छोरी पढाउन विशेष प्याकेज ल्याउँछौं : मुख्यमन्त्री राउत

अनिल तिवारी, वीरगन्ज, ३० फागुन । प्रदेश नं २ का मुख्यमन्त्री महम्मद लालबाबु राउत गद्दीले छोरी पढाउन विशेष प्याकेज ल्याउने बताएका छन् । उनले बेटी पढाउ घर अघि बढाउ अभियान नै सञ्चालन गरेर प्रदेशका छोरीहरुलाई शिक्षित तुल्याउने बताए ।

वीरगञ्ज महानगरपालिका वडा नं ३१ बेल्वालाई संघिय संरचनापछि प्रदेश नं २ कै पहिलो बालमैत्री वडा घोषणा गर्दै बुधबार उनले प्रदेश सरकारको तर्फबाट छोरी पढाउन विशेष प्याकेजको घोषणा हुने जानकारी गराए ।

‘गल्र्स एजुकेशन पहिलो प्राथमिकतामा राख्ने सोच प्रदेश सरकारको छ । विशेष ऐन नियम ल्याएर छोरीको शिक्षाका लागि विशेष प्याकेज ल्याउँछौं । छोरीलाई पढाएर छोरा सरह अधिकार दिलाएर प्रदेशको विकासमा छोरीको भूमिका दिन्छौं ।’ उनले भने ‘प्याकेजमा डोम र मुसहर छात्रालाई छात्रवृत्तिको विशेष प्याकेज हुन्छ ।’

विशेष प्याकेज पछि छोरालाई मात्रै पढाउने छोरीलाई नपढाउने चलनको अन्त्य हुने उनको दावी छ ।

‘आजका साना नानी भोली मुलुकको भविष्य हुन्, उनीहरुको पालन पोषण, शिक्षा स्वास्थ्य लगायत समग्र विकासमा परिवार र समाजले ध्यान दिनुपर्छ । ’ उनले भने ‘ बालबालिकामा परिवार र समाजको माया भएन भने मुलुकको विकास संभव छैन । ’

यसअघि मुख्य मन्त्री गद्दीले ताम्रपत्र पढेर वडाले बालमैत्रीका सबै सूचक पुरा गरेका कारण वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ बालमैत्री वडा बन्न सफल भएको घोषणा गरे ।

समारोहमा बोल्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले आफूले सपथ खाएकै दिन नगरलाई बालमैत्री बनाउने निर्णय गरेको स्मरण गरे । उनले बालबालिकाको वृहत्तर विकासका लागि आमाको गर्भ देखि नै उचित स्याहार गर्नुपर्नेमा जोड दिए ।उहाले देशको भविष्य नै बालबालिकाहरु रहेकोले उनीहरुको भौतिक तथा शैक्षिक अधिकारले मुलुकको भबिष्य सबल हुने बताउनु भयो

१ हजार ३ सय २५ घरधुरी रहेको वडामा १० हजार ४४ जनसंख्या र ४ हजार ५ सय ४४ बालबालिका छन् । वडाले बाल मैत्री वडा घोषणाका लागि आवश्यक सबै ३९ वटा सूचक पुरा गरेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । ३९ सूचक मध्ये एक दर्जन संस्थागत र बाँकी २७ वटा सेवा प्रवाहबाट निर्धारण गरिएको सूचक रहन्छ ।

सूचक तर्फ ६ महिना सम्मको शिशुलाई आमाले पूर्ण स्तनपान गराएको, एक बर्ष भित्रका बालबालिकाले पूर्ण रुपमा खोप पाएको, ६ महिना देखि ५ बर्ष मुनिका सबै बालबालिकाहरुलाई बर्षको २ पटक भिटामिन ए क्याप्सुल खुवाइएको, गर्भवती आमाको दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएको, गर्भवती महिलाहरुले कम्तीमा प्रसुति पूर्व ४ पटक र प्रसूती पश्चात आमा र नवजात शिशुको कम्तीमा ३ पटक स्वास्थ्य जाच गराइएको हुनु पर्छ ।

त्यसैगरी , ५ बर्ष मुनिका संपूर्ण बालबालिकाको जन्मदर्ता, बालविवाहमा कमी आएको, निकृष्ट प्रकारको बालश्रम दर घटेको, बाल हिंसाहरु कम भएको हुनु पर्छ ।

प्रत्येक विद्यालयमा छात्रछात्राको लागि अलग अलग शौचालय, टोल र वडामा बाल क्लव गठन भई कृयाशिल रहेको, स्थानीय तहको प्रत्येक संरचनामा बाल क्लवको सहभागिता गराइएको, स्थानीय तहले नगर परिषदमा बालबालिकाका लागि १५ प्रतिशत बजेट छुट्याएको हुनु पर्ने छ । बालबालिका सम्बन्धि स्थितिपत्र तयारी तथा प्रकाशन र अद्यावधिक भएको हुनु पर्ने छ ।

कार्यक्रममा उपमेयर शान्ति कार्किले यो कार्यक्रमले प्रदेश नम्बर २मा एउटा नया माहौल उत्पन्न हुने बताउदै बालबालिकाको अधिकार प्रति सरोकारवाला सबैको ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रममा बडा नम्बर ३१का बडाअध्यक्ष चुमन चौधरीले बालमैत्री स्थानिय शासन बडा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने युनिसेफ नेपालका रिप्रजेन्टेटिभ रौनक खान, बालिका अनिसा धडेर,पर्साका जिल्ला शिक्षा अधिकारी बर्खु रजत लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com