आगलागीबाट बच्न पूर्वसतर्कता खोई ? (सम्पादकीय)

गर्मी बढेसँगै तराई–मधेशमा आगलागीका घटना बढ्दै गएका छन् । फागुनदेखि जेष्ठसम्म अत्याधिक हावा हुरी लाग्नु जस्ता कारणले पछिल्लो समय आगालागीका घटना बढ्दै जान थालेका छन् । सानो गल्ती र लापरवाहीका कारण र उचित चेतनाको अभावका कारण आगलागीका घटनाहरू सामान्य बन्दै गएको छ ।


यसरी दैनिकी जसो हुने आगलागीका घटनाले तराई–मधेशका जनता बढी मारमा परिरहेका छन् । विशेष गरी सबै तहका जनसमुदायलाई आगलागीको बारेमा उचित चेतना नहुनु र हेलचेक्राई गर्नु, कतै अचानक आगलागी भएमा सबैको चासो कम हुनु र पानीको आवश्यक श्रोत र साधनको अभावमा आगो नियन्त्रणमा ल्याउन नसकिरहेका घटना प्रशस्त देखिन्छन् ।


यसरी दैनिकजसो गर्मीयाम सुरू हुने मौसममा हुने आगलागीका घटना न्यूनीकरणका निम्ति सम्बन्धित निकायको उत्तिकै ध्यान जान जरूरी रहन्छ भने आफनो गाउँ–टोल र समाजमा आगलागीबाट हुने क्षति तथा समाजमा पार्ने प्रभाव लगायत बालबच्चाबाट आगलागीजन्य पर्दाथबाट कसरी जोगाउने भन्ने विषयमा सजग रहन जरूरी देखिन्छ । चुरोट खाएर ठुटा जहाँ पायो त्यहीँ फाल्दा, खाना पकाई सकेपछि आगो ननिभाउनु, हावा लागेको समयमा आगो बाल्नु जस्ता कार्यले पनि आगलागिका घटना हुने गर्दछ । तसर्थ यस्ता आगलागीजन्य कार्यलाई रोक्नका लागि समाजमा जनचेतना जगाउनु अति आवश्यक देखिन्छ ।


विशेषगरी गर्मीयामको सुरूवातसँंगै आगलागीका घटनाहरू हुन थाल्दछ । गर्मीयाममा विभिन्न कारणले आगजनीका घटना हुने गर्दछन् । नेपालीहरू जब समस्यामा पर्छ तब मात्र समाधानको उपायतर्फ सोच्ने गर्छन् । विभिन्न प्राकृतिक प्रकोप नियन्त्रणका लागि पूर्वसतर्कता आवश्यक पर्छ । तर मौसम अनुसार हुने विभिन्न खाले प्राकृतिक प्रकोपका बारेमा र जोखिम कम गर्न पूर्वतयारी गरिएको हुँदैन । वर्षातमा बाढीबाट बच्न हामीले असारमा चिन्ता गर्छौं । तर समय बितिसकेपछि गरिएको चिन्ताको कुनै अर्थ रहदैन । गर्मीयाममा हुने आगलागीलाई नियन्त्रणका लागि अहिलेदेखि नै पूर्वसतर्कता अपनाउन जरूरी छ ।


तराई–मधेशका थुप्रै जिल्लामा पर्याप्त दमकल छैनन् । भएका दमकलहरू पनि काम नलाग्ने जीर्ण अवस्थामा छन् । आगलागीको जोखिम कम गर्नका लागि सुरूदेखि नै पहल थाल्नु पर्दछ । यसबारे प्रदेश सरकारले पनि समयमै चासो राख्नु पर्छ । हरेक नगरपालिका र गाउँपालिकामा कम्तीमा एउटा दमकलको व्यवस्था गरिनु पर्छ भने आगलागीका घटना कम गर्न घर–घरमा चेतना फैलाउनु पर्छ ।
आगलागीबाट बच्ने उपायबारे गर्मीयाममा मात्र होइन अन्य समयमा पनि तालिम तथा सचेतना जगाउन जरूरी छ ।


गाउँघरमा हुने आगलागीबाट क्षति कम गर्नका लागि हुरी बतास चलेको बेला खर तथा फुसको छानो भएको घर भित्र आगो नबाल्ने तथा बाले पनि राम्ररी निभाउने संस्कार स्थापित गर्नुपर्छ । त्यसैगरी सलाई, लाईटर तथा आगोजन्य पदार्थ जस्तो मट्टितेल, डिजेल, पेट्रोल जस्ता वस्तुलाई सुरक्षित तरिकाले राख्ने बानी बसाल्नु पर्छ ।


यस्तै, आगोजन्य वस्तुहरू बालबालिकाहरूको पहुँचबाट टाढा एवं सुरक्षित राख्नुको साथसाथै चुरोट तथा बिडीका ठुटोहरू समेत जथाभावी रूपमा नफ्याके सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ । त्यसैगरी पराल र गहुँको दउनी सुरक्षित स्थानमा राख्ने र आफ्नै आँगनमा दउनी गर्ने प्रवृत्ति पनि रोक्नु पर्दछ ।


अब विद्यालयहरूमा आगलागीबारे सचेतना दिन समेत जरूरी छ । यसका साथै सबै वडा अध्यक्ष तथा गाउँ र नगर प्रमुखहरू समेतले यस समयमा आम जनता माझ गई जनचेतना जगाउन सके आगलागीको घटनामा कमी आउँछ ।


प्रकाशित मिति : २०७४ साल चैत्र १६ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com