प्रमको भारत भ्रमणबाट अपेक्षा (सम्पादकीय)

प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमण यति बेला नेपाल र भारतमा सर्वाधिक चासो र चर्चाको विषय बनेको छ । प्रधानमन्त्रीको भारत भ्रमणको एक साता बित्न लाग्दासमेत काठमाडौंका विज्ञहरूबीच चर्चा परिचर्चा गर्ने क्रम रोकिएको छैन । सम्भवतः प्रधानमन्त्रीको यो भ्रमणले जति चर्चा पाएको छ शायद यसअघिका प्रधानमन्त्रीहरूले गरेको भ्रमणको त्यति चर्चा भएको छैन ।


यद्यपी प्रधानमन्त्री ओलीको भारत भ्रमण यथार्थमा उनको राष्ट्रवादी छविमाथि परीक्षाको घडी पनि भएको छ । भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्रीले संघीय संसदको बैठकमा भारत भ्रमणको क्रममा देशको शीर निहुरिने काम नगर्ने प्रतिवद्धता जनाउनु नै प्रधानमन्त्रीहरूको भारत भ्रमणप्रति आशंका उब्जिएको अर्थमा लिन सकिन्छ । आखिर किन हरेक प्रधानमन्त्रीहरूको भारत भ्रमणलाई शंकाको दृष्टिले हेर्ने गरिन्छ ? यसले के देखाउँछ भने प्रधानमन्त्रीहरू भारत वा अन्य कुनै मुलुकको भ्रमणमा जाँदा कुटनीतिक रूपमा कमजोर नै रहन्छन् ।


मुलुकमा लोकतन्त्र स्थापनापछि प्रधानमन्त्रीले पूर्ण अवधि काम गर्न नपाउँदा मुलुक झन् कमजोर अवस्थामा पुगेको देखिएको छ । निकट विगतको इतिहास हेर्दा अहिले आएको यो अवसर मुलुकभित्र मात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले पनि महत्वपूर्ण छ । कूटनीतिलाई घरेलु नीतिकै विस्तारका रूपमा लिइन्छ । त्यसकारण नेपाल सरकारले मुलुक र मुलुकबासीको हितमा अघि सारेका स्वार्थको यस भ्रमणका क्रममा संयोजन हुन सक्यो भने त्यो यथार्थमै सफल ठानिनेछ ।


यसपटक प्रधानमन्त्री ओलीले भारत भ्रमण केही माग्नभन्दा पनि सम्बन्ध विस्तारको उद्देश्य रहेको सन्देश दिइसकेका छन् । अहिलेको समय भनेको भारतसँग समस्या सुल्झाएर भन्दा पनि व्यापार व्यवसाय बढाई समृद्धितर्फ जाने हो । त्यसका लागि नेपालले समुचित नीति लिई अघि बढेमा दुई देशबीचको व्यापार घाटासमेत कम गराउन सकिन्छ । विगतमा १९५० को सन्धि पुनरावलोकन वा परिमार्जनका विषयलाई भारतले सुन्नै नचाहेको स्थिति पनि परिवर्तन भइसकेको छ । दुई देशबीच गठन भएको प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले समेत सम्बन्धलाई सामयिक बनाउन दुवै सरकारलाई प्रतिवेदन दिने तयारी हुँदैछ । नेपाल–भारत सम्बन्धको अद्वितीयतामा गौरव गर्ने पक्ष धेरै हुँदाहुँदै पनि व्यापार घाटा कम गर्नेतर्फ प्रधानमन्त्रीको यस पटकको भ्रमणले अपेक्षाकृत सफल भएको मान्न सकिदैन । दुवै देशमा एकअर्का देशका नागरिकले बसोबास गर्ने र व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका छन् । खुला सीमाका कारण यो सम्भव भएको हो । नेपालीले भारतबाट कमाइ गरेर ल्याएका मात्र छैनन् नेपालबाट पनि भारतीयहरूले विप्रेषण राम्रैसँग लिएर जाने गरेका छन् । अतः सम्बन्धको बराबरीपनमा पनि उत्तिकै ध्यान जान सक्नुपर्छ । भारतले यो बीचमा आर्थिक उन्नति र विकासलाई जोड दिएको छ र नेपालले पनि त्यसबाट लाभान्वित हुन त्यहाँको नेतृत्वसँग समन्वय गर्न सक्नुपर्छ ।


संयोगले यतिबेला प्रधानमन्त्री ओली र उनका समकक्षी नरेन्द्र मोदी दुवैलाई सशक्त जनमत प्राप्त छ । दुवै देशमा बलियो सरकार भएकै बेलामा विगतका समस्याहरू समाधान गरी दुई देशको सम्बन्धलाई नयाँ उचाइतर्फ लैजान सकिन्छ । भारतको चासोलाई ध्यानमा राख्दै नेपालको हितरक्षाका निम्ति हाम्रा सरकार प्रमुखले त्यहाँको भ्रमण गर्नु उचित हुन्छ । कुनै अपेक्षा नराखी सद्भावकै लागि गरिने यस्ता भ्रमणले नै यथार्थमा हाम्रो सम्बन्धलाई नयाँ युगअनुकूल बनाउन मद्दत गर्नेछ । यद्यपी यसपटक प्रधानमन्त्री ओलीको भारत भ्रमण तुलनात्मकरूपमा बढी सार्थक देखिएको छ । सम्झौता र सहमतिका दृष्टिले ठूलो फड्को मार्ने खालको नभए पनि आपसी सद्भाव अभिवृद्धिका दृष्टिले उपलव्धिमूलक रहेको मान्न सकिन्छ ।


जलमार्गसम्म नेपालको पहुँच पु¥याउने र काठमाडौंसम्म रेल यातायातले जोड्ने भारतको प्रतिबद्धता आएको छ । कृषिको आधुनिकीकरणमा साझेदारी गर्ने, पुराना योजना÷आयोजनाहरू कार्यान्वयनमा लैजाने जस्ता समझदारी भएको छ, जसलाई उपलब्धीमूलक नै मान्नु पर्छ । निकट भविष्यमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुने भनिएको छ र यदि यो भ्रमण भयो भने द्विपक्षीय सम्बन्ध झन बलियो हुने अपेक्षा गर्न सकिन्छ । दुई देशबीच प्रधानमन्त्री ओलीकै शब्दमा ‘समसामिप्य’ को सम्बन्धका लागि नेपालले कति कूटनीतिक कौशल देखाउन सक्छ त्यो नै अहिलेको महत्वको विषय हो ।

प्रकाशित मिति : २०७४ साल चैत्र ३० गते शुक्रबार ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com