रौतहटको दुई ठाउँमा आगलागी, १० लाखभन्दा बढीको सम्पति नष्ट

राकेश यादव, रौतहट, २ बैशाख । तराईमा गर्मीको साथै सुख्खा मौसम सुरू हुन साथ आगलागीका घटनाहरुमा बृद्धि हुन थालेका छन् । रौतहटमा आगलागीको दिनप्रति बढ्दै गएको छ ।

सुख्खा मौसममा तीव्र रुपमा हवा चल्ने गरेको कारण सुरक्षित रुपमा आगो प्रयोग गर्नुपर्ने विभिन्न माध्यमबाट जनचेतना फैलाउने कार्य हुँदा पनि घटना न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा देखिएका छन् ।

आइतबार दुई ठाउँमा भएको आगलागीमा लाखौं मूल्य बराबरको क्षति भएको छ । गौर नगरपालिका वडा नंबर १ स्थित रामजानकी धर्मशालाको उत्तरपट्टी रहेको फुसको घरमा आगलागी भएको छ ।

सो घरमा होटल व्यवसाय गर्दै आएका राजिन्द्र दास, सुधा देबी, सन्तलाल जैयसवाल र आकाश महतोको होटल आगलागीमा जलेर नष्ट भएको छ । आगलागीबाट उनीहरुको होटलको सबै सम्पति नष्ट भएको स्थानीयहरुले जनाएका छन् ।

गौरमा आगलगी हुनुभन्दा केही घण्टा पहिला गढिमाई नगरपालिका–४ स्थित एक खाडसारी उद्योगमा आगलागी भएकोमा गौर नगरपालिकाका दमकल आगो निभाउंन गढीमाई नगरपालिकामा गएको कारणले होटलको आगो नियन्ंत्रणमा बरुणयन्त्र आउन सकेको थिएन ।

बरुणयन्त्र नआएपछि स्थानीयवासी तथा प्रहरी प्रशासन आगो नियन्त्रणमा लिन प्रयास गरेपनि आगो नियन्त्रणभन्दा बाहिर भएकोले केही गर्न सकिएन घर पूर्ण जलेपछि आगोको ताप कम भएकोमा पानी प्रयोग गरेर बाँकी आगो निभाउने कार्य गरेको थियो ।

गौरभन्दा पहिला गढिमाई नगरपालिका–४ स्थित कृष्णनन्दन साहको खाडसारीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गौरको होटलमा आगलगी भई खरानी भएपछि बरुणयन्त्र गढीमाई नगरपालिकाबाट आई आगो नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । घटनामा कुनै मानवीय क्षति नभएको र बास्तविक क्षतिको विबरण आऊँन नसकेको प्रहरी नायव उपरीक्षक रामकुमार दानीले बताएका छन् ।

आगलागीका घटना बढ्न थालेपछि सबै स्थानीय तहका जनप्रतिनिधिहरुले धुपबत्ती बाल्दा, चुरोट सल्काउँदा, विद्युतीय सामग्री चलाउँदा, घरमा अति प्रज्वलनशील पदार्थ भण्डारण गर्दा सावधानी अपनाउन आग्रह गरेका छन् । पानी तान्ने मोटर सर्ट भएर, ग्यास लिक भएर पनि आगलागीका घटना हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जंगल जाने व्यक्तिले जानेर वा अन्जानमा आगो लगाउँदा जङ्गलनजिकै रहेको बस्ती सखाप हुने गरेको प्रहरीको तर्क रहेको छ । चन्द्रपुर नगरपालिका र गौर नगरपालिकासँग मात्रै बरुणयन्त्र रहेको छ । अन्य स्थानीय तहले बरुणयन्त्र अहिलेसम्म खरिद गरेको छैन ।

जनताको जीविकोपार्जन र सम्पतिको रक्षार्थ स्थानीय तहले ठोस कार्य गर्न नसकेको स्थानीयहरुले गुनासो गरेका छन् । आगलागी हुन नदिन जनचेतनाको कार्यक्रम गरिदै आएपनि प्रभावकारी हुन सकेको छैन भने गौरको तीन ओटै होटलमा आगो लाग्दा घरसहित लगभग १० लाख बराबरको खरानी बनेको पीडितहरुले दावी गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com