राजनीतिक प्रतिशोधको टारगेट रेडियो अप्पन मिथिलाको भवन बन्दै

जलेश्वर, ४ बैशाख । जलेश्वर नगरपालिकाले सदरमुकाम जलेश्वरमा रहेको रेडियो अप्पन मिथिलाको भवनलाई राजनीतिक प्रतिशोध साध्नका लागि भत्काउने ‘टारगेट’ गरेको देखिएको छ ।

जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चौधरीले व्यक्तिगत रिसइवी र राजनीतिक प्रतिशोध साँधनका लागि भवनलाई टारगेट गरेको रेडियो अप्पन मिथिलाका सञ्चालक रामआधार कापरले जानकारी दिए ।

उनले हामीहरु नयाँ वर्ष मनाउने क्रममा घर बाहिर रहेको बखत नगरपालिकाका केही कर्मचारीहरु आएर फोटो खिच्ने तथा छिमेकीहरुलाई भवन भत्काउन आएको भन्दै गएको बताउँदै उनले व्यक्तिगत रिसइवी साध्न यस्तो गरिएको बताए ।

तर, जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चौधरीले आफूले कुनै रिसईबी वा प्रतिशोधमा नभएर स्थानीय सरकार सञ्चालन ऐनले निर्देशन गरेबमोजिम गरिरहेको बताए ।

उनले घर भत्काउन टारगेट नगरेको बताउँदै सो घरमाथि नक्सालगायतका अन्य प्रक्रिया पुगे÷नपुगेको भनी इन्जिनियरहरुलाई चेकजाँच गरी सातदिन भित्र प्रतिवेदन पेश गर्न भनेको बताए । उनले भने, “सो घरको माथि एफएमको ठूलो टावर रहेकोले सो टावरबाट क्षति हुन सक्ने आँकलन गर्दै नियमानुसार नै प्रतिवेदनका लागि प्रक्रिया अगाडी बढाएको छु ।”

स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद ७ को भवन निर्माण र सडकसम्बन्धी बुँदाको धारा ३९ को जाँचबुझ र कारबाहीको धारामा प्रष्टसाथ लेखिएको जानकारी दिँदै यही धाराको आधारमा प्रक्रिया अगाडी बढाइएको बताए ।

धारा ३९ मा गाउँपालिका र नगरपालिकामा कसैले घरनिर्माण गरेको वा गरिरहेको भवनको सम्बन्धमा जाँचबुझका लागि प्रशासकीय अधिकृतले इन्जिनियर वा कर्मचारी खटाउन सक्ने उल्लेख गरिएको छ ।

सदरमुकाम जलेश्वरमा करिब १० प्रतिशत घरले नक्सा पास नगरी भवन निर्माण गरेको बताउँदै सबैलाई कानुनी दायरामा ल्याउन सोही घरबाट सुरु गरिएको कार्यकारी अधिकृतको भनाई थियो ।

तर जलेश्वर नगरपालिकाका इन्जिनियरहरुले सदरमुकाम जलेश्वरमा ८० प्रतिशतभन्दा बढी घर नक्सा पास नै नगरि निर्माण गरिएको दावी गरेका छन् । नाम नलेख्ने शर्तमा एक इन्जिनियरले भने, “कुनै पूर्वाधार नै नबनाई हचुवाको भरमा र व्यक्तिगत रिसइवीले कार्यकारी प्रमुखले यस्तो गरेको छ ।” कानुन सबैको लागि बराबर हुनुपर्छ न कि कार्यकारी प्रमुखको तजविजी आधारमा हुनुपर्छ ति इन्जिनियरको भनाई थियो ।

जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहले राम्रोसंग चेकजाँच गर्ने हो भने भवन आचारसंहिता र मापदण्ड अनुसार जलेश्वरमा ५ प्रतिशत पनि घर छैन् तर नगरपालिकाको कमजोरीको कारणले यस्तो अवस्था देखिएको बताउँदै कानुन सबैको लागि बराबर भएकोले कानुनले दिएको परिधिभित्र रहेर कारवाही गर्नुपर्ने बताए ।

कुनै कारवाही पूर्व सार्वजनिक सूचना प्रकाशन गर्नुपर्नेमा नगरपालिकाले कुनै सूचना प्रकाशन गरेको आफूलाई जानकारीमा नभएको बताए ।

केही समय अगाडी रेडियो अप्पन मिथिलाका सञ्चालक कापरले कार्यकारी अधिकृतको सरुवा गराउने काममा लागेको तथा नगरपालिकाको खाता रोक्ने कार्यमा संलग्न भएको भन्दै उनलाई चेतावनी स्वरुप यस्तो गरिएको नगरपालिका श्रोतले जनाएका छन् ।

जलेश्वर नगरपालिकाका युवा रंजित राउतले भवन निर्माणका लागि नक्सा पास गराउन जाँदा महिनौ कुदाउने, नक्सा पास गरेवापत ५ हजारभन्दा बढी रकम लिने गरेको बताउँदै नगरपालिकाले नक्सा पासमा सहजता नगरेको कारणले अप्ठयाराहरु देखिएको बताए ।

जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रले कानूनअनुसार नै कारबाहीको प्रक्रिया अगाडी बढाएको बताउँदै कुनै राजनीतिक प्रतिशोध नसाँधेको बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com