प्रदेश २ को बजेट बुधबार

जनकपुर, ३ वैशाख । प्रदेश २ सरकारले बैशाख ५ गते बुधबार चालू आर्थिक वर्षको बाँकी तीन महिनाका लागि बजेट ल्याउने तयारी गरेको छ । आर्थिक वर्ष २०७४/०७५ सक्न मात्र तीन महिना बाँकी रहेको सन्दर्भमा सरकारले तीन महिनाका लागि मात्र ल्याउन लागेको हो ।
प्रदेश २को आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार मन्त्रालयले चैत दोस्रो साता सबै निकायसँग अनुमानित बजेट माग गर्न पत्राचार गरेको थियो । ३० चैतमै सबै निकायले बजेट मागसहितको कार्यक्रम पेस गरेका थिए ।
आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सबै तयारी पूरा भएकाले ५ वैशाख नै प्रदेश सभामा बजेट प्रस्तुत गरिने जानकारी दिए । उनले तत्काल प्रदेश सरकारको आफ्नो आम्दानी नभएकाले संघीय सरकारबाट प्राप्त भएकै रकमभित्र रहेर बजेट ल्याइने बताए ।
संघीय सरकारले सबै प्रदेश सरकारलाई चालू आर्थिक वर्षका लागि एक अर्ब दुई करोड रकम उपलब्ध गराएको छ ।
प्रदेश २ सरकारले ल्याउने पहिलो बजेटमा कृषि र आन्तरिक व्यवस्थापनलाई नै प्राथमिकतामा राखिएको छ । यस्तै, सरकारको नीति तथा कार्यक्रम र सयदिने कार्यक्रममा पनि कृषि र पर्यटनलाई नै जोड दिइएको छ । कृषि उत्पादन बढाउन, सिँचाइ, बिउबिजन, मलखाद, कृषि केन्द्रित उद्योगलाई पनि समेटिने जनाएको छ ।
प्रदेश २ सरकारले ल्याउने पहिलो बजेटमा नयाँ कार्यक्रम पनि समावेश गरिने भएको छ । जसमा ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान प्रमुख छ । प्रदेश २ मा देखिएको भ्रुणहत्या, दाइजोको नाममा हुने हिंसा रोक्नेलगायतका विषय यसमा समेटिने जनाएको छ । त्यस्तै, छोरीलाई स्कुल पढाउन प्रेरित गर्ने कार्यक्रम पनि हुनेछ ।
‘मुख्यमन्त्री स्वच्छता अभियान’ पनि बजेटमा समेटिनेछ । प्रदेशका मन्त्रालय, मन्त्रीआवास, सवारीसाधनलगायतका भौतिक संरचनाको मर्मतसम्भार, निर्माणलगायतका शीर्षकमा बजेट विनियोजन गरिनेछ । त्यस्तै, नयाँ योजनाको सम्भाव्यता अध्ययनका योजना पनि समेटिने जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com