दिल्लीमा रेड कार्पेट (सम्पादकीय)

नेपालमा नयाँ प्रधानमन्त्रीको नियुक्तिभन्दा उनको भारत भ्रमणले राजनीति धेरै तरंगित हुने गरेको छ । नेपालमा वर्षेनि जस्तो प्रधानमन्त्री फेरिने गरेकाले सम्बन्ध सुधारको नाममा हरेक प्रधानमन्त्रीले भारत भ्रमण गर्नै पर्ने परम्परा रहेको छ । यहि परम्पराको निरन्तरतास्वरूप प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो विदेश भ्रमण आजबाट नयाँ दिल्लीबाटै गर्दैछन् ।


प्रधानमन्त्री ओलीले भारत भ्रमणमा निस्कनुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरू र विज्ञहरूसँग भ्रमणमा उठाउनुपर्ने विषयका बारेमा परामर्श गरेका छन् । परामर्शका क्रममा चर्को रूपमा उठेको विषय भनेको राष्ट्रहितविपरीत सम्झौता नहोस् भन्ने छ । यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले राष्ट्रहितविपरीत सम्झौता नहुने र हीनताबोध हुने गरी कुनै काम नगर्ने स्पष्ट पारेका छन् ।
वास्तवमा ओलीले भनेजस्तै हामीले हाम्रो ‘पोजिसन’ स्पष्ट गर्न सक्ने हो भने भारतसँग मात्र होइन, अन्य देशसँग पनि शीर उचो राखेर कुराकानी गर्न सक्छौँ भन्ने अर्थमा लिन सकिन्छ ।


भारत भ्रमणका क्रममा नेपालका पूर्वप्रधानमन्त्रीहरूले गरेका कतिपय सन्धि–सम्झौता राष्ट्रहितविपरीत भएको भन्ने एकातिर त्यसको राष्ट्रियताको नाममा विरोध गरिने परिपाटी छ भने अर्कोतिर त्यहीं सन्धि–सम्झौतालाई राष्ट्रियहित अनुकूल हेर्ने गरिन्छ ।
एउटै विषयलाई दुईथरि आँखाले हेर्ने प्रवृत्तिका कारण नै हरेक प्रधानमन्त्रीको भारत भ्रमणलाई शंकाको दृष्टिले हेर्ने गरिएको चलन नेपालमा पुरानै हो । हो, नेपालले भारतसँग गरेका अधिकांश सन्धि–सम्झौता कार्यान्वयनमा आउन सकेका छैनन् । भारतले तराईमा निर्माण गरिदिने भनेको हुलाकी राजमार्ग २५ वर्षदेखि अलपत्र छ । निर्माणका लागि ठेक्का लागिसकेका सडक पनि वर्षौंदेखि अलपत्र पारिएका छन् । त्यसैले प्रधानमन्त्रीले यसपटक नयाँ सम्झौता गर्नु भन्दा पनि पुराना सम्झौताको ‘टाइमलाइन’ तोकेर कार्यान्वयन गर्ने प्रतिबद्धताका लागि भारतलाई मनाउन सके भने उनको भ्रमण सफल मानिनेछ । भारतले सन् १९९६ मा भएको महाकाली सन्धियताका सबै परियोजना कार्यान्वयन गर्ने प्रस्ताव पठाएको छ । ती परियोजना कार्यान्वयनका लागि औपचारिक रूपमै अग्रसरता देखाउने बताएको छ । यो नेपालका लागि राम्रो अवसर हुन सक्छ । सन्धि–सम्झौता भएका तर कार्यान्वयनमा जान नसकेका परियोजना कार्यान्वयन गराउन नेपालले गर्नुपर्ने तयारीमा सरकारको ध्यान जानुपर्छ । नेपालका प्रधानमन्त्रीले गर्ने भारत भ्रमण विवादमा पर्नुको पछाडि हाम्रो तयारी कमजोर हुनु पनि हो । हामीले उठाउन चाहेको विषय र हामीले खोजेको विषयमा हाम्रा प्रधानमन्त्रीहरू नै अलमलमा पर्ने गरेको अनुभव हामीसँग छ ।


प्रधानमन्त्रीको भारत भ्रमण हुनु भनेको नेपालका लागि अवसर हो । यो अवसरको प्रधानमन्त्री ओलीले सदुपयोग गर्नुपर्छ ।
मधेशमा भएको डुबानका विषयमा भारतसँग कुरा हुनुपर्ने सर्वत्र चासोको विषय बनेको छ । पूर्वप्रधानमन्त्रीहरूले पनि मधेशको डुबान समस्या समाधानका लागि भारतसँग कुरा राख्न सुझाव दिएका छन् । मुलुकको सबै तह तप्काबाट प्रधानमन्त्रीलाई यस्तो सुझाव प्राप्त भएको छ । त्यसैले भारत भ्रमणका क्रममा ओलीले मधेशको डुबान समस्यालाई उठाउने मात्रै होइन कि भारतका तर्फबाट समस्या समाधानको ठोस पहल हुने सुनिश्चितता लिएर स्वदेश फर्कनु पर्छ ।


नेपाल–भारतबीच जति नजिकको सबन्ध छ त्यही अनुसारका समास्याहरू पनि छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमण यस्तो अवस्थामा भइरहेको छ, जतिबेला भारत नेपालप्रति अत्यन्तै सकारात्मक देखिएको छ । त्यसैले भ्रमणलाई फलदायी कसरी बनाउन सकिन्छ भन्ने प्रधानमन्त्रीमै निर्भर गर्छ र त्यो भ्रमण पछि नै थाहा हुन्छ ।


प्रकाशित मिति : २०७४ साल चैत्र २३ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com