महिलाहरूको क्षमतामा होइन, अवसरको प्राप्तिमा समस्या छ : सुनिता साह

सदस्य, मधेश प्रदेश समिति, संघीय समाजवादी फोरम नेपाल

० अहिले राजनीतिमा महिलाको अवस्था कस्तो पाउनुहुन्छ ?
— समग्रमा राजनीतिमा महिलाको अवस्था भन्नुपर्दा महिलालाई कानूनले दिएको ३३ प्रतिशत तर व्यवहारमा लागू नभएको हामी अनुभव गरिरहेका छौं । अहिलेपनि ३३ प्रतिशत ल्याउने र बराबरीमा सम्मान दिने भनिएपनि व्यवहारमा अहिलेसम्म पुरा गरिएको छ जस्तो हामीलाई लाग्दैन ।


० नयाँ संविधानले महिलाको समानुपातिक समावेशिताको व्यवस्था गरेपनि राजनीतिक दलहरूले महिलालाई आरक्षण दिएको या समावेश गरेको छैन ?
— अहिले महिलालाई समानुपातिक समावेशिता दिनु भनेको उखान जस्तै लाग्छ । आरक्षण किन चाहियो, हामीलाई त प्रत्यक्ष र बराबरीमा चाहिएको हो । जनसंख्याको आधारमा हेर्दा पनि पुरूषभन्दा महिला नै धेरै हुनुहुन्छ । हामी आरक्षण किन लिने ? के हामीसँग सक्षम महिलाहरू छैनन् र ? पक्कै पनि हुनुहुन्छ । कोटा पुरा गर्नका लागि मात्र गरेको जस्तो लाग्छ । महिलालाई समावेशी गर्ने तरिकामा पनि मेरो चित्त बुझेको छैन । यसका लागि प्रत्यक्षमा नै महिला र पुरूष बराबरी गराउनुपर्छ । आगामी दिनहरूमा यसप्रति ध्यान जाओस् भन्ने हाम्रो आग्रह रहेको छ ।


० महिलालाई समावेशीकै लागि मात्र समावेश गराउने क्रम रह्यो, निर्वाचनकै क्रममा पनि तपाईकै पार्टीले महिलालाई खासै टिकट दिएन, किन यस्तो भएको होला ?
— पहिलो चरणमा असक्षम, अयोग्य र हाम्रो पुरूषवादी समाज रहेकोले त्यसमा महिलालाई राजनीतिमा समावेश गर्न अलि असहज नै भएको होला । चुनावमा पनि प्रत्यक्षमा प्रायः सबै पार्टीबाट पुरूषलाई नै प्राथमिकता दिएको पाइयो । उपमेयरमा महिलालाई बाध्यतावश दिएको हो । महिलाहरू प्रमुखको पदमा सक्षम भए पनि उहाँहरूको सोच नै आफैमा बराबरीमा हुनुपर्छ भन्ने देखिएन । त्यसका लागि उहाँहरू उदार हुनुपर्छ । अबको दिनमा महिला प्रमुख र पुरूष उपप्रमुख हुनुपर्छ । नभए त बराबरी नै भएन नि । कानुनमा त जुन क्षेत्रमा महिला सक्षम, योग्य छन् उसैलाई प्राथमिकता दिने भन्यो, तर आरक्षण बाहेक अन्य ठाउँहरूमा महिलालाई दिन चाहेनन् । यसबाट पनि अन्याय भएको जस्तो आभाष भएको छ । महिला र पुरूष एकै गाडीको दुई पांग्रा भन्छन् । यदि दुईवटा पांग्रा नै समान भएन भने गाडी कसरी चल्छ, त्यो पनि हेर्नुपर्ने हुन्छ । त्यसकारण अबका दिनहरूमा हरेक क्षेत्रमा प्रमुख पदमा महिला र पुरूष बराबर होस् । यसरी नै समानुपातिक समावेशिता हुन्छ र देश पनि समृद्ध बन्छ । अर्को कुरा वंशअंशमा छोरासरह छोरी कानुनमा भनिएपनि व्यवहारमा भएको पाईदैन । जसरी अहिले शौचालय बनाएन भने सेवा सुविधाबाट वञ्चित गरिनेछ भनेर कानुनमा उल्लेख भएको छ त्यसरी नै छोरासरह छोरीको पनि वशंअंशमा समान अधिकार गरिनुपर्ने भनेर कानुनमा उल्लेख भयो भने छोरा र छोरी, महिला र पुरूष समान हुन्छ ।


० महिला सशक्तिकरणका लागि के गर्न आवश्यक छ ?
— महिला सशक्तिकरणको लागि सर्वप्रथम त शिक्षा नै अति आवश्यक हो । सरकारबाट छोरीले आफुले चाहेजतिको निःशुल्क शिक्षाको व्यवस्था गरिनुपर्दछ । जो पढेलेखेका छैनन् उनीहरूको लागि पनि शीपमूलक, आर्यआर्जनमूलक कार्यक्रमहरू ल्याउँदा उनीहरू पनि सक्षम हुन सक्छन् । नेपालको आर्थिक अवस्था एकदम जर्जर अवस्थामा छ । जसले गर्दा महिला हिंसा, घरेलु हिंसा आदिको बारेमा हामीले दैनिक सुन्दै आइरहेका छौँ । त्यसको निदान गर्नका लागि महिलालाई शिक्षा, आर्थिक र राजनीतिमा पनि विभिन्न कार्यक्रम ल्याएर सक्षम बनाउनमा जोड दिनुपर्छ ।


० प्रदेश २ को सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ भन्ने योजना ल्याएको छ, यसलाई कुन रूपमा लिनुभएको छ ?
— अहिले विभिन्न माध्यमहरूबाट महिला सशक्तिकरणका कार्यक्रमहरू ल्याउनुभएको छ । यो एकदम राम्रो छ तर कतिपय कार्यक्रमहरू सच्याउँदा राम्रो हुन्छ । जस्तै बेटी बचाऊ, बेटी पढाऊ अभियान त दिनुभयो तर जब बेटी नै बाच्न सक्दैन भने को पढ्ने ? त्यसकारण पहिले त बेटी बचाउनुपर्यो । सुरक्षा दिनुपर्यो । त्यो भने भैरहेको छ जस्तो लाग्दैन । यदि सुरक्षा कडा हुन्थ्यो भने दिनप्रतिदिन महिला हिंसा, भ्रुण हत्या, जिउँदै जलाइएका जस्ता घटना सुन्न पर्दैनथ्यो । त्यसकारण सरकारबाट महिला सुरक्षा कडा भएको जस्तो लाग्दैन । त्यसकारण पहिले बचाउनुपर्यो त्यसपछिका नीतिहरू लागू गर्न सके राम्रो हुन्थ्यो ।


० ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सफल बनाउन के–के गर्नुपर्ने हुन्छ ?
— सर्वप्रथम त सरकारले यो अभियानलाई सफल बनाउनका लागि समाजमा रहेका कुरिती, विकृत्ति र विसंगतिहरूलाई अन्त्य गर्नुपर्छ । समाजमा विद्यमान रहेका कुप्रथाहरू जसले गर्दा महिला हिंसा हुने गर्दछ, त्यसलाई रोक्न कानूनको प्रयोग कडाईका साथ हुनु आवश्यक छ । अर्को कुरा, समाजमा सबभन्दा डरलाग्दो अवस्था के छ भने लागूऔषध । आफ्नै गाउँघरमा छोरी÷बेटीहरू सुरक्षित महसुस गरिरहेको अवस्था छैन । जाँडरक्सी पनि समाजको एउटा चुनौतीको रूपमा रहेका छन् । यसलाई पनि नियन्त्रण गर्नुपर्छ ।


० तपाइँ फोरम नेपालका मधेश प्रदेश समिति सदस्य हुनुहुन्छ, प्रदेश २ को समृद्धिका लागि के गर्नुपर्छ ?
— अहिले प्रदेश २ मा फोरम र राजपा नेपालको संयुक्त सरकार छ । त्यो सरकारले सार्वजनिक गरेको प्रतिबद्धता र सयदिने कार्ययोजना अत्यन्तै सराहनीय छ । तर, अहिलेको अवस्थामा के देखिएको छ भने सरकारका मन्त्रीहरू र मुख्यमन्त्री आफै पनि ऐन कानूनहरू निर्माण गर्नुभन्दा सभा, गोष्ठी र उद्घाटन समारोहहरूमा व्यस्त देखिनु भएको छ । सरकारले आफूले ल्याएको कार्ययोजना अनुसार प्रतिबद्ध भएर लागू गर्नुपर्छ । त्यसपछि मात्रै प्रदेशको समृद्धि सम्भव छ । प्रतिबद्धता र कार्ययोजना जतिसुकै राम्रो भएपनि त्यसको कार्यान्वयन भएन भने त्यसको कुनै मतलब नै हुँदैन ।


प्रकाशित मिति : २०७४ साल चैत्र २३ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com