नश्लवादको बेजोड नमूना (सम्पादकीय)

बैशाख २२ गते हुने नेपाल पत्रकार महासंघको प्रदेश समितिको अधिवेशनको केहीअघि दलीय पत्रकारिता गर्ने तीन संस्थाहरूले एक आपसमा सिट बाँडफाँड गरी नश्लीय पत्रकारिताको अनुपम नमूना पेश गरेका छन् । प्रदेश समितिको अधिवेशनमा पार्टी पत्रकारिता गर्दै आएका प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले तालमेलको नाममा सिट बाँडफाँड गरी नश्लीयतालाई प्रश्रय दिएको छ ।


तीन संस्थाका पदाधिकारीको बैठकले भौगोलिक सात र गैरभौगोलिक तीन गरी १० प्रदेशका नेतृत्व र कार्यसमितिमा सहमतिका साथ उम्मेदवारी दिने गरेको निर्णय पत्रकार महासंघमा सिन्डिकेट लाद्ने नियतले गरिएको हो ।


प्रदेश समितिको अधिवेशनमा प्रेस चौतारीले पाँच, प्रेस युनियन दुई र प्रेस सेन्टरले तीन प्रदेशको नेतृत्व लिने सहमति गरेका छन् । सबै प्रदेश सिमितिका पदाधिकारी र सदस्यमा तीनै संस्थाले भागबण्डा गरी उम्मेदवारी दिने निर्णय गरेका छन् ।
यसले के देखाउँछ भने नेपाली सञ्चार जगतका नेतृत्व पंक्तिहरू अधिकांश पार्टी पत्रकारिता वा नेताभक्तिका इतिहास बोकेका छन् । सिन्डीकेट प्रथा, भागबन्डा र भ्रष्टाचारको विरोध गर्दै कलम चलाउनेहरू स्वयं दलीय भागबण्डामा विश्वास राख्छन् । पत्रकार महासंघको चुनाव होस् वा सञ्चारमाध्यमभित्रको कुनै राजनीतिक नियुक्ति, अवसरको कुरा होस् वा जिम्मेवारीको आज पनि पार्टीको कोटामा उभ्न छाडेका छैनन् । अग्रज पत्रकारहरूको दलीय समर्पण र वेइमान चाहनाले सिङ्गो सञ्चार जगत कलुसित बन्दैछ ।


पत्रकारहरू यसैगरी आस्थाको राजनीति गरिरहने र भागबन्डामा पद लिइ रहने हो भने सायद श्रमजिवी पत्रकार ऐनअनुसार तलब पाउ भनेर निवेदन लेख्ने परिस्थिति नै आउँदैन्थ्यो । विश्वमा द्रूतगतिमा विकास भइरहेको सूचना प्रविधिको विकाससँगै आमसञ्चार तथा पत्रकारिता क्षेत्रमा पनि निकै प्रगति भएको छ तर त्यसअनुरूपको व्यवहार र मानसिकतामा बदलाव आएको छैन । समयानुकूल पत्रकारिताको मूल्य र मान्यता फेरिन सकिएको छैन ।


पत्रकारलाई विश्वले राज्यको चौथो अङ्गको रूपमा स्वीकारेको छ । तर नेपालका पत्रकारहरूको असम्वेदनशीलतासँगै निःस्वार्थ भावमा इमान्दारीतापूर्वक पत्रकारिता नगर्ने परिपाटीले राज्यको चौथो अंगको उपाधी उखानमा सीमित हुने सम्भावना बढेर गएको छ । यो कुरालाई लामो समयदेखि पत्रकारितामा समर्पित तथा नवप्रवेशीहरूले गम्भीरतापूर्वक लिनु पर्दछ ।


पत्रकारितालाई ठेकेदारी प्रथा बनाएर पत्रकार महासंघमा हावी हुने प्रवृतिले पत्रकारिताको सौन्दर्य नै हराएको छ । भागबन्डामा गएर पत्रकारको नेता हुँ भन्ने धाक लगाएर आफनो स्वार्थपूर्तिका लागि मात्रै पत्रकार महासंघ हो भन्ने पक्कै होइन । पत्रकार महासंघले केही उल्लेखनीय काम गर्न नसकेर त्यसै बदनाम भइसकेको छ तर त्यसमाथि पनि सिन्डिकेटको नाममा पदीय भागबन्डा गर्नु भनेको यसलाई थप निस्क्रिय र पंगु बनाउनु नै हो । यस विषयमा पत्रकार महासंघको वर्तमान नेतृत्वको मौनता र अग्रज पत्रकारहरूको चुप्पी झन् रहस्यमय बनेको छ ।
पत्रकारहरूको साझा चौतारीलाई दलीय सिन्डिकेटको रूपमा रूपान्तर गर्ने हो भने एउटा पार्टीको भातृ संगठन र स्वतन्त्र हैसियतमा रहँदै आएको पत्रकार महासंघमा के नै अन्तर रह्यो र । पत्रकार महासंघको नेतृत्वका निम्ति प्रतिस्पर्धा र लोकतान्त्रिक विधिबाट यसको निक्र्योल स्थापित अभ्यास र मान्यताहरू हुन् । यसलाई सामान्य र स्वाभाविक प्रक्रिया मानिएकाले प्रतिस्पर्धाको गठबन्धन र अङ्कगणितीय हिसाबकिताब नयाँ विषय पनि होइन । तर निर्वाचन गर्नु पूर्व नै आपसमा पद मिलान गर्नु भनेको पक्कै अलोकतान्त्रिक काम हो ।


श्रमजीवी पत्रकारकारहरूको हित र स्वतन्त्र पत्रकारितालाई मूल नारा बनाएको पत्रकार महासंघ यसरी राजनीतिक आस्थाका आधारमा पत्रकारहरू ध्रुवीकरणमा जानुलाई भने कदापि स्वाभाविक मान्न सकिन्न । पत्रकारिताको आवरणमा राजनीतिक दल विशेषका हतियारको रूपमा अघि सर्नु नै पत्रकारहरूको पेशागत हित संरक्षण र अग्रगतिको मुख्य बाधक हो । यो आचरणमा आमूल सुधार र शुद्धीकरण अहिलेको मुख्य आवश्यकता पनि हो । राजनीतिक आस्थाका आधारमा खण्डित नेतृत्वले आम पत्रकारको हितका सवालमा माखो मार्न सक्दैन । यो तीतो लागे पनि सत्य हो । असहज भएपनि सत्यलाई हामीले स्वीकार गर्नै पर्छ ।


सार, अन्तरवस्तु जे भएपनि राजनीतिक खोल नओढी पत्रकारको नेता हुन असम्भवजस्तै देखिएको छ भन्ने नै हो । यस कारण प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी वा अरू यस्ता संगठनहरू र तिनको रिमोट लिएर बसेका दलगत नेताहरूको नियन्त्रणमा स्वतन्त्र पत्रकारिता र पेशागत हित कसरी प्रत्याभूति हुन्छ ? के यी संगठनमा चासो नराख्नेहरू पत्रकार होइनन् ? पत्रकार हुन पार्टीको कार्यकर्ता नै हुन आवश्यक छ ? पत्रकारहरू दलीय आग्रह र पूर्वाग्रहका आधारमा खण्डित भइरहँदा चासो र चिन्ताको विषय यही हो ।


प्रकाशित मिति : २०७५ साल वैशाख ७ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com