प्रधानमन्त्रीको भ्रमणमा कुनै सम्झौता भयो भने आश्चर्य हुँदैन, श्यामानन्द सुमन

पूर्वराजदूत तथा परराष्ट्र मामिलाका जानकार

सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको बेल्हीमा वि.सं. २००० फागुन ८ गते जन्मिएका ७४ वर्षीय श्यामानन्द सुमन पूर्वराजदूत तथा परराष्ट्र मामिलाका जानकार हुन् । उनले प्राथमिक उच्च माध्यमिकको शिक्षा भारतको कुनौलीमा हासिल गरेका छन् भने स्नातक मधुबनीको बिहार युनिभर्सिटीबाट गरेका हुन् । यस्तै टियुबाट प्रथम स्नातकोत्तर र छात्रवृत्तिमा दोस्रो स्नातकोत्तर अमेरिकाबाट भूगोल शास्त्रमा गरेका हुन् । यस्तै, युकेबाट डिप्लोमा इन्टरनेशनल इकोनिमिक्समा गरेका हुन् । उनी पराष्ट्र सेवामा वि.सं. २०३३ सालमा प्रवेश गरेका थिए भने वि.सं. २०६२ देखि २०६८ सम्म कतारका लागि नेपाली राजदूतको रूपमा कार्यरत् थिए । त्यसपछि तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव परराष्ट्रमन्त्री हुँदा उनको सल्लाहकारको रूपमा कार्य गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको सन्दर्भमा परराष्ट्र मामिलाका जानकार सुमनसँग मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश :

 

० प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलाई कसरी लिनु भएको ?

— प्रधानमन्त्री केपी ओलीको भ्रमणलाई मैले ‘गुडविल एण्ड ट्रस्ट बिल्डिङ्ग’को रूपमा लिएको छु । हुन त यसलाई राजकीय भ्रमण भनिएको छ तर यो ‘गुडविल’ भ्रमण नै हो । यस भ्रमणले दुई देशबीच विश्वासको वातावरण अझ बढाउनेछ ।


० प्रधानमन्त्रीको भारत भ्रमणको उद्देश्य चाँही के होला ?
— यसको उद्देश्य भनेको दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने नै होला । मधेश आन्दोलनका बेला नाकाबन्दीदेखि लिएर जुन किसिमको स्थिति सिर्जना भएको थियो त्यसले एउटा असहज वातावरण बनाएको थियो । त्यसको विश्लेषण पनि गरिएको छ र यसका विभिन्न कारणहरू छन् । त्यसैले, प्रधानमन्त्री ओलीको यो भ्रमणले दुबै देशका शीर्ष नेताहरूबीच एउटा ‘गुडविल’ निर्माण गर्छ । यसले गर्दा एक अर्कामाथि विश्वास गर्नसक्ने वातावरण तयार हुनेछ । त्यसैले यो भ्रमण फलदायी नै हुनेछ ।


० वस्तुतः केपी ओली र उनले चलाएको सरकार तथा समग्रमा वाम गठबन्धन चीन परस्त रहेको मानिन्छ, यस अर्थमा पहिले भारतको भ्रमण गरेर ओलीले आफूलाई भारत निकट रहेको चिनाउन थालेका हुन कि ?
— होइन, त्यो हिसावले हेर्नु हुँदैन । यो आजदेखि होइन, २००७ सालदेखि या त्योभन्दा पनि पहिलादेखि नेपालका प्रधानमन्त्रीहरूले भारतको भ्रमण गर्दै आएका छन् । त्यसैको यो निरन्तरता हो । अहिले खास गरेर नेपाल र भारतबीचमा जुन किसिमको वातावरण बनेको छ, त्यसका लागि यो भ्रमण उपयोगी हुन्छ भनेर पहिला भारत भ्रमण गर्नु लागेका हुन । त्यसमा अर्को आयाम पनि के छ भने भारतसँगको सम्बन्धमा जुन किसिमका खाडलहरू आए, त्यसलाई पुर्नु पनि पर्छ । नेपालले अहिले जुन नीति ल्याएको छ समृद्धिको, त्यसमा भारत सहयोगी हुनसक्छ । यो नेपालले पनि महसुस गरेको विषय हो । सबैलाई थाहा भएकै कुरा के हो भने केपी ओली, जुन वाम गठबन्धनबाट जितेर आएका छन्, त्यो बेला पनि भारतका प्रधानमन्त्रीले फोन गरेर बधाई पनि दिएका थिए । त्यसैले, भारततर्फबाट पनि त्यतिकै महसुस भएको छ कि नेपालसँग राम्रो सम्बन्ध होस् भनेर । आगामी दिनमा दुवै मुलुक एकअर्कालाई सहयोगी बनोस् र सद्भाव राखोस् भन्ने नै हो ।


० नेपालका प्रायः सबै प्रधानमन्त्रीहरूले भ्रमणका लागि पहिलो पटक भारत नै रोज्नुको कारण के हो ?
— दुनियाँमा सबै मुलुकसँग एकैनासको सम्बन्ध हुँदैन । नेपाल र भारतबीचको जुन सम्बन्ध छ त्यो ‘मल्टिफेसेटेड’ हो । एकै किसिमको एउटै आयाममा होइन, यसका विभिन्न आयामहरू पनि छन् । वैदिककालदेखि अहिलेसम्म भारतसँग नेपालको सम्बन्ध छ त्यो अन्य कुनै मुलुकसँग नेपालको छैन र सम्भवतः आगामी दिनमा पनि हुँदैन । त्यसकारणले पहिला भारत जाने र पछि अन्य मुलुक जाने गरिएको छ । चीन पनि नेपालका लागि महत्वपूर्ण नै हो । तर, मान्छेहरूले भन्छन् कि उत्तर र दक्षिणसँग ‘ब्यालेन्स’ गर्नुपर्छ । त्यसमा म विश्वास राख्दिँन । दुई व्यक्ति, दुई परिवार अथवा दुई मुलुकको जुन सम्बन्ध हुन्छ त्यो सबैसँग एकनाशको हुनसक्दैन । भारतसँग जुन किसिमको सम्बन्ध छ त्यो हिसाबले भारत नेपालको सबभन्दा नजिकको मित्र रहेको छ ।


० प्रधानमन्त्रीहरूले पहिले चीन वा अन्य देशको भ्रमण ग¥यो भने त्यसको असर नेपाल–भारत सम्बन्धमा पर्छ ?
— ‘डिप्लोमेटिकली’ त्यसलाई असर मान्न सकिँदैन । तर, एउटा के मान्यता रहेको छ भने सम्बन्ध त्यसले पनि देखाउँछ । को कसलाई कहिले भेट्यो यो सम्बन्धको एउटा राम्रो कुरा हो । त्यो भित्री कुरा हो, त्यसले विश्वास बढाउन धेरै नै मद्दत गर्छ ।


० पहिले भारत भ्रमण गर्दा नै नेपाल–भारत सम्बन्ध दरिलो हुन्छ भन्ने मनोविज्ञानमा कति दम छ ?
— यो मनोविज्ञानमा त पक्कै पनि दम छ । यसले गर्दा विश्वास बनाउन र नजदिकीपना पनि देखाउँछ । यहाँ मात्रै होइन, अन्य मुलुकहरूमा पनि यस्तै किसिमले हुन्छ । ‘डिप्लोमेटिकली’ होला वा नहोला त्यो आफ्नो ठाउँमा छ, तर यो मनोविज्ञानले नजिक ल्याउँछ । त्यो हिसावमा यसलाई सकारात्मक रूपमा लिनुपर्छ । नेपालका प्रधानमन्त्रीको पहिलो भ्रमण भारत हुनु राम्रो कुरा हो, यसमा कुनै नकारात्मकता छैन । यस्तोमा सकारात्मकको स्तर उच्च हुन्छ ।


० प्रसंग फेरि प्रधानमन्त्रीको भारत भ्रमणकै गरौं, यसपटक प्रधानमन्त्रीको भ्रमणको एजेन्डा के–के हुनुपर्छ ?
— भ्रमणको एजेन्डाका बारेमा प्रधानमन्त्री आफैले भनिसकेका छन् । भ्रमणको एजेन्डामा कुनै नयाँ विषय आउँदैन, नयाँ किसिमका सहमति वा सम्झौताहरू हुँदैन भन्ने प्रधानमन्त्रीको भनाइ छ । पहिलेदेखि भइरहेको पाइपलाइनमा रहेका परियोजनाहरू अथवा पहिला भएका सहमति लगायतका कुराहरू छन्, त्यसलाई नै फलोअप गर्नुपर्ने स्थिति देखिएको छ, नेपालको सन्दर्भमा । त्यसपछि अगाडि बढ्नुपर्छ । त्यसैले, यो भ्रमण उपलब्धीपूर्ण नै हुनेछ । अहिलेको भ्रमणलाई राजकीय भ्रमण भनिएको छ, तर राजकीय भ्रमण हुँदा कुनै न कुनै किसिमको समझारी वा सम्झौता हुने गरेको छ । केही भइहाल्यो भने त्यो आश्चर्यको कुरो मान्नु हुँदैन । किनभने यो राजकीय भ्रमण हो ।


० प्रधानमन्त्री सम्बन्धलाई सुमधुर बनाउन मात्र भारत जान लागेका हुन कि अरू पनि केही कारण छ ?
— दुई देशबीच सम्बन्ध चिसिदै गएको छ भन्ने कुरा कारण नै छ्रैन । सम्बन्ध जबसम्म सुधार हुँदैन तबसम्म अरू किसिमका सहकार्य हुन सक्दैन । विश्वास बलियो नभएसम्म हुँदैन । भित्र एउटा कुरा बाहिर अर्को कुरा गरेर हुँदैन । दुईटै प्रधानमन्त्रीहरूको वान–टु–वान वार्ता पनि पक्कै होला । त्यसमा एक अर्कामाथि विश्वास गर्न सक्ने वातावरणको निर्माण पक्कै हुन्छ । अहिले नेपालमा चुनाव भएर जुन सरकार गठन भएको छ त्यो स्थायी रूपमा पाँच वर्षका नै भएको मान्नुपर्ने हुन्छ । यो सरकारसँग सहकार्य गर्दा भारतलाई पनि सजिलो हुन्छ । पहिला कस्तो थियो भने ६ महिना हो कि, ९ महिना हो, वा एक वर्षका लागि हो ठेगानै थिएन । अनि के कुरा गर्ने ? किनभने केही कुरा ग¥यो भने भोली पर्सी अर्को सरकारको निर्माण हुनथ्यो । त्यसैले त्यति विश्वासको वातावरण बनेको थिएन । अब पाँच वर्षका स्थायी सरकार आएको हो । नेपालको चाहना पनि यही हो कि सबभन्दा राम्रो सम्बन्ध भारतसँग होस् । भारतको सहकार्य भएन भने नेपालको प्रगतिमा धेरै अप्ठ्याराहरू आउन सक्छ ।


० अहिलेको सरकारसँग दुई तिहाईभन्दा बढीको बहुमत छ र यो सरकारले पाँच वर्षसम्म काम गर्न सक्ने देखिएको छ । यसरी हेर्दा प्रधानमन्त्री ओलीको यो भ्रमण दीर्घकालीन रूपमा फलदायी हुनसक्छ भन्ने विश्वास गर्ने ठाउँ छ ?
— एकदम विश्वास गर्ने ठाउँ छ । म त यो भ्रमणबाट एकदम आशावादी छु । यसपटकको भ्रमणमा कुनै खासै प्रोजेक्ट नआउँला, नयाँ सम्झौता नहोला त्यो अर्कै कुरा हो । तर, सम्बन्ध यस्तो बन्छ कि त्यो दीर्घकालसम्म जाने नै हुन्छ । एकअर्कामाथि विश्वासको वातावरण भयो भने नेपाल समृद्धि हासिल गर्न र भारतको तर्फबाट विभिन्न किसिमका सहयोगहरू आउने छ ।


० नेपाल–भारतबीच जति घनिष्टताको सम्बन्ध छ, त्यति नै बेलाबखतमा सम्बन्धमा उतार–चढाव पनि आइरहन्छ, के कारणले यस्तो भएको हो ?
— आफ्नै गाउँघर वा घरकै कुरा हेर्दा जति घनिष्टता रहन्छ आफ्ना सदस्यहरूबीचमा त्यो हुँदाहुँदै पनि कहिले काँही दूरी बढ्न सक्छ । त्यसले गर्दा विश्वासमा अलिकति ह्रास आउँछ । तर, अहिलेको जुन अवस्था देखिएको छ यो स्वास्थ्यवद्र्धक नै मान्नुपर्छ । जति नजिकको सम्बन्ध हुन्छ, बेलाबखतमा त्यति उतारचढाव भइरहन्छ । जस्तै, बंगलादेश, भूटान, पाकिस्तान वा अन्य मुलुकसँग त्यति नजिककोसम्बन्ध नभएकोले त्यति धेरै सम्बन्धमा उतार चढाव आउँदैन ।


० नेपालमा वाम गठबन्धनको सरकार बनेपछि भारतको रणनीति फेरिएको हो?
— होइन, होइन । भारतमा पनि के धारणा छ भने भारत र नेपालबीच सम्बन्ध दुई–तीन किसिमले बुझ्नुपर्ने हुन्छ । जति नेपाल र भारतको सम्बन्धमा सरकार–सरकार, नागरिक–नागरिक विभिन्न किसिमका ट्रयाकहरू छन् । वाम गठबन्धन हुँदैमा भारतले अर्कै किसिमको रणनीति अपनाउँला, राष्ट्रलाई नराम्रो गर्ला, मानवअधिकारको हनन् होला लगायतका विभिन्न प्रकारका कुराहरू भइरहेको, जसमा सत्यता छैन । त्यो लाइनमा हाम्रो वाम गठबन्धन पनि छैन । हुन त माक्र्सवादी, लेनिनवादी भन्छन्, त्यो हुँदा पनि आफ्नो माटो सुहाउँदो नेपालमा हुँदैन । अहिलेको सरकारले राम्रै किसिमले चलाउला र जनताको भावना पनि बुझिरहेका छन् नि । यसपटकको चुनावको परिणामबाट के बुझ्न सकिन्छ कि वाम गठबन्धनले जथाभावी गर्दैन । यो सरकारले नेपाली जनताको हक हितमै काम गर्छ ।


० भारतीय प्रधामनन्त्री नरेन्द्र मोदी आफै कम्युनिष्ट विरोधी हुनुहुन्छ, यस अर्थमा उहाँले नेपालको कम्युनिष्ट सरकारसँग कसरी हातेमालो गर्न सक्नु हुन्छ ?
— कम्युनिष्टको विचार र क्रियाकलाप के कस्तो छ त्यसमा पनि निर्भर गर्छ । तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफै एउटा विकासप्रेमी पनि त हुनुहुन्छ । त्यसैले, वाम गठबन्धन वा कम्युनिष्ट हुँदैमा के के होला भन्ने मोदीजी ठान्नुहुन्न । उहाँको नारा नै हो नि ‘सब का साथ, सब का विकास’ । वास्तवमा भन्ने हो भने त्यो पनि कम्युनिष्टको एउटा फिलोस्पी नै हो नि । फिलोस्पीको हिसावले ‘सब का साथ, सब का विकास’ भनेको त्यहीं त हो नि । नेपालमा पनि जो कम्युनिष्टहरू छन्, त्यहाँ पनि त्यहीं भनिएको छ नि । जनताको चाहनाअनुसार, जनताले के चाहेको छ त्यसै किसिमको सेवा हामीले दिनुपर्छ भन्ने वाम गठबन्धनको पनि चाहना हो । त्यसैले, कम्युनिष्ट आउँदैमा के–के नहोला, मोदीजीले कम्युनिष्टलाई कसरी विश्वास गर्नुभएको छ ती कुराहरू हुँदैन । जस्तै, रूस र चीन कम्युनिष्ट हो तर तिनीहरूको भारतसँग कस्तो राम्रो सम्बन्ध छ । शासन व्यवस्था नै हेर्ने हो भने चीन (हार्डकोर कम्युनिष्ट) र भारत (हार्डकोर डेमोक्रेटिक)को धेरै फरक छ ।


० भारतका लागि नेपाल कति महत्वपूर्ण छ ?
— जति नेपालका लागि भारत महत्वपूर्ण छ त्यति नै भारतका लागि नेपाल महत्वपूर्ण छ । किनभने भारतको पनि सुरक्षा चासो छ नि त । भारत त्यत्रो विशाल मुलुक छ, तीन तिरबाट नेपाललाई छेकेको हुनाले सीमा क्षेत्रमा पनि चासो छ । चासो मात्रै होइन, भारत कसरी आफ्नो सुरक्षा प्रणालीलाई उपयुक्त राख्न सक्छ भन्ने कुरामा नेपालको सहयोगको पनि आवश्यक पर्छ । त्यो एकदमै महत्वपूर्ण हो । सुरक्षाका कुरा, भारतको विकासका कुरा पनि यी कुराले महत्व राख्छ ।


० नेपालको विकासमा भारतको योगदानलाई शब्दमा वर्णन सकिन्न तर भारत सरकारबाट सञ्चालित थुप्रै परियोजनाहरू सुस्त गतिमा चलिरहेको छ, किन यस्तो भएको होला ?
— यो समस्या अहिलेको मात्र होइन, पहिलादेखि नै हुँदै आएको छ । नेपालमा भारतीय परियोजनाहरू सुस्त गतिमा चलिरहेको छ, समयमा पूरा हुँदैन । ठेकेदार आउँछ र फेरि भागेर जान्छ, विभिन्न किसिमका समस्याहरू छन् । यसका लागि दुवैतिरबाट कमी कमजोरी भएका छन् । आइन्दा दुवै सरकारले राम्रोसँग निगरानी गरी यस्ता ढिलासुस्तीलाई रोक्नु पर्छ । चीनकै कुरा गरौं, चीनले दुई वर्षको परियोजना दिन्छ र समयमा नै पूरा गर्छ तर भारतको परियोजना समयमा पूरा हुँदैन । यसमा भारत र नेपाल दुवै मुलुकका कर्मचारी जिम्मेवार हुनुपर्छ । भारतीय परियोजनाहरू समयमा पूरा गर्नका लागि विस्तृत रूपमा छलफल नै गर्नुपर्छ ।


० अन्त्यमा, वाम गठबन्धनको सरकारले भारतसँग अब कस्तो किसिमको सम्बन्ध बनाउनुपर्छ ?
— अहिलेको सरकारले स्थायित्व पाएकोले अबका दिनमा भारतसँग विश्सवनीयताको आधारमा सम्बन्ध कायम गर्नुपर्छ । नेपाल वा भारतका प्रधानमन्त्रीले ओजपूर्ण हिसावले कुराहरू गर्नुपर्छ । र, यो ओजपूर्ण कुराहरू मेन्टेन गर्नुपर्ने हुन्छ । सन् १९५० को सन्धिदेखि लिएर अहिलेसम्मका नेपाल–भारत सम्बन्धलाई कसरी राम्रोसँग सञ्चालन गर्ने भनेर प्रबुद्ध बौद्धिक समूह (इपीजी) पनि गठन भएको छ । त्यो इपीजीले एउटा दस्तावेज तयार गर्न लागेको छ र त्यस दस्तावेजमा दुवै पक्षले सहमति जनाएको मैले जानकारी पाएको छु । यो कुराहरूले गर्दा पनि आगामी दिनमा निश्चय नै राम्रो किसिमको फलदायी परिणाम दिनेछ ।

 

प्रकाशित मिति : २०७४ साल चैत्र २३ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com