पार्टी ६ नेतामा मात्र सीमित भयो : लक्ष्मणलाल कर्ण

सांसद तथा सहअध्यक्ष, राष्ट्रिय जनता पार्टी नेपाल

० राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको एक वर्ष पूरा भएको छ, यो अवधि कस्तो रह्यो ?
— राष्ट्रिय जनता पार्टी गठन भएको एक वर्षको उपलक्ष्यमा हामीले खुशीयाली मनाएका छौँ । देशका विभिन्न ठाउँमा कार्यक्रम गरी मनाएका छौं ।


० यो एक वर्षको अवधिमा राजपाको उपस्थितिलाई कसरी स्व–मूल्यांकन गर्नु हुन्छ ?
— मधेशमा एक किसिमको भावना थियो कि मधेशका सबै पार्टीहरू जुट्नुपर्छ । त्यही भावनाअनुरूप छ वटा पार्टीबीच एकीकरण भई राजपा गठन भयो । छ वटा पार्टी जुटेका कारणले मधेशले स्वागत ग¥यो, मधेशभरि खुशियाली मनाइयो । त्यसकै प्रतिफल केन्द्रको निर्वाचन होस् या प्रदेशको, दुवै निर्वाचनमा हामीले राम्रो परिणाम पाएका छौं । ६ पार्टी एक हुनुलाई जनताले प्रशंसा पनि गरेका छन् र राम्रो प्रतिफल दिएका छन् । जहाँसम्म राजपाको प्रस्तुतिको कुरा छ, पार्टीका नेतादेखि लिएर जनतासमेत प्रभावित भए । विगतमा देखिएका क्रियाकलाप के देखियो भने ६ जना नेतामा मात्र पार्टी निहित रहेको छ । यसले ठाउँ–ठाउँमा सन्तोषजनक नै देखाएको छ । जनता पक्षबाट हेर्दा ठिक्कै रह्यो तर, कार्यकर्ताको पक्षबाट हेर्दा पार्टी सञ्चालन विधिमा कमी कमजोर भयो, हामीलाई उपेक्षा गरियो भन्ने जस्ता कुरा पनि आइरहेका छन् ।


० राजपा नेपाल गठन हुँदा मधेशमा एक किसिमको उत्साह छाएको थियो तर एक वर्षपछि जनताबाट कस्तो प्रतिक्रिया आइरहेको छ ?
— जनताबाट त राम्रै प्रतिक्रिया पाइरहेका छौं, जनताले स्वागत पनि गरिरहेका छन् । म त गाउँ–गाउँमा जनतासँग प्रत्यक्ष भेट्दैछौं, जनतामा कुनै किसिमको निराशा छैन । जनताका अपेक्षा बढी छन् । जनताले संविधान संशोधन, आन्दोलनकारीमाथि लागेको झुठा मुद्दा फिर्ता, विकासका लागि लालायित छन् । जुन स्वाभाविक पनि हो । तर पार्टीका कार्यकर्ताहरूले हाम्रो दायित्व कम भो कि, हामीलाई कहिल्यै पनि सोधिएन भन्ने गुनासो गरिरहेका छन् ।


० यस्ता गुनासा किन आए होलान् ?
— यसको कारण ६ जना अध्यक्षहरूले आपसमा मात्र छलफल गर्ने, आफूमा मात्रै शक्ति सीमित राख्ने जस्ता प्रवृतिले हो । अन्य पदाधिकारीलगायत जुन केन्द्रीय समितिमा छन् तिनीहरूसँग निर्वाचनदेखि अहिलेसम्म कुनै प्रकारको बैठक वा छलफल भएका छैनन् । त्यसकारण हामीलाई किन निष्क्रिय पारिएको भन्ने गुनासो छ । उनीहरू आफूहरूलाई पनि सक्रिय पारिनु पर्छ भन्ने चाहन्छन् । अगाडी बढ्नुपर्छ भन्ने भावना पनि छन् । त्यसले गर्दा कार्यकर्ता पंक्तिमा निराशापन छाइरहेको अवस्था छ ।


० तर, राजपाको विधानमै त अध्यक्षमण्डलमा सबै निर्णय निहित हुने भनिएको छ नि ?
— ६ अध्यक्ष मण्डलको निर्णय मात्रै होइन कि त्यो निर्णय तल पनि जानुपर्छ । गाउँस्तरसम्मका कार्यकर्तालाई पनि पार्टीमा समावेश गराउनुपर्दछ । यो पार्टी ६ अध्यक्षमण्डलको मात्रै होइन कि गाउँस्तरसम्म पनि हो । जबसम्म केन्द्रको निर्णय गाउँसम्म पुग्दैन, त्यो निर्णयमा गाउँसम्मका कार्यकर्तालाई सहभागी गराइदैन, तबसम्म यो असन्तोष हुनु स्वाभाविक नै हो । अध्यक्षमण्डलमा मात्र पार्टी सीमित नराखि यसलाई प्रत्येक कार्यकर्तासम्म पु¥याउनुपर्छ । यसको आकार बढाउनु पर्छ भन्ने कार्यकर्ताको धारणा हो ।


० तपार्इंहरूले निर्वाचनबाट जनादेश के पाउनुभएको छ ?
— हाीले निर्वाचन घोषणापत्रमा निर्वाचन पनि एउटा आन्दोलन नै हो भनेका थियौँ । हामीले मधेशी, आदिवासी, जनजाति, थारू, महिला, मुस्लिमका अधिकार सुनिश्चित गराउँछौँ भन्ने कुरा गरेका थियौँ र त्यसलाई अब जनताले कहिले होला, कसरी होला भन्ने जिज्ञासा आउनु स्वाभाविक नै हो ।


० राजपाले एक वर्षभित्र महाधिवेशन गर्ने भनेको थियो, तर अहिलेसम्म महाधिवेशनको अत्तोपत्तो छैन । किन यस्तो भएको होला ?
— महाधिवेशनको कुरा नउठेको त होइन । महाधिवेशनको चर्चा पटक–पटक भएको हो । महाधिवेशन गर्नका लागि केही समय चाहिन्छ । पार्टी गठन गरिसकेपछि निर्वाचनमा पार्टीको संलग्नता बढी रह्यो । स्थानीय तहको दुई चरणको निर्वाचन हामीले बहिष्कार ग¥यौं, पछि तेस्रो चरणमा सहभागी भयौं । निश्चित रूपमा निर्वाचन पनि आफैमा पार्टीका लागि परीक्षा पनि थियो । जनतासँग पार्टीलाई जोड्ने एउटा अभियान पनि हो । यसमा पार्टी लाग्यो । अब पार्टीको महाधिवेशन गर्ने तिर हामी लागेका छौं । एक वर्षमा हामीले महाधिवेशन गर्ने भनेका थियौँ र निश्चित रूपमा एक वर्षभित्र गर्नुपथ्र्यो । तर हुन नसकेको कारणले संविधानले ६ महिनाको प्रावधान राखेको छ । अब ६ महिनाभित्र महाधिवेशन गर्नैपर्छ, त्यो बाध्यता पनि हो ।


० अन्य राष्ट्रिय दलले संसदीय दलका नेता चयन गरिसकेका छन्, तर राजपामा अहिलेसम्म अन्योलता देखिएको छ । कहिलेसम्म संसदीय दलको नेता चयन गर्नुहुन्छ ?
— राजपाले छान्न नसकेको भन्ने होइन । नयाँ पार्टी बनेका कारणबाट संसदीय दलको विधान थिएन । विधान निर्माणका लागि हामीले पछिल्लो बैठकबाट निर्णय ग¥यौं । विधान बनाउने जिम्मेवारी मैले पाएको थिएँ र मैले विधान पार्टीलाई बुझाइसकेको छु । तर हाम्रो पार्टीका अध्यक्ष मण्डलका संयोजकको अस्वस्थताका कारण बैठक बस्न सकेको छैन । अब हामी केही दिनभित्र नै बैठक बस्दैछौं । त्यो बैठकले विधानलाई स्वीकृति गर्छ, अनुमोदन गर्छ र अनुमोदन भइसकेपछि संसदीय दलको नेता चयन गर्नलाई पार्टीलाई कुनै अप्ठयारो हुँदैन ।


० संसदीय दलका नेता छान्न पार्टी भित्रै विवाद छ नि ?
— त्यस्तो केही पनि होइन । यो पार्टी एउटा प्रजातान्त्रिक पार्टी हो । पार्टीले नेताको लागि पनि सर्वसम्मत प्रयास गर्छ । भएन भने जुन लोकतान्त्रिक विधि हो, चुनाव गरेर टुंगो लाग्छ । यसमा कुनै अड्चन, बाधा, अवरोध, विवाद आउने त अवस्था नै छैन ।


० संसदीय दलका नेताका लागि राजपामा चुनाव पनि हुन सक्छ ?
— होइन, सबै पार्टीमा हुन्छ भने राजपामा किन हुन सक्दैन । चुनाव भयो भने आश्चर्य मान्नुपर्छ र ।


० तपार्इंले तयार पारेको विधानमा के कस्ता विषय समावेश छन् ?
— त्यस विधानमा संसदीय दलको सञ्चालनको विधि, अनुशासनको विधि हुन्छ । संसदीय दल निर्माणको विधि हुन्छ । संसदीय दलका नेता प्रमुख सचेतक छानिन्छ । त्यो मार्फत सबै सांसदहरूलाई संसदभित्र काम गर्ने जिम्मेवारी तोकिन्छ । त्यसैका लागि यो विधान तयार पारिएको छ ।


० राजपाको महाधिवेशनबाट पहिलेको जस्तै अध्यक्षमण्डलीय प्रणाली हुन्छ कि एकल अध्यक्षीय पद्दतिमा जान्छ ?
— महाधिवेशन हुने बेलामै नीति, नियम के रहेछ, के परिवर्तन गर्ने भन्ने कुरा महाधिवेशन समितिले निश्चित गर्छ । त्यसपछि, विधानमा संशोधन गर्नु परे पनि महाधिवेशनले नै गर्छ । महाधिवेशनको तिथि तोकि सकेपछि प्रतिनिधिहरूको छनौट गरिने छ । त्यसपछि त्यहीं मौकामा विधान बनाइन्छ, नीति निर्माण हुन्छ । घोषणा नियम कानुनको दस्तावेज तयार हुन्छ । त्यो दस्तावेजलाई फेरि महाधिवेशनले अनुमोदन हुन्छ । ६ अध्यक्ष राखेर जाने या एउटा अध्यक्ष बनाउने भन्ने कुरा विधान निर्माण गर्दा तय हुन्छ ।


० राजपाले अबको दिनमा राष्ट्रिय राजनीतिमा कस्तो भूमिका निर्वाह गर्नेछ ?
— हामीले यो देशमा उत्पीडित, शोषित र बहिष्कृत समुदायको अधिकारका लागि आवाज उठाउँदै आएका छौं । हाम्रै आन्दोलनबाट केही मात्रामा त्यो अधिकार प्राप्ति पनि भएको छ । बाँकी रहेका मुद्दाका लागि निरन्तर लडिरहने छौं ।


० तपाईंहरूको आगामी राजनीतिक एजेन्डा के हुनेछ ?
— पहिलेको एजेन्डा पूरा नभएको संविधान संशोधन हो । आन्दोलनताका लागेका मुद्दालाई फिर्ता गर्नु हो र देशको विकास समानुपातिक एवं समावेशी ढंगबाट सम्पूर्ण मधेशका लागि राज्यले सोच्नुपर्छ । जसरी मधेशसँग विभेद हुँदै आएको छ त्यस किसिमको भेदभाव नगरी समानुपातिक विकासका लागि हामी प्रयासरत् रहन्छौं ।


० संविधान संशोधनको विषयमा के भइरहेको छ ?
— संविधान संशोधन गर्छौं भन्ने कुरा प्रधानमन्त्रीले भनि रहनुभएको छ तर के संशोधन, कसरी संशोधन, के विषयमा संशोधन लगायतका विषयमा गृहकार्य भएको छैन । त्यो काम सुरू भयो भने संविधान संशोधन हुन्छ । भएन भने संसदमा फेरि हामी आवाज उठाउँछौं ।


० विगतमा जुन माग उठाएर आन्दोलन गर्नुभएको थियो, त्यहीं मागहरू फेरी उठाइन्छ कि केही परिमार्जन हुन्छ ?
— हामीले सुरूमा ३३ बुँदे संविधान संशोधन प्रस्ताव दिएका थियौं, त्यसमा हुँदा पाँच बुँदामा आयौं, पाँचबुँदे पेश पनि भयो र पाँचबुँदे पेश हुँदाको अवस्थामा दुई तिहाई नपुग्दा भएन । अहिले हामी ३३ बुँदामै संशोधन चाहन्छौं ।


० राजपा सरकारमा जान्छ त ?
— राजपा सरकारमा जाने बाहिर चर्चा मात्रै हो । राजपाले सुरूदेखि भन्दै आएको छ संविधान संशोधन र मुद्दा फिर्ता नभइकन हामी सरकारमा जाँदैनौं । आज पनि हामी यही बाटोमा अडिग छौं ।


प्रकाशित मिति : २०७५ साल वैशाख १४ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com