सत्ता यात्रामा लागेको पूर्णविराम (सम्पादकीय)

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई विश्वासको मत दिएपछि प्रदेश २ मा वर्चश्व बनाएको संघीय समाजवादी फोरम र राजपा नेपालको वाम गठबन्धन नेतृत्वको केन्द्रीय सरकारमा जाने बाटो खुलेको छ । दुबै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीसँग भएका अघिल्ला छलफलहरू सकारात्मक मोड लिएपछि आजै भोली सरकारमा सहभागि हुने करिब करिब निश्चित थियो ।

गत शुक्रबार प्रधानमन्त्रीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा कम्तीमा फोरम सहभागी हुने वातावरण बनेको थियो । फोरम र राजपालाई पनि सहभागी गराउनकै लागि पनि मन्त्रिपरिषद् विस्तारको कामलाई प्रधानमन्त्रीले ढिलाई गरेका थिए । तर अन्तिम अवस्थामा फोरम सरकारमा सहभागी भएन भने राजपाले पनि सहभागि हुने भन्दाभन्दै पछि हटेको छ ।

के दुबै मधेशी दलको सरकारमा सहभागी हुने विषयमा पूर्णविराम लागेकै हो त ? यसको जबाब न त ती दुबै दलसँग नै छ न त वाम गठबन्धनसँग नै । वास्तवमा दुबै पार्टी सरकारमा जानका लागि सुरक्षित अवतरण खोजिरहेका छन् । न्यून आलोचनाका साथ उनीहरू सरकारमा जान चाहेका छन् ।

संविधानको विपक्षमा उभिएका दुबै दल निर्वाचनमा सहभागी भएर प्रदेश २ मा खुम्चिएको छ । उनीहरूको राजनीतिक धरातल आठ जिल्लाबाहेक माथि उठ्न सकेको छैन । संविधान संशोधनको एक सूत्रीय विषयमा दुबै दलबीच समान धारणा छैन भने त्यसका लागि कार्यगत एकता पनि छैन । दुबै दल अलग अलग प्रकारले संशोधनको कुरा उठाइरहेका छन् र अलग अलग तरिकाले सरकारमा प्रवेश खोजिरहेका छन् ।

मधेशको मुद्दामा विगतमा सँगै लडेका यी दुई दल आखिर निर्वाचन पछिको ताजा जनादेश र राजनीतिक अवस्थामा किन समान रूपमा सँगै जान नसेकका हुन् ? यो गम्भीर प्रश्नको जबाब खोज्ने बेला आएको छ ।

खासमा फोरमको सत्ता यात्रामाथि विराम पार्टी भित्र उत्पन्न विवादका कारणले लागेको हो । अध्यक्ष उपेन्द्र यादवको मन्त्री बन्ने चाहना र पार्टीका अन्य नेताहरूमा आफू नै मन्त्री बन्ने तीव्र आकांक्षाले पार्टीले सन्तुलन मिलाउन नसक्दा उसले तत्काल जान नसकेको हो ।

उता, राजापाभित्र पनि यस्तै प्रकारको विवाद छ । शीर्ष नेताहरू नै मन्त्री बन्ने दौडमा रहेका कारण उसले पनि सन्तुलन मिलाउन सकेको छैन भने पछिल्लो पटक प्रहरी हिरासतमा रहेका रेशम चौधरीको विषयले उसलाई सरकारमा जान रोकेको हो । संविधान संशोधन र रेशम चौधरीको विषयमा सत्तारूढ दलको प्रतिबद्धता आएमा राजपा सरकारमा जान तयार रहेको बताइन्छ । राजपाले संशोधनको विषयमा सत्तारूढ दल माओवादी केन्द्र र एमालेसँग स्पष्टता खोजेको छ । जुन विषयमा ती दल सकारात्मक छन् ।

संविधान संशोधन गर्ने विषयमा संघीय समाजवादी फोरम नेपालसँग सत्तारूढ दल एमाले र माओवादी केन्द्रले गरेको सैद्धान्तिक सहमति जस्तै राजपाले पनि चाहेको छ । फोरम नेपालसँग भएको सहमति जस्तै राजपा नेपालसँग भयो भने सरकारमा सहभागी हुन सहज हुने देखिन्छ ।

संविधान संशोधन तथा कार्यान्वयनका लागि दुई तिहाई बहुमत चाहिन्छ त्यसका लागि राजपा नेपाल र फोरम नेपाल सरकारमा जानुपर्ने ती दलका नेताहरूको तर्क छ । उनीहरूले अहिले नै सविधान संशोधन गरि दिनुपर्छ भनि न भने पनि सुनिश्चितता मात्र खोजिएको हो ।

पहिला पटक पटक लिखित सहमति हुँदा पनि त्यो कार्यान्वयन भएको छ्रैन । किनभने त्यतिबेला दुई तिहाई बहुमत कसैसँग थिएन तर अहिले दुई तिहाई बहुमत स्पष्ट देखिन्छ त्यसैले संशोधनको विषयमा स्पष्ट धारणा सार्वजनिक गरेपछि राजपा र फोरम सरकारमा जान सक्छ ।
प्रकाशित मिति : २०७४ चैत ९ गते शुक्रबार


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com