भनियो तर, त्यो पनि टिकेन । त्यसैले समयअनुसार परिमार्जन हुनु आवश्यक छ ।

फोरम अध्यक्ष उपेन्द्र र हाम्रो पार्टीको संयोजकसँग प्रधानमन्त्री ओलीले कुराकानी गरिरहनु भएको छ, उहाँले संशोधन गर्छौं, सहमति गरौं भन्नुहुन्छ । यसअघि पनि २०६४ फागुन १६ गते तत्कालीन प्रधानमन्त्रीले हामीसँग सम्झौता गर्नु भएको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमालेका नेता माधव कुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डको साक्षी किनारामा हामीसँग आठ सूत्रीय सम्झौता गरिएको थियो । तर, जब संविधान बन्ने समय आयो हामीसँग धोका भयो । हामी सडकमा संघर्ष गर्दै रहयौं, हाम्रो छातीमाथि गोली चलाएर संविधान जारी गरिएको थियो ।

संविधानमा संशोधनका लागि हामीले अत्यन्तै कठोर संघर्ष गर्नुपरेको थियो । तर, मेरो एउटा आग्रह छ कि सम्झौता त हामी पटक–पटक ग¥यौं, दर्जनौं सम्झौता भएका छन् । त्यसैले त्यस्तो सम्झौता नगर्नुस्, जसलाई लागू नै गर्न सकिदैन । प्रधानमन्त्रीज्यू, तपाईं एउटा प्रतिबद्धता व्यक्त गर्नुस् र जनतालाई विश्वास दिलाउनुस् कि संविधान संशोधन गर्छौं भनेर । अब गरेर देखाउनुस् । सम्झौता नभएपछि केही छैन । ठूलो मुटु पारेर प्रतिबद्धता व्यक्त गर्नुस् । दुई तिहाई तपाईंसँग नै छ, त्यसमा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संशोधनप्रति आफूहरू पहिलेदेखि नै तयार रहेको बताइसक्नुभयो । त्यसैले नयाँ रचना गर्नुस् ।

अन्त्यमा, जसरी हामी निर्वाचित भएर आएका छौं, त्यसरी नै कैलाली निर्वाचन क्षेत्र १ बाट जनताको अपार मतबाट निर्वाचित सांसद् रेशमलाल चौधरी हुनुहुन्छ । उहाँमाथि लगाइएको अभियोग अहिलेसम्म प्रमाणित भएको छैन । आरोप त कसैले कसैमाथि लगाउँदैमा उ अपराधी हुँदैन । रेशमलाल चौधरीमाथि लगाइएको अभियोग सही वा गलत त्यसको फैसला पछि हुन्छ, तर जनताको अत्याधिक बहुमतबाट निर्वाचित रेशमलाल चौधरी यो संसदमा हुनुपर्ने थियो । उनी जनताका प्रतिनिधि हुन्, उनी यो संसदमा उपस्थित हुने वातावरण बनाउनुपर्छ । यो माग र आग्रह पनि हो ।

(संघीय संसदको दोस्रो बैठकमा राजपा नेपालका नेता महतोले गरेको सम्बोधनको मुख्य अंश)


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com