सरकारलाई फोरमको आवश्यकता छ : उमाशंकर अरगरिया

सांसद, संघीय समाजवादी फोरम

० संघीय समाजवादी फोरम अहिले के गर्दै छ ?
— वास्तवमा भन्नुहुन्छ भने हामी विपक्षमा छौँ । केपी ओली सरकारलाई विश्वासको मत दियौँ किनभने उहाँहरूसँग बहुमत थियो । तर मधेशवादी पार्टीहरू, अधिकारवादी पार्टीहरूले पनि सहयोग गर्न चाहेको हो भन्ने सोचले मतदान गरेका हो ।


० तपाईहरू सत्तापक्ष कि प्रतिपक्ष?
— हामी प्रतिपक्षमा छौँ ।


० तपाईंको पार्टी अहिले केमा व्यस्त छ ?
— हामी अहिले पार्टी संगठनलाई चुस्त बनाउन व्यस्त छौं । अध्यक्षज्यूसहित हामी पनि संगठन बनाउँदै छौँ । जनताले विश्वास गरेर अहिले हामीलाई जसरी राष्ट्रिय पार्टीको रूपमा स्थापित गराएको छ, त्यसलाई निरन्तरता दिँदै पार्टीलाई अझ सशक्त र बलियो बनाउने प्रयासमा लागिरहेका छौँ ।


० संविधान संशोधन हुने आशामा तपाईंहरूले विश्वासको मत दिनुभयो, अहिले त्यो विषयमा के भइरहेको छ ?
— संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली अझैसम्म पनि प्रष्ट हुन सक्नुभएको छैन । लिखित प्रतिबद्धता पनि भएको छ । विगतका प्रधानमन्त्रीहरूसँग पनि सम्झौता भएकै हो । तर अहिले संविधान संशोधन हुन्छ भन्ने आशामा पनि हामी बसेका छौँ ।


० वाम गठबन्धनलाई विश्वासका साथ तपाईंहरूले विश्वासको मत दिनुभयो तर संशोधन नै गर्छ भन्ने कति विश्वस्त हुनुहुन्छ ?
— पहिला त केपी ओली संघीयता विरोधी नेता हुन् । माओवादीका नेता प्रचण्ड भने संघीयताको पक्षमा उभिएको नेताको रूपमा चिनिनु भएको हो । पछिल्लो समय संघीयता विरोधी नेताले देशमा संघीयता भयो भने देशमा समृद्धि आउँछ भन्नुभएको हो । संविधान संशोधन सम्पूर्ण देशबासीका लागि चाहिएको छ । देशमा पिछडिएको वर्गलाई पनि चाहिएको छ । त्यसकारण हामी संविधान संशोधन गराउनका निमित्त सरकारलाई अन्य रूपबाट पनि दबाब दिने नै छौँ ।


० कहिलेसम्म होला संविधान संशोधन ?
— संविधान संशोधनको बाटो किटान हुँदैन तर पनि त्यही बाटोमा हामी लागिरहेका छौँ ।


० संविधान संशोधनको विषयमा सरकार र तपाईंको पार्टीबीचसंवाद टुटेको हो कि ?
— अहिले संवादहीनताकै अवस्था छ । लिखित सम्झौता गरेर संविधान संशोधन गर्नुस् भनेकै हो । उहाँहरूले पनि सरकारमा आउन आग्रह गर्नु भएकै हो । हाम्रो प्रमुखता सरकार होइन । संविधान संशोधन नै प्रमुख विषय हो । त्यसकारण पनि हामी सरकारमा सहभागी भएका छैनौँ ।


० मधेशको समस्याको अन्तिम बिन्दु संविधान संशोधन नै हो त ?
— मधेशको अन्तिम बिन्दु संविधान संशोधन मात्र होइन । समृद्ध, सम्पन्न र मधेशमा एउटा शुसासनको अवस्था ल्याउन पनि र मधेश मात्र होइन सम्पूर्ण देशका आदिवासी, जनजाती, मुस्लिम, महिला, मधेशी समुदाय र सिमांकृत समुदायलाई जो अधिकारबाट वञ्चित छ, ठूला वर्गको हातमा मात्र देशको बागडोर छ त्यसकारणले गर्दा हामी कुनै जातीको विरोधमा छैनौँ । तर पिछडिएको जातीको लागि र पिछडिएका नागरिकका लागि पनि सम्बोधन होस् भनेर त्यसको पक्षमा हामी लागेका छौँ 


० संविधान संशोधनबाट मधेशको कस्ता अधिकार सुनिश्चित हुन्छ ?
— मैले बुझे अनुसार निर्वाचन प्रणाली गलत रूपमा लिइएको छ नेपालमा । विश्वको कुनै पनि देशमा भौगोलिक आधारमा निर्वाचन प्रणाली हुँदैन जुन हाम्रो देशमा छ । जहाँ हजारौँ लाखौँ जनता छ त्यहाँ पनि त्यही सरकारको प्रतिनिधित्व गर्ने उपस्थिति र जहाँ थोरै जनसंख्या छ त्यहाँको पनि त्यही उपस्थिति  । तसर्थ जबसम्म जनसंख्याको आधारमा निर्वाचन प्रणाली हुन सक्दैन तबसम्म प्रजातन्त्रको अनुभूति आम जनतालाई हुँदैन । यसैका निम्ति हामी यो संघर्ष गरिरहेका छौँ । संघीय समाजवादी फोरम पहिलेदेखि नै सबैमा समानता आओस्, सबै नेपाली दाजुभाइ, दिदीबहिनी मधेशमा, पहाडमा र हिमालमा बसेका पनि संयुक्त रूपमा आफ्नो देश, कानुन, संविधान र आफू पनि नेपाली हुँ भनेर गर्वले त्यहाँ बसोस् भन्ने हामी चाहन्छौँ र यसको लागि संविधान संशोधन हुनु उपयुक्त हुन्छ ।


० वर्तमान सन्दर्भमा भन्नुपर्दा संविधानको कुन–कुन ठाउँमा संशोधन आवश्यक देख्नुहुन्छ ?
— सबैभन्दा पहिले त हामीले राण ाशासनलाई किन फाल्यौँ ? त्यो एक जातीको शासन थियो त्यसकारण फाल्यौँ । त्यस्तै पञ्चायत व्यवस्था आयो त्यो पनि एक जातीय व्यवस्था हुनाले त्यो पनि फाल्यौँ । प्रजातन्त्रको जुन व्यवस्था थियो त्यसलाई पनि परिवर्तन गरेर संघीय लोकतान्त्रिकको बाटोमा ल्यायौँ । वर्तमान अवस्थामा पनि एकल जातीको शासन जस्तो हेरिएको छ । त्यसले गर्दा प्रत्येक जनतालाई हाम्रो सरकार हो भनेर अनुभूति भएको छैन । हाम्रो कानुन, हाम्रो संविधान भनेर अनुभूति भएको छैन । त्यो अनुभूति गराउनको निमित्त जबसम्म यो अनुभूति आम जनतामा हुँदैन तबसम्म सहि लोकतन्त्र, गणतन्त्रक, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा जुन व्याख्या गरिएको छ त्यो कार्यान्वयन हुन्छ जस्तो लाग्दैन । त्यस कारणले गर्दा हामी संविधान संशोधनको पक्षमा उभिएका छौँ ।


० संशोधनको मुख्य बुँदा सीमांकन नै हो ?
— सीमांकन पनि एउटा बुँदा हो । जसरी पूर्व मेचिदेखि पश्चिम महाकाली, दक्षिणमा भारतको सिमाना र उत्तरमा महाभारत पहाड भित्र रहेको मधेशको सिमाना हो । तर हामीले समग्र मधेश स्वायत्त प्रदेश मागेका थियौँ । हामी दुई तथा तीन प्रदेशसम्म जाँदा पनि तयार भएका नै थियौँ । तर बेइमानीवश ठूला दलले मधेशलाई काटेर प्रदेश विभाजन गरे, जुन मधेशलाई आनय छैन । दुई नम्बरको प्रदेशलाई ८ जिल्लाको प्रदेश बनाइएको छ । त्यो प्रदेश जानकी मन्दिरलाई मात्र हेरिएको छ । त्यहाँ न भौतिक पूर्वाधार छ न त्यहाँ अस्पताल छ, अहिले आएर भने बल्ल विश्वविद्यालयको परिकल्पना गरिएको छ । त्यहाँ जानकी मन्दिरको चन्दाले मात्रै नि प्रदेश २ चल्ने होइन । त्यसकारण त्यहाँ बेइमानी भएको हो । न त्यहाँ खोला नाला राखिएको छ, न त्यहाँ हिमाल राखिएको छ । त्यसकारण मलाई लाग्छ त्यहाँ बेइमानी गरिएकै हो । यसै बेइमानीलाई सच्याउनका लागि सिमांकनलाई सच्याउन भनिरहेका छौँ । सिमांकन सच्याउने कुरा प्रधानमन्त्रीले गरेता पनि स्पष्ट रूपमा नभनेकाले उहाँले कुन रूपमा त्यसलाई गर्नु हुन्छ त्यो त थाहा छैन तर हामी सिमांकन सच्याउने कोशिसमा लागेका छौँ र लागिरहने छौँ ।


० निर्वाचनको समयमा तपाईंहरूको मधेशमा दुई प्रदेश भन्ने माग थियो, अहिले पनि त्यही नै हो ?
— हाम्रो मूल लक्ष्य त यहि नै हो । हाम्रो प्रमुख लक्ष्य संविधान संशोधन नै हो । संविधान संशोधनमा जनसंख्याको आधारमा निर्वाचन प्रणाली र निर्वाचनकै आधारमा सरकारको विभिन्न पक्षहरूमा उपस्थिति जनाउनु हो । यी मागहरू हामीले छोडेका छैनौँ ।


० सीमांकनलाई सच्याउन कति सजिलो देख्नुहुन्छ ?
— सजिलो त छैन । तर यसको पक्षमा हामी उभिरहन्छौँ ।


० संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन खोजिएको हो कि तपाईंहरू आफै सरकारमा जान चाहनु भएको हो ?
— सरकार प्रमुख कुरा होइन । आफ्नो अधिकारको लागि चुनावमा पनि गयौँ र अधिकारकै लागि पार्टी पनि गठन भएको हो । संविधान संशोधन हाम्रो पहिलो लक्ष्य हो, त्यो लक्ष्य पछि सरकार दोस्रो नम्बरमा जान्छ । सरकारकै लागि हामी चुनावमा गएको पनि होइन, अधिकारको लागि गएको हो । संविधान संशोधन प्रमुख एजेण्डा भएकोले हामी सरकारमा गएनौँ । सरकार पक्षले त हामीलाई बोलाएकै हो ।


० सरकारमा फोरमको आवश्यकता कति देख्नुहुन्छ ?
— सरकारलाई फोरमको आवश्यकता पनि छ । किनभने प्रदेश २ मा फोरमको सरकार छ । त्यहाँ विकास पनि गर्नुछ । विकासको हिसाबले हेर्ने हो भने सरकारमा जानु आवश्यक छ । यदि प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्नुभयो भने उहाँको सरकार शक्तिशाली पनि हुनेछ । उहाँले संविधान संशोधन गर्नु भएन भने उहाँ कुशल प्रधानमन्त्री बन्न सक्नुहुन्न । किनभने यो संविधानको कमी कमजोरीहरू धेरै छन् । यो संविधान पूर्वाग्राही हिसाबले बनाइएको हो । जसले यो संविधान बनाए, उनीहरूलाई पनि महशुस भएको छ कि यो संविधान गलत छ । त्यसकारण यसमा भएका कमी कमजोरीलाई सच्याउनका लागि पनि सरकारलाई दुई तिहाई बहुमत आवश्यक पर्छ । सरकरा त दुई तिहाईको नजिक छ तर पनि मधेशवादी पार्टी सहभागी भयो भने दुई तिहाई बहुमत पुग्छ । यसको पक्षमा हामी जानलाई तयार छौँ तर संविधान संशोधन मधेश, आदिवासी, दलित, महिला, मुस्लिमको पक्षमा संशोधन भयो भने अथवा ग्यारेन्टी भयो भने मात्र हामी सरकारमा जान सक्छौँ । सानातिना कुराले गर्दा देश ओझेलमा पर्छ । त्यसकारण यो सरकारले पनि बुझनु पर्ने कुरा हो ।


० तपाईंहरूलाई वाम गठबन्धनको सरकारले लिन चाहेको जस्तो देखिदैन तर तपाईंहरू सत्ता लिप्साको मोहमा फसेको भन्ने आरोप पनि सुनिन्छ नि ?
— संघीय समाजवादी फोरम कति पटक सरकारमा गएको छ ? देश जब यो स्थितिमा पुग्छ भने देशलाई जोगाउने जिम्मेवारी हुन्छ । हामी एउटा राष्ट्रिय चरित्र बोकेको पार्टी हो । विगतमा हामी देशलाई जोगाउनका निमित्त सरकारमा गएका हौं तर सत्ताको लोभमा हामी सरकारमा गएका छैनौँ । यदि सत्ता लिप्सा भएको भए संविधान संशोधनको एजेण्डा छोडेर सरकारमा जाने थियौँ । तर हामी गएनौँ । यसबाट स्पष्ट नै छ, सरकारको लागि हाम्रो पार्टी होइन । हाम्रो पार्टी देशलाई समृद्ध बनाउनको लागि र सबै जनता समान होस् भनेर नै हाम्रो पार्टी गठन भएको हो । त्यसकारण हामीमा सत्तालिप्सा छैन । हामी राष्ट्रको हितमा पनि र मधेश आदिवासी जनजातीको हितमा पनि हामी काम गर्छौँ र गर्नेछौँ ।


प्रकाशित मिति : २०७५ साल वैशाख ७ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com