प्रधानमन्त्रीको भारत भ्रमणबाट नयाँ आयाम थपिन्छ : देवेश झा

संयोजक, मधेश सम्वाद समूह नेपाल

० वाम गठबन्धनको सरकारप्रति भारतको दृष्टिकोण कस्तो छ ?
— नेपालमा बनेको वाम गठबन्धनलाई भारतले सकारात्मक रूपमा नै लिएको छ । किनभने यो सरकार गठन हुनुभन्दा पहिले नै नेपाल भ्रमण गरेर केपी ओलीलाई प्रधानमन्त्री हुनका लागि अग्रिम शुभकामना तथा बधाई साथै प्रधानमन्त्री भएलगत्तै भारत भ्रमण गर्ने निम्तो गरेको पनि देखियो र के.पी. ओलीजी प्रधानमन्त्रीमा निर्वाचित भइसके पछि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक रूपमै फोन गरी बधाईका साथै भारत भ्रमणको निम्तो पनि दिएका छन् । अब केही समयपश्चात नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ । नेपाल–भारत सम्बन्ध सकारात्मक रूपमा अगाडि बढ्दैछ ।


० वाम गठबन्धनको सरकार भारतका लागि खतरा रहेको पनि एकखालको विश्लेषण छ, तपार्इंको धारणा के छ ?
— भारतका लागि त्यस्तो खतरा छ जस्तो लाग्दैन । वाम गठबन्धनको सरकार भए पनि अरू कुनै दलको सरकार भए पनि भारतसँग निकटता त छँदैछ । उनीहरूको विभिन्न कालखण्डमा भारतसँग सम्झौताहरू भएका छन् । रातारात राजनीतिमा केही पनि हुँदैन । केही असमझदारी विगतका दिनहरूमा भएका थिए । वर्तमान अवस्थामा त्यस्तो कुनै विवादास्पद अवस्था देखिदैन । नेपालको अधिकांश दैनिक कारोबारीदेखि लिएर व्यापारिक साझेदारी सबैभन्दा धेरै भारतसँग नै हुने भएकोले र भारतसँग नै हरेक प्रकारका नातागोता, निकटता भएकाले भारत सरकारले पनि नेपालसँग सुमधुर सम्बन्ध बनाएर अगाडि जान खोजेको छ ।


० मधेशी जनताका लागि प्रधानमन्त्री ओलीले आसन्न भारत भ्रमणको क्रममा के कस्ता मुद्दाहरू राख्यो भने त्यहाँको जनतालाई सहज होला ?
— सीमामा सहज आवागमन अनिवार्य छ । दैनिक रूपमा आवातजावत गर्ने मधेशी समुदाय नै हुन् । अन्य समुदाय पनि होलान् तर बढी मात्रामा भने मधेशी समुदाय नै हो । सामान्य स्तम्भको आधारमा सिमाना छुट्टयाइएको हुनाले कतिपय ठाउँमा त जग्गाको विवाद, पानीको विवाद हुने गर्दछन् । सबैभन्दा बढी मधेशले भोग्नुपर्ने डुबानको समस्या हो । सम्माननीय प्रधानमन्त्रीले भारत भ्रमणको अवसरमा यो प्राथमिकताका साथ राख्ने हो भने राम्रो हुन्छ । हामीसँग तीन महिना मात्र बाँकी छ । त्यस पछि वर्षातमा मधेश फेरी डुबानको समस्यामा पर्न थाल्छ । अन्य विषयमा केन्द्रित हुनुभन्दा पनि यस पटकको वर्षायाममा मधेश डुबानमा नपरोस् भनी प्रधानमन्त्रीको तर्फबाट गम्भीर पहल हुनुपर्दछ ।


० भारतीय रूपियाँ सटहीमा सहजता ल्याउनका लागि सरकारले कस्तो किसिमको पहल गर्नुपर्छ ?
— भारत सरकारले क्रेडिट कार्डको प्रयोग बढी गरेको पाइन्छ तर नेपालमा भने अझै पनि कागजी पैसाकै बढी प्रचलन छ । नेपालले आफूलाई त्यससँग जोड्न सकिरहेको छैन । खासगरी नेपालका मधेशी समुदायको भारतसँग बढी आवात–जावत छ । उनीहरूसँग व्यापारिक सम्बन्ध पनि बढी नै छ । त्यसकारण बजारमा किनमेलका लागि नेपाली नागरिकहरू भारतीय बजारमा जाँदा भारू १०० को भारतीय बजारमा सामान्य रूपमा पनि १७० लिने गर्दछ । यसको लागि पनि पहल त गर्नु नै पर्दछ । पहिले त यस्तो थिएन तर नेपालको मुद्रासँग विश्वसनीयता नभएर हो कि या अन्य कुनै कारणले हो । कारण जुनसुकै होस् तर नेपाली जनताको लागि यो समस्याको विषय हो । यसको समाधानको उपाय त खोज्नै पर्छ ।


० दुई तिहाई बहुमतले बनेको वाम गठबन्धनको सरकारसँग अबका दिनमा भारत सर्तक हुनुपर्छ या आफ्नो नेपाल नीतिलाई परिवर्तन गर्नुपर्छ ?
— यही कारणले नै भारतले आफ्नो नीति परिवर्तन गर्ला जस्तो लाग्दैन । किनभने भारतको स्थिर परराष्ट्र नीति छ । त्यहाँ सरकार परिवर्तन भए पनि परराष्ट्र नीतिमा परिवर्तन गर्ने चलन छैन । स्थिर परराष्ट्र नीति भएकाले नेपालसँग पहिलाको जस्तो नीति छ त्यस्तै नै राखिराख्छन् । मैले पहिले नै भनिसके, नेपालमा जसको सरकार भए पनि सम्बन्ध सधै समुधुर नै रहन्छ । नेपाली जनताले बुझे जस्तो तिक्तता छैन । हामीले कुनै किसिमको भ्रम नपालौँ । जे हुन्छ सहज ढंगबाट नै हुन्छ । त्यसकारण भारत त्यसमा चिन्तित भइहाल्छ जस्तो मलाई लाग्दैन ।


० वाम सरकारप्रति भारत सरकारको दृष्टिकोण कस्तो देख्नुहुन्छ ?
— जस्तो भनेको छ त्यस्तै त नहोला । किनभने प्रजातन्त्रपछिको दोस्रो बहुमत प्राप्त के.पी. ओली नेतृत्वको सरकार हो । यो बहुमतको सरकार त छँदै छ र संसदमा पनि अविचलित छ । एमाले माओवादी गठबन्धन भए पनि एकता भइसकेको छैन । त्यसकारणले त्यहाँ पनि प्रश्न चिन्ह छ । मलाई के लाग्छ भने अहिलेको भारत भ्रमणमा प्रधानमन्त्रीले भव्य स्वागत पाउनु हुनेछ र नेपालको प्रधानमन्त्रीले राखेका कुराहरूलाई गम्भीरताका साथ लिनु हुनेछ भन्ने मलाई लाग्छ ।


० वाम सरकार बनेपछि नेपाल–भारत सम्बन्धमा के कस्तो प्रभाव परेको छ ?
—भारतमा नेपालका लागि दुई वटा विचारधारा अगाडि बढेको छ । नेपालको आन्तरिक मामिलामा अहस्तक्षेपकारी भूमिका राख्नुपर्ने, त्यसमा कसैलाई निकट र कसैलाई दुरी नठान्नुपर्ने, सबै आफ्नै हुन् भनेर छोडिदिने, प्रतिस्पर्धा हुन दिने र प्रतिस्पर्धाबाट आएको शक्तिलाई भारतले आफ्नो पक्षमा कसरी पार्नुपर्छ त्यो पार्ने एउटा यो भयो भने अर्को के छ भने यस्तो गर्दा हामीसँग सम्बन्ध राख्नेहरू कमजोर हुँदै जान्छन् । अन्य मुलुकहरू जस्तै चीन, युरोपेली मुलुकहरूले आफ्नो प्रभाव त विस्तार गर्छ । यसअर्थमा हामीसँग निकटका सम्बन्ध राख्नेहरू कमजोर हुँदै जान्छन् र पछि भारतको प्रभाव न्यून हुँदै गर्दा भारतको सीमा नेपालसँग जोडिएको हुनाले भारतलाई खतरा हुन सक्छ । त्यसैले भारतले आफ्नो भूमिका छोड्नु हुँदैन । यो दुईवटा वैचारिक धु्रवीकरण भारतमा नै छ । यसलाई नेपालले कसरी हेरेको छ त्यसमा भर पर्छ । निकट सम्बन्ध राख्नुमा सहजता पनि छ र जटिलता पनि । त्यस्तै सम्बन्धलाई औपचारिक मात्र राख्यो भने केही विषयमा सहज होला तर विभिन्न विषयमा जटिलता उत्पन्न हुन्छ । यो भारतले सोच्ने कुरा होइन, हामीले नै सोच्ने कुरा हो । भारतले भन्दा पनि नेपालले भारतसँग कस्तो भूमिका खेलेको छ त्यसमा निर्भर रहन्छ ।


० वर्तमान परिपेक्षमा नेपाल–भारत सम्बन्धलाई कुन रूपमा मूल्यांकन गर्नुहुन्छ ?
— अहिले परीक्षण समयमा छ जस्तो लाग्छ मलाई । प्रधानमन्त्री के.पी. शर्मा ओली हुनुभन्दा पहिले नै तिक्तता प्रारम्भ भएको थियो । सुशिल कोइरालाकै कालखण्डदेखि नै त्यो अवस्था सुरू भएको थियो । के.पी. ओलीजीको समयमा आएर त्यो समाप्त भयो । ओली सरकारले आफूलाई कसरी प्रस्तुत गर्छ त्यसमा भर पर्छ । भारतले आफ्नो चिन्ता आफै गर्छ । एउटा राम्रो पक्ष के छ भने प्रधानमन्त्रीको विदेश भ्रमण भारतबाट नै हुन गइरहेको छ । यो पनि एउटा रामै्र पक्ष मान्नुपर्छ । सम्बन्ध सहजता तिर गइरहेको छ तर केही भइहाल्ने भन्न सकिने अवस्था छैन ।


० नेपाल–भारत सम्बन्ध अझ सुमधुर राख्न के गर्नुपर्ला ?
— यो सरकारले मेरो गोरूको बाह्रै टक्का नगरी असल छिमेकीको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । नेपालभित्र सबैको भूमिका अहस्तक्षेपकारी हुनुपर्छ । हस्तक्षेपकारी हुनुहुँदैन । त्यो हाम्रो सार्वभौमसत्ताको लागि चुनौतीपूर्ण हुन्छ तर राष्ट्रियतालाई अमुक देशको विरूद्धमा प्रयोग गर्ने विरोधी विचारधारालाई नै राष्ट्रियता मान्ने सोचबाट आपूुलाई मुक्त गर्नुपर्छ । भारतसँग जुन सम्बन्ध रहेको छ त्यसमा कुनै दुविधा राख्नुहुँदैन ।


० प्रधानमन्त्रीको आसन्न भारत भ्रमणले दुई देशको सम्बन्धलाई अझ बलियो बनाउन कस्तो भूमिका निर्वाह गर्छ ?
— यो भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ आयाम दिनेछ भन्ने कुरामा म विश्वस्त छु । वर्तमान अवस्थामा सबैभन्दा ठूलो र सकारात्मक पक्ष नेपाल र भारत दुवै देशमा स्थिर सरकार छ । यो सरकारले गरेको निर्णय ठोस हुन्छ र यो निर्णयलाई कसैले पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । दुवै देशमा लोकप्रिय सरकार छ । यस्तो अवस्थामा एक अर्काले हातेमालो गरेर अगाडी बढ्नुपर्छ जस्तो मलाई लाग्छ ।


० यो भ्रमणपछि दुई देशबीच रहेका समस्या समाधान हुनेमा कति विश्वास गर्न सकिन्छ ?
— विश्वस्त नै हुनुपर्छ । किनभने भारत एकदम सकारात्मक छ । विगतमा भएको नेपालसँगको तिक्ततालाई भारतले धेरै टाढा छाडिसकेका छन् । त्यसकारण नेपाल–भारत सम्बन्धमा नयाँ आयाम आउने र उचाईमा पुग्नेछ ।


० विगतका दिनमा संविधानप्रति असन्तुष्ट जनाउँदै आएको भारत सरकार अहिलेको अवस्थामा त्यो असन्तुष्टि कायम नै छ ?
— त्यो दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन । यो संविधानको जे प्रक्रियाहरू सम्पन्न भइसकेका छन् त्यो प्रक्रियालाई स्वीकार गरेको छ । जस्तै निर्वाचन भयो, निर्वाचनबाट सरकार गठन भयो तर भारतबाट जारी हुने विज्ञप्तीहरूमा पनि जे विवादित विषयवस्तुहरू छ त्यसलाई पनि क्रमिक रूपमा सम्पन्न गर्दै जानुमा नै उपयुक्त हुन्छ भन्ने कुरा त स्पष्ट गर्दै आइसकेको छ ।


० भारतले मधेशी, आदिवासी, जनजातिको मागअनुसार संविधान संशोधन गर्ने सल्लाह दिन्छ ?
— भारतले सल्लाह दिने भन्दा पनि प्रधानमन्त्री आफैले नै गर्नु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।


० अन्त्यमा, मधेशको राजनीति कतातिर जाँदैछ ?
— मधेशमा केही कुराहरूले गर्दा दुविधा उत्पन्न भयो । फोरम, राजपा सरकारमा जाने, सरकारमा जानु पनि राम्रो पक्ष हो । तर सरकारमा जानलाई दुवै पार्टीको गठबन्धनले गर्दा नै भएको हो । दुवै पार्टीका नेताहरूले कुनै समय भन्नुभएको थियो कि फोरम र राजपा चुनावपछि एकीकृत हुन्छ तर पछि गठबन्धन मात्र भयो र एकीकरणको चर्चा भएको छैन । यसले गर्दा मधेशी जनतामा दुविधा र निराशा उत्पन्न भएको छ । तर एउटा कुरा स्पष्ट के बुझ्नुपर्छ भने माग पूरा नभएसम्म मुद्दा कायम नै छ, नेतृत्व त आउने जाने हो । यदि यो नेतृत्वले पनि सहज निकास दिन सकेन भने भोलीका दिनमा अर्को नेतृत्व स्थापित हुन्छ तर मुद्दा कायम नै रहन्छ । जनसंख्याको हिसाबले प्रदेश २ सबैभन्दा बढी जनघनत्व भएको प्रदेश हो । यो हिसाबले पनि सबैभन्दा धेरै युवाशक्ति प्रदेश २ मा नै छ । युवाशक्ति नै आजको सबैभन्दा ठूलो पूँजी हो । यति ठूलो पूँजी हुँदाहुँदै पनि निराश हुनुपर्ने कारण नै छैन ।


प्रकाशित मिति : २०७४ साल चैत्र १६ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com