राधामाथि भएको कुटपिटको छानबिन गरी दोषीउपर कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २७ फागुन । कैलालीको घोडाघोडी नगरपालिका–५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् ।

घटना घटेको जानकारी आउना साथ प्रधानमन्त्री कार्यालयले यस विषयमा चासो प्रकट गर्दै तत्काल कारवाहीको पहल गरेको प्रधानमन्त्री कार्यालयका सूचना प्रेषक रामशरण बजगाईँले जनाएका छन् ।

हालसम्म प्राप्त विवरण अनुसार फागुन २४ गते बिहिबार राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोले बाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घन्टौंसम्म कुटपिट गरेको खबर बाहिर आएको छ ।

प्रहरीले रामबहादुर चौधरीलाई छानबिनका लागि पक्राउ गरेपछि कानुनी कारवाहीको प्रक्रियामा जान नदिई उनलाई छोडिएको जानकारी प्राप्त भएको छ । ‘मानवता विरुद्धको यस्तो जघन्य अपराधमा संलग्नजो कसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइने छैन ।’ प्रधानमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख ।

हाल स्वास्थ्योपचाररत राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि उपयुक्त व्यवस्था गर्ने र घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकाय अग्रसर भैसकेको जनाइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com