मन्त्रालयभन्दा संविधान संशोधन मुख्य मुद्दा हो : प्रदीप यादव

प्रतिनिधिसभा सदस्य, संघीय समाजवादी फोरम नेपाल

० संघीय समाजवादी फोरम सरकारमा जाँदैछ भनेर लामो समयसम्म चर्चामा रह्यो, कहिले जान्छ सरकारमा ?

— पार्टी सरकारमा जाने कुरा त सहि नै हो तर सरकारमा जाने भन्दैमा यत्तिकै जाने होइन । सरकारमा जानुभन्दा अगाडी मधेशका मुद्दा सम्बोधन गर्नका निमित्त एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजीले लिखित प्रतिबद्धता गर्नुभयो भने मात्र सरकारमा जाने हो । बिना सर्त यसै सरकारमा जाने कुरा छैन । त्यसैले यसको लागि धेरै विषयमा अझै छलफल हुन बाँकी नै छ । छलफल त सकारात्मक नै भइरहेको छ तर टुङ्गो लागेको छैन । मलाई के लागेको छ भने अब बाँकी विषयहरू एक दुई दिन भित्र मिल्नेछ । त्यसपछि हामी सरकारमा जान्छौँ । तर जबसम्म संविधान संशोधन गर्ने लिखित प्रतिबद्धता हुँदैन तबसम्म हामी सरकारमा जाने कुरा छैन ।

० बाहिर त तपाईंहरूसँग मन्त्रालयको कुरा मिलेको छैन भनेर चर्चामा आईरहेको छ, तपाईहरूले कुन–कुन मन्त्रालय माग्नुभएको छ ?

— मन्त्रालयको कुरा त पछिको कुरा हो तर पहिले सम्झौताको हुनुप¥यो । संविधान संशोधन नै पहिलो प्राथमिकता हो । मन्त्रालयको कुरा त पछि मिल्छ नै तर संविधान संशोधनको कुरा जटिल कुरा हो । जुन संघर्ष गरेर हामी यहाँसम्म आईपुगेका छौँ, त्यो त जटिल छ । जुन कुरा जटिल हुन्छ त्यसमा बाधा उत्पन्न त भइहाल्छ । त्यसकारण मन्त्रालयभन्दा पनि हाम्रो प्राथमिकता भनेको संविधान संशोधन नै हो ।

० तपाईंहरूले विश्वासको मत दिनु भएको प्रधानमन्त्री केपी शर्मा ओलीले अब तपाईंहरूले चाहे अनुसार संविधान संशोधन गर्नुहुन्छ त ? संविधान संशोधन भए पनि तपाईंहरूले चाहे अनुसारकै संशोधन हुन्छ भनेर कसरी विश्वास गर्ने ?

— वास्तवमा भन्नुपर्दा विश्वास गर्ने वातावरण बनाउनुभएको छ प्रधानमन्त्रीज्यूले । बिना विश्वास त केही पनि हुन सक्दैन । राजनीतिमा त विश्वास गर्नु नै पर्छ । यदि विश्वास भएन भने फोरमको १६ र राजपाको १७ गरी ३३ जना सदस्यले मात्रै केही हुने अवस्था त छैन । त्यसैले हामीले विश्वास गरेका छौँ । ओलीजी अहिले संविधान संशोधनप्रति सकारात्मक हुनुहुन्छ र प्रचण्डजी त पहिलेबाट नै सकारात्मक हुनुहुन्थ्यो । त्यसकारण उहाँहरूले संविधान संशोधन गर्नु हुन्छ भन्ने कुरामा पूर्ण रूपमा विश्वास छ ।

० फोरमबाट मन्त्रीमा तपाईंको पनि चर्चा चलिरहेको छ नि ?

— हामी जनताको प्रतिनिधि भएर गएका छौँ । संविधान संशोधन गरेर पार्टी सरकारमा गयो भने र पार्टीले मौका दियो भने म निश्चित रूपमा देश र जनताको सेवा गर्न तयार छु । यदि म मन्त्री भए भने मेरो काम गर्ने शैली फरक हुन्छ, जुन जनताले देख्नेछ ।

० यदि तपाईं मन्त्री बन्नुभयो भने तपाईको पहिलो काम के हुनेछ ?

— यदि म मन्त्री भएँ भने देशको समृद्धिको बारेमा, सम्पूर्ण नागरिक तथा पिछडिएको वर्गको लागि मैले काम गर्छु तर ती सबै कुन मन्त्रालय पाउनेछु त्यसमा भर पर्छ ।

० तपाईंहरू सरकारमा जाने प्रमुख आधारहरू के के रहेका छन् ? जनतालाई कसरी बुझाउनुहुन्छ ?

— मधेशको जनताले हामीलाई दिल खोलेर मत दिएको छ र हामीलाई जिताएको छ । त्यसकारण मधेशको जनताको लागि एकदम गम्भीर रूपमा सोचेका छौँ । किनकी मधेशको जनताले धेरै बलिदानी दिएको छ, धेरै संघर्ष गरेको छ । हाम्रो एक वचनले लाखौँ जनता सडकमा आयो । त्यसकारण हामी जितेर संसदमा आएका छौँ । हामी फोरम र राजपा गरी ३३ जना सांसद रहेका छौँ । त्यो ३३ जना सांसदले मात्रै संविधान संशोधन त हुँदैन । संविधान संशोधन गर्ने हो भने वाम गठबन्धनको सहयोग चाहिन्छ । त्यसकारणले पनि वाम गठबन्धनको विश्वास लिनैपर्छ । हाम्रो कुरामा वाम गठबन्धनले सहमति जनाएको छ । संविधान संशोधन भयो भने निश्चित रूपमा जनताको अधिकार जनताको हातमा जान्छ । त्यसकारण म जनतालाई विश्वास दिलाउन चाहन्छु कि मधेशी जनताको अधिकारबिना हामी सरकारमा जाँदैनौँ । अधिकार दिलाउनकै लागि नै हामी सरकारमा जान्छौँ । हामी मधेशी जनतालाई अधिकार दिलाएर नै छाड्छौँ ।

० मधेश आन्दोलनको समयमा तपाईंकै क्षेत्रमा बढी क्षति भयो, अहिले ती शहिद परिवार र घाइतेको अवस्था कस्तो छ ?

— शहिद परिवारको अवस्था एकदम दयनीय छ । उनीहरूका घरमा रोजगारी छैन । अब हामीले रोजगारीको ग्यारेन्टी दिनुपर्छ । हामीले धेरै शहिद परिवारलाई चुनावमा ल्यायौँ र हामीलाई जिताए पनि । जुन शहिद परिवार रोजगार गर्न इच्छुक छ, उनीहरूलाई महानगरको सहयोगमा छिट्टै नै रोजगारी दिलाउनेछौँ । विशेषगरी प्रदेश नं. २ मा फोरम र राजपा गठबन्धनको सरकार बनेको छ । प्रदेश सरकारले पनि शहिद परिवारलाई रोजगारी दिने घोषणा गरिसकेको र थुप्रै अझैसम्म पनि घाइते छन् । घाइतेहरूलाई मासिक केही रकम दिने भन्ने कुरा भइरहेको छ । मैले प्रत्यक्ष रूपमा उनीहरूसँग दुःख सुख बाँडेको छु । उनीहरूको समस्यालाई मैले समाधान गरेको छु र भोलीका दिनमा पनि गर्नेछु ।

० मधेश आन्दोलनका शहिदलाई ५० लाख दिने भनेर घोषणा गर्नुभएको थियो, यस विषयमा के हुँदैछ ?

— त्यो विषयमा प्रदेश सरकार या पार्टीले केही निर्णय गर्छ । प्रदेश सरकारको कुरा गर्ने हो भने एउटा सिडियोलाई दिने पावर जति पनि प्रदेश सरकार या मुख्यमन्त्रीलाई दिइएको छैन । अहिले पनि केन्द्र शासित राज्यको मानसिकता हाबी छ । अहिलेको सात वटै प्रदेश सरकारको साँचो केन्द्रसँग रहेको छ । यसकारण पहिले केन्द्र सरकारले प्रदेश सरकालाई अधिकार दिनुपर्छ । बजेट र अधिकार दिइसकेपछि हामीले जुन प्रतिबद्धता गरेका थियौँ, त्यो हामी पुरा गर्नेछौँ ।

० प्रादेशिक सरकार गठन भए पनि प्रादेशिक सरकारलाई अधिकार दिएको छैन ?

— केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार दिएको छैन । एउटा सिडियोलाई दिइने सुरक्षा जति पनि प्रदेशका मुख्यमन्त्रीलाई दिएको छैन । अझ विशेषगरी प्रदेश नं. २ लाई शक्तिशाली बनाउन हामी पहल गर्दैछौँ ।

० प्रदेश नं. २ बाहेकका शहिद र घाइते परिवारका लागि के गर्दै हुनुहुन्छ ?

— प्रदेश २ बाहेक प्रदेश १ र ५ मा पनि केन्द्र सरकार र त्यहाँको प्रदेश सरकारसँग त्यस विषयका लागि पहल गर्नेछौँ । प्रदेशसभामा आवाज उठाएर हामीले कति राहत दिन सक्छौँ त्यसका लागि हामी कोशिस गर्नेछौँ ।

० तपाईंहरू सरकारमा गएपछि मात्रै संविधान संशोधन हुने अवस्था छ कि बाहिर बसेर संशोधन भएपछि मात्रै सरकारमा जाने अवस्था छ ?

— बाहिर रह्यो भने दबाब कम पर्छ र सरकारमा भयो भने दबाब बढि पर्छ । त्यसकारण सरकारमा रहेर नै दबाब दिनुपर्छ । ओली र प्रचण्डजी पनि यसमा सकारात्मक हुनुहुन्छ । जनताको चाहना, अधिकारको लागि संशोधन गर्नुपर्छ । यस किसिमको जनताको आवाज, इच्छा, आकांक्षाको लागि पनि उहाँहरूले संविधान संशोधन गर्नैपर्छ । हामीले कुनै अलग देश त मागेको होइन नि । हामीले नेपालभित्र नै आफ्नो अधिकार मागिरहेका छौँ । वाम गठबन्धन सकारात्मक रहेसँगै कतिपय कुराहरू पूरा पनि भएको छ । समावेशीता, संघीयता, भाषाका जस्ता मुद्दा पूरा भएका छन् । एउटा सिमांकनको कुरामा आएर हाम्रो कुरा अड्किएको छ । अब यसको पनि समाधान होला ।

० तपाईंहरूको मुख्य माग के हो ?

— हाम्रो प्रमुख माग सिमांकन नै हो ।

० सीमांकन सच्याउन या हेरफेर गर्न सजिलो छ ?

— चाहना हुनुपर्छ सकिन्छ । जिल्लालाई टुक्राएर गर्ने हो भने यो सम्भव छ । यो विषयमा पनि वाम नृेताहरू सकारात्मक नै छन् ।

० मधेशलाई कति प्रदेश हुनु पर्ने तपाईंहरूको माग हो ?

— मधेशमा २ प्रदेश हुनुपर्छ ।

० तपाईंहरूले चाहेअनुसारको संविधान संशोधन भएन भने त्यस पछि तपाईंहरूको रणनीति कस्तो हुनेछ ?

— यदि त्यस्तो भयो भने हामी आन्दोलनमा जानेछौँ । किनभने हामीले आन्दोलनलाई रोकेको मात्र हो समाप्त नै गरेका छैनौं ।

० सरकारमा रहेर आन्दोलन गर्नुहुन्छ कि राजीनामा दिनुहुन्छ ?

— राजीनामा दिन्छौँ । कुन प्रक्रियाबाट संघर्ष गर्नुपर्ने हा,े सडक या सदन यी दुवै ठाउँबाट हामी संघर्ष गर्न तयार छौँ । तर त्यस्तो वातावरण आउँदैन भन्ने मलाई विश्वास छ ।

० तपाईंहरूको माग कति दिनसम्म पुरा भइसक्नु पर्छ ? केही समयसीमा तोक्नुभएको छ ?

— त्यो पार्टीको नेतृत्वले निर्णय गर्ने विषय हो । पार्टीमा छलफल हुँदैछ । पार्टीले नै यो विषयको तय गर्दछ ।

० छिमेकी मुलक भारतका नेताहरूसँग पनि तपाईंहरूको भेटघाट भइरहन्छ, उनीहरूसँग के कुरा हुन्छ ?

— नेपाल र भारतबीच हाम्रो रोटीबेटीकोे सम्बन्ध छ । त्यसकारण मित्रको बारेमा नै धेरै कुरा हुन्छ । केही व्यक्ति भारत र नेपालको खुला सिमानालाई बन्द गर्ने गलत तर्क गर्छन र म यसको विरोधमा छु । किनभने भारतसँग हाम्रो बेटीको सम्बन्ध छ । यसकारणले गर्दा मधेशलाई समस्या पर्छ ।

प्रकाशित मिति : २०७४ चैत २ गते शुक्रबार


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com