एमालेलाई विश्वास गर्नु बाहेक अर्को विकल्प पनि त छैन : रानी शर्मा तिवारी

वरिष्ठ उपाध्यक्ष, राष्ट्रिय जनता पार्टी नेपाल

० तपार्इँहरूले कुन आधारमा प्रधानमन्त्री केपीशर्मा ओलीलाई विश्वासको मत दिनुभएको हो ?

— हामीले जहिले पनि कांँग्रेस, माओवादी, एमालेको सरकारलाई समर्थन गयौं । एउटा न एउटा प्रतिबद्धताकै आधारमा सरकारलाई समर्थन गरेका हौं । तर अहिलेसम्म के देखियो भने लिखित प्रतिबद्धता गरे पनि ठोस उपलब्धी केहि देखिएन । लिखित प्रतिबद्धता हुँदा पनि विश्वास गर्ने कुनै आधार थिएन र विश्वास गर्ने वातावरण के छ भने जहिले पनि हामीले शर्तमा काम गर्यौं । आज निःशर्त काम गर्यौं । हामीलाई व्यक्तिगत रूपमा केही चाहिएको होइन । संविधान संशोधन गर्नु पर्ने माग मात्र हामीले भनेका हौं । त्यसका लागि यस पटक हामीले निःशर्त विश्वास गरेका हौं । यसबाट हामीले के आशा गरेका छौं भने जसरी हामी खुला तरिकाबाट अगाडी बढ्यौं, त्यसरी नै सरकार र वाम गठबन्धन पनि अगाडी बढ्नु पर्छ र मधेशका मागहरू सम्बोधन गर्छन भने आशा राखेका छौँ ।

० तपाईंहरूले राष्ट्रपति निर्वाचनमा पनि वाम गठबन्धनको उम्मेदवारलाई मत दिनुभयो, त्यो पनि विना शर्त । यसबारे त बाहिर विभिन्न किसिमका टिका टिप्पणीहरू भइरहेको छ ?

— राजनीतिमा राम्रो–नराम्रो पक्ष त भई नै रहन्छ । जति राम्रो काम गरे पनि नराम्रो नै भन्नेहरू पनि हुन्छन् । मैले पहिले नै भने जसरी अहिले हामीले निःस्वार्थ मत दिएर अगाडी बढेका छौँ त्यसरी नै उहाँहरू पनि अगाडी बढ्नु हुनेछ भन्ने आशा गर्दछौँ । राष्ट्रपतिलाई मत दिने कुरा जहाँसम्म छ, राष्ट्रपतिको निर्वाचन हुनु अगाडी नै प्रदेश सरकार गठनको क्रममा हामीलाई वाम गठबन्धनबाट विश्वासको मत प्राप्त भएको थियो । हामीमाथि जुन प्रकारको गुन वाम गठबन्धनले लगाएको थियो, त्यो गुन हामीले पनि तिरेका हौँ । हामीले निःस्वार्थ मत दिएर हामीले आफ्नो काम गरिसकेका छौँ । अब उहाँहरूले के गर्नुहुन्छ त्यो हामीले हेर्न बाँकी नै छ ।

० तपार्ईंहरूले ऋण चुक्ता गर्नुभएको हो या सरकारमा जाने वारगेनिङ्ग गर्नु भएको हो ?

— राजपाले कहिले पनि सरकारमा जाने भनेको छैन । राजपाले सरकारलाई समर्थन गर्दा पनि प्रदेश सरकारमा त जाने तर केन्द्र सरकारमा जाने भनेर कहिले पनि मत दिएको छैन । कुनै नेताले भनेको छैन कि हामी सरकारमा जाँदैछौँ । राजपाले पहिलेदेखि नै हामी सरकारलाई समर्थन मात्र गर्छौँ तर सरकारमा जान्नौँ भन्दै आइरहेको छ । महन्थ ठाकुर उपराष्ट्रपति बन्दै हुनुहुन्छ भन्ने किसिमका कुरा मिडियामा हल्लाको रूपमा मात्र फैलिएको हो । यो सब निराधार मात्रै हो । त्यो कुरा अहिले प्रमाणित भइसकेको छ ।

० सरकारमा जाने नजाने विषयमा पार्टी र नेताहरू पनि विभाजित छन् । वास्तविक कुरा के हो ?

— ठूलो परिवार भएको ठाउँमा सबैको कुरा सबैसँग मिल्दैन, यो स्वभाविक पनि हो । त्यस्तै राजपा पनि ठूलो पार्टी हो । यसमा धेरै सदस्यहरू छन् । त्यसकारण केही साथीहरूले नजाने भन्ने कुरा गर्नुभएको । सबैको विचार एउटै हुन्छ भन्न सकिदैन । विचार सबैको आफ्नो–आफ्नो हुन्छ । कसैको विचार त्यस्तो भए पनि त्यो बहुमतको विचार होइन । त्यसकारण त्यसमा निर्णय नभएसम्म आफ्नो विचार मनमा नै राख्नु भयो होला तर त्यसले कुनै आधार दिँदैन ।

० राजपा केन्द्रीय सरकारमा जाने पक्षमा थियो त ?

— थिएन, हामीले पहिले पनि भनेका थियौँ कि हामी केन्द्रीय सरकारमा जाँदैनौँ । राजपा सरकारमा जाँदैछ भनेर मिडियामा हल्ला आए । मलाई लाग्दैछ कि ति हल्लाहरूले जवाफ पाइसके ।

० तर पार्टीको नेतृत्व पंक्तिले पटक–पटक सरकारी पक्षसँग वार्ता गरेको छ ?

— उहाँहरूले सरकारमा जानका लागि वार्ता गर्नुभएको होइन । कुनै पनि दिन हामीलाई सरकारमा सहभागि गराउनुस् भनेर वार्ता भएको छैन । हामीले सरकारलाई समर्थन गर्दा उहाँहरूले सोध्नुभएको थियो कि तपाईंहरूको शर्त के हो ? हामीले भनेका थियौँ कि हाम्रो एक मात्र सर्त भनेको संंविधान संशोधन हो । त्यो कुरामा मात्र वार्ता भएको हो तर सरकारमा जाने कुरामा कुनै वार्ता भएको छैन ।

० राजपाका अध्यक्ष एवम् संयोजकलाई उपराष्ट्रपतिको पनि अफर आएको थियो ?

— मैले यस्तो कुरा सुनेको छैन । यो सब हल्ला मात्र हो । यसको भित्री कुराके बारेमा मलाई केही थाहा छैन । त्यस्तो अफर आए पनि हामी मान्नेबाला थिएनौँ । त्यसकारण अफर आए पनि नआए पनि त्यसले कुनै फरक पारेको छैन ।

० विगतका निर्वाचनमा एमालेलाई मधेश विरोधी भन्दै आएको राजपाले अहिले उही एमालेको सरकारलाई विश्वासको मत दियो । अब जनतालाई के भन्नुहुन्छ ?

— चुनावमा एक अर्कालाई आक्षेप लगाउने परम्परा नै छ । त्यस समयमा मधेशमा हामीले एमालेको विरोध गरेकै हौं । चुनावको एउटा प्रक्रिया समाप्त भइसकेको छ । हरेकतिर आफ्नो सरकार गठन हुँदैछ । अब संशोधनका कुरा आउँदैछ र त्यहाँ पनि वाम गठबन्धनको बहुमत छ । उहाँहरूको हातमा बहुमत भएको हुनाले संशोधन पनि उहाँहरूले नै गर्नुपर्छ भन्ने आशा हामीले गरेका छौँ । किनकि अर्को विकल्प अबको लागि रहेन । विकल्प नभएपछि जे गर्न बाध्य हुनुपर्छ । हामीले पनि त्यहि नै गरेका हौं । वाम गठबन्धनले नै चाह्यो भने संविधान संशोधन हुन्छ, नभए हुँदैन भन्ने हामीलाई लाग्यो । त्यसकारण हामी त्यही बाटोमा नै हिडेका हौं । हामीलाई विश्वास पनि छ कि वाम गठबन्धनले संविधान संशोधन गर्छ ।

० जनतालाई भन्नुपर्दा एमालेलाई समर्थन गर्नुका ठोस कारण के हो ?

— यो कुरा स्पष्ट नै छ कि हामीसँग बहुमत रहेन । हामीले केन्द्रमा बहुमत जुटाउन सकेनौं । त्यसकारण जो सँग बहुमत छ उसैसँग हामीले आस गर्ने हो । अहिले जनताले जुन जनादेश दिएको छ, त्यो भनेको वाम गठबन्धनको नै बहुमत छ । बहुमतलाई कदर हुने स्वभाविक प्रक्रिया नै हो । बहुमतलाई नै हेरेर उहाँँहरूले संशोधन गर्नु हुन्छ भन्ने विश्वासका साथ विश्वासको मत दिएका छाँै । हामीसँग बहुमत नभएको हुनाले र अन्य विकल्प पनि हामीसँग केही नभएको हुनाले हामीले विश्वासका साथ मत दिएका हौं । उहाँहरूले संविधान संशोधन गर्नुहुन्छ भन्ने विश्वास छ । यदि संशोधन गर्नुभएन भने हाम्रो लडाई जारी नै रहनेछ र हामी फेरी आन्दोलन गर्न बाध्य हुनेछौं ।

० तपाईंहरूले संविधान संशोधनको शर्तमा वाम गठबन्धनलाई समर्थन गर्नुभएको हो ?

— हामीसँग लिखित सम्झौता भएको छैन । लिखित सम्झौता नभएपछि त्यसलाई शर्त भन्न मिल्दैन । लोकतन्त्रमा बहुमतको कदर गर्नुपर्छ भनेर नै हामीले समर्थन गरेका हौँ । अरू केही होइन ।

० राजपाले विश्वासको मत दिइसकेपछि तपार्ईंहरूका लागि भनेर राखिएको चियापान कार्यक्रममा पनि प्रधानमन्त्रीले समयको माग र आवश्यकताअनुसार संविधान संशोधन हुन्छ भन्नुभएको छ, संशोधन हुनेमा नै कति विश्वस्त हुनुहुन्छ ?

— हामीसँग विश्वास गर्नुबाहेक अन्य विकल्प छैन । हामीले लिखित सम्झौता पनि नगरी विश्वासको मत दियौँँ । एक मात्र आधार थियो उहाँहरूलाई विश्वास गरेको । त्यसकारण उहाँहरूले संशोधन गर्नुहुन्छ भन्ने विश्वासका साथ हामी अगाडी बढिरहेका छौँ ।

० संविधानमा के के संशोधन हुुनु पर्छ ?

— हाम्रो माग भनेको भाषामा नै छ । सिमांकनको कुरा त अझै पनि छँदै छ । प्रदेश २ घोषणा गरेर मधेशलाई आठ वटा जिल्लामा मात्र सिमित पारिएको छ, यसमा हामी सन्तुष्ट छैनौँ । हामीले कम्तीमा २० जिल्लालाई मधेश मानेका थियौँ । त्यो अहिले टुक्राएर ८ जिल्ला मात्र भएको छ । अर्को त भाषादेखि लिएर हरेक कुराहरूमा समावेशी हुनुपर्छ भन्ने माग नै छ । त्यो सबै अहिलेसम्म पनि यथावत नै छ ।

० तपाईंहरूको मुख्य माग नै सिमांकन हो ?

— हो, सिमांकन नै हाम्रो प्रमुख माग हो ।

० सिमांकन सम्बन्धमा प्रधानमन्त्रीको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

— यो सम्बन्धमा कुनै छलफल भएको छैन । यदि छलफल भयो भने यो विषयमा पनि उहाँहरू सकारात्मक नै रहनु हुनेछ भन्ने आश राखेका छौँ ।

० अहिलेको सरकारलाई तपाईंहरूको समर्थन कहिलेसम्म रहनेछ ?

— जुन दिन हाम्रो माग पूरा हुँदैन भन्ने हामीलाई लाग्छ त्यहि दिन नै समर्थन पनि समाप्त हुनेछ ।

० तपाई प्रदेश सांसद पनि हुनुहुन्छ । प्रदेश २ को सरकारले कहिलेसम्म पूर्णता पाउँछ ?

— एक किसिमले भन्ने हो भने त पूणैता भइसकेको नै छ । तीन वटा राज्यमन्त्री मात्र चयन गर्न बाँकी छ । यो पनि केही दिनभित्र नै हुनेछ ।

० समानुपातिक समावेशिताको आवाज उठाउँदै आएको राजपाले प्रदेश सरकारमा नै आफ्नै अवधारणा लागू गरेको देखिदैन । प्रदेश सरकारमा महिलाको संख्या अत्यन्तै न्यून छ, यसमा के भन्नु हुन्छ ?

— महिलाले अधिकार पाउनका लागि हरेक विषयमा महिलाअधिकार सम्बन्धी कानुन राख्नै पर्छ । जबसम्म कानुनमा राखिदैन तबसम्म हामीले पाउँदैनौँ भन्ने स्थिति देखियो । जसरी केन्द्र र प्रदेश संसदमा ३३ प्रतिशत महिला हुनुपर्छ भनेर संविधानमा राखियो त्यसरी नै मन्त्रिपरिषद्लगायत हेरक निकायमा संविधानमा उल्लेख भएको भए यो स्थिति आउने थिएन ।

प्रकाशित मिति : २०७४ चैत ९ गते शुक्रबार


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com