रुपन्देहीमा बैंकका शाखा विस्तार तीव्र

बुटवल । रूपन्देहीमा बैंकहरुले शाखा विस्तार आक्रामक रूपमा अगाडि बढाएका छन् । विकासका पूर्वाधार निर्माणसँगै आर्थिक गतिवधि तीव्र हुँदै जाँदा रुपन्देहीमा बैंकहरुको शाखा विस्तार तीव्र भएको हो । त्यसो त मुलुक संघीय संरचनामा गएसँगै स्थानीय तहले गाउँमै पहलपहल बढाएपछि त्यसको असर बैंकहरुमा पनि परेको कतिपय जानकार बताउँछन् ।
यहाँ बैंकहरुले शाखा विस्तार गर्न होडबाजी जस्तै गरेका छन् । जनतालाई घर आँगनमा सेवा प्रदान गर्ने भन्दै वाणिज्य बैंकदेखि लघुवित्त बैंकहरू शाखा विस्तारमा जुटेका हुन् । रूपन्देहीमा १६ स्थानीय तह छन् ।
नेपाल राष्ट्र बैंक, भैरहवाका अनुसार आर्थिक वर्ष २०७३/०७४ सम्म जिल्लामा २६७ वटा बैंकका शाखा सञ्जाल रहेकोमा हाल यो संख्यामा भारी वृद्धि भएको छ । राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोककुमार पौडेलका अनुसार प्रदेशको राजधानी तोकिएसँगै रुपन्देहीमा लगानीका सम्भावना देखेर बैंकहरूले आफूलाई यहाँ केन्द्रित गर्न थालेको छन् । पौडेलले भन्छन् , ‘पछिल्लो आठ महिनामा ४० देखि ५० वटासम्म नयाँ शाखा थपिएका छन् ।’ उनी बैंकहरुको तीव्र शाखा सञ्जाल विस्तारले रूपन्देही लगानीको ‘हब’ बन्दै गएको बताउँछन् । रुपन्देहीमा तीव्र सहरीकरण, निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना, प्रदेशको राजधानी, पर्यटन, उद्योग र कृषिलगायतका सम्भावना देखेर बैंकहरु रूपन्देही केन्द्रित भएको देखिन्छ ।
जिल्लाका बैंकहरुमा हालसम्म ११३ अर्ब लगानी र ८९ अर्ब निपेक्ष संकलन भएको राष्ट्र बैंकले जनाएको छ । रुपन्देहीमैं प्रधान कार्यालय रहेका बैंकहरुले ग्रामीण क्षेत्रसम्म आफ्ना शाखाहरु खोलेर बैंकिङ सेवा प्रदान गरिरहेका छन् । राष्ट्रिय स्तरका वाणिज्य बैंकका शाखाहरू मुख्य सडक आसपासमा बढी केन्द्रित देखिन्छन् । बैंकको शाखा सञ्जाल बढ्दै जाँदा जिल्लाका बासिन्दालाई बैंकिङ कारोबारका लागि सहरमा पुग्नुपर्ने बाध्यताको लगभग अन्त्य भएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com