चीनको लगानी पहाडकेन्द्रित मात्र हुनु शासकवर्गको नीति तहत हो : सांसद यादव

काठमाडौं, ३० चैत । भर्खरै चीनको साताव्यापी भ्रमण गरी फर्केका संघीय समाजवादी फोरम नेपालका सांसद रामबाबु यादवले नेपालका शासकवर्गले चीनलाई मधेश विरोधीको रुपमा चित्रित गर्दै आएको आरोप लगाएका छन् ।

फोरम नेपालका १५ जना नेता गत फागुन ११ गतेदेखि साताव्यापी चीन भ्रमण गरी फर्केका छन् । सोही भ्रमणको उद्देश्य र उपलब्धिका विषयमा भ्रमण टोलीका एक सांसद तथा बारा जिल्ला अध्यक्ष यादवले मधेशवाणी रेडियो कार्यक्रममा एक अन्तर्वार्ताको क्रममा यस्तो आरोप लगाएका हुन् ।

‘नेपालका शासकवर्गले चीनको लगानीलाई पहाड केन्द्रित मात्र गरे,’ उनले थपे, ‘चीनले समग्र नेपालको विकासका लागि लगानी तथा परियोजनाहरु पठाउने गरेको थियो तर यहाँका शासकवर्गले त्यसमा मात्र पहाडकेन्द्रित गर्दा चीन मधेश विरोधी हो भन्ने देखिएको थियो ।’

उनले आफूहरुको भ्रमणबाट मधेश र मधेशीको अवस्था, चीनमा मधेशको शून्य लगानी, मधेश आन्दोलन र संविधान संशोधनबारे ठूला दलका नेताहरुले फैलाएको भ्रमलाई चिरेको प्रष्ट्याएका छन् ।

‘शासनसत्ताले छिमेकी राष्ट्र चीनमा मधेशप्रति जुन भ्रम फैलाएको थियो, त्यो चिर्न हामी सफल भएका छौं’ उनले भने ।

उनले भने, ‘ठूला दलका शीर्ष नेताहरुले मधेशीहरुले भारतको इसारामा आन्दोलन गरेको भन्ने भ्रम फैलाएको कुरा हामीले चीन भ्रमणको क्रममा पायौं ।’

संविधान अपूरो छ र संशोधनको आवश्यकता छ भन्ने आशय चीनको पनि रहेको सांसद यादवले बताए । उनले भने, ‘मधेशको भावनालाई चीनले पनि बुझ्ने प्रयास गरेको छ ।’


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com