राजपाभित्र कुनै विवाद छैन : एकवाल मियाँ

सांसद, राष्ट्रिय जनता पार्टी नेपाल

० राष्ट्रिय जनता पार्टी गठन भएको एक वर्ष पूरा भएको छ । यो एक वर्षको अवधिलाई तपाईंले कसरी मूल्यांकन गर्नुहुन्छ ?
— राष्ट्रिय जनता पार्टीले एक वर्षको अवधिमा धेरै काम गरेको छ । ६ वटा पार्टी मिलेर बनेको यो पार्टी राज्यको चौथो पार्टीको रूपमा स्थापित भएको छ । यदि पार्टी एकीकरण नभएको भए आज राष्ट्रको चौथो पार्टी हुने थिएन । यो पनि एउटा धेरै नै राम्रो उपलब्धी हो । मधेशमा आधाभन्दा बढी मत ल्याउन सफल भएको छ । एकता भएर नै यो उपलब्धी प्राप्त भएको हो ।


० तर पार्टी अस्तव्यस्त छ । विवादहरू चुलिएको छ ?
— पार्टीलाई बाहिर हेर्दा त्यस्तो देखिएको हो तर भित्र केही छैन । ६ वटा पार्टी मिलेर बनेको पार्टीमा सामान्य किसिमका विवाद आउनु स्वभाविक नै हो ।


० ६ वटा पार्टी एउटा पार्टी बने पनि शीर्ष नेताहरूको मन अझै मिलेको छैन ?
— पार्टीको विपक्षमा बाहिर विभिन्न प्रकारका हल्ला चलेको छ तर वास्तविकता त्यस्तो छैन । अहिलेसम्मका भएका सबै बैठकहरूमा सकारात्मक निर्णय भइरहेका छन् ।


० राजपाको संसदीय दलको नेता चुन्ने विषयमा पनि विवाद आएको छ नि ?
— पछिल्लो समय बसेको बैठकमा त्यस्तो विवाद केही आएको छैन । पहिले विधान तयार पारौँ अनि संसदीय दलको नेता चयन गरौँ भन्ने कुरा भएको हो । सबै कुरा सहमतिबाट नै हुन्छ । त्यस्तो विवाद हुने ठाउँ मैले देखेको छैन ।


० पार्टीलाई आगामी दिनमा कसरी अगाडी बढाउने योजना छ ?
— हामीले पार्टीलाई संगठनात्मक ढंगबाट अगाडि बढाउनु पर्ने हुन्छ । संगठनलाई मजबुत बनाउनु पर्ने हुन्छ । संगठन मजबुत भएन भने हामी अगाडी बढ्न सक्दैनौँ । हरेक क्षेत्रलाई संगठनात्मक तवरबाट जान सकियो भने निकट भविष्यमा नै हामीले उपलब्धी हासिल गर्न सक्ने छौँ ।


० आगामी महाधिवेशनबाट एउटा मात्र अध्यक्ष रहेर पार्टी अगाडी बढ्छ कि पहिलेको जस्तै अध्यक्ष मण्डल रहन्छ ?
— राजनीतिक समितिको बैठक बैशाख ८ गते बस्दैछ । त्यसले महाधिवेशनको मिति तय गर्नेछ । महाधिवेशनले नै एउटा अध्यक्ष रहने कि अध्यक्षमण्डल रहने भन्ने कुराको निर्णय गर्छ ।


० राजपा नेपालको नेतृत्वको कमी कमजोरी पनि देख्नुहुन्छ ?
— कमी कमजोरीहरू त मैले खासै देखेको छैन । किनभने समयमा बैठक बसेकै छ । निर्णयहरू पनि सामूहिक रूपमा भएकै छन् । अध्यक्षमण्डलहरू बस्दा सामान्य विवादहरू आएका होलान् तर निर्णय गर्दा त्यस्ता कुनै विवाद आएका छैनन् । बहुमतको प्रणालीबाट हामी सहमतिबाट नै निर्णय गरेका छौँ ।


० स्थानीय निर्वाचनको टिकट वितरणमा आएको विवाद र समानुपातिक सांसद चयनमा आएको विवादलाई कुन रूपमा लिनुहुन्छ ?
— निर्वाचनको समयमा टिकटको आकांक्षी धेरै हुन्छन् तर टिकट पाउने एक जनाले मात्र हो । टिकट नपाउनेहरूले पार्टी छोड्ने, आफ्ना–आफ्ना कुरा उठाउनु त्यो त स्वभाविक कुरा हो । सक्षम व्यक्तिलाई नै पहिचान गरेर नै टिकट वितरण गरिएको हो । टिकट दिइएको ठाउँमा साथीहरू सफल पनि भएका छन् । कुनै ठाउँमा सक्षम व्यक्ति छान्न नसक्दा असफल पनि भएको होला तर धेरै ठाउँमा सक्षम व्यक्तिलाई नै टिकट दिइएको छ । समानुपातिकको कुरा गर्नुपर्दा राजपाले संसदमा ६ वटा सिट पाएको ठाउँमा ६ वटै महिला हुनुभयो । निर्वाचन आयोगको नियमअनुसार समावेशीको हिसाबले नै अध्यक्षमण्डलको सहमतिबाट नै भएको हो । त्यसमो विभेद भएको छैन । मेरो विचारमा क्रमबद्ध निर्वाचन आयोगको नियमानुसार नै भएको छ ।


० तपाईंकै पार्टीका नेताहरूले प्रतिनिधि सभाको समानुपातिक सांसदमा करोडौँको चलखेल भएको छ भनेर असन्तुष्टी पोख्दै आएका छन् ?
— यस्तो कुरा मैले सुनेको पनि छैन र त्यसको प्रमाण पनि छैन । टिकट नपाउनेले गलत हल्ला फैलाउन गरेका होलान् । तर पार्टीभित्र त्यस्तो केही छैन ।


० अहिलेको निर्वाचनले राजपा नेपाललाई दिएको जनादेश के हो ?
— राजपा नेपाललाई विशेष गरी प्रदेश २ मा बढी मत प्राप्त गरेको छ । विकासको हिसाबले नेपालको ७ वटै प्रदेशलाई हेर्दा सबैभन्दा पछाडी परेको प्रदेश २ नै हो । मधेशमा १२ वटा पार्टीबाट ६ वटा र ६ वटाबाट २ वटा पार्टी भएको छ । यो २ वटा पार्टी पनि चुनावमा तालमेल गरेर गएको हुनाले हामीलाई विश्वास गरेर जनताले मत दिएका छन्  । आम जनतामा मभेशी दलले नै मधेशको विकास गर्छ भन्ने विश्वास छ र त्यसैका आधारमा मत दिएर दुई तिहाई बहुमतले जिताएका हुन् ।


० प्रदेशमा त राजपा र फोरमको सरकार रहेको छ । केन्द्रमा पनि जाने जनादेश पाउनुभएको छ ?
— हाम्रो मागहरू सकारात्मक भएपछि सरकारमा जाने हो । सत्ता सञ्चालन गर्नका लागि नै जनताले मत दिएका हुन् । हाम्रो माग सम्बोधनदेखि लिएर विकासका कार्यक्रम र जनताको मागअनुसार विकासको काम हुने हो भने सरकारमा जाने सम्भावना देखिन्छ । तर अहिले सरकारमा जाने त्यस्तो कुनै सोच छैन । सरकारमा जाने भन्दा पनि मधेशमा विकास गर्ने, मधेशी जनतालाई सहयोग गर्ने र समृद्ध मधेश बनाउने नै हामीले जनादेश पाएका हौँ ।


० राजपाले संविधान संशोधनको मौखिक प्रतिबद्धता मागेको छ भने फोरमले लिखित सम्झौता, तपाईहरूको यस्ता क्रियाकलापले गर्दा जनतामा एक किसिमको आक्रोश पनि उत्पन्न भएको छ, यसलाई कुन रूपमा लिनुहुन्छ ?
— जनताले त संविधान संशोधनदेखि समावेशितासम्मको जनादेश दिएकै हो । सरकारसँग सम्झौता त पहिले पनि धेरै भएको हो तर त्यो कार्यान्वयन भएको छैन । यसपटक हामीलाई मौखिक रूपमा नै संविधान संशोधन गर्छु भनेर सम्बोधन गरे भने हामी सरकारलाई सहयोग गर्न तयार छौँ ।


० संविधान संशोधन हुनेमा कति विश्वस्त हुनुहुन्छ ?
— प्रधानमन्त्रीलाई हामीले विश्वास गरेर नै विश्वासको मत दिएका हौँ । उहाँले आवश्यकता अनुसार देशको हित हुने गरी छलफल गरेर संविधान संशोधन गर्छौँ भनेर विश्वास दिनुभएको छ । अर्को कुरा प्रदेश २ को सरकारलाई वाम गठबन्धनले विश्वासको मत दिएको छ त्यसैले गर्दा पनि हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौँ ।


० तपाईंहरूले भनेझै संविधान संशोधन हुन्छ भनेर विश्वास गर्न सकिन्छ ?
— हामीले विश्वास गरेका नै छौँ । आजसम्म मधेश विश्वासमा बाँचेको छ भने अहिले पनि हामी विश्वासमुखी नै छौँ कि संविधान संशोधन हुन्छ । अहिले पनि हामी आन्दोलनमा नै छौँ । संशोधन नभएसम्म हरेक कुरामा विरोध जनाउनु त्यो पनि आन्दोलन नै हो । अहिलेसम्म हामीले विश्वास गरेका छौँ र गर्नु पनि पर्छ ।


० कहिलेसम्म पर्खनुहुन्छ संविधान संशोधन हुन्छ भनेर ?
— नियमावलीहरू बन्दैछन्, कामहरू भइरहेका नै छन्, अध्यादेशहरू आइरहेका छन् । त्यसमा राय सुझाव कस्तो आउँछ त्यसमा नै आधारित रहेर छलफल गर्नेछौँ ।


० सीमांकन तपाईंहरूको प्रमुख माग हो, प्रदेश सरकार गठन भइसकेको अवस्थामा यो सिमांकन हेरफेर गर्न कति सजिलो देख्नुहुन्छ ?
— दुई तिहाई बहुमतको आधारमा सीमांकन हेरफेर गर्न पाउने प्रावधान छ । बहुमतले जे पारित गर्छ त्यही नै गर्ने हो ।


० राजपा नेपालको एक वर्ष पूरा भएको अवसरमा जनतालाई के भन्न चाहनुहुन्छ ?
— राजपा नेपाल बैशाख ७ गतेबाट दोस्रो वर्षमा प्रवेश गरेको हुनाले सम्पूर्ण देशवासीलाई धन्यवाद दिन चाहन्छु । राजपा दोस्रो कार्यकालमा सफलतापूर्वक, इमान्दारीतापूर्वक जनताको हक हितको लागि काम गर्नेछ ।


प्रकाशित मिति : २०७५ साल वैशाख ७ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com