महन्थजीलाई उपराष्ट्रपति बनाउने प्रस्ताव आएको छ : राजीव झा

महासचिव, राष्ट्रिय जनता पार्टी नेपाल

० प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजपा नेपालले कुन आधारमा विश्वासको मत दिएको हो ?

— संविधान संशोधन हाम्रो मुख्य मुद्दा हो । मधेशी जनताले हक अधिकार पाउनुपर्छ, शोषित पीडित, उपेक्षित सबैले समान अधिकार पाउनुपर्छ । यो देशको संविधान हाम्रो हो भन्ने स्वामित्व ग्रहण गर्न सक्ने हुनुपर्छ । त्यसका लागि राजपा नेपालले मात्र गरेर संविधान संशोधन हुन सक्दैन । संशोधन गराउनका लागि कुनै न कुनै पार्टीको सहयोग लिनैपर्छ र ती पार्टीलाई समर्थन गर्नैपर्छ । विगतमा पनि हामीले कांग्रेसलाई समर्थन गरेकै हो । त्यतिबेला हाम्रो दुई तिहाई नपुगेर वा कांग्रेस पनि इमान्दार नभएर वा एमाले पनि इमान्दार नभएर हाम्रो माग सम्बोधन भएन । यसपटक हामीले कांग्रेसलाई समर्थन गरेकै जस्तो अहिले पनि एमालेलाई हामीले समर्थन गरेका छौं । संविधान संशोधन हुन्छ भन्ने हाम्रो विश्वास छ । यदि हाम्रो मागअनुसार संविधान संशोधन भएन भने हामी फेरि आफ्नो समर्थन फिर्ता पनि लिन सक्छौं ।

० राष्ट्रपति निर्वाचनमा पनि तपाईंहरूले एमालेलाई नै समर्थन गर्नुभएको हो, किन ?

— संविधान संशोधनका लागि एमाले र नेकपा माओवादी केन्द्रले सकारात्मक कुरा गरेका छन् । उनीहरूसँग दुई तिहाईको बहुमत पनि छ । संविधान संशोधन गरी मधेशी जनताको हक अधिकार सुनिश्चितताका लागि सहयोग गर्नेलाई हामीले समर्थन गर्नैपर्छ । हामीले राष्ट्रपति निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरेर हामीले गुण लगाइदिएका छौं । यसलाई अर्को रूपमा पनि हेर्न सकिन्छ कि प्रदेश २ मा वाम गठबन्धनले जसरी समर्थन गरेको छ, त्यसरी नै हामीले पनि राष्ट्रपतीय निर्वाचनमा वाम गठबन्धनलाई समर्थन गरेका हौं ।

० वाम गठबन्धनलाई तपार्इँहरूले यसरी समर्थन गर्दैगर्दा सरकारमा जाने वातावरण पनि तयार बन्दै गरेको बुझ्न सकिन्छ ?

— राजनीति भनेकै सरकारमा जान, देशको विकास गर्नकै लागि हुन्छ । केन्द्रमा पनि हाम्रै बहुमत भइदिएको भए हामी अवश्य पनि सरकार बनाउँथ्यौं । यसले गर्दा कसैले किन सरकार बनायो भन्न मिल्दैन । सरकारमा त जान सकिन्छ, किन नजाने ? तर, संविधान संशोधनको सुनिश्चितता नभएसम्म सरकारमा जाँदैनौं । सबभन्दा पहिला संविधान संशोधन सुनिश्चित हुनुपर्छ ।

० कस्तो किसिमको सुनिश्चितता ?

— हामीले लिखित रूपमा सुनिश्चितता चाहँदैनौं । यसअघि पनि धेरै पटक हामीसँग लिखित सम्झौताहरू भइसकेका छन् तर, पूरा भएको छैन । संसद्मा वचनबद्धता हुनुप¥यो र संविधान संशोधनको पूर्ण रूपेण सुनिश्चितता हुनुप¥यो ।

० तपाईँहरूले भनेजस्तै सुनिश्चितता भएपछि राजपा सरकारमा जान्छ ?

— जान सकिन्छ । सरकारले गरेको वचनबद्धता पूरा गरेन भने र हामी सकरारबाट फिर्ता पनि हुन सक्छौं ।

० तपार्इँहरू संविधानको कुन–कुन बुँदामा संशोधन चाहनुहुन्छ ?

— संविधान संशोधनमा हाम्रो मुख्य सरोकार भनेकै सीमांकन नै हो । सुरक्षा निकायमा मधेशी जनताको समावेशी सहभागिता, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, पत्रकारितामा जनसंख्याको आधारमा प्रतिनिधित्व, हरेक निकायमा समावेशीकरणको सिद्धान्त लागू हुनुपर्ने लगायतका मुद्दाहरू पूरा होस् भन्ने हाम्रो माग हो । यसअघि पनि विभेदको अन्त्यका लागि सरकारलाई लिखित रूपमै मागहरू प्रस्तुत गरिसकेका छौं ।

० मुख्य माग सीमांकन हो भन्नुहुन्छ, त्यो सीमांकन सच्याउन सकिने अवस्था छ त ?

— सीमांकनका लागि अहिले जे प्रावधान छ, त्यसमा हामीले के भनेका छौं भने जुन प्रदेशमा सीमांकनको विवाद छ त्यो प्रदेशको सहमति होस् । एउटा आयोग बनोस् र त्यो आयोगको प्रतिवेदनअनुसार सीमांकन होस् । मधेशी जनताको चाहनाअनुसार मधेशको भूभाग मधेशमै रहोस् ।

० मधेशको भूभागमा तपार्इँहरू कतिवटा प्रवेश चाहनुहुन्छ ?

— हामी गजेन्द्रबाबुको अनुयायी हौं । हामी सुरूदेखि नै मधेशमा दुई प्रदेश होस् भन्दै आएका छौं । हाम्रो दस्तावेजमै भनिएको छ मधेशमा दुई प्रदेश । एक मधेश प्रदेशको कुरा गर्नेहरू पनि अहिले दुई मधेश प्रदेशमा आइसकेका छन् । तर, हामी सुरूदेखि नै मधेशमा दुई प्रदेशको कुरा गर्दै आएका छौं ।

० अहिलेको अवस्थामा मधेशलाई ६ प्रदेशमा विभाजन गरिएको छ, यसरी हेर्दा मधेशमा अन्य भूभागहरूलाई मिलाएर दुईवटा प्रदेश बनाउन कसरी सम्भव छ ?

— अहिलेको अवस्थामा जतिसुकै टुक्रामा विभाजन गरिए पनि हाम्रो चाहना र मान्यता मधेशमा दुई प्रदेश नै हो । त्यसकै लागि त हामीले लामो आन्दोलन ग¥यौं । मधेशमा दुई प्रदेशका लागि हाम्रो माग अहिले पनि यथावत् नै छ । त्यसका लागि हाम्रो आन्दोलन जारी नै रहन्छ । आन्दोलनका लागि बन्द हडताल मात्र गर्नुपर्छ भन्ने पनि छैन । जबसम्म हाम्रो माग सम्बोधन हुँदैन, तबसम्म सम्पूर्ण मधेशी जनता आन्दोलनमै रहन्छन् ।

० केपी शर्मा ओली नेतृत्वको सरकारले तपार्इँहरूको माग पूरा गर्छ भन्नेमा कति विश्वास छ ?

— हामीले विश्वास गर्नुपर्छ । किनकि जोसँग बहुमत छ, उसले माग पूरा गर्छौं भन्ने आश्वासन दिइरहँदा विश्वास गर्ने आधार छ । ओली सरकारले हाम्रा माग पूरा गर्ने सकारात्मक कुरा गरिरहेको छ ।

० सरकारले सामान्य गर्नुपर्ने काम जस्तै आन्दोलनका बेला लगाइएको झुठा मुद्दा पनि फिर्ता लिएको छैन नि ?

— त्यसका लागि हामीले कांग्रेस नेतृत्वको सरकारलाई पनि भनेका थियौं, मधेशी नेता गृहमन्त्री भएको बेलामा पनि उनले मुद्दा फिर्ता गर्छौं भनेका थिए तर त्यो गर्न सकेन । अहिले प्रधानमन्त्री ओली भन्दै छन् कि तत्कालै मुद्दा फिर्ता गराउने, कैदीबन्दीलाई स–सम्मान रिहाइ गराउने र क्षतिपूर्ति पनि दिने आश्वासन दिएका हुन ।

० तपार्इँहरू जसरी केपी शर्मा ओलीको सरकारलाई विश्वासको मत दिनुभयो, त्यस्तै ओली सरकारले अहिलेको अवस्थामा के गरिदिँदा सरकारमाथि तपार्इँहरूको विश्वास बढ्छ ?

— सरकारले सबभन्दा पहिले आन्दोलनका बेला लगाइएका झुठा मुद्दा फिर्ता लिनुपर्छ र जेल जीवन बिताइरहेका हाम्रा नेता कार्यकर्तालाई यथाशीघ्र रिहा गर्नुपर्छ । मुद्दा फिर्ता लिनुपर्ने, मुद्दा लागि भूमिगत जीवन बिताइरहेकाहरूलाई स–सम्मान फर्किने वातावरण बनाइदियो भने ओली सरकारमाथि हाम्रो विश्वास अझ बढ्न सक्छ ।

० प्रधानमन्त्री ओलीले तपार्इँहरूसँग थालेको छलफल कति सकारात्मक रहेको पाउनु भएको छ ?

— कुन मनसायका साथ प्रधानमन्त्री ओलीले हामीसँग छलफल सुरू गर्नुभएको हो त्यो त अहिले नै भन्न सकिन्न । तर, हामीले सकारात्मक रूपमा लिएका छौं । हामी यो देशको चौथो ठूलो पार्टी हौं, राजपा सरकारमा आउँदा झन् राम्रो हुन्छ भन्ने मनसाय होला । किनकि राजपासँग मधेश आन्दोलनको लिगेसी छ । राजपालाई वाइपास गरेर जाँदा मधेशमा राजनीति गर्न गाह्रो हुन्छ भन्ने कुरा उहाँले सोच्नु भएको होला ।

० तर, सुरूमा फोरमसँग मात्र छलफल गर्दा राजपाका नेताहरू सशंकित भएका थिए नि ?

— यस विषयमा केही नेताहरू रिसाएका होलान् । उनीहरूको व्यक्तिगत रिइसवी हुन सक्छ । प्रदेश २ को सत्ता साझेदार फोरम नेपाल हो । तर, त्यो विषयमा टिक्का टिप्पणी नगर्नु पर्ने हो । फोरमको विषयमा निर्णय गर्ने अधिकार उनीहरू कै हो । यसमा हामीले बोल्नु हुँदैन ।

० वाम गठबन्धनले उपराष्ट्रपति राजपालाई दिने चर्चा भइरहेको छ, वास्तविकता के हो ?

— त्यो विषयमा त बार्गेनिङ्ग त हुन्छ नै । कति वटा मन्त्रालय दिने, को मन्त्री बन्ने त्यो त पार्टीले तय गर्ने हो ।

० उपराष्ट्रपतिमा तपार्इँको पार्टीका संयोजक महन्थ ठाकुरको पनि सुनिन्छ नि ?

— नाम त जसको पनि आउँछ । तर, यसबारे पार्टीले निर्णय गर्ने हो । उपराष्ट्रपति संयोजकलाई नै बनाउने भन्ने विषयमा छलफल पनि भएको छैन ।

० उपराष्ट्रपति राजपालाई दिने भन्ने वाम गठबन्धनसँग छलफल भएको छ कि छैन ?

— वाम गठबन्धनले प्रस्ताव गरेको हो । तर, यस विषयमा हामीले पार्टीगत रूपमा कुनै निर्णय गरिसकेका छैनौं ।

० प्रदेश २ को सरकारमा वाम गठबन्धनलाई ल्याउने भन्ने पनि सुनिन्छ, के हो वास्तविकता ?

— प्रदेश २ मा वाम गठबन्धनले समर्थन गरेको त छ तर, सरकारमै ल्याउने खालको कुरा भएको छैन । वाम गठबन्धनले पनि सरकारमा जाने खालको प्रस्ताव गरेको छैन । वाम गठबन्धनले प्रदेश २ को सरकारलाई विश्वासको मत मात्र दिएको हो । अब प्रदेश २ मा वाम गठबन्धनलाई पनि ल्याउने वा नल्याउने भन्ने बारे कुनै छलफल भएको छैन । केन्द्रमा सरकारमा विस्तार भइसकेपछि त्यसबारे कुनै निर्णय हुन्छ ।

प्रकाशित मिति : २०७४ चैत २ गते शुक्रबार


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com