जुडशीतल मनाइँदै, के हो जुडशीतल

जनकपुरधाम, २ बैशाख । नयाँ वर्ष शुभारम्भको रुपमा तराई–मधेशमा जुडशीतल मनाइँदैछ । माटोको हिलो एक अर्कालाई लगाएर मनाइने मिथिलाञ्चलको प्रमुख पर्व जुडशीतल हर्षोल्लासका साथ मनाइँदैछ ।

फागु पर्वमा एक अर्कालाई रंग र अबिर दलेर मनाएजस्तै यस पर्व हिलो माटो लगाएर मनाइन्छ । फागुभन्दा बढी उत्साहसाथ यसमा सहभागी हुने गरेका छन् ।

यस पर्वका दिन घरघरमा बासी भात खाने चलन छ । जुडशीतल पर्वका दिन चुलोलाई विश्राम दिने मिथिलाञ्चलको परम्परा हो ।

के हो जुडशीतल पर्व ?

सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु यस पर्वको उद्देश्य हो । यस पर्वमा घरकी सबैभन्दा पाकी स्वास्नी मानिसले बिहानै सबेरै उठी नुहाइधुवाइ गरी जल लिएर आफ्ना ससाना बालबालिकाको तालुमा जलसिञ्चन गरी थपथपाएर आशिर्वाद दिने चलन छ ।

सो जलसिञ्चनले बालबालिकाको मस्तिष्कले शीतलता पाई वर्षभरि नै उसले राम्रो काममा आफ्नो मन दिन्छ भन्ने विश्वास रहिआएको छ । आमाबुबा, काकाकाकी र हजुरबुवा तथा हजुरआमाहरूले एक हातमा चोखो पानी भरेको लोहोटा बोक्छन् र अञ्जुलीमा पानी लिएर परिवारदेखि छरछिमेकका आफूभन्दा साना सदस्यको टाउकामा थपथपाएर आशीर्वाद दिन्छन । आशीर्वादका रूपमा ती मान्यजनले गाउँ–समाज वर्षैभरि सुखी, सन्तुष्ट र शीतल रहून् भन्ने कामना गर्दछन् ।

यस अवसरमा खासगरी ठूलाबडाले परिवारका सदस्यको जीवनयुद्ध शीतलतामा परिणत होस् भन्ने कामना गर्ने गरेको मैथिली साहित्यकार श्यामसुन्दर शशीले बताए । उनका अनुसार जुडशीतल प्रकृति पूजाको पर्व हो । उनले मिथिलाका अन्य पर्वजस्तै जुडशीतल पनि कृषि संस्कृतिमा आधारित पर्व रहेको बताए । साथै यस पर्वमा सबेरै (४ बजे) उठेर स्नान गरी विभिन्न किसिमका तरुवा, खाना, करीबरी पकाई भोलिपल्ट आफनो इष्टदेवलाई चढाएपछि मात्र भोजन गर्ने गरिन्छ । सो दिन राति चुलोमा आगो बालेर खाना पकाउन भने पाइन्न । अघिल्लो रात पकाएका बासी खाना खानाले शीतलता प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ ।

यस पर्वलाई सतुआइन तथा वैशाखी पनि भन्ने गरिन्छ । यसमा पूर्खाका लागि भनेर नलले भरेको घैटो, सतुवा, जौ, आँपको टिकुला तथा पंखा बाह्मणहरूलाई दान गर्ने परम्परा छ । साथै गृहिणीहरूले इष्टदेवलाई पुरैनीको पातमा सतुवा, सक्कर तथा आँपको टिकुलाबाट बनाइएको चटनी तथा आचार पनि चढाउने गर्छन् । जुडशीतल पर्वमा रूखका जरामा पनि पानी चढाउने र इष्टदेवतालाई बासी, बडी, भात, पुरी र तरकारी आदि परिकार चढाइने परम्परा रहेको छ ।

तुलसी चौरा वा शिवलिंगको छेउमा बाँस गाडी त्यसमा पानी भरिएको गाग्रो राखी त्यसको तलतिर सानो प्वाल पारेर कुश राखिन्छ । कुश भएर तुलसी चौरा वा शिवलिंगमा थोपाथोपा पानी झर्ने गर्छ । यस पर्वलाई हिलोको पर्व पनि भनिन्छ । सुकिसकेको इनार र पोखरीमा नयाँ जलसिञ्चन गरी सफा गरेर चुना, पोटास राखी तिनलाई स्वच्छ बनाउने काम पनि गर्ने गरिन्छ ।

इनार र पोखरीमा ससाना बालकदेखि वृद्वसम्म जम्मा भएर माटो दल्ने गर्छन् । बिहानभरि गाउँले एकआपसमा हिलो छ्याप्ने काम गर्दछन् । केही वर्षयतादेखि यो विकृति पनि देखिन थालेको छ । आरामको क्षणमा आमोदप्रमोदका लागि मनाइने यो पर्वले भातृत्वको भावना तथा एकआपसमा प्रेम गर्ने सन्देश दिने गरेको छ ।

प्रगतिवादी साहित्यकार नागेन्द्रकुमार कर्णले भने, ‘अन्य पर्वझैं यो पनि कृषि र वातावरणसँग जोडिएको पर्व हो ।’ जुडशीतलको दिन खेत, खलिहान, आँगन, दलान, गाईवस्तु, रूखबिरुवासहित सबै जीवप्राणीलाई पानीले सिञ्चित गरेर शीतलता प्रदान गर्ने चलन छ ।

यस पर्वका दिन गाउँ देहातको मुख्य जलस्रोतका रूपमा रहेका इनार र पोखरीलाई सफासुग्धर गर्ने चलन पनि छ । जुडशीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूधदहीको परिकार खाने चलन छ । सौर्य सिद्धान्तअनुसार १ वैशाखदेखि विक्रम संवत्को शुभारम्भ हुने भएकाले नयाँ वर्षको अवसरमा जुडशीतल पर्व मनाउने गरिएको बताइन्छ । विक्रम संवत्का आधारमा आरम्भ हुने नयाँ वर्षको पहिलो र दोस्रो दिन यो पर्व मनाउने गरिन्छ । जुडशीतल दुई दिवसीय पर्व हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com